४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम २ : एमालेले जोगायो तीन दशकको ‘विरासत’

अन्ततः नेकपा (एमाले) इलाम क्षेत्र-२ मा आफ्नो करिब तीन दशकयताको ‘विरासत’ कायम राख्न सफल भएको छ। बुबा सुवासचन्द्र नेम्बाङले २५ वर्षयता थामिल्याएको ‘लालकिल्ला’ ३५ वर्षे सुहाङ नेम्बाङले शनिबारको उपनिर्वाचनमा फराकिलो मतान्तरसहित कायम राखेका छन्।

सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २२ हजार ९ सय ४२ मतमा चित्त बुझाए। सबै दलले ‘प्रतिष्ठा’ को विषय बनाएको उपनिर्वाचनमा सुहाङको विजयसँगै एमाले २०५६ सालयता निरन्तर यो क्षेत्रमा झन्डा फहराउन सफल भएको छ।

२०४८ सालमा एमालेका सुवासचन्द्र नेम्बाङ पूर्वाञ्चल विकास क्षेत्रबाट निर्वाचित संसद् सदस्य बने। ०४८ सालदेखि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको इलाम २०५१ सालदेखि तीन क्षेत्रमा बाँडियो। २०५२ सालमा पनि नेम्बाङ प्रतिनिधिसभाबाट निर्वाचित भए।

२०५६ सालयताका सबै संसदीय निर्वाचनमा एमालेले यो क्षेत्रमा विजय हासिल गरिरहेको छ। २०७४ सालपछिका प्रदेशसभा निर्वाचनमा पनि एमालेले बलियो पकड कायमै राखेको छ। अझ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलको तत्कालीन सत्ता गठबन्धनसमेतलाई चक्मा दिँदै एमाले उम्मेदवार नेम्बाङ नै विजयी बनेका थिए।

२०५६ सालको निर्वाचनमा नेम्बाङ यो क्षेत्रबाट पुनः विजयी बने। नेम्बाङले त्यो निर्वाचनमा तत्कालीन शिक्षामन्त्री कुलबहादुर (केबी) गुरुङलाई एक हजार सात सय मतान्तरले पराजित गरेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङ १७ हजार सात सय ४८ मतसहित विजयी बनेका थिए। कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि नेम्बाङ १४ हजार नौ सय ३० मत ल्याएर विजयी बन्दा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए। 

तीन निर्वाचन क्षेत्र रहेको इलाममा त्यसपछि २ क्षेत्रको संरचना बन्यो। भूगोल परिवर्तन भयो। देश संघीयतामा गएपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ नै विजयी बने। उनले ३६ हजार पाँच सय १७ मत ल्याए। कांग्रेसका केशव थापाको २६ हजार आठ सय ६५ मत आएको थियो। २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी बन्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए।

सुवासले यो क्षेत्रबाट विजयी भएर नेपालको संविधान (२०७२) को निर्माणमा नेतृत्वसमेत गरेका थिए। ३१ राजनीतिक दलले उनलाई सर्वसम्मत रूपमा संविधानसभा अध्यक्ष बनाएका थिए। २०६४ सालको निर्वाचनपछि पनि नेम्बाङ नै संविधानसभाको सर्वसम्मत अध्यक्ष भएका थिए।

२०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य बनेका नेम्बाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष र पटक–पटक सभामुख भएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सुहाङको विजयले इलाम एमालेको लालकिल्ला पुष्टि गरेको दाबी गरे। ‘यो विजयले आउँदो २०८४ सालको निर्वाचन परिणामलाई पनि संकेत गरेको छ,’ सुहाङलाई बधाई दिन इलाम नै आइपुगेका ओलीले मंगलबार भने, ‘एमालेले इलाममा गरेका कामको अनुमोदन हो यो विजय। र, कम्युनिस्ट एकताको सन्देश पनि हो।’ यसपटक सुहाङलाई जिताउन माओवादी, नेकपा र नेपाल परिवार दलले पनि सघाएका थिए।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रका दुवै प्रदेशसभामा एमाले र ऊ सहितको गठबन्धन विजयी बन्यो। क्षेत्र २ (१) मा रामबहादुर रानामगर र क्षेत्र २ (२) मा गठबन्धनका माओवादी उम्मेदवार धिरेन्द्र शर्मा रमण विजयी बनेका थिए। २०७९ सालको निर्वाचनमा क्षेत्र २ (२) मा एमालेकै रामबहादुर रानामगर तत्कालीन गठबन्धनलाई समेत हराएर विजयी बनेका थिए।

एमाले जिल्ला सचिव उमेश गुरुङ लामो समयदेखिको एमाले विरासत यसपटक अझ बलियोगरी रक्षा भएको बताउँछन्। ‘०७९ को निर्वाचनमा एमाले एक्लै हुँदा र विपक्षमा अरू सबै दल हुँदा झिनो मतान्तरले भएपनि एमालेले जितेकै हो,’ उनले भने, ‘यसपटकको विजय ठूलो मतान्तरले भएको छ, एमालेप्रतिको जनविश्वास र भरोसा बढेको छ, हामी क्षेत्र-२ का मतदाताको भावनामा आँच नआउने गरी काम गर्नेछौँ।’

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले एमालेले गरेका काम र बुबा सुवास नेम्बाङप्रतिको मायाले पनि मतदाताले आफूलाई जिताएको बताए।

‘इलाममा एमाले र मेरा अगुवा मान्यजनले लामो समयदेखि  गर्नुभएको मेहनतका कारण मतदाताले पुनः एमालेलाई रोजेका छन्,’ उनले भने, ‘म इलामे नागरिकको शिर कहिल्यै झुक्न दिनेछैन, बुबाले इलामप्रति गर्नुभएको माया र इलामले बुबाप्रति राखेको सद्भाव म कहिल्यै भुल्ने छैन। सधैँ शिरमा राखेर हिँड्नेछु।’

प्रकाशित: १९ वैशाख २०८१ २१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App