खेमराज पोखरेल
यो लेखिरहँदा मैले ६३ वर्षको जागिरे उमेर पार गरिसकेको छु । रिटायर्ड भएको छु । फुकाफाल भएको छु । मान्छेले ‘पाको भयो’ भन्न थालेका छन् । कपाल सेताम्य छन् । आँखा सिसाका पावरमा टिकेका छन् । कान मजैले अल्छी गर्दै छन् । सुकारी हुन नसकेको तथ्य मेरा सामुमा नै भए पनि बेकारी त भन्दिनँ म आफूलाई ।
यो यात्रा गरेर यहाँ आइपुग्दा, लिलिपुटियन मार्काको ज्ञान नै सही – केही अनुभव सँगालेको छु । अुनभवभन्दा पनि अनुभूति सँगालेको छु । मान्छे सबैसँग अनुभवहरू छन् । ती अनुभवले ज्ञान दिएका छन् सबैलाई । र यही विन्दुबाट म पनि मेरा आफ्ना निजी अलमस्त बाल्यकाललाई पुरानो सिनेमाको पर्दाझैँ संझिरहेको छु । बाल्यकालका उच्छवासमा म आफूलाई तौलिरहेको छु । जोखिरहेको छु । यो मेरो अनुभूति मात्र हो । किनकि कसैले पूर्ण ज्ञान प्राप्त गरेँ भन्नु मृगमरीचिका मात्र हो । भ्रम हो । त्यो हुट्टिट्याउँका आकाश थाम्ने कथाजस्तै हो । त्यसकारण मेरो वालापनको अनुभूतिको मापक लट्ठीले तपाईँको ज्ञानको गहिराइको आयाम नाप्न सक्दैन ।
तर पनि म यसबेला एक्लै बसेर आफ्नै वालाजीवन वस्तु–अन्तर्यमा प्रवेश गरी सोच्दै छु कि म के थिएँ ! के भएँ !! के हुँदैछु !!! मलाई लाग्छ कियो कुरा एउटा अनुभूतिजन्यरोमाञ्चक यात्रा रहेछ जिन्दगीको । बाल्यकाल – त्यो बेला न योजना थियो जीवनको, न पीर, न उच्छवास । विल्कुल सादा पाना थियो । सायद सबैको बाल्यकाल मेरोजस्तैअलमस्त नै हुन्छ होलाभन्ने ठान्छु म । केवल परिवेश मात्र फरक हुन्छ होला । २०१३ सालको भदौ ३ गते जन्मिएको हुँ म । प्रमाणपत्रमा भने प्राविधिक कारणले मेरो जन्म २०१३ साल माघ २८ गते छ । जन्मस्थान वर्तमान सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वार्ड नं. १२ बस्तीपुर हो ।मेरो वाल्यकालको नाम कृष्ण हो ।
मेरा वालापनको सादा पानामा घर, परिवार, समाज, राष्ट्र, परिवेश तथा वातावरणले जे लेखिदिए, म त्यही भएँ । मेरा प्रारम्भिक चेतहरू, विश्वासहरू, जातहरू, धर्महरू, विचारहरू यसैका परिणति हुन् भन्ने कुरामा म ढुक्क छु । पछि जीवनका उकालीमा भेटिएका भड्खालाहरूले तथा परिवेशले ती प्रारम्भिक अन्तर्यमा केही परिमार्जन भने पक्कै गरेका छन् । यो कुरामा मैले बहस गर्न खोजेको कीमार्थ होइन । यो मेरो वालापनको अबहसीय सत्य हो । विश्वास हो ।
जन्माइमा मेरो कुनै भूमिका थिएन –तर म जन्मेँ । मैले पाएको जात बाहुन हुनुमा पनि मेरो कुनै भूमिका थिएन – तर म बाहुन भएँ । त्यसपछिकापालन पोषण, शिक्षादीक्षा पनि आर्थिक अवस्था, चेतना र वातावरणको ‘इक्विलिब्रियम’ मा नै होला जीवन भन्ने ठान्छु म – तर एक तहसम्म यसमा पनि मेरो पहुँच थिएन । सबै नियमीत आकष्मिकता थिए । ती आइरहे । मेरा वालापनका सादा पानामा पोतिरहे । दलिरहे । एउटा अमूर्त विविध रङ्गी चित्र कोरिरहे ।
मैले बाल्यकालमा गाई, भैँसी, बाख्रा, खेतीपाती, खोला, पानी, पँधेरो, वनजङ्गल र त्यसले ल्याएको एउटा परिवेशीय जीवन देखेँ । धूलोकादो, खेतीपाती, गाई, भैँसी, घाँस, कुटो, कोदालो, बञ्चरोसँग सम्बन्धी परिवेशीय बालापन भोगेँ । मेरा तुरिया आम ग्रामीण नेपालीको बाल्यकाल सायद मेराझैँ नै थिए होलान् भन्ने लाग्छ मलाई । भैँसीका डँडाल्नााको सवारी, डाब्रामा भैँसीसँगै पौडी खेलेको जस्ता अर्गानिक संझनाहरू अलमस्तताको मिठास लिएर आउँछन् । डगरका बारमा कडकडेकोे काँडे बुटाबाट हात कोत्र्याएर त्यसका दाना टिपेर खोप्पी खेलिएका यादहरू माया लगाएर आउँछन् । अहा त्यो जीवन ! न सोक थियो –न सुर्ता, न भोक थियो – न भकारी । त्यो परिवेशीय अवस्था थियो मेरो बालापनको । यदि शहरमा उच्च घरानामा जन्मेको भए अर्कै भोगाइ र अर्कै परिवेश हुन्थ्यो होला । जिन्दगीलाई अर्कै तरीकाले बुझिन्थ्यो होला । अर्कै रोमाञ्चकता हुन्थ्यो होला । जिन्दगी अर्कै मोडमा जान्थ्यो होला । एउटा कल्पना नि, त्यो राम्रो वा नराम्रो जे पनि हुन सक्थ्यो होला ।
मेरो बखाने कुराको अभावको कारणले भोकै बस्नु पर्दैनथ्यो । तर पक्का हो, च्वाइस थिएन । रोजीछाडी थिएन । स्कूल जानुपथ्र्यो – तर किन स्कुल गएको, किन पढेको, केही थाहा थिएन । कसैलाई सोधे उत्तर आउँथ्यो – पढेपछि ठूलो मान्छे भइन्छ । मेरो वबालापनमा ‘ठूलो मान्छे भनेको के होला !’ भन्ने लाग्दथ्यो ।
बालापन अतुलनीय मायाको खानी थियो । मैले भाग्यमानी बालापन भोगेँ कि आमाबुवा, हजुर्वा हजुरआमाको माया पाएँ । हजुरबा र हजुरआमाको नातिप्रतिको माया भने नभोगेकालाई थाहा हुँदैन । साउँकोभन्दा ब्याजको माया त्यसै भनिएको होइन । यो कुराको मलाई निकै अनुभूति छ । अहिले पनि जब म आफ्ना नातिनीलाई काखमा लिएर चक्क म्वाइँ खान्छु, आफ्नै बालापनको मायाको सम्झना आउँछ । परिवार गजब थियो । जति ओराइँ गरे पनि मायासहितको भात पाकेकै हुन्थ्यो । सुत्न ओछ्यान हुन्थ्यो नै । मजाको कुरा त के भने जस्तो ओछ्यानमा यो शरीरलाई लडाए पनि निद भने कुम्भकर्णीय लाग्थ्यो । निदका सवालमा त अहिले त्यो जीवनको डाह लाग्छ नि ! अहिले मोटो गद्दामा सुत्दा पनि अल्प र दरिद्र निद्रे हुन पुगेको पीडा कसलाई बताऊँ ?
म केटाकेटी हुँदा मेरा पिताजी जजमानी गर्नुहुन्थ्यो । मेरा पिताजीले कर्मकाण्ड पढ्नुभएको होइन । बुवाको इच्छित काम थिएन त्यो । पेसा थिएन त्यो । त्यही पनि बाहुन भएको नाताले म हुर्केको नेवार गाउँमा जजमानी गर्नुपर्ने बाध्यता नै थियो । यसलाई कर्म चलाइदिने, शुद्ध बनाइदिने समाज सेवाको रूपमा हेरिएको थियो । म पनि मेरा बालापनमा बुवाको पछिपछि जजमानको घरमा जान्थेँ । टीका लगाएर ढ्याके तामाको पैसा दिन्थे । कुश फ्याँक्ने, डोरो बाँध्ने, तिलक लगाइदिने कामहरू गर्थेँ ।
केही समयपछि नै एकजना प्रभावशाली दिव्यप्रसाद पोखरेल बसाइँ सरेर हाम्रो गाउँ आउनुभयो । उहाँ नातामा मेरा पिताजीको काका पर्नुहुन्थ्यो । मेरा पिताजीले जजमानी गरेको देखेर मिठो तरीकाले हप्काएर ‘पोखरेल भएर जजमानी गर्दोरहेछ ए यो त ! हाम्रा पुर्खाले गण्डकीमा पानी समाएर मेरा सन्तानले जजमानी नगरून् भनी कसम खाएका थिए । कुरो बुझिस् तैँले उद्धव ?, पोखरेलले त अरू पौरख गर्नुपर्छ, टपरे बाहुन हुने हो ?’ भन्नु भएथ्यो । त्यसपछि मेरा पिताले जजमानी छोडी हाल्नुभएथ्यो । मेरा अलमस्त बालापनमा पोखरेल भनेको ठूलो खान्दान हो, जजमानी गर्ने बाहुन निम्न खान्दानी हुन् भन्ने भ्रम पर्यो । परिरह्यो । जजमानी गर्ने बाहुनलाई टपरे बाहुन भन्ने गरिन्थ्यो । यसले मेरा बालापनका सादा पानामा अरू जातको त कुरै पर जाओस्, बाहुन बाहुन मै पनि विभेद गराइदियो । बाहुनकै पनि जैसी उपाध्यायको भेद मैले बुझेकै थिएँ र अहिले लागिरहेको छ कि मान्छे कसरी सामन्तवादी सोच पाल्न पुग्छ । सामन्तवादी सोच पाल्न धनी हुनु पर्दैन । कुनै सामन्त कुलमै जन्मिनु पर्दैन । जसरी म निम्न मध्यमवर्गमा जन्मेँ र पोखरेल भएको सामन्ती सोच पालेर बालापन बिताएँ । पछि पढ्दै जाँदा राज गीर्वाणयुद्ध विक्रम शाहको पालामा वनारसबाट मुर्दा बनाएर हतियार ल्याउने र राजलाई चढाई विर्ता खाने पोखरेलको प्रसङ्ग पढेँ । पृथ्वीनारायण शाहलाई नगद सहयोग गरी पूर्वी नेपाल विजय गराउन सहयोग गर्ने पोखरेलको कथा पनि पढेँ । तर त्यो त मेरा वा मेरा परिवारको लागि हिङको टालो पनि थिएन । तर मभित्रको सामन्तवाद त्यसै टालो सुँघिरह्यो ।
मेरा सादापानामा अन्धविश्वासका मुठा हालिएका थिए । मान्छे कसरी अन्धविश्वासी बन्छ भन्ने कुराले मलाई पिरोल्थ्यो । किनकि घरमा सिकाउने कुरामा कुनै तर्क हुन्नथ्यो । कारण हुन्नथ्यो । पछि थाहा पाएँ –अन्धविश्वासी बन्न केही कुराले रोक्दो रहेनछ । जे छ सरासर मान्दै गयो, तर्क नगर्यो, बुद्धि नखेलायो, कसैले तर्क वा बुद्धि खेलायो भने उसलाई कडा तरीकाले दुत्कार्यो, यसो गर्दा महान् क्रान्तिकारी अन्धविश्वासी बन्न सकिने रहेछ । भाग्यवादी बनेर अलौकिक तिलस्मी कुरालाई पत्याइदिएपछि त क्रान्तिकारी अन्धविश्वासमा अर्को गतिलो ईँटा थपिने रहेछ । भाग्यवादीहरू मान्छेको जन्माइमा भावीले मान्छेको जीवन निर्माण गरिदिन्छ भन्छन् । त्यसकारण मान्छेको जन्म र मृत्यु पनि भावीको खटन मान्दछन् । लेखान्त मान्दछन् । त्यसैले पुर्पुरोलाई दोष दिन सिक्यो, सिकायो भने खराँट अन्धविश्वासी हुने रहेछ । यो सजिलो बाटो हो रहेछ । किनकि यसमा कसैले ईँटा प्रहार गर्दो रहेन छ । गर्यो भने बनिबनाऊ फर्मुला लगाउन पाइने रहेछ । यो कुरा गर्न अतिरिक्त सीप पनि सिक्न पर्दो रहेनछ ।
र दोस्रो बाटो तर्क, बुद्धि र विज्ञान तथा अनुसन्धानको हो रहेछ । यी सबै कुराको जडवस्तु विज्ञान हो । विज्ञानले भन्छ – मान्छे जन्मदा एउटा सादा कागजझैँ सफा र दागरहीत जन्मन्छ । त्यसमा कुनै पनि विषय लेखिएको हुँदैन । त्यसमा कुनै भाग्य लेखिएको हुँदैन । घर, परिवार, समाज, परिवेश तथा वातावरणलेसो सादा कागजमा दलिदिन्छ । पोतिदिन्छ र त्यसैमा हाम्रो जीवनको निर्माण हुन्छ । हाम्रा सोचहरूको निर्माण हुन्छ । एउटै आमाबाबुका जिनबाट जन्मिएका बालबालिकाको एकै भाग्य हुँदैन । अलगअलग बालबालिकाको हुर्काइमा आइपुग्ने अवयव नै यसको कारक बन्छ ।
अहिले मलाई लागिरहेको छ कि मेरो बाालापनको सादा पानामा जमाना र परिवेशले मनलाग्दी लेख्यो । लेख्दा थोरै चेत लेख्यो । धेरै अन्धविश्वास लेख्यो । यो लेखाइअनुसार जन्मदै म हिन्दू भएँ । म बाहुन भएँ । म उच्च जातको भएँ । मेरा बालापनका साथीहरू नेवार, कामी, दमाईँ, सार्की, मगर, राई, भुजेल, चुरौटे तथा मधेसी मुलका थिए । तिनमा पानी चल्ने र नचल्ने भनेर मेरो सादा कागजमा लेखिसकिएको थियो । म कसरी बाहुन भएँ, फलानो कसरी कामी भयो भनेर सोद्धथेँ । बुवाले बनिबनाउ एउटा संस्कृतको श्लोक भन्नुहुन्थ्यो । श्लोकको अर्थ थियो – ब्रह्माको मुखबाट निस्किएको बाहुन, ब्रह्माको काँधबाट क्षत्रीय, पेटबाट वैश्य र पाइतालाबाटे शुद्र । म पत्याउथेँ । किनकि संस्कृतमा भनिएको कुरालाई ब्रह्मवाक्य भनिन्थ्यो । देव वाक्य भनिन्थ्यो । संस्कृतमा लेखिएका पुस्तक शास्त्र भनिन्थ्यो । स्वर्ग र नर्कका हाउगुजीहरू पर्याप्त लेखिए मेरा सादा पानामा । भूत र बोक्सीका सत्ताहरू मजाले पोतिए । भाग्य र कर्मका पाठहरू घोकाइए मेरा सादा पानामा । र म खासा बाहुन भएँ ।
एउटा घटना दिमागमा आइरहन्छ । म एसएलसी दिन राजविराज गएको बेला थियो । एउटा भाडाको कोठामा बाहुन, क्षेत्री, नेवार तथा चुरौटे साथी डेरा गरेर एसएलसी दिन बसेका थिए । म साथीहरूलाई भेट्न उनीहरूको डेरामा पुग्दा खाजा खाने कुरा भयो । एउटा नाङ्लामा मुरही, चिउरा, प्याज, खोर्सानी, लसुन, अदुवा, कागती तथा शुद्ध तोरीको राग आउने तेल मिसाएर साँधिएको थियो । अनुमान गर्नुस् – त्यो कति स्वादिलो थियो होला । हामी बसेकै बिचमा सो नाङ्लो राखिएको थियो । सबै दनादन खाइरहेका थिए । म नखाऊँ – अर्को बाहुन खाँदै थियो । साथीहरूले मलाई उल्याउने पक्का थियो । खाऊँ पानी नचल्ने म्लेक्ष चुरौटे साथीले पनि खुरुखुरु त्यही नाङ्लाबाट खाइरहेको थियो । मर्नु न बाँच्नु भएर मैले खाएको थिएँ ।
म हुर्कँदै गर्दा जतिजति अङ्ग्रेजी शिक्षा प्राप्त गर्दै गएँ उतिउति संस्कृत शिक्षा प्रणालीप्रति वा अझ भनूँ संस्कृत भाषाप्रति नै वितृष्णा उत्पन्न हुँदै गयो । समाजले त्यस्तै सिकायो । यो जातिगत, धर्मगत, परम्परागत विभेदको जरो संस्कृत भाषा हो भन्ने लाग्दै गयो । संस्कृत भाषा टपरे भाषामा रूपान्तरण भयो मेरा दिमागमा । यसको नकारात्मक प्रभाव मेरा दिमागमा पर्यो । किनकि भाषा आफैँमा विभेदीय हुने कुरा थिएन । त्यो एउटा ज्ञानको माध्यम मात्र थियो । शिक्षा प्राप्त गर्दै जाँदा पूर्वीय वाङमय तथा पूर्वीय सभ्यताका अनमोल ज्ञानहरू त्यही संस्कृत भाषामा रहेका कारण त्यो ज्ञान आफैँ लिन सकिएन । कसैले नेपालीमा उल्था गरिदिएकाको आधारमा पूर्वीय सभ्यता, पूर्वीय दर्शन, जनजीवन पढ्नु पर्ने बाध्यता भयो मलाई । समग्र नेपालले बुझेन । बरु पूर्वीय दर्शनको ज्ञान आर्जन गर्न संस्कृतका विश्वविद्यालयहरू जर्मनीमा खोलिए । अहिले बुझ्दैछु कि अङ्ग्रेजी भाषा बुझ्नका लागि ग्रिस र रोमन भाषा बुझ्नु आवश्यक हुन्छ भनिन्छ । किनकि त्यो अङ्ग्रेजीको माउ भाषा हो । त्यस्तै नेपालीको माउ भाषा संस्कृत हो र संस्कृत नै न पढेकाले म नेपाली भाषामा पनि काफल टिपे भएँ । न यताको भएँ, न उताको । म त जिन्दगीको ज्ञानको दलानमा ठेट्नु पो बनेको छु । अझैसम्म बनिरहेको छु ।
मेरा सादा कागजमा पोतिएको अर्को विषय थियो – महिलाको महिनावारीको चार दिन । त्यो चार दिन महिला अस्पर्शी ठानिन्थे । आफूलाई असाध्य माया गर्ने परिवारभित्रकै महिलाहरूलाई त्यो चार दिन किन अस्पश्र्या ठान्नुपर्ने भन्ने कुरा मेरो दिमागलाई थाहा थिएन । उच्च भनिने बाहुन, क्षेत्री कुलमा यो व्याप्त थियो । मङ्गोल पनि देखासिकी गर्थे । मैले यसका बारेमा पनि हजुरआमालाई सोधेको थिएँ । तर हजुरआमाले गोलमटोल जवाफ दिनु भएथ्यो –महिलाहरूमा महिनाको चार दिन राक्षस पस्छ ।
तर जतिजति म ठूलो हुँदै गएँ, थाहा पाउँदै गए कि किन महिलाले चार दिन बार्नुपर्छ । तिनताक महिलाले अन्तर्य कपडा लाउने चलन थिएन । स्यानीटेरी प्याडको त कल्पना पनि थिएन । परालमाथि ओछ्याइएको काम्लोमा सुत्नुपथ्र्यो । त्यसो भएकाले त्यो चार दिनको प्रभाव महिलाका पिछाडमा देखिएको कुरा म बुझ्न थालेको थिएँ ।
यो बुँदामा आइपुग्दा अहिले पश्चिम नेपालको घोषित छाउपडी र समग्र नेपालका इलाइट भनिने सभ्रान्त वा मध्यमवर्ग वा शिक्षित प्रगतिशील महिलाले अघोषित ४ दिन बारेको आफैँले देखेको छु । बारेको मात्र होइन परम्पराका नाममा बहस गरेको देखेको छु । अहिले पनि नेपालमा त्यो ४ दिन महिलाहरू कुनै न कुनै बहानामा बहिष्कृत नै छन् । धेरै बाध्य बहिष्कृत छन् । कतै स्वेच्छा छ । यसलाई उनीहरू एउटा बनिबनाउ लेप लगाएर पचाउँछन् । पश्चिमको छाउपडीको विरोध पनि गर्छन् तर आफैँ ४ दिन मजाले छाउ बार्छन्।
म हुर्कँदै गर्दा घरमा, परिवारमा तथा समाजमा महिलाहरूको स्थान पुरुषसरह थिएन । हजुरबा र हजुरआमाको स्थिति बराबर थिएन । बुवाको र आमाको स्थान बराबर थिएन । सम्मान बराबर थिएन । मैले यो कुरा हजुरआमा वा हजुरबालाई सोधेको थिएँ । उहाँहरूले पनि एउटा संस्कृतकै श्लोक झिकेर भन्नु भएको थियो – आइमाईले बिहे नहुञ्जेल बाउका अधीन, बिहे भएपछि लोग्नेका अधीन, विधवा भएपछि छोराको अधीनमा बस्नुपर्छ ।
मेरो बालापनमा मात्र होइन, आजको दिनमा आइपुग्दा नेपाली सभ्रान्त र प्रगतिकामी परिवारमा पनि नारी र पुरुषको अवस्था बराबर छैन । एउटा आम उदाहरण दिन्छु – समान पढेका, समान जागिर खाएका, समान व्यक्तित्ववाला श्रीमान् र श्रीमतीका बिचमा हुने सम्वादमा लोग्नेलाई ‘तपाईँ’ ‘हजुर’ र ‘सियोस’ प्रयोग हुन्छ भने समान हैसियतकी श्रीमतीलाई ‘तिमी’ प्रयोग हुन्छ । परिवारभित्र गर्ने व्यवस्थापकीय निर्णयमा मात्र होइन, परिवारले खाने कुरामा समेत मनोवैज्ञानिक पक्षपात हुन्छ । म एउटा उदाहरण दिन्छु –पुरुष सदस्यले खाना खाने दिन परेन भने आमा, हजुरआमाहरू यताउति खानेकुराबाटै काम चलाउनुहुन्थ्यो । मीठोमसिनो पाक्दैनथ्यो तर महिला सदस्यले खान नपर्ने दिन आयो भने पनि पुरुष सदस्यका लागि मीठोमसिनो नै पाक्थ्यो । बाना मिलाएर नै पाक्थ्यो । यस्तो मिहीन विभेद मेरो बालापनले देखेको हो । अनुभूत गरेको हो ।
यति मात्र होइन, यसबाहेक अत्यन्त धेरै अन्धविश्वासले घेरेकोजस्तो लाग्छ मलाई मेरो बालापन । बालापनका सादा पानामा दलेको पोतेका दागहरू अहिलेसम्म कतैकतै धिमा बसेकै छन् । धामी, झाँक्री, बोक्सी, साइत, नक्षत्र, ग्रह, बार, स्वर्ग र नर्क, भाग्य आदि आदि आएका छन् मेरा जीवनका सादा पानामा । मेरा ती सादा पानामा आएका लतपतिएका दागहरू हटाउन खोज्न मात्र पनि मैले धेरै वर्ष कुर्नुपरेको छ । धेरै कुवाको पानी खानुपरेको । धेरैधेरै मनोवैज्ञानिक प्रयास गर्नुपरेको छ । अन्धविश्वास र धर्मको सम्बन्ध केलाउनु परेको छ । संसारको जुनसुकै धर्ममा पनि यस्ता खाले तिलस्मी अन्धविश्वास पाइन्छन् । हामी हिन्दू भएकाले हिन्दूमा मात्र त्यस्ता अन्धविश्वास छन् भनिहाल्नु पर्दैन ।
मैले वेदहरूका सार पढ्दा नेपालमा रहेको जातप्रथाको धेरैवटा आधार पढेको छु । सबैभन्दा प्रबल आधार कामको याने कि पेसाको आधारलाई लिएको देखिन्छ । वैदिक युगमा शास्त्र पढ्ने ब्राह्मणले शुद्रकन्यासँग बिहे गरेका धेरै उदाहरणहरू छन् । त्यो युगमा अहिलेको वर्णव्यवस्थाको विभाजन पेसाको आधारमा भएको देखाइएको छ । तर समयले बिस्तारैबिस्तारै समाज व्यवस्थापन गर्ने क्रममा हिन्दू मान्छेसँग विभेद गरेको छ र अहिले पनि त्यो सतीदेवीको लासलाई नेपाली समाजले बोकिरहेको छ । नेपाली समाज भाषणमा नबोकेझैँ गरे पनि व्यवहारमा मजाले बोकिरहेको छ । यो बुँदामा बुझ्नुपर्ने कुरा कुनै एउटा शासकले आफूलाई शासन गर्नका लागि यो जाति विभेद गरेको भने होइन । सयौँ वर्षको सामाजिक अभ्यासले यो विभेद पन्पिएको छ । यो विभेद यहाँसम्म छ कि हाल आएर दलित भनिने भित्र नै धेरै छुताछुत प्रथा विद्यमान छन् ।
म अमेरिकामा बसेको छु । म अमेरिकनलाई नेपालको जातप्रथाको कुरा बुझाउन खोज्छु तर सक्दिनँ । वर्ग उसले बुझ्छ, रङ्ग बुझ्छ । विभेद पनि बुझ्छ । तर जात बुझ्दैन । पानी चल्ने र नचल्ने जातको कुरा गर्दा त ऊ बेहोस हुन खोज्छ । अझ भगवान् तथा धर्मले यो पानी चल्ने र नचल्ने मान्छे बनाएको भन्दा त ऊ साँच्चै बेहोस हुन्छ । महिनाबारी ४ दिनको कुराभित्रको अन्तर्य बताउँदा ऊ अचम्म मान्छ । छाउपडीका कुराले ऊ हैरान हुन्छ । यद्यपि अमेरिकाको समाजमा पनि अनेकौँ खाले उत्तर आधुनिक विभेदहरू नभएका भने होइनन् । त्यसको विवरण यहाँ अप्रासङ्गिक हुन जान्छ ।
नेपालमा राजनीतिक परिवर्तनका लागि मात्र होइन, महिला र पुरुष समानताका लागि पनि धेरै आन्दोलनहरू भएका छन् । जातीय विभेद हटाउन निकै आन्दोलन भएका छन् । छाउपडी, बोक्सी, दाइजोप्रथाका बिरुद्ध शङ्खनाद गरिएको छ । धेरै नेपाली शहादत पनि भएका छन् । रूपमा धेरै परिवर्तन पनि भएको भनिन्छ, तर सारमा ज्यूँका त्यूँ छन् । यसको कारण अरू कोही नभएर हामी आफैँ हौँ । नेपालको राजनीतिले नीति खोज्दैन – नेता खोज्छ । वर्ग खोज्दैन – जात खोज्छ । कानूनी राज्यको मर्म खोज्दैन – हुकुम र तिलस्मी खोज्छ । महिला आन्दोलन शतप्रतिशत अस्तित्व खोज्दैन – भाग शान्ति खोज्छ । जातीय मुक्तिको आन्दोलनले उचाइ खोज्दैन – आरक्षण खोज्छ । धर्मले विश्व सहिष्णुता खोज्दैन – सङ्कीर्णता खोज्छ । समाजले तर्क चिन्तन र बुद्धि खोज्दैन – यथास्थिति विलयन खोज्छ । कथित बुद्धिजीवी न्याय र नियम खोज्दैनन् – हुल र भिड खोज्छन् । जनता साँचो कुरा खोज्दैनन् – हल्ला मन पराउँछन् ।
यो घनचक्करमा मेरो जीवनको सादापानामा जस्तै आम नेपालीको जीवनको सादा पानामा पनि क्याङरमयाङ कोरिएका छन् । ती लत्पतिएका रङहरूले कसैलाई किरात गुरु फाल्गुनन्दलाई कहिले हिन्दू गुरु ऋषि वषिष्टलाई त कहिले मैथिल महाकवि विद्यापतिलाई लम्पसार नपारी परिवर्तन आउँदैन भन्ने बुझाएको छ । सालिक भत्काउन लगाएको छ । इतिहास मेट्न लगाएको छ । उच र निच बनाएको छ । मार्न लगाएको छ । चलन र सभ्यताका नाममा सिक्रीले बाँध्न लगाएको छ । कुनै त म पढ्न सक्छु । पर्गेल्न खोज्छु तर कुनै त पढ्नै सक्तिनँ । पढे पनि बुझ्न सक्दिनँ । बुझे पनि भन्न सक्दिनँ । भनेँ भने पनि अर्को लतपतिएको सादा पाना मेरा अगाडि भाला लिएर उभिन्छ । म पढ्न सकेका लतपतिएका अन्धविश्वासलाई धपाउन खोज्छु – यथास्थिति वर्तमान लाठो लिएर उभिन्छ । जीवनले पल्ला किनाराबाट फाल न हालुञ्जेल म लगातार आफैँभित्र मेरा सादापानामा दलिएका अन्धविश्वासहरू मेटाउन खोज्दैछु । चिनियाँ लोककथाको पहिरो फुटाउने एक्लो बूढो हुँदै छु ।