हिमालयको आह्वान र वैदिक सन्देश
१० असोज २०८३
•
७ मिनेट पाठ
हिमालयको आह्वान र वैदिक सन्देश
प्रकृतिको मौनभाषा




प्रकृति निष्प्राण र मौनमात्र रहन्छ भन्ने मान्नु हुँदैन । प्रकृतिको भाषा शाब्दात्मक हुँदैन । प्रकृतिको भाषा त हिमनदीको विलयनमा, नदीहरुको प्रचण्डवेगमा, पहाडको पहिरोमा, वनजङ्गलको क्षयमा तथा उर्वराविहीन मरुभूमिको विस्तारमा प्रकट हुन्छ । कहिले प्रकृति मन्द‌हावाको रुपमा स्पर्श गर्छ, कहिले जलधाराका रूपमा जीवन प्रदान गर्छ त कहिले-काहीँ प्रलयकारी प्रवाह‌द्वारा मानवजातिको अहङ्कारलाई चूर्ण बनाउन अघि बढ्छ । प्रकृतिको यो मौन सन्देश नै मानवविवेकको परीक्षा हो ।

भर्खरै भदौ-१० को भोटेकोशी-त्रिशूली आदि नदीहरुको विनाशकारी भयावह प्रवाह तथा प्रकृतिको क्रूर स्वभावले हिमाली क्षेत्रको संवेदनशीलतालाई पुनःस्मरण गराएको छ । संयुक्त राष्ट्र महासभाको ८१औं सम्मेलन (२४- सेप्टेम्बर, २०२६ सन्) मा नेपालका प्रधानमन्त्री बालेन्द्र साहद्वारा हिमाली भेगमा बढ्‌दै गएको पर्यावरणीय सङ्कट, जलवायु परिवर्तनको प्रभाव, जलवायु-न्यायको आवश्यकतालाई वैश्विक विमर्शको प्रधान विषय बन्नु पर्ने विचारलाई अघि सारिएको छ । हिमालको समस्या केवल नेपालको मात्र समस्या नभएर, समग्र मानवसभ्यताकै साझा उत्तरदायित्वको विषय हो भन्ने चेतना विश्वका सबै राष्ट्रले आत्मसात् गर्नु पर्ने स्पष्ट अडान प्रधानमन्त्रीको मन्तव्यमा रहेको थियो ।

हिमालय : जीवनको मूल आधार

हिमालय केवल पहाडका टाकुरा वा चुचुरामात्र होइन । हिमाल असङ्ख्य जीवनधाराको मूल आधार हो । हिमालय नदीहरू‌को जनक हो, नदीहरू जमिन (खेतबारी) मा जीवनवाही उर्वराशक्तिको जननी हुन्, खेतवारी भनेका धान-गहुँ आदि अन्न उत्पादनका आधार हुन् र ती अन्नादि सम्पूर्ण प्राणी तथा मानवजातिको जीवनको आधार हुन् । अतः हिमालबाट अविच्छिन्न प्रवाहित जल केवल खोला-नालाका पानीमात्र नभएर मानवीय जीवन, संस्कृति, कृषि, अर्थव्यवस्था र समग्र सभ्यताको प्रवाह हो । त्यसैले हिमालयको संरक्षण भनेको वैश्विक जीवनको संरक्षण हो । हिमालयीय पर्यावरणीय सन्तुलन कायम गर्नु विश्वकै सह‌कार्य आवश्यक हुन्छ र त्यो सहकार्य नै समग्र मानवजातिको सुरक्षाको लागि सेतु बन्न सक्दछ ।

वैदिक दृष्टिमा पृथिवी-माता  

पौरस्त्य दर्शन तथा वैदिक चिन्तनमा पृथिवी केवल  उपभोग्य वस्तु होइन । पृथिवीको अतिशय दोहन होइन संरक्षण गर्नु पर्छ भन्ने सन्देश वैदिक वाङ्‌मयमा यत्रतत्र उपदिष्ट छ । अथर्ववेदले उद्घोष गरेको छ- ‘माता भूमिः पुत्रोऽहं पृथिव्या:’ । यो मन्त्रले मानवको पृथिवीसँगको सम्बन्धलाई अत्यन्त गम्भीररुपमा प्रतिपादन गरेको छ । आमाका संसाधनहरू‌को असीमित दोहन गर्नु सन्ततिको धर्म नभएर आमाको समुचित सम्मानका साथ संरक्षण गर्नु पनि कर्तव्य हो । सन्ततिले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ, उत्तरदायित्व वहन गर्नु पर्छ, आमालाई हेला होइन सम्मान र पूजा गर्नुपर्छ, यो नै पौरस्त्य चिन्तनको सारसन्देश हो ।

ईशावास्योपनिषद्‌ले पनि मानवजीवन‌का लागि संयमता अपनाउनका लागि सनातन सूत्रको निर्देश यस‌प्रकार गरेको छ- ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् । ‘तेन त्यक्तेनमा भुञ्जीथा मा गृधः कस्यस्सिद् धनम् ॥’ (ईशावास्योपनिषद-१) अर्थात् संसारमा जे जति पदार्थ छन् ती सवै परमात्माद्वारा व्याप्त छन् । त्यसैले यो सम्पूर्ण संसार परमात्माकै सम्पत्ति हो । अतः व्यक्ति (मानव) ले आफ्नो ठानेर लोभ गर्नु हुँदैन अर्थात् आफ्ना लागि मात्र हो भन्ने स्वार्थी भावना राख्नु हुँदैन । प्रस्तुत मन्त्रमा पर्यावरणनीतिको मूल तत्त्व अन्तर्निहित छ । उपभोग गरियोस् तर संयमपूर्वक । विकास होस् तर विनाशमूलक विकास होइन । धनसम्पत्ति होस् तर त्यसमा स्वामित्वको घमण्ड महोस् । अहिलेको आधुनिक पर्यावरण सङ्कटको मूलकारण अत्याधिक मात्रामा चलाइएका उद्योग कलकारखानामात्र नभएर प्रकृतिको अतिशय दोहन तथा असीमित उपभोग पनि हो भन्नेमा विश्व सचेत र सावधान हुनु पर्दछ ।

विज्ञान, दर्शन र नीति

विज्ञान‌ले प्रकृतिको कार्यप्रणालीलाई बुझाउने प्रयास गर्छ भने दर्शनले प्रकृतिसँग मानवको सम्बन्ध के हो भन्ने प्रश्न गर्दछ । विज्ञानले कसरी भन्ने प्रश्नको समाधान खोज्छ भने दर्शनले केका लागि भन्ने प्रश्न गर्छ अनि नीतिले हाम्रो कर्तव्य के हो भन्ने निर्धारण गर्छ । अतः जलवायुसङ्कटको समाधानका लागि विज्ञान, दर्शन र नीति परस्पर विरोधी नभएर एकापसका परिपूरक हुन सक्दछन् । जलवायु परिवर्तनको प्रभाव सर्वत्र समान छैन । वैश्विक तापमान वृद्धि (ग्लोबल वार्मिङ) मा धेरै भूमिका नभएको हाम्रो जस्तो देशले त्यसको भार र मार बढी खेप्नु परिरहेको छ भन्दै कुनै अनुनय-विनय नगरी दावाका साथ विश्वमञ्चमा जलवायु-न्यायका लागि नेपालले प्रस्ताव अघि सारेको छ; जुन अत्यन्त स्वाभाविक, सान्दर्भिक र प्रासङ्गिक छ । त्यसैले विश्वसामु नेपालले दान-अनुदान तथा सहयोगको भिक्षाका लागि हात पसारेको छैन, आफ्नो अधिकार प्राप्तिका लागि न्यायको प्रस्तावसहित विश्वलाई प्रकृतिको संरक्षणका लागि सबैको योगदान रहनु पर्नेमा दृढताका साथ खबरदारी गरेको छ । साथै वैश्विक नीति समत्व, उत्तरदायित्व र न्यायको कसौटीमा परीक्षण गरिनु पर्ने र आवश्यक परे संशोधन र पुनर्निर्माण गरी लागू पर्ने स्पष्ट सुझाव पेस नेपालबाट भएको छ ।  

सङ्गच्छध्वम्-वैश्विक सहकार्यको मन्त्र

कुनै पनि समस्या समाधान एकल रुपमा सम्भव छैन । समूहमा मिलेर सहकार्य गरियो भने सफलता मिल्ने भएकाले सह‌यात्राका लागि मह‌त्त्वपूर्ण सन्देश विश्व मानवजातिलाई वेदले यसरी उपदेश गरेको छ- ‘सङ्गच्छध्वं संवदध्वं संवो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सज्जानाना उपासते ।।’ (ऋवेद- १०/१९१/२) हामी विश्वभरका मानव जाति परस्पर प्रेमले सम्मिलित तथा सङ्ग‌ठित बनौँ । सबै मिलेर वैश्विक समस्या-निवारणार्थ तथा विश्वकल्याणार्थ सबैले चिन्तन, मनन र बहस गरौँ । जसरी इन्द्रवरुणादि देवताहरुले धर्म एवम् नीतिको मर्यादालाई पालना गर्दै आ-आफ्नो हविर्भाग ग्रहण गर्दछन्, त्यसैगरी विश्वभरका मानव (राष्ट्र) सबैले आआफ्नो योगदान अनुरूप न्यायोचित अंशलाई ग्रहण गर्नु पर्दछ । सबैलाई घाटा, हानि, नोक्सानी हुने गरी एक्लैले अन्यायपूर्वक विधिविधान तथा नीतिनियमलाई उल्लङ्घनपूर्वक अन्यको भागलाई ग्रहण गर्नु हुँदैन । यसबाट वैश्विक भूमिका, मूल्यमान्यता, नीतिमर्यादा वा अनुशास नको पाठ प्रस्तुत वेदमन्त्रले पढाएको छ । त्यस्तै अथर्ववेदमा समेत वैश्विक सहकार्यको चिन्तन यसप्रकार आएको छ- ‘सम्यञ्च सव्रता भूत्वा वाचं वदत भद्रया । (अथर्ववेद- ३/३०/३) अर्थात् समान गति, समान् कर्म, समान ज्ञान, समान नियम पालना गरेर हामी सबै एक-आपसमा कल्याणकारी भद्र वचन बोलौँ र सबैको कल्याण हुने सहकार्यमा जुटौँ र अघि बढौँ ।

वैदिक वाङ्मयले हामीलाई कहिल्यै सङ्कीर्ण बन्न सिकाएन । सधै उदात्त बन्न प्रेरित गरिरहेको छ । ‘वसुधैव कुटुम्बकम्’ र ‘स्वदेशो भुवनत्रयम्’ जस्ता उपदेशले हामीलाई पृथिवीवासी सबैमा विश्वबन्धुत्वभाव विकास गर्दै विश्वब्राह्मण्डलाई आफ्नै देश मान्न आह्वान गरिर‌हे‌को छ । विश्वमा रहेका सवै मानवका बीच सह-अस्तित्व तथा भाइचाराको सम्बन्ध स्थापित होओस् भन्ने वेद‌को प्रार्थना छ-  ‘सहनाववतु सह नौ भुनक्तु सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तुमा विद्विषावहै ॥’ (कृष्णयजुर्वेदीय, शान्तिपाठ) अर्थात् सबैको सँगै नै रक्षा होओस, एकसाथ मिलेर उपभोग गर्न पाइयोस, सँगसँगै सबै नै शक्तिशाली बनौं । हामी आपसमा कहिल्यै विद्वेष नगरौँ । यसप्रकार सह-अस्तित्व तथा आपसी सद्‌भावका लागि वेदले प्रार्थना गरेको छ ।

प्राकृतिक प्रकोप‌जस्ता विषम परिस्थितिमा जुध्न एक्लै सकिँदैन । ढुङ्गाको भर माटो र माटाको भर ढुङ्गो भएझैँ एक आपसी सहयोग, सद्भाव, भरोसा र विश्वास‌मा नै मानवीय जीवन अडिएको हुन्छ । आपसी सहयोग र सद्‌भावको अभावमा यो संसार तथा मानवीय जीवन नै लथालिङ्ग र भताभुङ्ग हुन्छ । त्यसैले यस्तो विषम परिस्थितिमा सबै मिलेर अघि बढ्नु पर्दछ । आफूमात्र सुखी र सफल बन्ने स्वार्थपूर्ण विचार छाडी सबै सुखी होऊन्, सबै सफल बनून् भन्ने ध्येय सबै विश्वको हुनुपर्छ । त्यसैले वैदिक वाङ्‌मयको उद्घोष छ- ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥’ सबै सुखी बनून्, कोही दु:खी न होऊन् भन्ने आदर्शनै वैदिक सहकार्यको मर्म हो । ‘लोकाः समस्ताः सुखिनो भवन्तु’ को आर्षचिन्तन सबैले अवलम्बन गर्नु विश्वकै आवश्यकता हो । वैश्विक समस्या निराकरण गर्नु नै वैश्विक सहकार्य र समन्वय आजको आवश्यकता हो, यो नै वेदनिर्दिष्ट सन्देश हो ।

शान्तिका लागि सार्वभौम प्रार्थना

अन्तमा पौरस्त्य आर्षचिन्तक तथा वैदिक वाङ्‌मयद्वारा गरिएको सार्वभौम प्रार्थनालाई विश्वले मार्गदर्शक सिद्धान्त अपनाउनु अपरिहार्य छ- द्यौ: शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शातिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्मशान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि ॥’ (शुक्लयजुर्वेद)

द्युलोक शान्त होस्, अन्तरिक्ष शान्त होस्, पृथिवी शान्त होस्, नदीनाला शान्त होऊन्, अन्नदि- औषधि शान्त होऊन्, वनस्पतिहरू शान्त्र होऊन् । विश्वमा देवताहरु शान्त होऊन्, ब्रह्म शान्त होस, सबै शान्त होऊन्, सर्वत्र शान्ति नै शान्ति छाओस् । ॐ शान्तिः,शान्तिः,शान्तिः !!!
अर्को समाचार
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
२२ घण्टा अघि
•
५ मिनेट पाठ
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ।




खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा-सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो) सहितको प्रवेशद्धार र स्वागतद्धार लगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो।

देश/विदेशका किराती तथा गैरकिरातीबाट बटुलेको करिब दुई करोड ८४ लाख रकममध्ये दुई करोड ६२ लाख रुपैयाँमा भौतिक संरचना निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताए।

“साल्पा-सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “किराती मुन्दुम अनुसार साल्पा-सिलिचुङ नै किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ।

मुन्दुमी मिथकलाई भौतिकीकरण गर्न किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रमा मुन्दुमी संरचना निर्माण गरिएको हो। यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको थियो।

तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ साल वैशाख ७ गते सुम्निमा र पारुहाङ तथा नाक्छुङको प्रतिमा स्थापना, दोस्रो वर्ष २०८२ साल वैशाख १ गते सुम्निामा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम र यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक/सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा तथा नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपाली जोडिएका छन्। बृहत् योजनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो।

समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो।

करिब चार वर्ष सञ्चालन गरिएको अभियानका क्रममा भएका आर्थिक तथा भौतिक प्रगतिबारे यही मङ्सिर १८ गते काठमाडौँमा बृहत् कार्यक्रम गरी सार्वजनिकीकरण गरिने समितिका अध्यक्ष मूलघरे कान्छाले बताए।

धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत उच्च हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती वस्ती प्रष्ट देख्न सकिन्छ। साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुद्री सतहदेखि चार हजार १५५ मिटर अग्लो छ।

सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायत डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रूपमा स्थापित छ। टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ।

किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन्।

साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ।

बिनामुहान तथा बिनानिकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास छ।

कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ। पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइएको छ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ। मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहहरूले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन्।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरूसमेत विस्तार हुन थालेका छन्। होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।

होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटक चाैंरीगोठ तथा भेँडीचोकहरूमा बास बस्दै आएका थिए। धार्मिक आस्थाका रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठुल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस