किशन पौडेल
अकस्मात् सरकारले ताजा जनादेश लिने भन्दै चुनावको घोषणा गर्यो । टोल र गल्लीका चिया पसल भट्टी र होटेलहरूमा राजनैतिक पार्टीहरूको चहलपहल सुरु भो । नेताहरूप्रति कुण्ठा र वितृष्णाहरू पोखिँदै थियो ।
– कुसंस्कारबाट हुर्केका भ्रष्टाचारी र अपराधीहरूको चङ्गुलबाट देशले कहिले उन्मुक्ति पाउला खै ? एक चुस्की लोकल सुरुप्प पार्दै हर्कबहादुरले दुखेसो पोख्यो ।
– के गर्नु देश समृद्धि बनाउँछु भनेर सत्तामा पुगेकाहरू आफै समृद्ध भए । भ्रष्टाचार र बेथिति बढ्दै गयो । देश र जनताको अवस्था सधैँ उस्तै अबको चुनावमा यिनीहरूलाई लाखापाखा लगाउन नै पर्छ है हर्क । धनबहादुरले चुरोटको लामो सर्को तान्दै कुण्ठा पोख्यो ।
– हामी आफै मूर्ख भेडा हौ । बारम्बार तिनीहरूलाई नै भोट दिएर जिताउने । अब सचेत हुनैपर्छ । बुद्धिबहादुरले एक गिलास तनक्क तन्काउँदै आफ्नो तर्क पेस गरयो ।
– हामीसँग अरू विकल्प नै पो के छ र ? गतिलो राजनीतिक पार्टी छैन । इमानदार नेता छैनन् । भोट हाल्ने पो कसलाई हो । हारे पनि जिते पनि सत्तामा पुग्ने त तिनीहरू नै हुन् , कस्तो विडम्बना ! गिलासको अन्तिम रक्सीको घुट्को तनक्क पार्दै हर्कबहादुरले आफ्नो चिन्ता व्यक्त गरयो ।
एक हुल कार्यकर्ताहरू गरौं झोला बोकेर होटेलभित्र पसे रक्सी र मासुको मिठो वासना आइरहेको थियो । सबैको अनुहारमा खुसी र चमक देखिन्थ्यो ।