४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्मीमा गोबरका ‘गुइँठा’ बनाउन व्यस्त गृहिणी

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ। प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन्।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन्। यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन्। जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो।

‘कि करु ? खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई’ (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नैप¥यो नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्छन्, ‘अखैन जोगार नइकरब त बर्खा में दिकत होयत’ (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ)। बर्खामा गुइँठा चाँडै बल्ने र सल्किएपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन्।

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ। बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थकर पनि हुने बताउँछन्।

यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन्। घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ। यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ।

सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ। यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ। यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ।

खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ। तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गाजमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन्।

‘खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ’, महोत्तरीकै बर्दिबास– ७ का विन्देश्वर यादव भन्छन्, ‘खेतबारी मलिलो बनाउने कम्पोस्ट मल नभएपछि उत्पादन निकै घटेको छ।’ अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन्। –रासस

प्रकाशित: २० वैशाख २०८१ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App