तिहारको उज्यालोमा हराएको संसार
२१ कार्तिक २०८३
•
१३ मिनेट पाठ
तिहारको उज्यालोमा हराएको संसार
तिहारसँगै घरघरमा दीपावलीको उज्यालो छाएको छ। आँगनमा सयपत्री र मखमली फुलेका छन्। बजार तिहारमा रंगिएको छ। दिदीबहिनी आफ्ना भाइको निधारमा सप्तरंगी टीका लगाउन आतुर छन्। भाइहरू आफ्ना दिदीबहिनीलाई भेट्न, उनीहरूको हातबाट टीका लगाउन र आशीर्वाद लिन घर फर्किरहेका छन्। कतै आमाहरू मिठा परिकार पकाउँदै छन्, कतै भाइहरू हाँस्दै देउसीभैलो खेलिरहेका छन्। खुसी, प्रेम र आत्मीयताले घर उत्फुल्ल देखिन्छन्।




यही उज्यालो तिहारको बिचमा एउटी छोरीको संसार भने अँध्यारो छ। उसको घरमा न आमाको ममताले भरिएको आवाज छ, न बाबाको भरोसाले भरिएको साथ, न भाइहरूको हाँसो। न कसैले ढोकाबाट बोलाउँदै भन्छ - ‘दिदी, हामी आयौं।’

अरूका घरमा तिहारको खुसी देख्दा उसको मनभित्रको अँध्यारो खाडल झनै गहिरिन्छ। पहिला उज्यालो बोकेर उसको पनि तिहार आउँथ्यो, आमाको हातबाट टीका लगाउँथी, बाबाको स्नेहरूपी आशीर्वाद पाउँथी। आफ्ना भाइहरूको निधारमा सप्तरंगी टीका लगाएर उनीहरूको दीर्घायु, सुख र सफलताको कामना गर्थी। आमाले पकाएको मिठो खाना खान्थी, भाइहरूसँग हाँस्दै, रमाउँदै, देउसीभैलोको आवाज सुन्दै रात बिताउँथी। आज ती सबै खुसी सम्झनामा मात्र सीमित छन्।

कहिलेकाहीं तिहार आउँदा उसको मनमा बाल्यकालका ती दिन चलचित्रझैं घुम्न थाल्छन्। आमाबुबा र भाइहरूसँग बिताएका ती साना–साना क्षण आज जीवनका सबैभन्दा अमूल्य सम्पत्ति बनेका छन्। त्यो समयमा हामीलाई थाहा थिएन, जीवनमा एक दिन यस्ता सम्झनाहरू मात्र बाँकी रहनेछन्। हामीलाई लाग्थ्यो, हाम्रो परिवार सधैं यस्तै रहनेछ। लाग्थ्यो– हामी सधैं सँगै खेल्नेछौं, सँगै खानेछौं, सँगै हाँस्नेछौं र हरेक तिहार यसरी नै मनाउनेछौं तर समयले कसैलाई पर्खंदो रहेनछ।

जीवनले कहिलेकाहीं यस्तो मोड ल्याउँछ, जहाँ हिजोका खुसी आज आँखाबाट झर्ने आँसु बन्न पुग्छन्। मलाई अझै बाल्यकालका ती दिन सम्झनामा आउँछन्। हामी सबै सँगै बसेर खाना बाँडेर खान्थ्यौं, कहिलेकाहीं एउटै सिरानीमा टाउको राखेर सुत्थ्यौं। कहिले सिरानी तानातान गरेर खेल्थ्यौं, कहिले एकअर्कालाई जिस्क्याउँथ्यौं। सानो कुरामा झगडा हुन्थ्यो, फेरि केही क्षणमै हाँस्दै मिल्थ्यौं। त्यो समयमा हाम्रो संसार कति सानो थियो तर हाम्रो खुसी कति ठुलो थियो ! हामीलाई ठुलो घर चाहिँदैनथ्यो, महँगो खेलौना चाहिँदैनथ्यो। एकअर्काको साथ भए पुग्थ्यो। एउटै थालमा खाना बाँडेर खान पाउँदा पनि हामीलाई संसार जितेजस्तो लाग्थ्यो। तिहार आउँदा ती सम्झना झन् गहिरो भएर मनमा आउँछन्।

आमाले पकाएको खाना, भाइहरूसँग बसेर खाएको मिठो परिकार, बाबाले सबैलाई सँगै बोलाएको आवाज, घरभित्रको हाँसो र रमाइलो वातावरण– यी सबै सम्झँदा मन भक्कानिन्छ। आज हामी ठुलो भएका छौं। जीवनले धेरै कुरा सिकाएको छ तर बाल्यकालको त्यो सानो संसार, जहाँ हामी सबै सँगै थियौं, त्यहाँ फर्केर जान मन लाग्छ। कहिलेकाहीं मनले भन्छ, एक दिन मात्रै भए पनि त्यो समय फर्कियोस्। फेरि आमाको आवाज सुनौं, बाबाको अनुहार हेरौं, भाइहरूसँग बसेर खाना खाऔं, फेरि एउटै सिरानीमा बसेर हाँसौं। तर जीवनमा केही कुरा चाहेर पनि फर्काउन सकिँदो रहेनछ।  

मलाई बाल्यकालको एउटा घटना अझै स्पष्ट सम्झनामा छ। हामी साना थियौं। तिहारको समय थियो। घरमा सबैजना खुसी थिए। हामी बच्चाहरू आफ्नो संसारमा रमाइरहेका थियौं। कहिले बल पास गरेर खेल्थ्यौं, कहिले एकअर्कालाई जिस्क्याउँथ्यौं, कहिले खाना बाँडेर खान्थ्यौं। हाम्रो मनमा कुनै ठुलो चिन्ता थिएन। हामीलाई केवल खेल्न, हाँस्न र रमाउन मन लाग्थ्यो। त्यही समयमा हामीले ठुला मानिसलाई चुरोट पिएको देखेका थियौं। उनीहरूले हातमा लामो चुरोट समातेर धुवाँ निकालिरहेको देख्दा हामीलाई पनि त्यसको नक्कल गर्न मन लाग्यो।

हामीलाई चुरोटको वास्तविक अर्थ थाहा थिएन। त्यसले शरीरमा पार्ने असरबारे पनि कुनै ज्ञान थिएन। हामीले केवल ठुला मानिसहरूले गरेको व्यवहारको नक्कल गर्न खोजेका थियौं। हामीले कागजलाई लामो बनाएर चुरोटजस्तो बनायौं। त्यसलाई हातमा समातेर आफू पनि ठुलो मानिस भएको अभिनय गर्न थाल्यौं। त्यो समयमा हामीलाई आफू निकै ठुलो र साहसी भएकोजस्तो लागिरहेको थियो।

बाल्यकालको नादानी, जिज्ञासा र नक्कल गर्ने बानीले हामीलाई एउटा यस्तो गल्तीको नजिक पुर्‍यायो, जुन आज पनि मेरो मनमा गहिरो सम्झना बनेर बसेको छ। खेल्दै गर्दा अचानक परिस्थिति बदलियो। हामीले गरेको नक्कल र असावधानीले आगो लाग्ने अवस्था सिर्जना भयो। सुरुमा हामीलाई के भइरहेको छ भन्ने पनि राम्रोसँग बुझ्न सकेनौं। जब आगो फैलिन थाल्यो, हामी सबै डरायौं। केही क्षणअघि हाँस्दै खेलिरहेका हामी अचानक आतंकित भयौं। घरभित्र आगो देखेपछि हाम्रो मनमा एउटै डर आयो– अब के हुन्छ ? हामी कसरी बच्ने ? घरमा के होला ? परिवारले थाहा पाएपछि के भन्नुहोला ? हामी डरले बाहिर निस्कियौं। परिस्थिति नियन्त्रण गर्न नसक्ने भएपछि हामी त्यहाँबाट भाग्यौं। हामीलाई थाहा थियो, हामीले ठुलो गल्ती गरेका छौं। त्यस समयमा हामी साना थियौं, डराएका थियौं र के गर्ने भन्ने बुझ्न सकेका थिएनौं। हामीले सोचेको खेल अचानक एउटा गम्भीर घटनामा बदलिएको थियो।

त्यसपछि छिमेकीले आगो र धुवाँ देखे। उहाँले हाम्रो घरमा खबर गर्नुभयो। घरबाट धुवाँ निस्किरहेको देखेपछि सबैजना आत्तिए। केही समयमै प्रहरी पनि आए। घरका मानिसहरूलाई खबर भयो। त्यो घटना हाम्रो बाल्यकालको सबैभन्दा डरलाग्दो अनुभवमध्ये एक बन्यो। हामीले गरेको गल्तीले घर र परिवारलाई कति ठुलो जोखिममा पारेको थियो भन्ने कुरा त्यसपछि मात्र बुझ्न थाल्यौं। त्यो दिनको डर, घरमा भएको क्षति, छिमेकीले दिएको खबर र प्रहरी आएको दृश्य आज पनि मेरो मनमा ताजा छ।हामीले त्यस समयमा केवल खेलिरहेको ठानेका थियौं तर त्यो खेलले कति ठुलो दुर्घटना निम्त्याउन सक्थ्यो भन्ने कुरा पछि बुझ्यौं। बाल्यकालमा गरेको एउटा गल्तीले जीवनभरका लागि सम्झना र चेतावनी दिन सक्छ भन्ने कुरा मैले त्यही घटनाबाट सिकें।

आज त्यो घटना सम्झँदा मनमा दुःख पनि लाग्छ, डर पनि लाग्छ तर एउटा महत्त्वपूर्ण शिक्षा पनि प्राप्त हुन्छ। बच्चाहरूको जिज्ञासा स्वाभाविक हुन्छ। उनीहरू ठुला मानिसहरूको नक्कल गर्छन्। उनीहरूलाई सही र गलत बुझाउने जिम्मेवारी परिवार र समाजको हो। चुरोट, आगो र अन्य जोखिमपूर्ण वस्तुहरू खेल्ने सामग्री होइनन्। बच्चाहरूलाई समयमै सही शिक्षा, सुरक्षित वातावरण र माया दिनुपर्छ। उनीहरूको जिज्ञासालाई दण्डले होइन, समझदारी र मार्गदर्शनले सही दिशामा लैजानुपर्छ।

त्यो बाल्यकालको घटना आज पनि मेरो मनमा एउटा गहिरो सम्झना बनेर बसेको छ। हामीले गरेको गल्तीलाई म कहिल्यै बिर्सन सक्दिनँ। त्यो गल्तीबाट सिकेको पाठ पनि जीवनभर बिर्सने छैन। हामी साना थियौं, हामीलाई धेरै कुरा थाहा थिएन तर त्यो घटनाले जीवनमा जिम्मेवारी र सावधानीको महत्त्व सिकायो।

बाल्यकालमा हामीले गरेका यस्ता साना–साना गल्ती, खेल, झगडा र हाँसो नै पछि जीवनका अमूल्य सम्झना बन्छन्। त्यस समयमा हामीलाई लाग्थ्यो, यो संसार सधैं यस्तै रहनेछ। हामी सधैं सँगै खेल्नेछौं, सँगै खाना खानेछौं र हरेक तिहारमा एकअर्कालाई भेट्नेछौं।

समयले सबै कुरा बदलिदियो। आज जब म त्यो घटना सम्झन्छु, मलाई केवल आगो लागेको डर मात्र याद आउँदैन। मलाई त्यो समयका भाइहरूको अनुहार याद आउँछ। हामी सँगै खेलेका दिन याद आउँछन्। एउटै सिरानीमा बसेर हाँसेका क्षण याद आउँछन्। खाना बाँडेर खाएका दिन याद आउँछन्। त्यो बाल्यकालको संसार, जहाँ हामीलाई एकअर्काको साथ नै सबैभन्दा ठुलो खुसी थियो, आज मेरो हृदयमा गहिरो रूपमा बसेको छ।

आज मेरो जीवनमा ती सबै सम्बन्ध छैनन्। मैले आमाबुबा गुमाएकी छु, भाइहरू गुमाएकी छु। जीवनको सबैभन्दा अमूल्य सम्बन्धहरू गुमाएकी छु। तिहार आउँदा ती सम्झना झन् गहिरो हुन्छन्। अरूका घरमा भाइहरू हाँस्दै टीका लगाएको देख्दा मन भक्कानिन्छ। आमाहरूले छोराछोरीलाई खाना खुवाएको देख्दा आफ्नी आमाको सम्झना आउँछ। बाबाहरूले परिवारलाई आशीर्वाद दिएको देख्दा आफ्ना बाबाको अभाव महसुस हुन्छ।

आमाबुबा गुमाउनु भनेको दुई जना मानिस गुमाउनु मात्र रहेनछ। आफ्नो बाल्यकाल, सुरक्षित संसार, दुःखमा टाउको राख्ने ठाउँ र जीवनमा भरोसा गर्ने आधार पनि गुमाउनु रहेछ। आमाको माया संसारको सबैभन्दा ठुलो सुरक्षा हो, बाबाको साथ जीवनको सबैभन्दा ठुलो भरोसा हो। जब ती दुवै सम्बन्ध जीवनबाट टाढा हुन्छन्, छोरीको मनमा एउटा यस्तो खालीपन जन्मिन्छ, जुन कुनै सम्पत्ति, पद, सफलता वा प्रशंसाले भरिन सक्दैन। भाइहरू गुमाउनु पनि दिदीका लागि असह्य पीडा हो। भाइ भनेको केवल परिवारको एउटा सदस्य होइन, बाल्यकालको साथी, आफ्नो मायाको हिस्सा र जीवनको एउटा अमूल्य सम्बन्ध हो। दिदीले भाइलाई सानो हुँदा हात समातेर हिँड्न सिकाउँछे, खाना खुवाउँछे, दुःख पर्दा सम्झाउँछे र खुसी हुँदा सबैभन्दा बढी रमाउँछे। भाइ ठुलो हुँदै जाँदा दिदीको मनमा एउटा भरोसा जन्मिन्छ, ‘मेरो भाइ छ, जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हामी एकअर्काको साथमा हुनेछौं।’

जब त्यही भाइ जीवनबाट टाढा हुन्छ, त्यो भरोसा पनि टुट्छ। तिहारको सबैभन्दा विशेष सम्बन्धमध्ये एक दिदी र भाइको सम्बन्ध हो। भाइको निधारमा टीका लगाउनु केवल धार्मिक परम्परा होइन, दिदीको माया, भाइप्रतिको जिम्मेवारी र एकअर्काको जीवनमा रहेको आत्मीयताको प्रतीक हो।

दिदीले भाइको दीर्घायुको कामना गर्नु भनेको उसको जीवनमा सुख, सुरक्षा र सफलताको प्रार्थना गर्नु हो। भाइले दिदीको हातबाट टीका लगाउनु भनेको उसको माया र आशीर्वादलाई स्वीकार गर्नु हो। यो सम्बन्धको वास्तविक मूल्य केवल तिहारको दिनमा मात्र बुझेर हुँदैन। भाइ जीवित हुँदा उसको सम्मान गर्नुपर्छ, दिदी जीवित हुँदा उनको माया बुझ्नुपर्छ, एकअर्काको दुःखमा साथ दिनुपर्छ र खुसीमा सहभागी हुनुपर्छ किनकि जीवन अनिश्चित छ। आज साथमा भएको मानिस भोलि नहुन सक्छ। आज बोलेको शब्द भोलि सम्झनामा मात्र रहन सक्छ।

तिहार आउँदा मेरो मनमा आमाको भान्सा सम्झना आउँछ। आमाले कसरी मिठा परिकार पकाउनुहुन्थ्यो, भाइहरूलाई कुन खाना मन पथ्र्यो, कसले धेरै खाना खान्थ्यो, कसले आमासँग थप मिठाइ माग्थ्यो, बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो– यी साना–साना सम्झना आज मेरो हृदयमा गहिरो पीडा बनेर बसेका छन्। परिवार हुँदा भान्सा केवल खाना पकाउने ठाउँ होइन, माया, हाँसो र आत्मीयताको संसार हुन्थ्यो। ‘सबैलाई पुग्छ, अझै खाऊ’ भन्नुहुन्थ्यो। भाइहरू हाँस्दै खाना खान्थे। दिदीले भाइहरूलाई थप खाना दिन्थी। बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो तर आज खाना छ, घर छ, दीप छ, फूल छन् तर त्यो खाना खाने परिवार छैन; त्यो हाँसो छैन; त्यो आत्मीयता छैन। समाजमा धेरै महिला छन्, जसले आफ्नो जीवनमा आमाबुबा गुमाएका छन्। कसैले आफ्ना भाइ गुमाएका छन्, कसैले दाजुभाइ, दिदीबहिनी र परिवारका अन्य सदस्य गुमाएका छन्। बाहिरबाट हेर्दा उनीहरू सामान्य देखिन्छन्। उनीहरू काम गर्छन्, आफ्नो जिम्मेवारी पूरा गर्छन्, समाजमा आफ्नो पहिचान बनाउँछन् र अरूलाई हौसला दिन्छन् तर उनीहरूको मनभित्र कति पीडा छ भन्ने कुरा सबैले बुझ्न सक्दैनन्। विशेषगरी तिहारजस्ता पर्वमा उनीहरूको मनभित्रको घाउ फेरि ताजा हुन्छ। कसैले सोध्छ– तपाईंका भाइहरू कहाँ छन् ? कसैले भन्छ– तिहारमा सबै परिवार जम्मा हुनुभएको छैन ? यी सामान्य प्रश्न हुन सक्छन् तर परिवार गुमाएकी महिलाका लागि यस्ता प्रश्न हृदयमा गहिरो चोट बन्न सक्छन् किनकि उनीसँग उत्तर हुन्छ तर त्यो उत्तर दिनका लागि मनमा ठुलो साहस चाहिन्छ।

आज तिहारको दिन म बिहानै उठ्छु। घर सफा गर्छु, दीप बाल्छु, आँगनमा फूल सजाउँछु। आमाबुबाको सम्झनामा मनमनै प्रार्थना गर्छु। भाइहरूको सम्झनामा आँखा बन्द गर्छु। आमाको तस्बिरअगाडि फूल राख्छु, बाबाको तस्बिरअगाडि दीप बाल्छु र भाइहरूको तस्बिरअगाडि टीका तथा माला राख्छु। मेरो मनभित्र एउटा आवाज उठ्छ– ‘आमा, बाबा, मेरा भाइहरूबिना नै आज तिहार आयो। तपाईंहरू भएको भए आज हाम्रो घर कति खुसी हुन्थ्यो होला ! आमाले मिठो खाना पकाउनुहुन्थ्यो, बाबाले सबैलाई सँगै बसेर खान बोलाउनुहुन्थ्यो, भाइहरू हाँस्दै टीका लगाउन आउँथे र म उनीहरूको निधारमा टीका लगाएर आशीर्वाद दिन्थें। आज त्यो सबै सम्झना मात्र भयो।’

मेरो आँखाबाट आँसु झर्छ। म आमाको तस्बिर हेर्छु, बाबाको तस्बिर हेर्छु, भाइहरूको तस्बिर हेर्छु र मनमनै भन्छु– ‘तपाईंहरूलाई गुमाएको पीडा म कहिल्यै बिर्सन सक्दिनँ तर तपाईंहरूले दिएको माया, संस्कार र हिम्मत पनि म कहिल्यै बिर्सने छैन।’

जीवनमा सबैभन्दा ठुलो परीक्षा कहिलेकाहीं त्यही हुन्छ, जब हामीले सबैभन्दा बढी माया गरेका मानिस गुमाउँछौं। त्यसपछि हामीले जीवनलाई नयाँ तरिकाले बुझ्नुपर्छ, आफ्नो दुःखलाई स्वीकार गर्नुपर्छ, आफ्नो पीडालाई सम्मान गर्नुपर्छ र जीवनलाई फेरि अघि बढाउनुपर्छ। यसको अर्थ आफ्नो आँसु रोक्नु होइन, आफ्नो दुःख लुकाउनु पनि होइन। बलियो हुनु भनेको कहिल्यै नरुनु होइन।

बलियो हुनु भनेको रोएपछि पनि जीवनलाई सम्हालेर अघि बढ्न सक्नु हो। परिवार गुमाएकी महिलाले पनि खुसी हुने अधिकार राख्छे, सपना देख्ने अधिकार राख्छे, नयाँ सम्बन्धहरू बनाउन सक्छे र आफ्नो जीवनलाई सम्मानपूर्वक अघि बढाउन सक्छे। उसले आफ्नो पीडालाई अरूका लागि प्रेरणा बनाउन सक्छे। समाजले पनि उसको पीडा बुझ्नुपर्छ, उसको आँसु सुन्नुपर्छ, उसको एक्लोपन बुझ्नुपर्छ र उसलाई सम्मान तथा साथ दिनुपर्छ।

यो केवल एउटी महिलाको कथा होइन। यो ती सबै छोरीहरूको कथा हो, जसले आफ्नो जीवनमा आमाबुबा गुमाएका छन्। यो ती सबै दिदीहरूको कथा हो, जसले आफ्ना भाइहरू गुमाएका छन्। यो ती महिलाहरूको कथा हो, जो तिहारको उज्यालोमा पनि आफ्नो मनको अँध्यारोसँग संघर्ष गरिरहेका छन्। उनीहरूको पीडा वास्तविक छ, उनीहरूको आँसु अमूल्य छ र उनीहरूको सम्झना सम्मानयोग्य छ। उनीहरूले गुमाएका सम्बन्धहरू संसारका सबैभन्दा अमूल्य थिए। उनीहरूको जीवन पनि अमूल्य छ।  

आज म एक्लै तिहार मनाउँदै छु तर मेरो हृदयमा मेरो परिवार सधैं जीवित छ। आमा, तपाईंको माया मेरो जीवनको आधार हो; बाबा, तपाईंको भरोसा मेरो जीवनको शक्ति हो; मेरा भाइहरू, तिमीहरूको सम्झना मेरो हृदयको अमूल्य हिस्सा हो। म तपाईंहरूलाई गुमाएको पीडामा बाँचेकी छु तर तपाईंहरूले दिएको मायाको शक्तिमा अघि बढ्नेछु।

आज म रोएकी छु तर म हारेकी छैन। आज मेरो मन खाली छ तर मेरो जीवन अर्थहीन छैन। आज मेरो घरमा तपाईंहरूको आवाज छैन तर तपाईंहरूको सम्झना मेरो जीवनमा सधैं रहनेछ। बाल्यकालमा हामीले गरेका गल्ती, खेलेका खेल, बाँडेर खाएका खाना, एउटै सिरानीमा सुतेका रात र एकअर्कालाई जिस्क्याएका क्षण आज जीवनका अमूल्य सम्झना बनेका छन्। त्यो आगो लागेको घटनाले मलाई सावधानी र जिम्मेवारीको पाठ सिकायो। त्यो घटनासँग जोडिएका भाइहरूको सम्झनाले आज मेरो मनलाई अझ बढी भावुक बनाउँछ। हामीले त्यस समयमा सोचेका थिएनौं कि एक दिन यी सम्झना नै हाम्रो जीवनको सबैभन्दा ठुलो सम्पत्ति बन्नेछन्। म आज पनि त्यो बाल्यकाल सम्झन्छु। हामीले गरेको गल्ती सम्झन्छु।

हामीले भोगेको डर सम्झन्छु तर त्योभन्दा बढी म हामी सबै सँगै भएको समय सम्झन्छु। त्यो समय, जब हामीलाई एकअर्काको साथ नै सबैभन्दा ठुलो खुसी थियो। त्यो समय, जब हामीलाई थाहा थिएन कि जीवनले एक दिन हाम्रो संसार बदलिदिनेछ। आज म एक्लै छु तर म कमजोर छैन। मैले धेरै गुमाएकी छु तर मेरो जीवनको शक्ति अझै बाँकी छ। म आफ्नो पीडालाई सम्मान गर्नेछु। आफ्नो परिवारको सम्झनालाई जीवित राख्नेछु। आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनेछु र अरूका लागि माया, आशा र प्रेरणाको स्रोत बन्ने प्रयास गर्नेछु।

यो तिहार मेरा लागि केवल दीपावली होइन। यो आमाबुबाको सम्झना हो, भाइहरूको माया हो, बाल्यकालको संसार हो, एउटा गल्तीबाट सिकेको जीवनको पाठ हो, पीडाबाट जन्मिएको आत्मबल हो र जीवनलाई फेरि माया गर्ने संकल्प हो। आमा, बाबा र मेरा भाइहरू, तपाईंहरू मेरो जीवनमा हुनुहुन्न तर तपाईंहरूको माया मेरो हृदयबाट कहिल्यै हराउने छैन। म तपाईंहरूलाई गुमाएको पीडामा बाँचेकी छु तर तपाईंहरूले दिएको मायाको शक्तिमा अघि बढ्नेछु। म आफ्नो जीवनलाई सम्मान गर्नेछु, अरूलाई माया गर्नेछु र तपाईंहरूको सम्झनालाई आफ्नो शक्ति बनाउनेछु। म एक्लै तिहार मनाउँदै छु तर मेरो हृदयमा मेरो परिवार सधैं जीवित छ।

तिहारको उज्यालो सबैको घरमा पुग्छ तर कसैको मनभित्रको अँध्यारो बुझ्न माया, संवेदनशीलता र मानवीयता चाहिन्छ। यस तिहारमा हामी सबैले आफ्नो परिवारलाई माया गरौं, आमाबुबाको सम्मान गरौं, भाइबहिनीको सम्बन्धलाई जोगाऔं र दुःखमा परेका मानिसलाई साथ दिऔं किनकि जीवन छोटो छ, सम्बन्ध अमूल्य छन् र माया नै मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो।

आमाबुबाको माया र भाइहरूको साथ गुमाए पनि उहाँहरूले दिएको माया, संस्कार र सम्झना कहिल्यै बिर्सन सक्दिनँ। यही मेरो तिहारको कथा हो। यही मेरो बाल्यकालको सम्झना हो। यही मेरो पीडा हो। यही मेरो आत्मबल हो र यही मेरो जीवनको शक्ति हो। म एक्लै तिहार मनाउँदै छु तर हृदयमा परिवार सधैं जीवित छ।
अर्को समाचार
स्वरसम्राटको संग्रहालय
१६ मिनेट अघि
•
१ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए। अहिलेको नारायणगोपाल चोकदेखि पूर्वतिर एक कुनाको साँघुरो गल्लीमा २० आनाको नारायणगोपालको नाममा रहेको जमिन छ। त्यही जमिनमा स्वरसम्राटको दक्षिण मोहोडाको तीनतले पुरानो घर छ।  त्यही घर स्वरसम्राटको नाममा संग्रहालयमा परिणत भएको छ। समाजसेवी दीपक केसी हाल नारायणगोपाल संगीत कोषका अध्यक्ष हुन्।  सो संगीत कोषको स्थापना २०४७ सालमा भएको हो।




डा. वानीरा गिरि अध्यक्ष रहँदाको बखत दीपक केसीले सचिवका रूपमा काम गरेका थिए।  स्वरसम्राटको पुरानो घरसँगै टाँसिनेगरी पाँचतले रातो आधुनिक भवन निर्माण गरिएको छ, जसको शिलान्यास काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र भवनको उद्घाटन वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी हुन्। सो भवनको परिकल्पना दीपक केसीले गरेका रहेछन्। उनकै सक्रियतामा पाँचतले सो आधुनिक रातो भवनको निर्माण गरिएको हो, जसको नाम गीतगंगा भवन राखिएको छ।  सो भवनको लागत पाँच करोड ५० लाख रहेको छ। काठमाडौं महानगरपालिका र स्थानीय निकायबाट सो रकम जुटेको हो।

उक्त भवन निर्माण, संग्रहालय भवनको संरक्षण, महाराजगन्जको बिच चोकमा अवस्थित स्वरसम्राटको सालिक स्थापना, भवन बनाउँदा लाग्ने खर्च कसरी संकलन गरियो ? आधुनिक भवनमा के–कस्ता सांगीतिक कार्यक्रम सञ्चालन गरिने छन्, सांगीतिक साजबाजहरू के–कति छन् ? यसबारे पंक्तिकारलाई अध्यक्ष केसीले केही दिन पहिले विस्तृत रूपमा जानकारी गराएका थिए। निमोनियाका कारण लेख छिटो पूरा गर्न सकिनँ।  तैपनि सांगीतिक फाँटका पाठकहरूको जानकारीका लागि छोटकरीमा भए पनि आलेख तयार गरेको छु।

महाराजगन्जमा दिनहुँ सयौं सवारीसाधन नारायणगोपालको सालिकको परिक्रमा गरेर आफ्नो गन्तव्यमा पुग्छन्।  पाँच वर्ष पहिले सो सालिक अलि होचो थियो।  ट्राफिक प्रहरीलाई उभिएर सेवा दिन केही अप्ठ्यारो थियो।  अहिले त्यहाँ सालिकलाई १० फिट अग्लो बनाएर फराकिलो पारिएको छ।  दक्षिण मोहोडा भएको स्वरसम्राटको सो आकर्षक सालिकको निर्माण प्रसिद्ध कलाकार अमर चित्रकारले गरेका हुन्। सवारीसाधनमा यात्रा गर्नेहरूदेखि सयौं पैदल यात्रु श्रद्धापूर्वक स्वरसम्राटको सालिकलाई नमन गर्छन्।  जनजनबाट श्रद्धा पाउने नारायणगोपाल अमर स्रष्टा हुन्। यसो त शान्तिबाटिकास्थित सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिक र सहिदगेटमा स्थापित अर्धकदका चार जना अमर सहिदप्रति श्रद्धा गर्नेहरूको संख्या पनि कम छैन।

१०४ वर्षे राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन १९९७ सालमा काठमाडौंमा चार जनाले अमरत्व प्राप्त गरेका थिए।  यसैगरी सर्वमान्य नेताले तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए।  यता स्वरसम्राटले नेपाली गीतसंगीत र नेपाली भाषाको श्रीवृद्धिका लागि जीवनभर सेवा गरेका थिए। उनका सयौं कर्णप्रिय र कालजयी गीतले स्वदेश र विदेशमा बस्ने सबै नेपालीलाई एकसूत्रमा बाँधिदिएका छन्। २०५३ सालमा आफू वडाध्यक्ष रहँदा आफ्नी आमा नानी केसीले दिएको सल्लाहअनुसार स्वरसम्राटको सालिक स्थापनाका लागि पहल गर्नुका साथै सो ठाउँको नाम नारायणगोपाल चोक राख्न निकै धाउनुपर्‍यो।

तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले सालिक निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।  तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पनि ठुलो हात रहेको छ यो सालिक निर्माणमा। तत्कालीन खेलकुद तथा संस्कृतिमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको सो सालिकको अनावरण भने त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो।  २०५३ पुस १९ गते नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नारायणगोपाल चोक लेखिएको बोर्डको उद्घाटन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो। स्वरसम्राटको सो सालिकमा बर्सेनि मंसिर १९ गते गीतसंगीतका मात्र नभएर सबै वर्ग र क्षेत्रका असंख्य नरनारीले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरी उनलाई सम्झने गर्छन्। त्यसपछि स्वरसम्राटको आँगनीमा सबै वयका गायक–गायिकाले उनले गाएका कालजयी गीतहरू गाएर नारायणगोपालको गीति युगतिर उपस्थित सबै जनालाई डोर्‍याएको अनुभूति गराउँछन्। त्यही दिन देशका कलाक्षेत्रका स्वनामधन्य साधकलाई नगद राशिसहित ताम्रपत्र र दोसल्लाले अभिनन्दन गर्ने गर्छन्।

मानौं, कलाकर्मीका लागि मंसिर १९ गते हृदयदेखि स्वरसम्राटलाई सम्झने दिन हो।  साथै संगीत र गायनको शुभमुहूर्तका लागि साइतको दिन पनि हो।  शिशिर योगी, सुरज थापा, डा. टीका भण्डारी, यसैगरी गायिकाहरू शृंखला जोशी, निशा देसार, झुमा निरौला, संगीता प्रधान आदिले हुबहु रूपमा स्वरसम्राटले गाएका गीतहरू असंख्य दर्शकलाई सुनाएका ती दिनहरू भुल्नै सकिन्न।  सो क्रम संगीत कोषले प्रत्येक वर्ष जुराउँदै आएको छ।  यसैगरी स्वरसम्राटसँग गीतमा स्वर दिएका अमर स्रष्टालाई र जीवनोपयोगी गीत लेखेर नारायणगोपाललाई गाउन मनैदेखि स्वीकृति दिन सफल गीतकार र संगीतकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आइरहेको अध्यक्ष केसी बताउँछन्।

स्मरण रहोस्, स्वरसम्राट कसैका करकाप र बन्धनमा रहने गायक थिएनन्।  उनको ब्रह्मले रुचाएका गीत मात्र महिनौं लगाएर चित्त बुझ्दो गरी गाउँथे।  
स्वनामधन्य गीतकार कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, स्व. रत्नशमशेर थापा, भैरवनाथ रिमाल ‘कदम’, यसैगरी वरिष्ठ गायक तथा संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, सिके रसाइली, मौलिक लोकगीतका सर्जक झलकमान गन्धर्व आदिले स्वरसम्राट सम्मान प्राप्त गरिसक्नुभएको छ। प्रसिद्ध गायिका ज्ञानु राणा, मिरा राणा, दिलमाया खाती, शान्ति ठटाल आदिलाई पनि सो कोषले पुरस्कृत गरिसकेको छ। यसपटक पनि सो क्रम जारी छ।

प्रसिद्ध गायक प्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार तथा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, वरिष्ठ गीतकार प्रमोद ढुंगानालाई यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन जना स्रष्टा र नृत्यका गुरु भैरवबहादुर थापालाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ।  विगत ४० वर्षभन्दा बढी गीतसंगीत क्षेत्रमा सेवा गरेका माथि उल्लिखित सबै स्रष्टाको योगदान प्रशंसनीय छ।

अब केही चर्चा स्वरसम्राट नारायणगोपाल र उनकी पत्नी पेमला गुरुवाचार्यबिच लामो अवधिको प्रेमपत्र आदानप्रदानबारे पनि गरौं।  अहिलेसम्म जनसमक्ष आउन नसकेका र धेरै कुराहरू थाहा हुन नसकेका स्वरसम्राटसम्बन्धी सामग्रीको सँगालो एकत्रित गरी पुस्तकका रूपमा बाहिर ल्याउने सोचमा दीपक केसी रहेको बुझिएको छ। कोरोनाका बखत २०७६ सालमा कोठाका सामग्री मिलाउने क्रममा दराजमाथि एउटा पोको देखेँ।  के रहेछ ? भनी खोलेर हेर्दा स्वरसम्राट र पेमलाबिचका ९५ वटा प्रेमपत्र जम्मा गरिएका रहेछन्। साथै १९ वटा उहाँहरूका जीवनका डायरी पनि रहेछन्। ती प्रेमपत्र र डायरीमा दुई जनाबिचको प्रेम कति गहिरो रहेछ भन्ने कुराको बोध एकातिर रहेको छ भने अर्कातिर त्यस बेलाको जनजीवन, देशको अविकसित अवस्था, जीवनका भोगाइ र कतै–कतै राजनीतिक अवस्थाबारे पनि उल्लेख गरिएको पाइन्छ। स्वरसम्राटले मानिसको मुटु छुने र देशको प्राकृतिक सौन्दर्यको अलौकिक वर्णन गरिएका अत्यन्त मिठासपूर्ण गीत मात्र किन गाए ? भन्ने पनि बोध गराउँछन् यी डायरीले। ‘चुपचाप मन पराए’ शीर्षक दिएको सो पुस्तकमा प्रेमपत्र, डायरी, स्मरण र अन्तर्वार्ता रहेका छन्। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपीमा स्वरसम्राटको हँसिलो मुहार देखाइएको छ पुस्तकको आवरण पृष्ठमा।  
स्वरसम्राट आफैंले ‘गीत निवास’ नामकरण गरिएको पुरानो घरका दुवै तलाका कोठामा उनले पाएका थुप्रै प्रमाणपत्र र वाद्ययन्त्र छरिएर रहेका देखिन्छन्।  राष्ट्रिय नाचघरमा महाप्रबन्धक रहँदाको बखतको र इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्दाका प्रमाणपत्र भने त्यहाँ देखिएनन्। बरु गोपाल योन्जन र उनका समकालीन दौतरीका तस्बिर भने सिसाको दराजमा राखिएका थिए।  माथिल्लो कोठामा नारायणगोपालको ठुलो तस्बिर राखिएको छ।  आगन्तुकहरू त्यही अगाडि उभिएर तस्बिर खिचेर मनको धोको मेटाउँछन्। आगन्तुक पुस्तिका राख्नुपर्ने अनुभूति गरेँ।

त्यहीं बसेर कुरा गर्दै थियौं, प्रसिद्ध गीतकार प्रमोद ढुंगाना र बिबी अनुरागी आए।  दुवै जनाले स्वरसम्राटले गाउन नभ्याएका केही गीतहरू खोज्नुपर्ने बताउँदै थिए। कोठाको कुनामा संगीत कोषले प्रकाशमा ल्याएको उनका ‘कालजयी स्वरहरू’ नामक गीति पुस्तक चाङ लगाएर राखिएका छन्।  डा. वानीरा गिरि, उषा शेरचन र विप्लव प्रतीकद्वारा सम्पादित उक्त पुस्तकमा १३७ वटा सदाबहार गीत छन्। धेरैजसो स्वरसम्राटले एकल स्वरमा गाएका, कतिपयमा अन्य गायक–गायिकालाई पनि समावेश गरिएका मन छुने गीतहरू रहेका छन्।  साथै नेपाल भाषामा उनले गाएका तीनवटा गीत पनि रहेका छन्।

यसैगरी स्वरसम्राटले संगीत भरेका पाँचवटा गीत छन्।  ती गीत अरुणा लामा, फत्तेमान र कह्नैयाकुमार जोशीले गाएका हुन्। यी सबै गीतका गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’ हुन्। नेपाली गीति क्षेत्रको इतिहासमा यो पुस्तक संगीतकर्मीका लागि अत्यन्त उपयोगी छ।  प्रथम पटक २०५९ र दोस्रो पटक २०७४ सालमा प्रकाशित यो पुस्तकमा स्व. पेमला गुरुवाचार्य र संगीत तथा गीतका जानकार प्रकाश सायमीले भूमिका लेखेका छन्। पुस्तकका पछाडिपट्टि स्वरसम्राटका विभिन्न कालखण्डका २० तस्बिर रहेका छन्।

भुइँतलाको कोठामा उनले बजाउने गरेका १२ वटा भ्वाइलिनहरू थुपारिएका देखिन्छन्। आगन्तुकले बस्ने गरेको बैठक कोठामा पनि थुप्रो सामानहरू जम्मा गरिएका देखिन्छन्। विभिन्न समयका स्वदेशी–विदेशी कलाकारसँगका तस्बिर छन्। आफूले बजाउने गरेका हार्मोनियम र तबलालाई छोपेर राखेका छन्। स्वरसम्राटले आफ्नो जीवनकालमा संगीतका लागि जे–जति गरे, ती सबैका दस्ताबेज यही निवासमा देखिन्छन्। त्यसैले यो घर वास्तवमा संगीतको संग्रहालय हो। कुनै बेला संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले यही कोठामा विद्यार्थीलाई संगीत सिकाउँथे। यही कार्यको निरन्तरता अब नयाँ भवनमा गरिने भएको छ। घरको अगाडि फूलिरहेको बोट छ, यो बिरुवा पेमला भाउजूले नारायणगोपालको सम्झनामा रोप्नुभएको हो भन्दै थिए वरिष्ठ गीतकार रत्नशमशेर थापा।  रत्नशमशेर थापा पनि अहिले हामीबिच हुनुहुन्न।  त्यो कालखण्ड अब फर्किन्न। 
माथि उल्लेख गरेँझैं पुरानो घरसँगैको पाँचतले रातो रङको आधुनिक भवन छ।  माथि उक्लिने भर्‍याङ छ।  भर्‍याङको एक कुनामा स्वरसम्राटले चढ्ने गरेको बा.अ.प. ६४८ नं. को मोटरसाइकल राखिएको छ।  कुनै बेला यही साधन प्रयोग गरी उनी ओहोरदोहोर गर्थे।

२०३७ सालताका सडक नबन्दा सानो गल्लीमा चिप्लिएर मोटरसाइकलसँगै खेतमा नारायण दाइ लडेको देखेको छु भन्नुहुन्छ संगीतकार तथा गायक दीपक जंगम।  यसैगरी भ¥याङको भित्तापट्टि ख्यातिप्राप्त गायक–गायिका, संगीतकार र केही गीतकारका सजीव तस्बिर राखिएका देखिन्छन्।  टाढैबाट प्रस्टै देखिने ती तस्बिर जनकविकेशरी धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे, नातिकाजी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, शम्भुजित बास्कोटा, तारादेवी, दिलमाया खाती, झलकमान गन्धर्व, नीर शाह, अरुणा लामा, प्रेमध्वज प्रधान, दिनेश अधिकारी आदिका रहेका छन्। यी तस्बिर खिचेर टाँसेका होइनन्, देखेर कलाकारले उतारेका हुन्।  माथिल्लो तलामा ठुलो हल छ, कार्यक्रम सञ्चालनका लागि। सो भवनमा एफएम, रेडियो, गीतहरू रेकर्ड गर्ने आधुनिक स्टुडियो, संगीत सिक्नेहरूका लागि छुट्टै कक्षाकोठा, स्वरसम्राटबारे अनुसन्धान गर्नेहरूका लागि अध्ययन कक्ष, विविध सांगीतिक कार्यक्रम सञ्चालनार्थ बेग्लै कोठाको व्यवस्था गरिने योजना छ।

घरको आँगनीमा स्वरसम्राट र पेमला गुरुवाचार्यको २५ सय किलोको अर्धकदको सालिक छ।  सडक बढाउने क्रममा डोजर लगाएर हटाउन खोजेका थिए, मैले हात जोडेर नबिगारिदिन अनुरोध गर्दै आँगनीमा राख्न लगाएँ।  कुनै दिन मिलाएर यहाँ सालिक खडा गरिनेछ। घरको भर्‍याङ भत्काएर लिफ्ट तयार गरिनेछ। भुइँतलालाई पनि संगीतसाधना कक्षका लागि व्यवस्थित गर्ने सोच रहेको छ। कुनै बेला पेमला भाउजूले स्वरसम्राटको अर्धकदको सालिक दक्षिणपूर्वी मोहोडामा किन राखेको भनी प्रश्न गर्नुभयो।  उनले उत्तरमा तपाईंले टेम्पो चढेर कार्यालय जाँदा सहजै स्वरसम्राटको अनुहार देख्नुहुन्छ भन्ने पाएकी थिइन्। अहिले पेट्रोल पम्प राखेको ठाउँमा कुनै बेला टेम्पो पार्क थियो।  त्यही टेम्पो चढेर पेमला एउटा निजी कम्पनीमा काम गर्न जाने गर्थिन्। टेम्पोमा एक दिन दुई जनाले नारायणगोपालको सालिकको चर्चा गर्दै यो त मेरो गुच्चा र चेस खेल्ने साथी हो नि, पछि नामुद गायक भएर निस्क्यो भनेको सुनेको पेमलाले बताइन्।

यो शताब्दीका सर्वाधिक लोकप्रिय गायक नारायणगोपाललाई स्वरसम्राटको उपाधि एक व्यक्तिले नभई लाखौं श्रोताले दिएको प्यारको उपाधि हो। उनी स्वर्गीय भएको ३६ वर्ष पूरा भएर पनि दोस्रो नारायणगोपाल जन्मन नसक्नु कलाकारिता जगत्का लागि घाटा हो। सबैका लागि प्रिय भएकाले नारायणगोपाल स्वर्गीय भएको मंसिर १९ गतेको दिनलाई संगीतका साधकले श्रद्धापूर्वक सम्झने गर्छन्। नेपाल सरकारले स्वरसम्राटलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस