हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’को बुधबार राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो।
यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा ‘निरजोया’को विमोचन कार्यक्रम सम्पन्न भएको थियो। सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा प्राज्ञ शशी लुमुम्बू, साहित्यकार तथा समालोचक डा. अशोक थापा, निबन्धकार, समालोचक तथा सम्पादक राजकुमार बानियाँ, कवि कल्पना काफ्ले, कवि तथा समीक्षक उमेश अवस्थी आदर्शलगायतले विमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको आफूले बुझेको बताए। उनले भने, “दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई-सी’ अत्यन्त पठनीय कृति थिए। यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ। यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रूचिकर छन्।”
प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठकचाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिए।
त्यस्तै डा. थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा मायाप्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा सङ्कटमा पर्दै गइरहेको कुराई गम्भीर ढंगले उठाएको पाएको विचार व्यक्त गरे। उनले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको बताए।
राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको विचार व्यक्त गरेका थिए।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्लेले ‘निरजोया’को भाषाशैली काव्यात्मक किसिमको रहेको भन्दै पुस्तक एकै बसाइमा पढिसकिने बताइन्।
उमेश अवस्थी आदर्शले पुस्तकले पृथक स्वाद पस्केको विचार व्यक्त गरे। पुस्तक फिनिक्स बुकले प्रकाशन गरेको हो। २९४ पृष्ठको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ।
काठमाडाैं। छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत भएका छन्।
छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू निर्मोही व्यास (जीवनसँगिनी वीणा पोखरेलसहित) र सिर्जना अर्याललाई प्रदान गरेको छ।
कविद्वय प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ।
काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्राडा महादेव अवस्थी, अक्षयकोष संस्थापकमध्येका प्रतिनिधिहरू नेत्रकला ज्ञवाली र प्राडा हेमनाथ पौडेलले दुई पुस्ताका कविहरू व्यास र अर्याललाई उक्त पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि डा. अवस्थीले छन्दसाधकद्वय व्यास र अर्यालले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्दै अभियानका संयोजक द्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण र उत्प्रेरणामूलक कार्यक्रमहरूका माध्यमबाट छन्दमा युवापुस्ता र बालपुस्तासमेत निर्माण गरेकामा धन्यवाद व्यक्त गरे। प्राडा रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्राडा देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएको, त्यसपछि अनलाइनमार्फत विश्वभरका २८० जनाभन्दा बढी कविहरूलाई प्रस्तुत गर्नुका साथै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिइएको जानकारी दिए। उनले संयोजकद्वय (ज्ञवाली र नेपाल) का साथै नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण खतिवडा, प्राडा हेमनाथ पौडेल र निबन्ध आचार्य तथा नेपालबाहिरबाट भोला शिवाकोटी (अमेरिका), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), प्रभा पोखरेल (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका), निशा अर्याल (इजरायल) र रमेश गौतम (नर्वे) जस्ता दाताहरूबाट प्राप्त रकमबाट दश लाखको अक्षयकोष स्थापना गरेको र त्यसैको ब्याजमा संयोजक द्वयले थप गरी हरेक वर्ष एकजना विशिष्ट छन्दसाधकलाई रु. ४०,००० नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र एक जना युवा छन्दसाधकलाई रु. २०,००० नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिए।
प्रारम्भमा नै प्रविधिका माध्यमबाट छन्द–तरङ्गको आठ वर्षको यात्रालाई प्रस्तुत गरी सुरु भएको उक्त कार्यक्रममा डा. नेपालले प्रविधिका माध्यमबाट ‘जीवनी, व्यक्तित्व र कृतित्वका आलोकमा निर्मोही व्यास’ विषयक लामो व्यक्तिवृत्त प्रस्तुत गरी छन्द–तरङ्गले पुरस्कृत स्रष्टालाई दोसल्ला र ढाकाटोपी लगाइदिएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरेको र उहाँहरूलाई प्रदान गर्ने सम्मान–पत्र पनि कवितामा नै लेखिने परम्पराको स्मरण गराउँदै स्रष्टा व्यासलाई प्रदान गर्ने कवितात्मक सम्मान–पत्र वाचन गरेका थिए।
कार्यक्रममा कवि सविता बरालले यस वर्ष छन्दसाधना युवा प्रतिभा पुरस्कार प्राप्त गर्ने धादिङकी प्रखर युवाकवि सिर्जना अर्यालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनलाई प्रदान गर्ने सम्मानपत्र वाचन गरेका थिए। सोही सन्दर्भमा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि निर्मोही व्यासले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरेर थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरे भने उनीद्वारा रचित दुइटा कविता दिनेश पाण्डेय र देवु लुइटेलले वाचन गरेका थिए।
यसरी नै ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि सिर्जना अर्यालले आफू निरन्तर छन्दसाधनामा लागिरहने प्रतिबद्धता व्यक्त गरी दुइटा सशक्त छन्दकविता वाचन गरेका थिए। कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गरेका थिए।
छन्द–तरङ्ग पुरस्कार अक्षयकोषकी संस्थापकमध्येकी एक सीता भट्टराईको स्वागत मन्तव्य, कवि दिनेश पाण्डेयको छन्द–तरङ्ग गायन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी विशिष्ट साहित्यकार, पत्रकार, कलाकर्मी तर साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
स्मरणीय छ, २०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९), भुवनहरि सिग्देल (२०८०), गोविन्दराज विनोदी (२०८१) र डा. नवराज लम्साल पुरस्कृत भइसकेका छन्। त्यस्तै २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकविहरू सुदेश सत्याल (२०७९), कविराज पौडेल (२०८०), रूपक अलङ्कार (२०८१) र पुरुषोत्तम आचार्य पुरस्कृत भइसकेका छन्।
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...