कथा
२५ जेष्ठ २०७८
•
१ मिनेट पाठ
कथा

देविस अर्याल 

एउटा कथा च्यातेर  




अर्काे नयाँ कथा लेख्छ्यौ र?  

तिमी एउटा सिन्दूर मेटेर

अर्को रेखा कोर्छ्यौ र?

तिमी  

घाउ र चोटहरूको दाग लिएर  

अर्को प्रेम युध्द लडछ्यौ र ?

तिमी

खै मञ्जुर भएर नाच्ने छौ  

या  

लाटोकोसेरो भएर उडने छौ

वा  

डल्फिन भएर पौडिने छौ या  

डालीमा एक्लै ढुकुर भएर घुर्ने छौ

थाहा छैन,सजिलो छैन,

आकाशमा परेवा भएर उडे पनि

जमिनमा मृग भएर चरे पनि

नदेखिने गरी लुकिरहेका हुन्छन्  

व्यधा र सिंहहरू

तर  

कंगारुले जसरी हुर्काउनु छ  

छोराछोरीहरू  

फरक छ नि हगि  

जिन्दगी जिउनेर

भन्ने वास्तविक कथाहरू

हो कस्ले पढछ र?

नलेखेका कथाहरू

कसले हिँड्छ र ?

अँध्यारा बाटाहरू !
अर्को समाचार
विश्वराज अधिकारीको ‘नलेखिएका कथा’मा कथ्य प्रवृत्ति
२८ मंसिर २०७७
•
१५ मिनेट पाठ
विश्वराज अधिकारीको ‘नलेखिएका कथा’मा कथ्य प्रवृत्ति

खेमराज पोखरेल

 




विषय उठान

कथाकार विश्वराज अधिकारी नेपाली साहित्यवृत्तमा नयाँ नौलो नाम होइन । नेपालको वीरगञ्ज हुँदै अमेरिकालाई मुकाम बनाएका अधिकारीद्वारा लेखिएको ‘नलेखिएका कथा’ पुस्तक विद्युतीय माध्यमबाट मसमक्ष आइपुगेको छ। कथासङ्ग्रहमास्पेन मुकामकी शारदा पौडेल ‘निशा’ले कथाकार अधिकारीलाई बहुभाषिक साहित्यकार भनेकी छिन् । कथाकार मन्दिरा मधुश्रीको शुभकामना बोकेको यो पुस्तकमा इजरायललाई मुकाम बनाएकी निशा अर्यालले ‘यौनमनोविज्ञानका अनेक पाटाहरू केलाउन र तिनलाई सभ्य र शिष्टकिसिमले प्रस्तुत गर्न अधिकारी सक्षम रहेको मैले पाएँ’ भनेकी छिन् ।प्रकाशक समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईले  प्रकाशकीयमा कथाभित्रको वस्तुअन्तर्य माथि प्रकाश पारेको देखिन्छ ।रातो रङको आवरणमा सजिएको पुस्तकको अग्रभाग कलात्मक हिसाबले निकै सुन्दर छ । र पुस्तकको पश्चभागमा कथाकार विश्वाराज अधिकारीको परिचय छ ।  

कथानक तथा पात्र  

 

‘नलेखिएको कथा’मा जम्मा १३ थान कथा छन् । आकारगत हिसाबमा ज्यादै लामा छैनन् । मझौला खाले छन् । एक बसाइमा मजाले आनन्द दिएर सकिन्छन् । ती प्रयुक्त १३ कथाका कथानक तथा पात्र प्रवृत्तिलाई संक्षेपमा यसरी व्यक्त गर्न सकिन्छ ।  

१. वाटरलु, मञ्जुम्याडम र काका 

म पात्र अर्थात् श्रीभव, नरेश काका, नरेश काकाकी छोरी पूर्वा पात्र छन् । खासमा पूर्वा पात्रको व्यवस्था नगरेको भए पनि कथा बन्ने थियो । नरेश काकाले म पात्र श्रीभवलाई आफ्नो जीवनको घटना कथा सुनाउँछन् – नरेश र मञ्जुको अबुधावी ट्रान्जिटमा भेट भएको छ । कथाको कल्पित पात्र सरिता र सतीश छन् । दुवै आइए पढ्दा सतीश सरितालाई असाध्य तर एकोहोरो अव्यक्त प्रेम गथ्र्यो । कुतूहलता खोल्दै कथाकार भन्छन् कि सतीश भन्नु नरेश हो र सरिता भन्नु मञ्जु हुन् । ४० वर्ष पुरानो प्रेम व्यक्ताइएको छ कथामा । कथाको भावभूमि न्यूयोर्क अमेरिका, टोरान्टो क्यानाडा तथा काठमाडौँ छन् ।  

कलेज जीवनका असफल प्रेम, असफल भन्दा पनि अव्यक्त प्रेमका बारेमा लेखिएको छ यो कथा । ४० वर्षपछि फेरि ती दुई पात्र संयोगले भेटिएपछि पुराना कुरा गरेर आनन्द र सन्तुष्टि पाएको कथा छ । हो, आफ्ना प्रारम्भिक दिनमा गरिएको मायालाई कहिल्यै पनि बिर्सन सकिन्न । परिबन्दले रोके पनि त्यो मायालाई हेर्न मन सधैँ लालयित भइरहन्छ । त्यसैले कथामा नरेश पात्रले मञ्जु पात्रलाई ४० वर्षपछि  पनि उस्तै हेरिरहन चाहेको छ ।

२. यसरी जिते हारेको युद्ध

कथामा मूल रूपमा ३ पात्र छन् । बाबुको भूमिकामा म पात्र, आमाको भूमिकामा उर्मिला, र छोरीको भूमिकामा मधू । अरु पात्र सुशुप्त छन् । २५ वर्षकी मधु छोरीले एउटा केटासँग प्रेम गरेर बिहेका लागि स्वीकृति मागेकी छिन् बाबु आमासँग । तर त्यो केटो  विभिन्न बहानामा अनुकुल नभएको भन्दै आमाले त्यो प्रेम छुटाउन बल गरेको प्रसङ्ग छ । बाबु चुपचाप बसेको छ । ऊ आफ्नी श्रीमतीका तर्कका अगाडि नतमस्तक छ । तर छोरीले त्यही केटासँग बिहे गर्ने भनेर अड्डी लिएको अवस्थामा आमा रिसाएर हिँडेको र बाबुले छोरीलाई आफूले पनि ४० वर्ष पहिला आफ्ना बाबुका अगाडि हारेको युद्ध आज छोरीले जितेकोमा छोरीलाई स्यावासी दिएको प्रसङ्ग छ ।

३. नाम नपाएको सम्बन्ध

पात्रहरू म, छोरी ग्रिस्मा, दिवाकर, दिवाकरकी पत्नी राधा छन् । म पात्र, राधा र दिवाकर आफ्ना आइएस्सी ताकाका सहपाठी हुन् । त्यतिबेला म पात्र र राधाको लभ थियो । तर बिहे दिबाकर सँग भयो । यसो भए पनि राधा र म पात्रपूर्ववत सम्बन्धमा छन् । यो सम्बन्धलाई कथाकारले नाम नपाएको सम्बन्ध भनेका छन् । यो कुरा म पात्रले छोरीलाई बताएको छ । र छोरीले कुरा बुझेकी छिन् । कथाको प्रयोजन नै पहिलो प्रेम कसैगरे पनि छुट्दैन भन्ने हो । 

४. चालिस वर्षदेखिको पश्चात्ताप

म याने राम भरोसी यादब, कमजोर आर्थिक अवस्थाकी तेतरी मूल पात्र छन् । म पात्र आफ्नो जीवनको ४० वर्ष पहिलाको घटना सम्झेर विह्वल भएको छ । त्यो बेलातेतरीसँग सहवास गरी फरार भएको हुन्छ राम भरोसी। म पात्र आफ्नी पूर्व प्रेमिका हजुर आमा भइसकेकी तेतरीलाई भेट्न उसको गाउँ जान्छ । अहिले उसले भेट्दा तेतरीसँग उसकै अनुहारको छोरो नै ४० वर्षको भइसकेको छ । ऊ विगतको पीडामा छ । मनभित्र ग्लानी र पश्चाताप छ । 

५. म आशीर्वाद र ऊ

कथामा प्रमुख पात्र सद्भाव, म महिला पात्र, म पात्रको लोग्ने आशिर्वाद र गौण पात्रमाछोरोको रूपमा निरब छ । १० वर्ष पहिला प्लस टु पढ्दा सद्भाव र म याने कि नन्दिताको बिचमा गहिरो प्रेम हुन्छ । तर सद्भाव एकाएक नर्बे पुग्छ र हराउँछ । यता नन्दिताको बिहे असल पुरुष आदर्शसँग हुन्छ । एउटा ८ वर्षको छोरो पनि भइसकेपछि सद्भाव नेपाल आउँछ र पूर्ववत भेटघाट आदि आदि हुन्छ । यो कुरा आशिर्वादले आफ्नै आँखाले देख्छ र श्रीमतीसँग सानो सैद्धान्तिक वादविवाद पछि घर छोडेर निस्कन्छ । कथा सकिन्छ । 

६. अर्को नाता

वीरगञ्जको भावभूमिमा लेखिएको यो कथामा विधवा सासु मालती , विधवा बुहारी माधवी, प्रोफेसर सफल, तीन पात्र छन् ।, सफल विधवा बुहारी प्रति आकर्षित भएको देखेर सासूले बुहारीलाई त्यसैसँग राजीखुसीले बिहे गरिदिन खोजेकी छिन् । कथा सकिएको छ । 

७. पत्रमा के लेखिएको थियो ?

कथामा म याने शिरिष, बिरामी नरेश काका, काकी रञ्जु मूलत तीन पात्र छन् । काकाको क्यान्सरका कारणले मृत्यु हुन्छ । त्योभन्दा पहिले नै काकाले म पात्रलाई एउटा चिट्ठी दिएर काकी रञ्जुलाई दिनु भनिएको हुन्छ । काको देहावसानपछि चिट्ठी खोल्दा, काकाले ‘मेरो प्रेम कुनै युवतीसँग भएको थियो, तिमीसँग बिहे हुनुभन्दा पहिले । जीवनभरि मैले केवल ती युवतीसँग, केवल भावनामा प्रेम गरि नै रहेँ’ भन्ने व्योहोरा लेखिएको छ ।

८. तिमीसँग मेरो सम्झनाको खाता छ

कथामाम पात्र ऋषि र रीता दुई पात्र छन् । चालिस वर्ष पहिला म पात्रको रीतासँग एकतर्फी अगाध प्रेम थियो । तर रीतालाई थाहै थिएन । चािलस वर्षपछि म पात्रले न्युरोडको रेष्टुरेण्टमा बोलाएर हजुरआमा भइसकेकी रीतलाई आफ्नो चालिस वर्ष पुरानो प्रेम व्यक्त गरेका छन् । र सेक्सबिनाको असल साथी बन्ने बाचा गरेका छन् ।  

९. मलाई पश्चात्ताप छैन

 

कथाको एउटा पात्र सौम्य अमेरिकामा पिएचडी गर्दै गरेको एक केटा हो । ६ महिनाका लागि नेपाल बस्न अर्की विधवा महिला अपराजिताको घरमा डेरा गरी बसेको छ । अपराजिताका २ छोरा पनि सुसुप्त पात्र छन् । यसबाहेक म पात्र याने सुगन्धा छिन् । सार्थक याने अपरिजताको स्व लोग्ने पनि सुसुप्त पात्र छ ।सौम्य र विधवा अपराजिताले ६ महिनासम्म यौन सम्बन्ध गरेर बसे । बिहे गर्छु भनेर सौम्य अमेरिका हानिन्छ र उतै रेजिना नामकी केटीसँग बिहे गर्न आँटेको कार्ड पठाउँछ । यो घटनालाई विधवा अपिरजिताले स्वाभाविक रूपमा लिएकी छिन् ।

१०. साइबर वाइफ

कथामा प्रमुख पात्र निता र म पात्र छन् । म पात्रले नितालाई एउटा कथा भन्छ । कथाको पात्र उमेश र कान्ता छन् । त्यो कथा ४२ वर्ष पुरानो सत्य घटना हुन्छ । निता र म पात्र १० वर्ष देखि फेसबुकमा साथी भएका छन् । दिनहुँ च्याट गर्छन् । आवश्यक अनावश्यक च्याट गर्छन् । त्यो कथाको पात्र नै म र निता भएको खुलासा गर्छन् कथाकार । निता म पात्रको सेक्सुअल रिलेसनबिनाको साइबर वाइफ हुन तयार भएकी छिन् । दुवैको अलग अलग संसार चलेकै छ ।  

११. म भ्रममा नै रहूँ

कथामा म पात्र र प्रमीला दुई पात्र छन् । कलेजमा ४१ वर्ष अघिको म पात्रको एकतर्फी लभको प्रसङ्ग आएको छ । त्यो बेला भन्न नसकेको प्रेमलाई ४१ वर्ष पछि भेटेर भनेको तथा बिनासेक्सको प्रेमी प्रेमिका बनेको कथानक छ ।  

१२. बलात्कार भएको हो र होइन पनि

कथामा रिना, म याने सरिता तथा विनोद तीन पात्र मुख्य छन् । विनोदले रिनासँग धेरै पल्ट शारीरिक सम्पर्क गरेको छ । कहिले ललाई कहिले फकाई, कहिले तर्साई, कहिले लोभ्याइ सम्भोग गरेको छ । रिना म पात्र याने सरितालाई आफूलाई विनोदले पटकपटक वलत्कार गरेको कुरा सुनाउँछिन् । सरिताले कानूनी उपचार गरेर वलात्कारीलाई दण्ड दिने कुरा सुझाउँछिन् । तर केही पछि रिना आफ्नो ब्वाइफ्रेण्ड भन्दै विनोदसँग हात समाएर हिँडेको सरिताले देख्छिन् ।  

१३. अति सम्मानित नगरबधू

कथामाम पात्र, नारद ठूलाबा, प्रदीप्त तथा प्रेमा राणा छन् । काका म पात्रलाई वैसालीकी नगरबधु आम्रपालीको कथा सुनाउँछन् । प्रभु नामक एकजना क्यान्सर पिडित मजदुरको सहयोगार्थ चन्दा लिन प्रेमा राणा ट्रष्टको अफिसमा जान्छन् । प्रेमा राणा ट्रष्टकी अध्यक्षले मनग्गे पैसा दिनिछन् । तर एउटा भेद खोल्छन् काकाले कि ती प्रेमा राणा भनेको राधा नामले चिनिने कान्तिपुरकी महँगी नगरबधु हुन् ।  

नलेखिएका कथा
 

प्रयोजन

 

वास्तवमा भन्ने हो भने यो ‘नलेखिएका कथा’ शीर्षक नै कथाविवेच्य गरी प्रयोजनका लागि पर्याप्त छ । स्वयं कथाकार विश्वराज अधिकारीले ‘मेरो दृष्टिकोण’ शीर्षकमा आफ्नो कथालेखनको प्रयोजन बारे यसरी व्यक्त गरेका छन् – ‘पहिलो र दोस्रो गरी मान्छेहरू एकैसाथ दुई संसारमा बाँच्छन् । पहिलो संसार दृश्य छ तर दोस्रो संसार भने अदृश्य छ ।’  

यो पृष्टभूमिका सतरञ्जामा राखेर यी प्रयुक्त कथाहरूलाई हेरिनु पर्छ । कथाकारले भनेझैँ हरेक मान्छेका दुई रूप हुन्छन् – कथ्य र अकथ्य । दृश्य र अदृश्य । लेख्य र अलेख्य । बोधीय र अबोधीय ।देखिने, भनिने, सुनिने र बोध गर्ने संसार भनेको कथ्य संसार हो । दृश्य संसार हो । जसलाई भनिन्छ र मान्छेले त्यही अनुसार आफ्नो धारणा बनाउँछन् । तर अकथ्य संसार पनि कथ्यझैँ व्यापक छ । कसैले पनि भन्दैनन्, लेख्दैनन् तर पनि अकथ्य संसार जब्बर छ । यसो भनिरहँदा मलाई कलाकार मनुजबाबु मिश्रको याद आयो । एउटा पत्रिकाको आफ्नो अन्तरवार्ताको पृष्टमा उनले आफ्नो तर आफैँले कुचिले बनाएको कच्याककुचुक परेको फोटो हालेका थिए । पत्रकारको प्रश्नमा उनले फोटो बारे भनेका थिए कि बाहिर देखिने मेरो अनुहार भ्रम हो र यथार्थमा म यो फोटो जस्तै कुरूप छु ।  

मान्छेको जीवन अनेकौँ कुरामा अकथ्य छ । मान्छे कुरूप छ, र त्यो कुरूप मान्छे उसले देखाउँदैन, भन्दैन । मान्छेको यो कुरूपता यौनका मामलामा मात्र हुँदैन । यसले व्यापक आयाम लिएको हुन्छ । ती आयामहरू भनिदैनन् । लेखिँदैनन् । यी सबै नलेखिएका कथा वा नलेखिने नभनिने कथा हुन् । अकथ्य संसारले जिन्दगीभरि गहिरो अमिट छाप पारिरहन्छन् । त्यसमध्ये कथाकार अधिकारीले मान्छेका टिनएजका अव्यक्त प्रेम र त्यसले जीवनमा पारेको प्रभावका बारेमा प्रष्ट पारेका छन् । त्यसकारण कथासङ्ग्रहको शीर्षक ‘नलेखिएका कथा’ ले कथावस्तुसँग तादात्म्य राख्छ । अझ ‘नलेखिने कथा’ भनिएको भए झन् सुन्दर हुन्थ्यो भन्ने मेरो ब्रह्मले भन्छ ।  

थिम

प्रस्तुत सङ्ग्रहमा गुँथिएका १३ थान कथामध्ये केही कथा छोडेर प्रायः सबैले आफ्नो अतितको अव्यक्त प्रेम व्यक्त गरेका छन् । यहाँ प्रेम पक्ष बलियो छ । यौन पक्ष गौण छ । एकाध कथा मात्र यौन कथा छन् । बाँकी अव्यक्त प्रेम कथा नै हुन् । प्रेम भन्नु र यौन भन्नु अलग –अलग विषय हो । चाहना, संस्मरण, पीडा, अव्यक्त प्रेमभाव व्यक्त गर्नु कथाकारको विशेषता देखिन्छ । कथाकारको अर्को थिम माया भन्नु शारीरिक हो कि आत्मपरक हो भन्ने दर्शन अभिव्यक्त गर्नु हो । अधिकांश कथाहरू यही भावभूमिमा घुमेका छन् ।  

प्रायः  सबै कथाहरूमा टिनेज कालमा एकतर्फी भएका प्रेमहरूको वर्णन गरिएको छ । जाहेर छ ती प्रेमहरू जिन्दगीका फाइलमा अव्यक्त नै रहेका छन् । प्रायः हरेक मान्छेका यस्ता प्रेमहरू अव्यक्त, अपारदर्शी र असफल नै हुन्छन् । तर, जीवनका सोपानका धेरै वर्ष बिताउँदा पनि ती अव्यक्त प्रेमले जीवनका हरेक पाटामा प्रभाव भने पारेको हुन्छ । परिवार दुर्घटनारहित पूर्ववत चलेको भए पनि जिन्दगीलाई बेचैन बनाएको हुन्छ । त्यो गुमेको प्रेम प्राप्त गर्न पात्र सधैँ लालयित हुन्छ । यसै भावभूमिमा कथाहरू सललल बगेका छन् ।

कथामा पहिलो प्रेमको सम्झना अत्यन्त तीव्र हुन्छ भन्ने सन्देश छ । ज्यादै भलादमी हुनु भनेको ज्यादै कायर हुनु पनि हो भन्छन् कथाकार कथामा । लामो समयपछि पुरानो आफ्नो प्रेमलाई व्यक्त गर्दा जीवनको उत्तराद्र्धमा पनि ती प्रेमीप्रेमिका भएका छन् । तर तिनीहरू बिचको सम्बन्ध  दुई पुरुषहरूबिच हुने सम्बन्धजस्तो मात्र भएको छ । कथाकारले स्त्री–पुरुषबिचको सम्बन्धको आधारशीला  सेक्स मात्र होइन भ

बुनौट 

 

कथाको विषयवस्तु छनोट तथा प्रस्तुतिको मूल आधार भनेको कथाकारको मुड, चेत, दृष्टिकोण र कथा भन्ने शैली हो । कथा कहाँबाट सुरु गर्ने र कसरी अन्त्य गर्ने भन्ने योजना हो । तानाबाना हो । त्यो तानभित्र मिहीन बुनाइ भयो भने कथा घागडान बन्न जान्छ ।यो शैलीमा तत्कालीन संस्कृति, भूगोल, इतिहास, जनजीवन तथा समग्र समाजको चित्रण हुन्छ । कथा सँगसँगै यी कुरा जति सुललीत भएर लेखिन्छन् कथा त्यति स्तरीय र राम्रो हुन्छ ।

प्रस्तुत कथासङ्ग्रहमा कथाकार व्यक्तिगत रूपले पनि खर्लप्प उर्लेका छन् । वीरगञ्जको सेरोफेरो याने कि तराईको गाउँले जीवनको परिदृश्यमा हुर्केका हुनाले उनको कथाका भावभूमि पनि अधिकांश कथामा वीरगञ्ज नै देखिन्छ । यसबाहेक काठमाडौँ र अमेरिका देखिन्छ । किनकि कथाकारको अनुभवीय क्षेत्र वीरगञ्ज तथा काठमाडौँ हुँदै अमेरिका आइपुगेको छ । कथाकारको जिन्दगीको चेतमा व्यापक होराइजन छ । कथाको बुनौटमा त्यो होराइजन देखिन्छ । नत्र यस्ता विषयवस्तुमा कथा लेख्ने आँट गर्न परम्परागत तथा कथित आदर्शवादमा लेख्न रुचाउने लेखकका लागि गाह्रो नै हुन्छ । लगभग लेख्न नै सक्दैन । किनभने नेपाली समाज त्यो खाले अव्यक्त प्रेम सम्बन्धलाई व्यक्त गर्न अनुमति दिँदैन । परिवार बिग्रने ठूलो भड्खालो समाजले तेस्र्याइदिएको हुन्छ । नेपाली समाज यौनका कुरालाई लाज हुने वा भन्न नहुने दर्शनका आधारमा बसेको छ । प्रेम गर्नुलाई पाप मान्ने समाजमै बाँच्नु पर्दछ । कथासङ्ग्रहमा प्रयुक्त कथाहरू पढ्दा लाग्दछ यी घटनाका करिव करिब इर्दगिर्दमा कथाकारको आफ्नै अनुभूति छ । विवाह, प्रेम, यौन तथा सन्तानको दर्शनलाई नेपाली समाजलेभन्दा नितान्त फरक ढङ्गले अलग धारबाट व्यक्त गरेका छन् । कथाकारको यो साहसलाई म सलाम गर्छु । 

उपसंहार  

 

अब म उपसंहारमा आइपुगेको छु । कथाकार विश्वराज अधिकारीको ‘नलेखिएका कथा’सङ्ग्रह पठनको पुछारमा आइपुग्दा आफ्नो तर्फबाट निष्कर्षमा पुगेको छु । यद्दपि मेरो निष्कर्ष मेरो निजी धारणा र चेत हो । निजी बर्गत र चक्षु हो । पाठक भइरहनुको जेनिथ अधिकार र स्वतन्त्रताको ढाल प्रयोग गरेर निष्कर्ष तथा उपसंहारमा पुग्दैछु । कथासङ्ग्रहभित्र उनिएका १३ थान कथालाई कथाकारले ‘नलेखिएका कथा’ भने पनि सबै कथा कथाकारकै भनाइअुनसारका नलेखिएका कथा भने होइनन् । 

मूल रूपमा ‘अर्को नाता’ कथा प्रगतिशील थिमको कथा हो । यो कथामा विधवा सासूले विधवा बुहारीलाई अर्को नाता स्थापना गर्न दिएको उन्मुक्ति निकै प्रसंसनीय छ । त्यसकारण विधवाको मनोविश्लेषण गरिएको अग्रगामी प्रगतिशील कथा हो यो नेलेखिएको कथा होइन ।

यसैगरी ‘मलाई पश्चाताप छैन’ कथामा एउटी विधवाको यौन चाहना र परिपूर्तिलाई स्वाभाविक रूपमा चित्रण गरिएको छ । कथाकी मूल पात्र विधवा अपराजिताले ६ महिना मात्र भए पनि परदेशी, धोखेवाज तथा भगुवा नै भए पनि एउटा लक्का जवान पुरुषसँग यौनसमन गर्न पाएकोमा गर्व गरेकी छिन् । कथाकार यो बुँदामा आइपुग्दा आफ्नो थिम यसरी पुष्टि गर्छन् – अब हामीले भोगाइ र जीवनप्रतिको हाम्रो पुरातन दृष्टिकोण फेर्नुपर्छ खास गरी विधवा र यौनका बारेमा । यसो भएकाले यो कथा यौन कथा हो । नलेखिएको कथा होइन ।

‘बलात्कार भएको हो र होइन पनि’ भन्ने कथामा पुरुषले कहिले फकाएर, कहिले तर्साएर, कहिले बिहे गर्छु भनेर, कहिले नग्न तस्बिरहरू सोसल मेडियामा पोस्ट गरिदिन्छु भनेर रीता पात्रसँग यौनक्रिडा गरेको छ । यस घटनालाई कथाकारले दुई प्रकारले पर्गेलेका छन् । प्रथमत यस्ता खाले यौन सम्बन्ध यौन अपराध याने कि रेपको कोटीमा पर्छन् । तर महिला पात्र रीता लगातार यौन क्रिडामा संलग्न छे । यौनको रसस्वादन गरेकी छे । आनन्दानुभूति गरेकी छे । र ऊ पुलिसकोमा जान चाहन्न । उजुर गर्दिन । यस्ता खाले घटना रेप वा वलात्कार होइन केवल एक दुर्घटना मान्नु पर्ने तर्क दिन्छन् । योनिको बलपूर्वक प्रयोग भयो भन्दैमा उसको इज्जतगयो भन्ने धारणा गलत हो । यो गलत धारणा समाजले बनाइदिएको होइज्जत योनिमा हुँदैन ।इज्जत त व्यक्तिको व्यवहारमा हुन्छ भन्ने छ ।यसकारण यो कथा नलेखिएको कथा नभएर विशुद्ध यौन कथा हो ।

पुरानो अव्यक्त प्रेमका कारणले गर्दा आफ्नो बिहे भइसकेको भए तापनि आफ्नी पत्नीलाई केवल एक ‘समाजिक पत्नी’ मात्र मानेको र मानसिक रूपलेचाहिँ आफ्नी पत्नीका रूपमा कहिल्यै पनि स्वीकार नगरेको प्रसङ्ग छ । शारीरिक सम्बन्धबिनाको सम्बन्ध पनि सौहार्द्र र प्रेमील हुन सक्छ । प्रेमको अर्थ सँगै बस्नु र शारीरिक सम्पर्क हुनु मात्र होइन । प्रेमको अर्थ कसैको मनमा नहल्लिने गरी बस्नु र कसैलाई त्यसै गरी बसाउनु पनि हो । प्रेमी प्रेमिकाको अनुभूति मात्र पनि प्रेम हो जब्बर प्रेम हो भन्ने कुरा नै कथाहरूको सारसंक्षेप हो ।

कथामा अधिकांश पात्र करिब करिब न्युरोडको रेष्टुरेण्टमा घुमेका छन् । तिथिमिति भएको घटना लेखिएकाले कथाहरू संस्मरण जस्तो लाग्छन् ।वाटरलुको विस्तारित प्रसङ्ग कथ्य प्रयोजनका हिसाबमा तादात्म्यबिहीन लाग्छन् । कथामा मानवीय चाहना, अन्तरपीडा, स्वःकुण्ठा र अनवरत प्रेमभाव मजाले झल्काउने प्रयास गरिएको छ । जिन्दगीको एउटा अवर्णनीय पाटोलाई प्रस्तुत गरिएको छ । ध्येयगत हिसाबमा कतै नाटकीय लागे पनि उठाइएका कथ्यद्वन्द्व जब्बर छन् । पुस्तकमा प्रुफ तथा सम्पादनको समस्या बग्रेल्ती देखिएको छ । ‘यसरी जितेँहारेको युद्ध’ कथामा कथानकको स्वाद बिचैमा उल्लेख गरिदिएर कथाको कुतूहलता मारिदिएको छ । सस्पेन्स हराएको छ । ‘नाम नपाएको सम्बन्ध’ कथामा “बिहेपछि पनि पहिलो युवक तीयुवतीलाई भेट्न निरन्तर जान्छ तर दोस्रो युवकले एक असल मित्रउसलाई निरन्तर भेट्न आएको विश्वासमा बस्छ । यो क्रम आज तीसवर्षदेखि चलिरहेको छ । निरन्तर रूपमा”भन्ने वाक्यले उनीहरूका बिचमा शारीरिक सम्बन्ध थियो कि थिएन भन्ने कुरा प्रष्ट छैन, सायद प्रेम मात्र हो, सायद शारीरिक सम्बन्ध पनि हो ! ‘तिमीसँग मेरो सम्झनाको खाता छ’शीर्षक पनि नमिलेको हो कि जस्तो लागेको छ । शीर्षकहरू लामालामा छन् ।

माथिका चर्चा परिचर्चापश्चात यो कथा सङ्ग्रहमा यौन कथा, प्रगतिशील कथा र नलेखिएका कथा गरी तीन प्रकारका कथा छन् भन्ने टुङ्गोमा छु । नलेखिएका कथामा पनि अव्यक्त प्रेम कथा छन् । बिर्सन नसकिएका प्रेमकथा छन् । एकाध यौन कथा भए पनि समग्र कथा सङ्ग्रहलाई यौन कथा भन्न मिल्दैन । एउटा प्रगतिशील थिममा भए पनि यो सङ्ग्रहलाई प्रगतिशील भन्न मिल्दैन । यो विशुद्ध प्रेम कथा सङ्ग्रह हो । प्रेममा केको सीमा र !

विश्वराज सर, पुछारमा आइपुगेको छु । यति मीठा प्रेम, यौन तथा समाज सुधारका अभिध्येयले कलात्मक कलमले लेखिएका कथानकबाट बाहिर निस्कन मन नै थिएन । तर समय हो, त्यो हिँडिहाल्छ । जस्केलाबाट समयले सक्किएन भनेर चियाइरहेको छ । आफैँले बोकेको भारिले मलाई बाटो अझै तन्केको सूचना गरिसकेको छ । बाटो छिमल्नु नै छ । यो कहीँ नपुगिने जान्दा जान्दैको यात्रालाई पनि तय गर्नु नै छ । भारि बोकिरहनु छ । म कथाकार विश्वराज सरलाई यही चौतारीमा छोडेर नियतिको जस्केलाबाट हाललाई बाहिर निस्केको छु । के ठेगान, यस्तै चिन्ता बसाइमा भेट भइहाल्छ कि फेरि !
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस