७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

कतै माघे, कतै माघी अनि कतै मकर आउँछ!

मुक्तक

(१) मुक्तक

रित्तै छ दुबोका चौर, कक्षामा योग पढाइन्छ,

भोको मागिरहन्छ, मूर्तिमा मिष्ठान्न चढाइन्छ।

मरेपछि गुणगान गाउँछ,मतलब गर्छ दुनियाँ,

जिउँदोमा पाइलैपिच्छे छिर्के हानी लडाइन्छ।

(२) मुक्तक

डोको बुनियो बोकियो, घाँस काटियो,

कुचो, नाम्लो, दाम्लो त कति बाटियो।

रहर थिएन तर बाध्यता थियो महोदय,

अघाको बहानामा भोकलाई ढाँटियो।

(३) मुक्तक

कहिले क्रिसमस लोसार, कहिले बकर आउँछ,

कतै माघे, कतै माघी अनि कतै मकर आउँछ।

महँगीको हिसाब नगरौं, नेटो काटिसक्यो,

कहाँ हजारले घिउ,चाकु,तरूल,सख्खर आउँछ।

(४) मुक्तक

जबजब सम्बन्धमा दरार हुन्छ,

विकल्प एक मात्र करार हुन्छ।

आफू ठीक अरू गलत नठानौ,

नयाँ बाटोमा पुरानो फरार हुन्छ।

(५) मुक्तक

जब मेरो गोरुको बाह्रै टक्का हुन्छ,

त्यसपछि केही गडबड पक्का हुन्छ।

खान-पिउन पाउञ्जेल असली मित्र,

दायाँबायाँ लाग्यो भने धक्का हुन्छ।

प्रकाशित: १ माघ २०८० ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App