४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेको नौबस्तामा तीन हजार जना क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा

बाँकेको नौबस्तामा तीन हजार जना अट्ने क्षेत्रीय कारागार सञ्चालनमा आएको छ। मुलुकभर रहेका कारागारको अवस्था दयनीय रहेका बेला बाँकेमा सरकारले सुविधा सम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा ल्याएको हो।

१३५ रोपनी क्षेत्रफलमा बनेको उक्त नवनिर्मित कारागार भवनको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एक कार्यक्रमबीच बिहीबार उद्घाटन गरे। कारगारमा २४ सय पुरुष र ६ सय महिला कैदी-बन्दी अट्ने बाँके प्रशासनले जनाएको छ। सुविधासम्पन्न उक्त भवन २ अर्ब ८३ करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको हो।

तीन चरणमा गरेर बनेको उक्त भवनमा प्रशासनिक, मेडिकल र स्पोटर्स ब्लक रहेको छ। प्रत्येक ब्लकमा एक-एक हजार कैदी-बन्दी अट्ने प्रशासनको भनाइ छ। कारागार परिसरभित्रै नेपाल र सशस्त्र प्रहरीका लागि पनि ब्यारेक निर्माण गरिएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले कैदी-बन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको जानकारी दिँदै कृषिदेखि विकास निर्माणसम्मका काममा उनीहरुलाई सहभागी गराउन सकिने उल्लेख गरे। यसले कैदी(बन्दीको क्षमता विकाससँगै उत्पादकत्व बृद्धि र उनीहरुको शारीरिक र मानसिक तन्दरुस्तीमा पनि फाइदा पुर्याउने लामिछानेको विश्वास थियो।

उनले भने, कारागारहरु यातना केन्द्र होइन सुधार गृह बनून भन्नेमा सरकार सचेत छ। सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्। आवश्यक प्रयास भइरहेको छ। सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ। त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ। कारागारबाट फर्किएकालाई समाजले फेरि कारागार नै पठाउने परिस्थितितर्फ धकेल्नु हुँदैन।

गृहमन्त्री लामिछानेले अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुने विश्वास दिलाउँदै सोबारे गम्भीररुपमा छलफल भइरहेको जानकारी दिए।

उनले भने, 'पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। कैद मिनाहका लागि कैदीरबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो। असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न सरकार छ।'

प्रकाशित: २० वैशाख २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App