सप्तरी, सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ।
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।
उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।
“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।
एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ।