काफ्लेकी दिदी
१८ पौष २०७७
•
६ मिनेट पाठ
काफ्लेकी दिदी

टङ्क भट्टराई

 




“बिर्सेको माया बल्झायौ बाबुराम ! यत्रो वर्षपछि कसरी आइपुग्यौ त ?”

पाँचछ वर्षपछि म गाउँ जाँदा काफ्लेकी दिदीलाई भेट्न गएको थिएँ । मैले सिकुवा टेकेर खुट्टामा ढोग्नासाथ दिदीले आँसु झार्दै भनिन् ।  

अब त दाँत पनि पूरै झरिसकेछन् । कपाल हिउँजस्तै भइसकेछ । त्यस्ती अग्राख जस्ती दिदी रोग र बुढ्यौलीले पूरै गलिसकिछिन् ।  

“निठुरी रछौ । मलाई छोडेर हिँड्यौ । न चिठी चपेटो पठाउँछौ न फुन नै गर्छौ । माया मार्न पनि के सारो सकेको होऊ । तीज आउँछ रुन मन लाग्छ । तिहारमा सयपत्रीका बोट समातेर तीँ भक्कानिन्छु । तीनटा दाजु थिए । एउटा पोरपरारै मरे । एउटा सत्ताइस सालतिर सुन्तला बोक्न रम्फु हिँडेका उतै बेपत्ता भए । ती पनि पोर मरे अरे । अनुहार देख्न पाइएन । कान्छा दाजुभाउजू (मेरा बुबा आमा) र तिमेरू भदाभदैनी थियौ । तिमर्ले पनि माया मारेर हिँडेऊ ।” दिदी रुँदै मनका पोका पन्तुरा फुकाउँदै गइन् ।  

“जाने ठाउँ काइँ छैन । मनको बह पोख्ने त्यही माइती थियो । तैपनि कहिलेकाहीँ त्यही रित्तो घर हेर्न झर्छु । आँगन टेक्नेबित्तिकै मुटु फुटेर आउँछ । सिकुवामा बस्छु । घरपछाडिका वर–पिपलतिर, बारीका डिलतिर सबै ठाउँ डुल्छु । बा घरमुनि दबदबेको रूखमा चढेर घाँस झार्दै गरे जस्तो लाग्छ । आमाले गलामा प्वाँलाको माला हल्लाउँदै आँगनमा बढारे जस्तो लाग्छ । दाजुले रोपेको जाजी सन्तोलाको बोट अब त बुढिएर पहेंलो भइसकेछ । निबुवाको बोट मरेछ । केराका बोट भने सप्रेकै रछन् । घरमाथिको लालुपाते अझै फुल्दैरछ । जम्दार दाजु बाहिर खाटमा उपरखुट्टी लार ‘कान्छी आइस् ! भन्दै बोलेजस्तो लाग्छ । भाउजू भित्र अगेनाछेउमा बसेर अगुल्टामा सुर्ती सल्काउँदै छिन् कि जस्तो लाग्छ । म आउँदा तिमेरू खुसीले उफ्रिन्थेऊ । अहिले पनि धुलेमाटो खेल्दै यतैहुँदी नाङ्गै–भुतुङ्गै डुलेझैँ उफ्रेझैं लाग्छ । छोरीचेलीको जातलाई यो माइती भन्ने कुरा पनि कति प्यारो लागेको । माइतीको कुकुर पनि प्यारो हुन्छ भन्छन् । बरु, केही खान नदिऊन् माइतीको अन्वार देख्तै मन भरिएर आउँछ । बाउ–बराजु त्यै माटोमा मरे । तिमर्लाई त्यो ठाउँ भएन । जाँ जाऊँन् मेरा माइती सुखी हुन् । दुःखको काँडा नबिझोस् ।” दिदी अलि शान्त भइन् ।  

“लु, भोक लागो होला ! हेर  मेरो शुद्धि हराको । मेरा माइतीलाई मै बनार खुवाउँछु । म ता तिमीलाई देख्नेबित्तिकै एकोहोरो पो भइछु  । केके भनेँ बोल्न पनि जान्दिनँ । जे होस् धेरै बर्खपछि मनको मैलो पखालेँ । साँच्चि भुसुक्कै बिर्सेछु– दाजुभाउजूलाई सञ्चै छ ? दाजुको ता अझै हात्तीकै जस्तो ज्यान छ । भाउजूलाई चाइँ बेला–बेला ग्याँस्टिकले सताइरन्थो । अनि ब्वारी केटाकेटी सबैलाई सुबिस्तै होला नि ! तिमी कैले आका ? कैले जान्छौ ?

“सबैलाई सुबिस्तै छ दिदी ! म यहाँ जिल्लामा काम परेर दुईतीन दिन भो आको । सबै आफन्तलाई भेट्ने क्रममा पहिले तपाईंलाई भेट्न आको । अलि हतार छ एक हप्तामा फिरिहाल्छु ।”

“जति हतार होस् एकदुई दिन नबसाईकन ता म काँ छोड्छु र ! बल्लबल्ल भेट भाको । लु आऊ, भित्र पसौँ । बात मारौँ ।” दिदी दाउरा बोकेर भित्र पसिन् । बिहानको खाना खाने बेला हुन लागेको थियो । एकछिन पछि बुहारीहरू पनि मेलाबाट आए । भिनाजु पनि आउनु भो । ढोगभेट चलो ।  

बुबाकी बहिनीलाई फुपू भन्नुपर्ने तर हामी सबै भदाभदै दिदी नै भन्थ्यौँ । दिदीलाई एघार वर्षकै उमेरमा बिहा गरिदिएको अरे माथि लेकको ठाउँ काफ्लेमा । माइती र उनको कर्मघर त्यति टाढा भने थिएन बढीमा दुई घण्टाको फरक थियो । ऊ बेला सानैमा विवाह गरिदिएपछि तीन वर्ष माइतै बस्ने चलन थियो । दिदी पनि तीन वर्ष माइतै बसिछिन् ।  

बिहे गरेको लामो समयसम्म पनि छोराछोरी नहुँदा हरिवंश पुराण लाएपछि दिदीका लगालग चार सन्तान जन्मिएका अरे दुई छोरा दुई छोरी ।  

काफ्लेकी दिदी माइत आइरहन्थिन् । दिदी आउँदा हामी भुराभुरी धेरै खुसी हुन्थ्यौँ । फिपीमा कहिले फापरका बाबर, कहिले च्वाइँ रोटी, कहिले फर्सीका बियाँ र फिलुङ्गेको अचार ल्याउँथिन् । लेकको ठाउँ घरमा दुःखदुखै थियो । तर, हातको शोभाउ कोसेली नबोकी दिदी आएको मलाई थाहा छैन । हिउँदको याममा त झन् एक हातका सप्रेका मुला, नाङ्ला जत्रा पात भका रायोका साग, गुन्द्रुक, सिन्की, सिलाम, सुठुनी, पूmलतरुल, सिमलतरुल केके हो केके थुन्सेभरि लिएर आउँथिन् । कोसेली खान पाइने भो भनेर हामी खुसीले बुरुक–बुरुक उफ्रिन्थ्यौँ ।  

दिदी माइत आउँदा केके खान पाइने कुरा त छँदै थियो, त्योभन्दा पनि खुसी दिदी हामीलाई औधी माया गर्थिन् । भन्थिन्– “सानामा मैले तिमर्को गु–मुत कति खाएँ कति । तिमरू बिरामी हुँदा कति रुन्थेँ । निको नहुञ्जेल घरै जान्नथें ।”

दिदी रसिलीहँसिली थिइन् । घत पर्दा एक हलकै मेलो हाँस्थिन् । माइत आका बेला आमा र दिदी रातैभरि बात मार्थे । हामी पनि चाख मानीमानी आधा रातसम्म नसुती सुन्थ्यौँ । दिदी कहिले हाँस्दाहाँस्दै रुन्थिन् । कहिले रुँदारुँदै हाँस्थिन् । धेरै जसो देउरानी पहेंलीका कुरा गर्थिन् । हरिकर्नेकी स्वास्नीका कुरा गर्थिन्। धतुरेकी आमा र बच्चीका कुरा पनि धेरै गर्थिन् । उनी जे कुरा गर्थिन् ती सबै कुरा हामीलाई मीठा लाग्थे किनकि उनको बात मराइमा विशेष कला थियो । कुरा गर्दै जाँदा हामीलाई हँसाउन दिदी भन्थिन्– “एउटाले आठ जना खेताला खोजेछ–

सुइरे र सापातेले शक्ते र म

फलानो र ढिस्को भक्ते र म”

नबुझीकनै भए पनि हामी मरिमरी हाँस्थ्यौँ ।

तीजमा दर खानको लागि काफ्लेकी दिदीलाई लिन मलाई पठाउँथे घरबाट । म खुसी भएर दिदीलाई लिन जान्थेँ । च्यानडाँडा, राम्चे, पान्धारे, काँडे हुँदै दिदीको घर पुगिन्थ्यो । देवीथानको पूर्वपट्टि लफ्याङ गाउँ सिरानमा दिदीको घर । काफ्लेको लेक जतिखेरै जाडो । हिउँदको पारिलो घाममा काफ्ले गाउँ मुस्कुराउँथ्यो भने बर्खामासमा कुहिराको सेतो दोसल्ला ओढेर गमक्क पथ्र्यो । बाहिर फेरो हिँड्नासाथ स्याउँस्याउँती जुका ।

पारिपट्टि ट्याम्के डाँडो, धिप्लुङ छाँगो । अलि तल हल्का सुसाउँदै बगेजस्तो साप्सु खोला । मानेभञ्ज्याङ, मात्तिम, प्वाँला, याम्खा, चुइचुम्मा, बसेरी, खाम्तेल र तल्तिर गजधम्म बसेको खानीडाँडाका हेरिरहूँ लाग्ने दृश्यहरू ।  मनै लोभ्याउने यी रमाइला ठाउँहरू दिदीका आँगनबाटै देखिन्थे ।  

सिजनमा काफल धेरै पाक्ने हुनाले त्यो ठाउँको नाम काफ्ले भएको हुन सक्छ ।  

बारीहुँदी गोगुन र दुदिलाका बोट । गैरी र खोल्सातिर अग्ला–अग्ला उत्तीसका रूख । वर–पर थुप्रै काफल, पात्ले र ढाल्नेका रूखहरू । ढुङ्ग्रे बाँस र मली बाँसका बाक्ला–बाक्ला झ्याङहरू । पाखा–भित्ताहुँदी जताततै वनमारा र पातीका बाक्ला झाडीहरू म अहिले पनि सम्झिन्छु ।  

तीजका बेला नास्पाती र मेल फलेका त कति हो कति । म नाइटो फुलुञ्जेल नास्पाती खान्थेँ ।  

तीजमा लिन जाँदा ‘लौ माइती आछ !’ भनेर दिदी खुसीले फुरुङ् पर्थिन् र गच्छेअनुसार कोसेली बनाएर माइत झर्थिन् । त्यो बेला राति उज्यालो नहुँदै उठेर दैलो नउघारी दर खान्थे । हामी केटाकेटी पनि आँखा मिच्दै दर खान उठ्थ्यौँ । भोलिपल्ट व्रतका दिन घरका आँगनमा पल्लाघरका बेदी र इन्द्री दिदी, माथ्लाघरका डल्ली र झ्यापी दिदी भेला हुन्थे । बल्लबल्ल नौ डाँडा काटेर माइत आएका उनीहरू काफ्लेकी दिदीसँग धित मरूञ्जेल बात मार्थे र साँझ परेपछि आमाहरूसँग गीत गाउँथे । नाच्थे । सँगिनी खेल्थे ।

तिहारमा थुन्सेभरि माला र माइतीलाई खुवाउने कुरा बोकेर दिदी आउँथिन् । माथ्लाघरका बा, कटुवाका बा, पल्लाघरका बढाउ, आठमुरेका बढाउ र हाम्रो बुबाले दिदीका हातबाट तिहारको टीको लाउँथे ।  

तीज दसैँ, तिहार, बिहाबटुल यी चाडबाड र अवसरहरूमा जति नै पाहुना आए पनि काफ्लेकी दिदी नआउँदा हामीलाई सा¥है खल्लो हुन्थ्यो । 

यसरी काफ्लेकी दिदीसँगका बाल्यकालदेखिका सम्झनाहरू यो मनभरि उनिएर रहेका छन् । जीवनमा नातागोता, इष्टमित्र, साथी सङ्गातीहरू त धेरै हुन्छन् तर ती कति विस्मृतिमा हराएर जान्छन् । कति सम्झनाहरूमा रहिरहन्छन् । तीमध्ये मेरो सम्झनामा कहिल्यै नहराउने एक पात्र हुन्– काफ्लेकी दिदी।
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस