४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

परिवार अनशनमा, सरकार भाषणमा

रूसी सेनामा नेपाली

महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो-आमरण अनशन बस्ने!

अभावग्रस्त जिन्दगीमा उज्यालो रङ भर्ने लालसा बोकेका आफन्त अन्जानमै रुसी सेनामा भर्ती हुन पुगे। उनीहरूको त्यो निर्णय वैध थिएन। दलालको आश्वासन र साथीहरूको लहलहैमा नेपाली युवा रुसी सेनामा भर्ना भएका छन्।

रुसबाट युक्रेनको युद्धभूमिमा पुगेका उनीहरू त्यहाँ रन्थनिएर नेपाल फर्कने याचना गर्दैछन्। कैयौंले मृत्युवरण गरिसके। कैयौं अंगभंग भएर अस्पतालका शड्ढयामा छटपटिरहेका छन्। सयौं युवा महिनौंदेखि परिवारको सम्पर्कबाहिर छन्।

तीनै युवाका परिवारजनले राजधानीमा जम्मा भएर आफन्तको जीवनरक्षा र स्वदेश फिर्तीको माग राखेर नेताहरूको निवास र सरकारी निकाय चहार्न थालेको महिनौं भयो। अफ्ना माग सुनाउन चहार्दाचहार्दै उनीहरू थाकिसकेका छन्।

यसरी माग सुनुवाइ नभएपछि परिवारजनले सुरु गरेको सामूहिक अनशन बुधबार १३औं दिन पुगेको छ। अहिले अनशनकारी शान्तिबाटिकामा छन्। तीनजना आमरण अनशनमा छन्। बाँकी रिले अनशनमा छन्। आमरण अनशन गर्नेमा रुकुम पूर्वकी सिरानी घर्तीमगर, सुर्खेत पञ्चपुरीका किशन थापा र अभियन्ता कृतु भण्डारी छन्।

‘रुसी दूतावासमा गयो, यो तिमीहरूको समस्या हो, तिम्रो सरकारलाई भन भन्छ,’ आमरण अनशनमा रहेकी सिरानी भन्छिन्, ‘हाम्रो सरकार हाम्रै कुरा सुन्न तयार छैन। हामीसँग भेट्दा सबै कुरा थाहा छ भन्छन्। तर हाम्रो समस्या जहाँको तहीं छ।’

युक्रेनसँग युद्धरत रुसको सेनामा भर्ना भएका सिरानीका पति माइतमान गत मंसिर १२ गतेदेखि सम्पर्कमा छैनन्। महिनौंसम्म माइतमान सम्पर्कविहीन भएपछि राज्यसँग गुनासो गर्न केही दिनलाई भनेर सिरानी गाउँबाट काठमाडौं आएकी हुन्।

‘यहाँ आएपछि राज्यका त हामी नागरिक नै होइनौं कि जस्तो लाग्यो। हाम्रा कुरा कोही सुन्ने रहेनछ,’ उनले भनिन्। अभियन्ता भण्डारीसँग भेट भएपछि सिरानी आफूजस्तै पीडितसँगै आन्दोलनमा छन्।

अनशनमै दुःखद खबर!

सुर्खेत पञ्चपुरी गाउँपालिका–५ का किशन थापा रुसी सेनामा भर्ना भएका आफ्ना सालोको खोजीमा काठमाडौं आएका हुन्। थापा अहिले आमरण अनशनमा छन्। उनका साला २८ वर्षीय लक्ष्मण विष्टको घरमा ६५ वर्षीया एकल आमा मात्र छन्। लक्ष्मणका दाजुको परिवार भारतमा मजदुरी गर्छ। लक्ष्मण रुसी सेनामा भर्ना भएर सम्पर्कविहीन बनेपछि सासू र आफन्तको पीडा देखेर किशन अवस्था पत्ता लगाउन फागुनमा काठमाडौं आएका हुन्।

 लक्ष्मण गत भदौ २८ गते रुस पुगेका थिए। उनी रुस पुगेपछि मात्र घरपरिवारले यो खबर पाएको हो। ‘त्यसअघि नेपाली सेनामा तीन वर्ष काम गरेको हो। नेपाली सेनाबाट राजीनामा दिएर दुबई प्रहरीमा भर्ती हुनुभयो। उतैबाट रुसी सेनामा जानुभएको खबर पाइयो,’ किशन भन्छन्, ‘भदौ १८ देखि २२ गतेका बीचमा काठमाडौंमा रहेको मेरो साथीलाई ७० हजार दिन भन्नुभएको रहेछ। मैले पठाएँ, सायद त्यो पैसा दलाललाई दिइएको थियो।’ पछि साथीले आठ लाख लगेको भनेको उनले बताए।

असोज १८/१९ गतेबाट लक्ष्मण सम्पर्कविहीन भए। त्यसपछि सम्पर्कमा आएका छैनन्। लक्ष्मणको अवस्था पत्ता लगाउन फागुनमा काठमाडौं आएका किशनले लाखौं खर्च गरिसके। यसक्रममा घरबाट दुई खसी, भैंसी, दुई बाख्रा बेच्न लगाएर खर्च मगाइसके।

‘केही सीप नलागेर अनशन बसेको हुँ,’ उनले भने। अनसन बस्दै गर्दा उनले शंकास्पद खबर सुनेका छन्। रुसी सेनामै रहेका नेपालीले नोभेम्बर २९ मा रुसी कब्जामा रहेको भूमिबाट युद्धभूमितर्फ हिँडेको बसमा २८ जना नेपाली रहेको र त्यसपछि त्यो बसमा रहेका सम्पर्कमा नआएको खबर सुनाएका छन्।

त्यो बसमा रहेका एकजना पदम घिमिरेको मृत्यु पुष्टि भएको छ। लक्ष्मण त्यही बसमा रहेको शंकास्पद खबर किशनले सुनेका छन्। ‘खै के हो? सत्यतथ्य पत्ता लगाउन सरकारले पहलकदमी लिइदिनुपथ्र्यो। हाम्रो कुरा कसले सुनिदिने?’ किशनले दुःखेसो गरे।

दिनहुँ प्रहरी हस्तक्षेप

प्रहरीले दिनहुँ दमन गरिरहेको अनशनमा रहेकाहरूले बताएका छन्। वैशाख ७ गते माइतीघरबाट अनशन सुरु गरिए पनि दोस्रो दिन भृकुटीमण्डपमा सारिएको थियो। वैशाख १३ गते एकाएक प्रहरीले भृकुटीमण्डपस्थित अनशनस्थलमा आएर धरपकड गरेको थियो।

प्रहरी निरीक्षक योवन चौधरीको नेतृत्वमा रहेको प्रहरी टोलीले त्यहाँबाट सबैलाई उठाएर सिंहदरबारस्थित प्रहरी वृत्तमा लगेर दिनभर राखेको थियो। अनशनकारीलाई उठाएर प्रहरी वृत्तमा लगेपछि बाँकीले वृत्तबाहिरै धर्ना दिएका थिए।

प्रहरी साँझ छाडेपछि उनीहरू शान्तिबाटिकामा पुगेर अनशनमा बसेका हुन्। शान्तिवाटिकामा पनि प्रहरीले बारम्बार दुःख दिने गरेको अभियन्ता भण्डारीले बताइन्। ‘हामीलाई भित्र सुरक्षित स्थानमा बस्न दिइएको छैन। टेन्ट लगाएर बाहिर बस्दा पनि बेलाबेला मध्यरातमा आएर प्रहरीले टेन्ट भत्काएर जान्छ,’ उनले भनिन्, ‘हामीसँग महिला बढी छन्। खुला ठाउँमा बस्दा राति अनेक किसिमका मान्छेको डर पनि उत्तिकै छ।’

यसैबीच सोमबार अनशनरत समूह महाराजगन्जस्थित रुसी दूतावासअघि धर्ना दिन पुग्यो। त्यहाँ पनि प्रहरीले धरपकड गर्‍यो। त्यस दिन प्रहरीले साँझ मात्रै उनीहरूलाई छाडेको थियो।

अनशनप्रति राज्यका निकाय बेखबरजस्तै छन्। ‘कोही कसैले ध्यान दिएको अनुभूति भएको छैन। आफ्ना नागरिक र नागरिकका मागप्रति राज्यको यो स्तरको बेवास्ता देख्दा दुःख लागेर आएको छ,’ अभियन्ता भण्डारीले भनिन्। हालसम्म अनशनबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगको टोली पुगेको छ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धर पनि ऐक्यबद्धता जनाउन शान्बिाटिका पुगेका छन्। यसबाहेक अन्य कसैको ध्यान नपुगेको अनशनकारीको गुनासो छ।

प्रकाशित: २० वैशाख २०८१ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App