४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशको नाम भए पहिचान हुने, नत्र नहुने होइन: अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराभित्र सबैखाले पहिचान अटाउने बताएका छन्। उनले कोही एक्लै हिँडेर सफल नहुने भन्दै नेपाल सयौँ थुंगा फूलको बारीझैँ भएको बताए।

इलाम क्षेत्र २ का निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङलाई बधाई दिन आज इलाम आएका ओलीले इलाम बजारमा आयोजित विजय सभामा यस्तो बताएका हुन्। उनले प्रदेशको नाम पहिचान नभई त्यो नाम मात्रै भएको बताए। ‘प्रदेशको नाम भए पहिचान हुने, नत्र नहुने होइन,’ उनले भने, ‘सुखी नेपाली पहिचान हो, त्यो एमालेबाटमात्र सम्भव छ, त्यसैले एमाले र सूर्य चिह्न भनेकै पहिचान हो।’

ओलीले इलामको मतपरिणामले एमालेले गरेका कामको अनुमोदन र अब गर्ने कामको बारेमा सचेत गराएको बताए। ‘यो विजय एमालेले हिजो इलाममा गरेका कामप्रति मतदाताको धन्यवाद हो,’ उनले भने, ‘त्यति मात्र होइन, अब हामी हिँड्ने बाटो पनि हो, हामीप्रति मतदाताको विश्वासको आधार हो।’

ओलीले २०७९ सालको निर्वाचनमा एमाले एक्लैले जितेको इलाम क्षेत्र २ मा यो पल्ट एमालेलाई नै जिताउन अरू दलले समेत साथ दिएको बताए। ‘यो जितले विकासको ढोका खोल्छ, इलाममा विकासको घाम उदाउँछ,’ उनले भने, ‘यहाँको विकासको जिम्मा अब सुहाङले लिनुहुन्छ, म लिन्छु।’

इलाम क्षेत्र २ को उपनिर्वाचनमा आफ्नो पार्टी विजयी भएपछि अध्यक्ष ओली विजयोत्सव मनाउन आज इलाम आएका हुन्। शनिबार भएको उपनिर्वाचनको मतगणना आज बिहान सकिएको थियो। मतगणनाअनुसार नेकपा (एमाले)का सुहाङ नेम्बाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए।

प्रकाशित: १८ वैशाख २०८१ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App