खँदिलो रचना, रसिलो प्रस्तुति
०१ फागुन २०७७
•
५ मिनेट पाठ
खँदिलो रचना, रसिलो प्रस्तुति
‘परराष्ट्रका पात्र’ का लेखक डा. मदनकुमार भट्टराईको दोस्रो कृति ‘परराष्ट्रका प्रशासक’ भर्खरै प्रकाशित भएको छ। २०७६ सालमा पहिलो पुस्तक निस्केको थियो भने वर्ष दिनपछि अर्को ग्रन्थ जनसमक्ष आइपुगेको देख्दा लेखकको हौसला यसबीच निकै बढेछ भन्ने बुझिन्छ। हो, कतिसम्मको जाँगर पहिलो पुस्तकका पाठकले बढाइदिएका हुन् र कतिचाहिँ कोरोनाकालमा ‘घरबन्दी’ हुँदाको समयको उपयोग गर्नुपर्दाको परिणति हो, त्यसको अनुमान भने झट्ट गर्न सकिँदैन।




परराष्ट्र सेवामा झन्डै चार दशक क्रियाशील रहँदा जर्मनी र जापानमा राजदूत र परराष्ट्र मन्त्रालयमा सचिव समेत भएर काम गरेको अनुभव भएका लेखकले पहिलो पुस्तकको प्राक्कथनमा लेखेका थिए, ‘उद्देश्य केवल यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयको थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो।’ दोस्रो पुस्तक पनि नेपालकै परराष्ट्र सम्बन्धको सेरोफेरोमा रहेर लेखिएको हुनाले मूल उद्देश्यमा हेरफेर हुने कुरो आएन। यस पुस्तकको भूमिकामा पनि पहिलेकै भनाइप्रति प्रतिबद्धता जनाइएको छ, ‘थप अनुसन्धानलाई प्रेरित गर्नु हो। पाठकले पढेर छिः नभनिदिए मात्र पनि मैले आफू सफल भएको सम्झनेछु।’

लेखक विनयशील भएको तथ्य यसै कथनबाट झल्किन्छ। र, दुइटै पुस्तक एकसरो पढेको पाठकले लेखक भट्टराई आफ्नो उद्देश्यमा सफल भएकै देख्ला, मेरो ठम्याइ यस्तो छ। नेपालको कूटनीतिक इतिहास कोट्याउने, केलाउने काम गरेर गोरेटो बनाएदिएको छ, अब त्यसलाई फराकिलो बाटो बनाउन सक्नेले अघिसरे भइहाल्यो। पहिलो पुस्तकबारे आएको एक प्रबुद्ध राजनीतिज्ञको प्रतिक्रियाको उत्तर दिने क्रममा आफू ‘विगत’मै केन्द्रित भएको हो भनेर स्वीकार गरेको व्यहोरा दोस्रो पुस्तकको भूमिकामा उल्लेख गरिएको छ। अनि, अघिल्लो प्रकाशनमा परेका केही–केही कुरा दोहोरिन सक्छन् भन्ने लेखकको भनाइ ठाउँ–ठाउँमा प्रस्ट देखिन्छ पनि। पुनरोक्तिको दोष लाग्ने त्यस्ता बुँदालाई ‘दबिन्छ गुणीको दोष गुणका राशिमा परी’ भन्ने कविशिरोमणि लेखनाथको पद्यले बचाउ गर्ने कुरामा सन्देह रहेन। त्यसैगरी, लेखकले अन्वेषणमा बिताएको समय, गरेको दौडधूप, खर्चेको साधन–स्रोतबारे सहृदयी पाठकले सहजै अनुमान गर्न सक्छन्। पुछारको खण्डका १० पृष्ठमा प्रस्तुत छायाचित्र (तस्बिर)हरू पुस्तकका विशिष्ट आकर्षण हुन्, किनभने अमीर मुन्सी लक्ष्मीदास सिंह प्रधानयताका प्रशासकहरूको अनुहार देख्न पाइन्छ। दुर्लभ फोटो जुटाउने लेखकको यो प्रयास सूचना बटुल्न गरिएको प्रयत्नसरह नै प्रशंसनीय छ। लक्ष्मीदासले भीमसेन थापादेखि जंगबहादुरको पालासम्म मुन्सीको काम गरेका रहेछन्।

पुस्तक सूचनाको ठूलो थुन्चे नै हो, विश्लेणका घतलाग्दा पाटा यत्रतत्र भेटिन्छन्। परन्तु सबै सूचना नेपालको परराष्ट्र नीति वा त्यसलाई सञ्चालन गर्ने कूटनीतिसँग सोझो सरोकारमा पर्ने प्रकृतिका छैनन्। कति ठाउँमा विषय र प्रसंगसँग मेल नखाने देख्दादेख्दै पनि लेखकले आफ्नो संकलनमा आएका सूचना एकमुष्ठ बाँडिहाल्ने रहर रोक्न सकेको पाइँदैन। उदाहरणको रूपमा पृष्ठ ४९ देखि ५२ मा चर्चित अब्दुल करिमको कथालाई लिन सकिन्छ। बेलायतकी महारानी भिक्टोरियाको ‘छुट्टै व्यक्तिगत आचरण र व्यवहार’ र हिन्दुस्तानी करिमको आकर्षक व्यक्तित्वका कुरा यस पुस्तकका लागि सान्दर्भिक होइनन् कि ? त्यस्तै, विष्णुप्रसाद धिताल बारेको जानकारी पनि चाहिनेभन्दा बढी विस्तृत भएर आएको छ। त्यस्तै, बिहेबारी, माया–प्रीति, पारपाचुके र नातागोताका सिलसिला पनि सबै सन्दर्भभित्रका छैनन्।

नातावादलाई प्रोत्साहन दिने चलनको झलक दिन खोजेका मामिलामा त ठीकै हो, अन्यथा को कसको निकट वा परको नातेदार थियो वा तीनपुस्ते के हो भन्ने कुराले खास महत्व राख्दैन। सात साल पहिलेको राणाकालीन नेपालमा शासकले प्रशासक कि नातेदार तोक्थे कि बफादारको चयन हुन्थ्यो, तर प्रजातान्त्रिक नेपालमा यस्तो नहुनुपर्ने हो। योग्य र इमानदारले देश सेवाको अवसर पाउनुपर्ने हो भन्नेमा द्विविधा छैन। सके लेखकले यिनै विचलन र नमिल्दा कुरा झल्काउन नातागोताको पक्ष खोतल्न रुचाएका होलान्। कूटनीतिक संयन्त्र दह्रो नभए परराष्ट्र नीति प्रभावकारी हुँदैन भन्ने परिप्रेक्ष्यमा लेखकले परराष्ट्र सेवामा नियुक्ति गर्दा हुने गरेको ज्यादतीलाई लक्षित गर्दै अनावश्यक ‘राजनीतिक हस्तक्षेप रोकिनुपर्छ’ भनेर परिस्थितिको कठोर तर जायज समीक्षा गरेका छन्।  

राज्य व्यवस्था सञ्चालनको परिप्रेक्ष्यमा महिलाहरू परम्परागत हिसाबले किनारामा पारिएका छन् भन्ने लेखकको अवधारणा होला। त्यसैकारण ‘पारिवारिक सम्बन्ध र सचिवपत्नी’ नाम राखेर एउटा सिंगै अध्याय यसबारे विवेचना गर्नमा लगाएको हुनुपर्छ। गृहिणीको भूमिकामा सीमित कूटनीतिक कर्मचारीका पत्नीहरूको परिवेशमा नारीजाति बारेको लेखकको संवेदनशीलता बुझ्न सकिन्छ, तर परिवर्तनको क्रम त्यो देश, काल र परिस्थिति अनुरूपको हुने गर्छ भन्ने यथार्थ पनि कसैबाट लुकेको छैन। जस्तो, विगतमा विन्देश्वरी शाह राजदूत भएझैँ समयको अन्तरालमा कुनै महिला परराष्ट्र सचिवको पदमा पनि पुग्लिन्।  

लेखकले निकै सावधानीका साथ आफूले बटुलबाटुल गरेका सूचना र जानकारीका स्रोतको उल्लेख गरेका छन्, कतै आलेखमै त कतै पाद टिप्पणीका खण्डमा। प्रस्तुत गरिएका सामग्रीको विश्वसनीयताका लागि स्रोत अति आवश्यक पक्ष हो। पत्रकारिताको अनुभव सँगालेको हुनाले यस्तोमा लेखकको सजगता देखिन्छ नै, तथापि खट्किने हरफ ठाउँ–ठाउँमा भेटिन्छन्। जस्तो, अध्याय २ मा मुन्सीहरूको आगमनको चर्चाको सन्दर्भ छ र अनुच्छेदको पुछारको वाक्यमा लेखिएको छ, ‘कालान्तरमा बिहेबारी, रहनसहन र प्रधान थर प्रयोग गरी मुन्सीहरू नेवारमा परिणत भए।’ ऐतिहासिक महत्वको यस्तो बयान सामान्य ढंगले ‘पारिवारिक स्रोतका अनुसार’ मात्र भनेर थेगिन सक्ला र ? पुस्तकलाई अन्वेषकको आँखाले पढ्ने नेपालीले प्रश्न उठाउनु स्वाभाविक हुन्छ।  

समग्रमा, लेखाइ सरल छ, तथापि धेरै प्रकारका सूचना एउटै वाक्यमा उनेर लेख्दा सरल व्यहोरा पनि कहिलेकाहीँ जटिल हुनपुग्दो रहेछ। यसको दृष्टान्त हुन सक्ने वाक्य पृष्ठ २३३ मा छ, जसमा राजदूत खत्री, उद्धवदेव भट्ट र संयुक्त राष्ट्रसंघमा बंगलादेशको उदयबारे जिकिर गरिएको छ। छोटा–छोटा दुई वा तीन वाक्य बनाएको भए कुरो बुझ्न सजिलो हुने थियो। भविष्यमा अरू पुस्तक लेख्ने सम्भावना भएका लेखकलाई सानो सुझाउसम्म हो यो।

अन्त्यमा, डा. भट्टराईको मेहनतबाट नेपाली वाङ्मयमा फेरि एउटा निधि थपिएको छ, यो नै एउटा प्रशन्नताको विषय हो। नेपाली लेखकका हरेक कृतिले नेपाली वाङ्मयलाई सम्पन्न गराउँदै लैजान्छन् भन्ने सूर्यविक्रम ज्ञवालीको सद्वचनको सम्झना हुन्छ। गोरखापत्रमा कार्यरत छँदा मैले सम्पादक नारायणबहादुर सिंहको निर्देशन अनुसार ‘मधुपर्क’का लागि सूर्यविक्रम ज्ञवालीको अन्तर्वार्ता लिएको थिएँ, भीमसेनगोला, बानेश्वर पुगेर। विज्ञेषु किमधिकम्।
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
१ घण्टा अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस