६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

संघर्ष, प्रेम र उद्देश्यको त्रिवेणी वासुदा

पुस्तक

नेपाली उपन्यास साहित्यमा वासुदा (२०७८) नयाँ खालको कृतिका रूपमा देखिएको छ। उपन्यासकार भीष्मराज फुलाराले उपन्यासको मूल पात्र वासुदालाई निकै सशक्त ढंगबाट प्रस्तुत गरेका छन्।  

यो उपन्यास विभिन्न २१ शीर्षकमा विभक्त छ। ‘दुर्गा चाचाको दिशानिर्देश’ शीर्षकबाट उपन्यास सुरु भएको छ। यसमा म पात्र र दुर्गा चाचासँगको भेटघाट पृष्ठभूमिका रूपमा आएको छ। यस क्रममा वासुदाको प्रवेश, वासुदाको क्षमता, योग्यता र भविष्यको लक्ष्यबारे दुर्गा चाचाको जिज्ञासा, म पात्रले गरेको घटना वर्णन, वासुदाका बाको प्रवेश र कुराकानी, वासुदाको वकिल बन्ने चाहनासँगै अधिवक्ता दिवाकरको उदाहरण प्रस्तुत गरिएको छ। भाउजू, चाचा र अन्य पात्रले चिया खाँदै गरेका कुराकानी, दिवाकरको प्रवेशसँगै वासुदाको संघर्षपूर्ण जीवन, वकिल बन्ने सपना र उतारचढाव, दुर्गा चाचाले कानुनका किताब, डोटी क्याम्पसका कानुन पढाउने प्राध्यापकको ठेगाना र फोन नम्बर दिएपछि वासुदा खुसीको लड्डु खाँदै आफ्ना बासँग घरतिर लागेको प्रसंगपछि पहिलो अध्याय समाप्त भएको छ।

‘खुल्यो सपनाको ढोका’ दोस्रो अध्याय। डोटीको भौगोलिक विकटता, वासुदाको अधिवक्ता बन्ने सपना, डोटी क्याम्पस पुगेर शैलेश्वरी मातासँग सपना पूरा होस् भनी पुकारा गरी नेपाली विषय पढाउने सरले कानुन विषयका प्राध्यापक घनश्याम सरसँग भेट गराएको सन्दर्भ छ। यसका साथै घनश्याम सरले कानुन पढेर वकिल बन्ने वासुदाको संकल्प बुझेर क्याम्पसमा भर्ना पक्का गरेपछि वासुदा खुसी भई क्याम्पसबाट निस्किएर हिँडेको घटनासम्म यस अध्यायमा छन्।  

‘साहुनी, जँड्याहा र सकसहरू’ शीर्षकको तेस्रो अध्यायमा वासुदा सिलगढी बसपार्क पुगेपछिका प्रसंग आएका छन्। त्यस्तै, ‘न्याय नपाएका नाथ दाइ’ चौथो अध्याय। बसयात्राकै क्रममा भेटिएका नाथ दाइ र वासुदाबीच लामो संवाद, कानुनका आधारमा चल्नुपर्ने राज्यव्यवस्था भए पनि त्यस्तो नगरिएकाले नाथ दाइको जग्गा दलालले अर्कैलाई बेचेर अन्याय गरेका, त्यस्तो सुन्दा वासुदालाई नमीठो अनुभव भएको, यस्तो अन्याय हटाउन आफू ले कानुन पढेर वकिल बन्ने सपना देखेकामा गर्व लागेको घटनासम्म यसमा रहेका छन्।

पाँचौँ अध्यायमा यात्राकै क्रममा आनन्दपुर आएका वासुदा घर पुगेर सबै वृत्तान्त सुनाएपछि कानुन पढ्ने सल्लाह भएको र बीस हजार लाग्ने कुरा चलेको, घरमा पूरा पैसा नभएकाले चिन्तित भएका तर दुर्गा चाचाले लक्ष्यतर्फ उन्मुख हुन प्रेरणा दिई बाह्र हजार रूपैयाँसमेत सहयोग गरेका कारण बासँग भएको १० हजार जम्मा गरी वासुदा क्याम्पसमा भर्ना गर्न तयार भएको सन्दर्भ आएको छ।  

छैटौँ अध्यायमा कानुन विषय पढ्ने ध्येयका साथ कलेज पुगेका वासुदाले कक्षामा प्रोफेसरसँग कानुनी भाषामा निर्धक्कसँग कुराकानी गरेको साथै आफ्नो उद्देश्यतर्फ पुग्ने प्रतिज्ञा समेत गरेको वासुदामा केन्द्रित घटना यस अध्यायमा छन्।

सातौँ अध्यायमा खर्चको अभावले रन्थनिएका वासुदालाई दुर्गा चाचाका माध्यमबाट नेताका घरका काम गर्ने र पढ्ने व्यवस्था भएको लगायत सन्दर्भ आएका छन्। त्यस्तै, आठौँ अध्यायमा वासुदा नेताका घरमा घरेलु कामदार तर बाहिर देखावटी पिएजस्तो भएर बसेका, नेताकै दबाबमा गाविस सचिव भएर काम गरे पनि पढाइलाई उच्च प्राथमिकतामा राखेका कारण वासुदाले आइएलमा सर्वोत्कृष्ट अंक ल्याई क्याम्पस टप गरेका साथै वासुदाले मूल्य लक्ष्य प्राप्तिका लागि केही गल्छेडा पार गर्नुपर्ने अवस्थासम्मका घटना आएका छन्।

घरमा चरम आर्थिक अभाव, बिएल पढ्न वासुदा काठमाडौं जानुपर्ने, आफन्त र इष्टमित्रबाट सहयोग र चन्दा संकलन गरी ४२ हजार पाँच सय जम्मा पारी वासुदा बिएल पढ्न काठमाडौंतिर लागेको लगायत घटना नवौँ अध्यायमा छन्।

दशौं अध्यायमा घरमा सबैसँग बिदा भई गह्रुङ्गो मन लिएर प्रोफेसर डिल्लीराजसँग वासुदा कानुन पढेर वकिल बन्ने लक्ष्यका साथ काठमाडौंको यात्रा गरेको, न्यायाधीश विष्णुदत्तको घरमा बसेको लगायत प्रसंग आएका छन्। ११औँ अध्यायमा काठमाडौं पढ्न आएका वासुदाको जीवनमा परेको चरम आर्थिक संकट, जागिरका लागि गरिएको प्रयास, दुर्गा चाचाको अतुलनीय सहयोग र सद्भाव, आफ्नै योग्यताबाटै जागिर लगायत सन्दर्भ आएका छन्।

‘आमा, मणि बाजे र सपनाहरू’ १२औँ अध्याय। पढाइमा एकोहोरिइरहेका वासुदाले आमाको मृत्युपछि भोगेको टुहुरो जीवन स्मरण गर्नु, गाउँका मणि बाजे काठमाडौं भेट भएपछि वासुदालाई सय रूपैयाँ दिई आत्मीयता देखाउनु, बिएलमा वासुदाले कलेज टप गर्नु, एलएलएम कसरी टप गर्ने सुर्ता गरी भगवान्लाई सम्झनुजस्ता घटना यस अध्यायमा छन्।

‘प्रतिमा, प्रेम र पवित्रता’ १३औँ अध्याय। काठमाडौं भृकुटी मण्डपभित्रको बगैँचामा जाँदा पनि वासुदाले कानुनका किताबमै ध्यान दिनु, कमलादी गणेशलाई दुःखबाट छुट्कारा पाउन पुकारा गर्नु, चटकेका चर्तिकला र नेताका चर्तिकला तुलना गर्नु, कलेजमा प्रतिमासँग आँखा जुध्नु, प्रतिमासँग वासुदाको पवित्र प्रेम हुनु र दुवैले एकअर्कालाई मन पराउनु तर पढाइलाई विशेष महत्व दिनुजस्ता घटनाक्रम यस अध्यायमा छन्।

‘प्रेमको पहिलो परीक्षा’ १४औँ अध्याय। वासुदा र प्रतिमाको प्रेम प्रसंग, प्रतिमाको अर्कै केटासँग बिहे हुने कुरा, त्यसबाट छुट्कारा पाउन प्रतिमाले वासुदालाई सम्पर्क गरी आफ्ना आमाबाबुसँग तीनै जनाले गरेका कुराकानी साथै दुवैजनाको प्रेम सफल हुने विश्वास एवं पढाइ र जागिरका प्रसंग यस अध्यायमा छन्।

‘प्रेमको विजय र प्रतिमाको पुनर्जन्म’ १५औँ अध्याय। प्रतिमा र उनका बाबुबीच जीवन, प्रेम, विवाहजस्ता विषयमा गम्भीर कुराकानी भएका, प्रतिमाका बाबुआमाले वासुदासँग नै छोरीको जीवन चल्छ भने विवाह गरिदिने वचन दिएपछि प्रतिमाले आपूm प्रेममा विजय भएको र पुनर्जन्म पाएको ठानेकी, वासुदालाई खुसीको खबर सुनाएर दुवैजना खुसी हुँदै जीवनको लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने अठोटका साथ यो अध्याय समाप्त भएको छ।

‘प्रेम, परीक्षा र पुँजीको घनचक्कर’ १६औँ अध्याय। प्रेममा सफल भएपछि वासुदाले पढाइमै एकोहोरिने योजना बनाउनु, प्रतिमा र वासुदाबीच प्रेमालाप हुनु, समाजमा पुरुषले नारीलाई दिएका धोकाको वर्णन गर्नु, वासुदाले एलएलएममा कलेज टप गर्नु, पैसा नभए पनि थोरै पैसाले प्रतिमालाई खाजा खुवाएर रमाउनु र सच्चा प्रेमको महत्व वर्णन गरी अध्याय समाप्त भएको छ।

‘प्रतिमाको घरमा थापेको आशिष’ १७औँ अध्याय। यस अध्यायमा एलएलएम पहिलो वर्षमा क्याम्पस टप गरेपछि वासुदा आफ्नी प्रेमिका प्रतिमाको घरमा पुगेको लगायत प्रसंग छन्।

‘कफीसँगै प्रेमको चुस्की’ १८औँ अध्याय। प्रेमको गहिराइमा डुबेका प्रतिमा र वासुदाका पलको वर्णन, प्रेम र पढाइको महत्वका बारे छलफल, पुनः भेट हुने वाचासहित छुट्टिएको स्थितिपछि यो अध्याय समाप्त भएको छ। ‘प्रेमको शक्ति र सफलता’ १९औँ अध्याय। प्रतिमासँगको प्रेम प्रेरणा र आफ्नो परिश्रमका कारण वासुदा एलएलएम दोस्रो वर्षमा पनि कलेज टप हुनु आदि प्रसंगमा यो अध्याय सकिएको छ।

‘मधुर मिलनसँगै सपना साकार’ २०औँ अध्याय। यस अध्यायमा वासुदाले गोल्ड मेडल पाउनु, बार एसोसियसनको परीक्षामा सफल भई वकिल बन्नु, प्रतिमासँग विवाह हुनु, एक सफल प्रेमी र उद्देश्य प्राप्तिमा सफल बनेका वासुदाको उदाहरणीय व्यक्तित्वले समाज रूपान्तरण हुने संकेतको सन्दर्भसहित यो अध्याय सकिएको छ।  

‘सपना र सफलताको शिखर चुम्दै’ २१औँ अर्थात् अन्तिम अध्याय। यसमा वासुदाको छोरी जन्मनु, उनी अमेरिकाको न्युयोर्क सहरमा पुग्नु, संघर्ष गर्दै अमेरिकन बारको परीक्षा उत्तीर्ण गरेर अमेरिकन वकिल बन्नु, पछि नेपाल फर्केर सर्वोच्च अदालतको प्रधान न्यायाधीश भई सेवा गर्ने र जीवनलाई संघर्ष मानेर संघर्ष जारी राख्ने विचार व्यक्त गरेपछि उपन्यास समाप्त भएको छ।

यसरी हेर्दा वासुदा उपन्यास संघर्ष, प्रेम र उद्देश्यको त्रिवेणी बनेर औपन्यासिक विन्यासमा उभिएको छ। नेपाली भाषामा लेखिएको उपन्यास भए पनि ठाउँठाउँमा पात्रअनुकूल अंग्रेजी, हिन्दी र स्थानीय भाषाको समेत प्रयोग गरिएको छ। कालो अक्षर भैँसी बराबर, रात रहे अग्राख पलाउँछ जस्ता उखान प्रयोगले पात्रलाई अझ बढी विश्वसनीय बनाइएको छ।

उपन्यासमा सच्चा प्रेमको परिभाषा पाइन्छ। युद्ध जितेको सेनापतिझैँ दुःखद स्मृतिका रस आँखाबाट बरर झरेको सन्दर्भ, मनको जागेको प्रेमको भावलाई अनुशासनको पिञ्जरमा थुनेको प्रसंग पढ्दा उपन्यास आलंकारिक बनेको छ। पानीबिनाको माछोझैँ मन चंगा त कचौरीमा गंगा, परेवाको जोडीले प्रेमको गुँड बनाएको, चिन्ता नदीको भेल मनमस्तिष्कबाट बगेको, प्रेमको पिल्लरमा भविष्य अडिएको, शपथको सम्झना मनको चौतारीमा बसेको दुःखको पहाडबाट झरेर कर्मको मैदानमा जानु जस्ता भनाइ र वाक्यांशले उपन्यास कलात्मक बनेको छ। ‘उडायो सपना सबै हुरीले’ गीतको बोल सान्दर्भिक प्रयोगका दृष्टिले उदाहरणीय छ।

वासुदा उपन्यास सामाजिक यथार्थवादी, वस्तुतथ्यमा आधारित उपन्यास मात्र नभएर पूर्वीय दार्शनिक मान्यताका दृष्टिले पनि अध्ययनीय छ। अध्याय सातमा वासुदाले शैलेश्वरी मातासँग संकट मोचनका लागि प्रार्थना गर्नु, अध्याय एघारमा दुर्गा चाचाले वासुदालाई ईश्वरको भर पर्ने सल्लाह दिएको प्रसंग ईश्वर चिन्तनका दृष्टिले उल्लेख्य छ। त्यस्तै अध्याय १२ मा पीपलको बोटलाई विष्णुको रूप मानेर घुम्दै वासुदाले ‘ओम विष्णवे नमः’ भन्नु, अध्याय १५ मा प्रतिमाले वासुदा आफ्नो जीवनसाथी हुनुलाई ईश्वरकै कृपा मान्नु, वासुदालाई भगवान्बाट धनबाहेक सबथोक प्राप्त हुनु, माता सरस्वतीको कृपा हुनु, प्रेमलाई ईश्वरको रूप मान्नुजस्ता प्रसंग हेर्दा यो उपन्यास ईश्वरवादी पूर्वीय दार्शनिक चिन्तनका दृष्टिले महत्वपूर्ण छ।

मूलतः वासुुदा उपन्यासका मूल पात्र अर्थात् केन्द्रीय चरित्र वासुदाको चरित्र विकासमा लेखकले गरेको परिश्रम बढी उल्लेख्य र विश्वसनीय रहेको छ। यही यस उपन्यासको महत्वपूर्ण उपलब्धि रहेको छ।

प्रकाशित: २१ फाल्गुन २०७८ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App