दीपक लोहनी
छुनु र मुनु दुई दिदीबहिनी हुन् । उनीहरू काठमाण्डौको मनमैजुमा बस्छन् । मनमैजुमा मनमैजु अजिमाको प्राचीन मन्दिर पनि छ ।छुनुमुनुको बाबा वातावरण र प्राकृतिक खानपानमा रुचि राख्नु हुन्छ । छुनुमुनुलाई सधै बाबाले तारेको खानेकुरा खानु हुदैन भनि सिकाइरहनु हुन्छ ।
एकदिन छुनुले सोधी - ‘बाबा, तारेको कुरा किन खानु हुन्न ? ’
बाबाले भन्नु भयो - ‘छोरी, तारेको खानामा तेलको मात्रा बढी हुन्छ । नुन, चिनी, मैदा अनि तेलले पनि हाम्रो शरीरलाई बेफाइदा पुरयाउँछ । तेलको मात्रा बढी भयो भने हाम्रो मुटुलाई असर गर्छ । ’
"बाबा, खान त सधै तारेको नै मीठो हुन्छ नि त, किन ? ’ मुनुले सोधी ।
‘हो, तारेकै खानेकुरा मीठो लाग्छ मलाई पनि बाबा । ’ - छुनुले पनि मुनुको कुरोमा होमा हो मिलाई ।
‘तारेको खाना जिब्रोलाई मात्र मीठो हुन्छ छोरी । हामीले आफ्नो शरीरको फाइदाको लागि पो खाना खानुपर्छ । खानाले नै हाम्रो सौन्दर्य, तौल र दिमाग बढ्छ । त्यसैले सधै हामीले स्वस्थ र सन्तुलित खाना खानुपर्छ । ’ - बाबाले भन्नुभयो ।
छुनुमुनुलाई बाबाको कुरो गन्गन लाग्यो । त्यसैले दुवै दिदीबहिनी खेल्न भनी बाबाबाट फुत्किए ।
एकपटक कामको लागि बाबा केही दिन घरबाट बाहिरिनुभयो । घरमा मामु र दुई दिदीबहिनी छुनु र मुनु मात्र थिए ।
मुनुले भनी - ‘मामु आज चिकेन रोस्ट बनाएर खाम् न । ’
छुनुले थपी - ‘ फिङ्गर चिप्स र प्राउन पनि बनाउने मामु । ’
‘लल, बाबालाई थाह नदेओ । म बनाइदिउँला । मामुले भन्नुभयो ।
छुनुमुनु खुसी भए ।
मामुले पसलबाट कुखुराको मासु ल्याउनुभयो । छुनुले पाँचवटा आलु झिकी र पखाल्न थाली । मुनुले प्राउन निकाली ।
मामुले कराई बसाल्नुभयो । कराईमा तेल राखियो । तेलमा प्राउन फुल्न थाल्यो ।
मुनु खुसी भई ।
तेलमा आलुका लामा लामा टुक्राहरू पौडिन थाले । छुनु दङ्ग भई । त्यही तातो तेलमा मासु तारियो । मामु पनि रमाउनुभयो ।
दिउँसोको खाजामा मामु र दुई छोरी छुनुमुनु मिलेर तारेको मासु, आलु र प्राउन खाए । आमा र छोरीको जिब्रोहरू पनि खुसी भए । तर जिब्रो मात्र खुसी भयो । एकछिनपछि मुनुको मुटु दुख्यो । छुनु र मामुको पनि मुटु दुखेको जस्तो भयो ।
छुनुले बाबालाई भिडियो कल गरी - ‘बाबा, तारेको खानेकुरा खाएको हामी सबैको मुटु दुख्यो । अब के गर्ने ? ’
बाबाले झटपट आइडिया निकाल्नु भयो - ‘तातो पानी पिइहाल छोरी । अनि मन्दिर एकफन्को घुमी आउ । वातावरणसंग घुलमिल भएपछि धेरै समस्याहरू आफै ठीक हुन्छन् । ’
छुनुमुनु र मामुले एकएक गिलास तातोपानी पिए र मनमैजु मन्दिर घुमी आए ।
साँच्चै मुटु दुख्न त कम पो भयो । छुनुमुनुले आजैदेखि तारेको खाना नखाने प्रण पनि मन्दिरमै गरे । घुलमिल रोस्ट गरी