४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

महामानवप्रति श्रद्धाञ्जली

२०४६ सालसम्म हामी कांग्रेसले भन्ने राजनीतिप्रति मानिसको श्रद्धा, सम्मान र विश्वास थियो। आज मानिसले राजनीतिलाई नै घृणा गर्दछन्। यो कसले बनाएको?

जनमत संग्रहको अनपेक्षित परिणामपछि निरुत्साहित जनतालाई उत्साहित गराइ प्रजातन्त्रको पक्षमा संगठित र सक्रिय बनाउन बिपी देशव्यापी कार्यक्रम बनाएर हिँड्नुभयो। घोषित कार्यक्रम, पञ्चायतले आयोजना गर्ने आगामी निर्वाचनमा भाग लिने कि नलिने निर्णय गर्न जनता तथा कार्यकर्ताको भावना बुझ्ने थियो। त्यसका लागि विभिन्न स्थानमा आमसभा राखिएको थियो र हरेक अञ्चलका एक दुई स्थानमा प्रशिक्षणात्मक गोष्ठी समावेश गरिएका कार्यकर्ता भेला राखिएको थियो।

लुम्बिनी अञ्चलको भ्रमणका क्रममा २०३७ फागुन २१ गते तानसेन शितलपाटीमा आमसभा गरी भोलिपल्ट हरि भट्टराईजीको बारीमा प्रशिक्षण शिविर चल्यो। त्यो शिविरमा बिपीले समाजवादको मौलिक व्याख्यान प्रस्तुत गर्नुभयो। व्याख्यामा मुख्यतः दुई विषयमा जोड दिनुभएको थियो। पहिलो समाजवाद प्राकृतिक हो। मानिस यसबाट अलग हुन सक्दैन। दोस्रो समाजवादबाट प्रजातन्त्रलाई अलग गर्नु अप्राकृतिक हो यसले तानाशाही सिर्जना गर्दछ।

समाजवादको व्याख्यापछि पञ्चायतको निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने सम्बन्धमा कार्यकर्ताको राय माग्नुभयो। कार्यकर्ता पंक्तिबाट मिश्रित राय आएपछि अन्त्यमा बिपीले भन्नुभयो, पञ्चायती चुनावमा भाग लिने कि नलिने गौण कुरा हो। प्रमुख प्रश्न हाम्रो पहिचानको हो। यदि हामी पहिचानसहित निर्वाचनमा जान सक्छौँ र निर्वाचनपछि पनि आफ्नो पहिचान कायम राख्न सक्छौँ भने निर्वाचनमा भाग लिँदा हुन्छ। यदि कांग्रेसको पहिचान गुम्छ भने निर्वाचन निरर्थक छ।

तत्कालीन समयमा हाम्रा अधिकांश साथीहरूमा यो बुझाइ रह्यो कि वर्गीय संगठनको सदस्यता लिनुपर्ने बाध्यता रहेकाले कांग्रेसले निर्वाचन बहिष्कार गर्नुपर्ने स्थिति बन्यो। केही सीमासम्म यो सत्य पनि हो। बाहिरीरूपमा बहिष्कार गर्नुपर्ने कारणमा नेताहरूले यसैलाई इंगित गर्नुभयो। तर यो सम्पूर्ण सत्य थिएन। यो नै सत्य हुन्थ्यो भने दोस्रो स्थानीय निर्वाचनमा पञ्चायतका आउट पोस्ट कब्जा गर्ने बहानामा कांग्रेसले भाग लिने थिएन जबकि वर्गीय संगठनको सदस्यता त्यस समयमा पनि अनिवार्य थियो।

बिपीले राष्ट्रिय पञ्चायतको निर्वाचन भन्दा करिब दुई महिनापहिले भन्नुभएको कांग्रेसको पहिचान नामको मात्र पहिचानको कुरा थिएन। उहाँको विचारमा धेरै विषय थिए कांग्रेसको पहिचान कायम राख्ने। ती विचार एकमुष्ट लिपिबद्ध नभएका भए पनि उहाँका विभिन्न लेख, चिठी र अन्तर्वार्तामा पढ्न पाइन्छ। यहाँ एक प्रसंग उल्लेख गर्नु सान्दर्भिक होला। जनकपुरको एक सभामा राजा महेन्द्रले तुल्सी गिरीलाई सोध्छन्, यो सभाका मानिसमा कांग्रेस र पञ्च छुट्टाउन सक्छौ? तुल्सी गिरीले असमर्थता व्यक्त गर्छन्।

महेन्द्र भन्छन्, हेर जो ठाडो शिर गरेर बसेका छन् ती कांग्रेसी हुन्। जसको शिर झुकेको छ ती पञ्च हुन्। पञ्चहरू कुनै सिद्धान्तका आधारमा पञ्च भएका थिएनन्। लोभ, लालच, भय, इष्र्या आदिका कारण पञ्च बनेका थिए। विभिन्न पार्टी त्यागी बनेका पञ्च थिए। पञ्चायतको सुरुवात नै भ्रष्टीकरणबाट भएको थियो। कांग्रेसहरू आस्थामा दृढ थिए। पश्चाताप वा ग्लानि थिएन। नेतृत्व जाज्वल्यमान थियो। कांग्रेसमा आत्मसम्मान र स्वाभिमान थियो। ठाडो शिर र झुकेको शिरको कारण यही थियो।

तर २०३७ सालसम्म आउँदा स्थिति फरक भैसकेको थियो। जनमत संग्रहपछि एकजना सज्जनले बिपीलाई सोधे, तपाईँ बारम्बार राजासँग किन भेट्नुहुन्छ? अहिले राजाबाट तपाईँलाई केही सहयोग हुँदैन भन्ने तपाईँलाई थाहा छ। बिपीको जवाफ थियो– हो राजाले तत्काल केही गर्दैनन्। म राजाबाट निरास छु तर हाम्रा कतिपय मानिस दरबारबाट केही अफर वा संकेत आयो कि भन्ने बुझ्न मकहाँ आइरहन्छन्। तिनीहरूको मनोविज्ञान तपाईँ बुझ्नुहुन्छ। मेरो नकारात्मक जवाफले उत्पन्न हुने निराशाको परिणाम तपाईँलाई थाहा छ। ती प्रवृत्तिका मानिसको आशा कायम राख्दै संगठन मजबुत बनाउन संवादको ढोका खुला राख्नुपर्दछ।

नेपालमा जनतन्त्र स्थापना हुन्छ भन्नेमा बिपी विश्वस्त हुनुहुन्थ्यो। उहाँको दृढ विचार थियो कि जनतन्त्रबेगर नेपालको भविष्य छैन। पञ्चायतको बोझ यो देशले थाम्न सक्दैन। पञ्चायतले चरित्रहीनतालाई प्रश्रय दियो जसले गर्दा मानिस भ्रष्ट भए। भ्रष्ट जमातबाट देश, जनताप्रति कुनै माया र लगाव नभएको भुइँफुट्टा वर्गको जन्म भयो। यो वर्गको स्वार्थ न देश विकाससँग छ न राष्ट्रको सुरक्षासँग। स्वयं राजाको हितसँग पनि यो वर्गको सरोकार छैन। यसले आफ्नो स्वार्थका लागि जस्तोसुकै राष्ट्रघाती काम गर्न पछि पर्दैन। यही भुइँफुट्टा वर्गको चंगुलमा राजा छन्। यसबाट मुक्त हुन प्रजातन्त्र अनिवार्य छ।

बिपी प्रजातन्त्रको दिगोपना र उचित प्रयोगको बारेमा चिन्तित हुनुहुन्थ्यो। प्रजातन्त्र स्थापना हुनु अवश्यम्भावी छ तर त्यो दिगो हुनुपर्दछ र त्यसले ठीक ढंगले काम गर्न सक्नुपर्छ। त्यसका लागि चरित्रवान जनशक्तिको आवश्यकता पर्दछ। 

प्रजातन्त्र, समाजवाद, राष्ट्रियता कांग्रेसका आदर्श हुन्, सिद्धान्त हुन् । के हामी साँच्चिकै प्रजातान्त्रिक चरित्रका बन्न सकेका छौँ? समाजवादी चरित्र निर्माण गरेका छौँ?

पञ्चायतले सबभन्दा ठूलो नोक्सानी राष्ट्रिय चरित्रमा गरेको छ। राज्य नै भ्रष्ट र चरित्रहीन भएपछि त्यसको प्रभाव समाजका सबै अंगमा पर्छ। त्यो प्रभावबाट कांग्रेसका कार्यकर्ता पनि मुक्त छैनन्।

बिपीसँग संवादको सूचना बुझ्न जाने अधिकांश त्यही कोटीका हुन्। कांग्रेसमा यो भ्रष्ट चरित्र नरहोस् भन्ने बिपी चाहनुहुन्थ्यो। कार्यकर्ता परिश्रमी बनून्, स्वाबलम्बी बनून्, चरित्रवान बनून्, समाजमा आदर्श प्रस्तुत गर्न सकून् र कांग्रेसको पहिचान बन्न सकून् भन्ने बिपीको चाहना थियो। बिपीलाई शंका थियो कि पञ्चायतमा प्रवेश गरिसकेपछि पार्टीको अनुशासन नरहँदा कांग्रेस नेता÷कार्यकर्ता पनि अनुशासनहीन, चरित्रहीन हुनेछन् जसरी पञ्चहरू बदनाम थिए, कांग्रेसीहरू पनि त्यस्तै बदनाम भए भने कांग्रेसको पहिचान नै गुम्नेछ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धनको पक्ष र विपक्षमा बहस भयो। गठबन्धन पक्षधरहरूको तर्क थियो, गठबन्धनको कारण कांग्रेस पहिलो पार्टी बन्यो। २०४९ सालपछि पहिलोपटक स्थानीय निर्वाचनमा पहिलो पार्टी भएका छौँ। पार्टीभित्र विवादका कारण गठबन्धन गर्न ढिला भएकाले कतीपय स्थानमा उपलब्धि हासिल गर्न सकिएन। छिटो गरेको भए अझ राम्रो परिणाम आउँथ्यो। तसर्थ संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गर्नुपर्दछ। यो संस्थापन पक्षको तर्क हो।

गठबन्धनका विपक्षीहरूको मत रह्यो– नेपाली कांग्रेसले गठबन्धन गरेकामा भन्दा एक्लै लडेको स्थानमा धेरै सिट जितेको छ। गठबन्धनका दलले कांग्रेसबाट बढी लाभ लिए, कांग्रेसलाई विभिन्न स्थानमा धोका भएको छ। सधैँ गठबन्धन गरिरहँदा कांग्रेसका मतदाताले रुख चिह्नमा मत राख्न पाएनन्। यसबाट पार्टीको पहिचान नै गुम्ने खतरा भयो। सधैँ अर्काको वैशाखी टेक्नु राम्रो होइन। यो संस्थापन विरोधी पक्षको तर्क हो।

अर्को तेस्रो मत छ, रामचन्द्र पौडेलजीको। उहाँको मत छ– यो गठबन्धन सामान्य परिस्थितिमा बनेको होइन। संविधानलाई क्षतविक्षत बनाउने, राज्यका अंगहरूलाई कमजोर बनाउने, संसदीय प्रजातन्त्रलाई असफल बनाइ अस्थिरता सिर्जना गरी तानाशाही कायम गर्ने ओली प्रवृत्तिका विरुद्ध लोकतन्त्र र संविधान रक्षाको निमित्त गठबन्धन गरिएको हो। अहिले पनि त्यो प्रवृत्ति यथावत रहेको हुँदा गठबन्धन गरेरै जानुपर्दछ।

पहिलो र दोस्रो पक्षको सारमा कुनै भिन्नता छैन। दुवैको उद्देश्य कांग्रेसलाई पहिलो पार्टी बनाइ शासनसत्तामा पकड बनाइराख्नु हो। बाटो मात्र फरक हो। तेस्रो पक्षले गठबन्धनलाई लोकतन्त्रसँग जोडेको छ। लोकतन्त्र र संविधानको रक्षार्थ गठबन्धन भनेको छ। यो पक्षको तर्क बढी संगतिपूर्ण देखिन्छ। मेरो लेखको आशय गठबन्धनको पक्ष वा विपक्षमा राय राख्नु होइन। मेरो लेखको उद्देश्य बिपीले कांग्रेसको पहिचान भन्नुभएको के हो, त्योमा मात्र मेरा विचार राख्नु हो।

कांग्रेस भनेको रुख चिह्न, चारतारे झण्डा र एक थान सदस्यता रसिद मात्र हो भनी बिपीको पहिचानको कुरालाई त्यसैमा सीमित गर्नु बिपीलाई नै नबुझ्नु हो। पार्टी सदस्यता आफूखुसी स्वीकारेको बन्धन हो भने रुख र चार तारा प्रतीक मात्र हुन्। यिनमा कांग्रेसको आदर्श, विचार, भावना, संघर्ष र बलिदान जोडिएको हुँदा यी हाम्रा लागि जीवन्त र पवित्र लाग्दछन्। हाम्रा आदर्श, सिद्धान्त, संघर्ष र बलिदानका इतिहासलाई अलग गर्ने हो भने यी मात्र निर्जीव चिह्न वा चित्र मात्र हुन जान्छन्। तब कांग्रेसको पहिचान के हो ? बिपीले स्थापित गरेको र अन्य नेता कार्यकर्तामा देख्न चाहेको पहिचान कस्तो हो?

यसलाई बुझ्न बिपीको व्यावहारिक जीवनशैली बुझ्नुपर्दछ। वि.सं.२००९–१० तिरको कुरा हो, बिपीको घरमा खानेकुरा केही भएन। भर्खरकी सानी छोरी चेतनालाई खुवाउन पनि केही थिएन। सुशीला भाउजूले के गरौँ ? छोरी भोकले रुँदैछे, छोरीका लागि पनि केही बन्दोबस्त गर्नुपर्‍यो भनिरहनुभएको रहेछ। बिपी नबोली शीर्षासन गर्न लाग्नुभएछ। संयोगबस, त्यही समयमा दीर्घराज कोइराला आउनुभएछ। दुवैजना चूपचाप। चेतनाको रुवाइ। दीर्घराजजीले सुशीला भाउजूसँग कुरा खोतलेपछि उहाँले यथार्थता बताउनुभयो। अनि दीर्घराजजीले बाहिर गएर केही खानेकुराका सामान किनी ल्याइदिएपछि चुलो बल्यो। यो एकपटकको घटना भयो।

यस्ता घटना बारम्बार बिपीमाथि आइपरेका छन् जुन उहाँका २००८ देखि २०१३ सालसम्मका दिन पञ्जिकाहरूमा पढ्न पाइन्छ। बिपीले आफ्नो खराब आर्थिक अवस्थामा सहयोग माग्नुभएको भए उहाँलाई छाक टार्न मात्र होइन, ऐश आरामका सुविधा दिलाइदिन पनि सयौँ हात अगाडि आउँथे। सुवर्णजीलाइ मात्र भनेको भए पनि हजारौँ कांग्रेसका कार्यकर्ता पाल्ने सुवर्णजी बिपीलाई सहयोग गर्दा खुसी नै हुनुहुने थियो। तर बिपी कसैसँग आर्थिक सहयोगको याचना गरेर त्यसप्रति अनुगृहित हुन चाहनुभएन। त्यो अनुग्रहले पछि बाँधिनुपर्ने बन्धनमा बद्ध हुन बिपी तयार हुनुहुन्थेन। सात सालपछिका लेखहरूमा, पार्टीका साथीहरूलाई लेखिएका चिठीहरूमा उहाँले निरन्तररूपमा कांग्रेसका कार्यकर्ताको चरित्र निर्माणको कुरा गर्नुभएको छ। स्वाबलम्बी बन्न जोड दिनुभएको छ।

कांग्रेस केन्द्रीय समितिमा छलफल भयो, बहस भयो। तर्कहरू सकेसम्म कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयत्न भए। तर ती तर्क तथा बहसहरू कांग्रेसको पहिलो स्थान र रुख चिह्नमा मत राख्न नपाएकामा सीमित भए। मानौँ, पहिलो हुनु नै कांग्रेसको ठूलो उपलब्धि हो वा रुख चिह्न सबै निर्वाचन क्षेत्रमा हुनु नै पहिचान हो। २०१७ साल देखि २०४८ सालसम्म नेपाली जनताले कांग्रेसको चुनाव चिह्न रुखमा मत राख्न पाएका थिएनन्। तर कांग्रेसका नेता, कार्यकर्ता हिँड्दा, समाजमा उपस्थित हुँदा मानिसले श्रद्धा, सम्मान र सहानुभूतिका साथ हेर्दथे। पञ्चहरू पनि हामीहरूसँग नतमस्तक हुन्थे।

त्यो समयमा कांग्रेसको पहिचान गौरवपूर्ण थियो। आज जनताको नजरमा हामी कस्ता छौँ? यसतर्फ हेक्का राखेका छौँ? २०४८ सालदेखि २०७९ सालसम्म आउँदा कस्तो पहिचान बनायौँ? २०४६ सालसम्म हामी कांग्रेसले भन्ने राजनीतिप्रति मानिसको श्रद्धा, सम्मान र विश्वास थियो। आज मानिसले राजनीतिलाई नै घृणा गर्दछन्। यो कसले बनाएको? के यस सम्बन्धमा केन्द्रीय समितिमा कहिल्यै बहस भएको छ? प्रजातन्त्र, समाजवाद, राष्ट्रियता कांग्रेसका आदर्श हुन्, सिद्धान्त हुन्। के हामी साँच्चिकै प्रजातान्त्रिक चरित्रका बन्न सकेका छौँ? समाजवादी चरित्र निर्माण गरेका छौँ ? यी चरित्र गुमाएर रुख चिह्न र चारतारे झण्डाले मात्र कांग्रेसको पहिचान कायम गर्दछ भन्ने सोच्नु कासी जान कुतीको बाटो हिँडनु जस्तो हुन्छ।

हामीलाई संसद्मा पहिलो पार्टी बन्न अहिले गठबन्धन अनिवार्य जस्तै भएको छ। मधुरो स्वरमा एक्लै चुनाव लडौँ भन्ने मित्रहरूले पनि वैकल्पिक बाटो देखाउनुभएको छैन। उहाँहरूको मार्गचित्रले पुर्‍याउने २०७४ कै परिणाममा हो। तर अहिलेको अवस्थामा गठबन्धनबाट पहिलो पार्टी बने पनि कांग्रेसको छविमा सुधार आउने छैन। यही स्थिति रहने हो भने घुमिफिरी आउने २०८४ को निर्वाचनमा पनि गठबन्धनकै सहारा खोज्नुपर्ने बाध्यता आउनेछ।

साँच्चिकै कांग्रेसलाई पुनर्जागृत गराउने हो भने कांग्रेसका उच्च नेतृत्वदेखि कार्यकर्तासम्मले चरित्र शुद्ध बनाउन प्रयत्न गरौँ। रुखमा मात्र होइन, कांग्रेसको नीति र कार्यक्रममा पहिचान स्थापित गराऔँ। आफ्नो व्यवहार र जीवनशैलीमा पहिचान खोजौँ। बिपीले जस्तो विचार दिन सबैले नसकौँला, उहाँको सरल जीवन पद्धति, चारीत्रिक शुद्धता, आर्थिक स्वच्छतालाई अनुशरण गर्न सक्छौँ। यति मात्र गर्न सक्यौँ भने कांग्रेसलाई जनताले नै पहिलो बनाउने छन्, अरूको वैशाखी टेक्नुपर्ने छैन। महामानवप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित: ६ श्रावण २०७९ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App