शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान
१४ कार्तिक २०८३
•
१० मिनेट पाठ
शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान
बिहानको घाम झ्यालबाट भित्र पस्दै थियो। टेबलमाथि विश्वविद्यालयको प्रमाणपत्र, छेउमा केही सम्मानपत्र र दराजभित्र थन्किएका दर्जनौं जागिरका आवेदन थिए। ती कागजहरूबिच बसेको थियो अनिश–स्नातकोत्तर उत्तीर्ण, प्रविधिमा रुचि राख्ने र आफ्नै देशमा केही गरेर देखाउने सपना बोकेको एक युवा।




ऊसँग ज्ञान थियो, सिप सिक्ने इच्छा थियो, काम गर्ने ऊर्जा थियो तर एउटा कुराको अभाव थियो -आफ्नो भविष्यप्रतिको विश्वास। उसको मोबाइलमा फेरि एउटा सन्देश आयो- ‘माफ गर्नुहोला, यसपटक तपाईं छनोटमा पर्नुभएन।’

अनिशले मोबाइल बन्द गर्‍यो। यो पहिलो अस्वीकार थिएन। उसले कति आवेदन दियो, कति अन्तर्वार्ता दियो र कतिपटक आशा बोकेर घर फर्कियो भन्ने हिसाब राख्नै छाडिसकेको थियो।  हरेक अस्वीकारसँगै उसको आत्मविश्वास घट्दै थियो तर परिवारको अपेक्षा र समाजका प्रश्न झन् बढ्दै थिए।

‘यति पढेर पनि के गरिरहेका छौ?’ छिमेकीको यो सामान्य प्रश्न उसका लागि पीडादायी बनिसकेको थियो। आफन्तको जमघटमा उसको योग्यताभन्दा बेरोजगारीको चर्चा बढी हुन्थ्यो। साथीहरू विदेश जाने तयारीमा थिए। कोही अस्ट्रेलियाको भिसा पर्खिरहेका थिए, कोही जापानी भाषा सिकिरहेका थिए, त कोही खाडी मुलुकमा काम गर्न कागजपत्र मिलाउँदै थिए।

अनिश पनि सोच्थ्यो - के यही दिन देख्नका लागि उसका आमाबुबाले खेत बेचेर, ऋण लिएर र आफ्ना रहरहरू त्यागेर उसलाई पढाएका थिए? उसको कथा कुनै एक घरको कथा थिएन। यो हजारौं घरभित्र चुपचाप दोहोरिइरहेको कथा थियो– प्रमाणपत्र बोकेर अवसर खोजिरहेका युवाको, आफ्नो क्षमता प्रयोग गर्न चाहे पनि बाटो नदेखिरहेका युवतीको र आफ्नै देशमा केही गर्न चाहे पनि अन्योलमा बाँचिरहेका प्रतिभाको।

हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’ तर उनीहरूले प्रमाणपत्र हासिल गरेपछि उनीहरूलाई दिनुपर्ने अवसर, सिपअनुसारको काम र सम्मानजनक जीवनको आधार हामीले तयार गर्‍यौं त? समस्या युवाहरूले पढे भन्ने होइन, उनीहरूले सिकेको ज्ञान प्रयोग गर्ने अवसर पर्याप्त रूपमा सिर्जना गर्न नसक्नु हो।

हाम्रो शिक्षाप्रणालीले परीक्षामा उत्तीर्ण हुन सिकायो तर जीवनका वास्तविक चुनौती सामना गर्ने सिप कति दियो? प्रमाणपत्र लिन सिकायो तर समस्या पहिचान गरेर समाधान खोज्न कति प्रेरित गर्‍यो? जागिर खोज्न सिकायो तर उद्यम स्थापना गर्न, रोजगारी सिर्जना गर्न र असफलताबाट फेरि उठ्न कति तयार पार्‍यो ?

सबै शिक्षित युवा उद्यमी बन्नुपर्छ भन्ने होइन।  देशलाई शिक्षक, चिकित्सक, इन्जिनियर, अनुसन्धानकर्ता, प्रशासक, कलाकार, किसान, प्राविधिक र कुशल श्रमिक सबै चाहिन्छ तर उनीहरूले प्राप्त गरेको ज्ञान र सिपअनुसार काम गर्ने अवसर पाउनुपर्छ।

शिक्षाको प्रतिफल प्रमाणपत्रमा मात्र होइन, व्यक्तिको आत्मनिर्भरता र राष्ट्रको उत्पादन क्षमतामा देखिनुपर्छ। जब विश्वविद्यालयबाट निस्केको युवाले आफ्नो योग्यताअनुसारको काम खोज्न वर्षौं बिताउँछ, तब प्रश्न उसको क्षमतामाथि मात्र उठाउनु अन्याय हो। शिक्षाको गुणस्तर, श्रमबजारको आवश्यकता, सरकारी नीति, निजी क्षेत्रको लगानी र रोजगारी सिर्जना गर्ने आर्थिक वातावरणमाथि पनि प्रश्न उठ्नुपर्छ।

हामी युवालाई देश छाडेको आरोप लगाउँछौं तर उनीहरू किन बाहिरिन बाध्य हुन्छन् भन्ने प्रश्नको उत्तर कहिल्यै खोज्यौं? विदेश जाने हरेक युवा देशप्रति निराश भएर गएको हुँदैन।

धेरै युवा ज्ञान, अनुभव र अवसर खोज्दै जान्छन् तर जब आफ्नै देशमा श्रमको उचित मूल्य हुँदैन, क्षमताको सम्मान हुँदैन, व्यवसाय सुरु गर्न सहज वातावरण हुँदैन र भविष्य निर्माण गर्ने स्पष्ट बाटो देखिँदैन, तब विदेश जाने निर्णय रहरभन्दा बाध्यता बन्न थाल्छ।

यो केवल जनशक्ति पलायनको विषय होइन। यो परिवारको विछोड, उत्पादनशील जनशक्तिको अभाव र देशको भविष्यसँग जोडिएको विषय हो। युवा विदेश जान्छ, उसका आमाबुबा एक्लिन्छन्, गाउँका खेत बाँझिन्छन्, स्थानीय बजारको कारोबार घट्छ र देशभित्रै सिर्जना हुन सक्ने सम्भावना बाहिर जान्छ।

रेमिट्यान्सले परिवार चलाउन र अर्थतन्त्रलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। विदेशमा काम गर्ने युवाको श्रम र त्यागको सम्मान हुनुपर्छ तर देशको दीर्घकालीन समृद्धि नागरिकले विदेशमा कमाएको पैसामा मात्र निर्भर रहन सक्दैन। देशभित्रै उत्पादन, रोजगारी, नवप्रवर्तन र अवसर सिर्जना गर्ने वातावरण पनि उत्तिकै आवश्यक छ।

युवालाई केवल पीडितका रूपमा प्रस्तुत गरेर पनि समस्याको समाधान हुँदैन।  शिक्षित पुस्ताले आफ्नो ज्ञान अद्यावधिक गर्नुपर्छ, सिप विकास गर्नुपर्छ, नयाँ प्रविधि सिक्नुपर्छ र श्रमको सम्मान गर्नुपर्छ। अवसर खोज्ने मात्र होइन, सम्भव भएसम्म अवसर सिर्जना गर्ने सोच पनि विकास गर्नुपर्छ तर व्यक्तिगत मेहनतले मात्रै संरचनागत समस्या समाधान हुँदैन। युवाको क्षमतालाई परिणाममा बदल्न राज्यको नीति, बजारको पहुँच, वित्तीय सहयोग र संस्थागत विश्वास चाहिन्छ।

अब हाम्रो प्राथमिकता बदलिनुपर्छ। विश्वविद्यालयले आगामी समयको आवश्यकता पहिचान गरेर शिक्षा दिनुपर्छ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई कम प्रतिष्ठाको विकल्प होइन, सम्मानजनक करियरको बाटो बनाइनुपर्छ। अनुसन्धानलाई कक्षाकोठामा सीमित नराखी कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उद्योग र स्थानीय उत्पादनसँग जोड्नुपर्छ।

सरकारले युवा उद्यमका लागि कर्जा घोषणा गरेर मात्र पुग्दैन। कर्जा वास्तविक उद्यमीको पहुँचमा पुगेको छ कि छैन? धितो र प्रशासनिक प्रक्रियाले कति युवालाई रोकिरहेको छ? व्यवसाय असफल भए फेरि उठ्ने अवसर छ कि छैन? भन्ने मूल्यांकन गर्नुपर्छ।

उद्यमशीलता नाराबाट होइन, सहज नीति, व्यावहारिक तालिम, प्रविधिको पहुँच र बजारको सुनिश्चितताबाट हुर्किन्छ। निजी क्षेत्रले पनि युवालाई सस्तो श्रमका रूपमा मात्र हेर्नु हुँदैन। उनीहरूलाई तालिम, कामको अनुभव, सिपअनुसारको पारिश्रमिक र करियर विकासको अवसर दिनुपर्छ। स्थानीय तहले पनि आफ्ना क्षेत्रमा उपलब्ध स्रोत र सम्भावनाका आधारमा युवा उद्यमलाई प्रोत्साहन गर्न सक्छन्। गाउँमा कृषि, जडीबुटी, पर्यटन र स्थानीय उत्पादनका अवसर छन्, सहरमा डिजिटल सेवा, सिर्जनात्मक उद्योग र नयाँ प्रविधिका सम्भावना छन्। चुनौती ती सम्भावनालाई वास्तविक आय र रोजगारीमा बदल्नु हो।  

अनिशको चिन्ता बेरोजगारीमा मात्र सीमित थिएन। उसको मनमा अर्को प्रश्न उठिरहेको थियो। नेपालमै बसेर भविष्य कसरी बनाउने, जब प्राकृतिक विपद्ले पनि जीवनभरको मेहनत एकै रातमा नष्ट गर्न सक्छ?

भोटेकोसी, त्रिशूली र कालीगण्डकीलगायतका नदीमा आएका बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोले घर, सडक, पुल, व्यवसाय र समुदायमा पुर्‍याएका क्षतिका दृश्यले उसलाई चिन्तित बनाउँथे। कतिपय परिवारले घर र जीविकोपार्जन गुमाएका थिए, कतिपयले आफ्ना आफन्त र वर्षौंको मेहनतबाट जोडेको सम्पत्ति।

जलवायु परिवर्तनका असरले यस्तो जोखिम अझ गम्भीर बनाइरहेका बेला नयाँ व्यवसाय सुरु गर्ने युवाले आफ्नो लगानी र भविष्य कसरी सुरक्षित ठान्ने ? बैंकले चार प्रतिशत ब्याजदरमा कर्जा दिने प्रस्ताव गरे पनि सस्तो ऋण मात्रै व्यवसाय सफल हुने आधार होइन।

बजारको सुनिश्चितता, व्यवसायमैत्री सरकारी नीति, सरल प्रशासनिक प्रक्रिया, बिमा र विपद्पछिको सहयोग नहुँदा युवा ऋण लिएर जोखिम मोल्न हिचकिचाउँछन्। अनिशले सोच्यो, युवालाई नेपालमै बस्न आग्रह गर्नुअघि व्यवसाय गर्न सहज वातावरण, सुरक्षित पूर्वाधार र विपद्बाट उठ्न सक्ने भरपर्दो व्यवस्था निर्माण गर्नुपर्छ। सपना देख्न युवालाई सिकाउने देशले ती सपना जोगाउने प्रणाली पनि बनाउनुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा असफलतालाई अपराधजस्तो व्यवहार गर्ने सामाजिक सोच बदल्नुपर्छ। पहिलो व्यवसाय असफल भयो भन्दैमा युवा अयोग्य हुँदैन। एउटा जागिर नपाउँदैमा उसको शिक्षा व्यर्थ हुँदैन। जीवनको सुरुआती चरणमा संघर्ष गर्नु भविष्य समाप्त हुनु होइन तर राज्य र समाजले बारम्बार अवसर बन्द गरिदिँदा युवालाई धैर्य गर्न भन्नु मात्रै पर्याप्त हुँदैन। एक साँझ अनिश आफ्ना बुबासँग आँगनमा बसिरहेको थियो। बुबाले सोधे, ‘अब के सोच्यौ? विदेश जाने हो?’

अनिश केही बेर मौन रह्यो। त्यसपछि भन्यो, ‘विदेश जानु गलत होइन बुबा ! तर विदेश जानुअघि आफ्नै देशमा एकपटक प्रयास गर्न चाहन्छु। हाम्रो गाउँका किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउने डिजिटल सेवा सुरु गर्ने सोच छ। ठुलो लगानी चाहिँदैन तर तालिम, केही उपकरण र बजारसँग जोडिने सहयोग चाहिन्छ।’

बुबाले उसको अनुहार हेरे। पहिले उनलाई छोराले जागिर नपाएकोमा चिन्ता थियो। अब छोरा आफ्नै खुट्टामा उभिन खोजिरहेको थियो तर उनको अर्को प्रश्न थियो, ‘योजनाले काम गरेन भने?’

अनिशले भन्यो, ‘त्यसबाट सिक्छु, फेरि प्रयास गर्छु तर योजना सफल हुने सम्भावना छ कि छैन भनेर जाँच्ने अवसर त पाउनुपर्‍यो नि बुबा !’ त्यो वाक्यमा एउटा पुस्ताको माग थियो। सफलताको ग्यारेन्टी होइन, प्रयास गर्ने अवसर, निःशुल्क सुविधा होइन, निष्पक्ष पहुँच, खोक्रो आश्वासन होइन, काम गर्न सक्ने वातावरण।

अनिशको कथा सुखान्त भयो कि भएन? त्योभन्दा महत्त्वपूर्ण प्रश्न के हो भने देशमा कति अनिशहरू छन्, जससँग विचार छ तर पुँजी छैन, सिप छ तर अवसर छैन, ऊर्जा छ तर मार्गदर्शन छैन ? कति युवती सामाजिक अवरोधका कारण आफ्नो क्षमता प्रयोग गर्न पाएका छैनन् ? कति प्रतिभाशाली युवा केवल योग्यताअनुसारको अवसर नपाएकै कारण विदेश जाने निर्णय गर्न बाध्य छन्?

यी प्रश्नको उत्तर कुनै एक भाषणले दिँदैन। त्यसका लागि शिक्षा, अर्थतन्त्र र रोजगारीलाई एउटै राष्ट्रिय प्राथमिकतामा जोड्नुपर्छ। युवा नीति कागजमा सीमित हुनुहुँदैन। प्रत्येक कार्यक्रमको सफलता कति युवाले काम पाए ? कति उद्यम टिके ? कति नयाँ रोजगारी सिर्जना भए ? कति युवाले आफ्नै क्षेत्रमा सम्मानजनक जीवन बनाउन सके? भन्ने आधारमा मापन गरिनुपर्छ।

आज हामी युवालाई भविष्यका कर्णधार भन्छौं तर भविष्यका कर्णधारलाई वर्तमानमा अवसर नदिएर भविष्यको जिम्मेवारी कसरी सुम्पिन सक्छौं ? उनीहरूलाई देशको नेतृत्व गर्ने दिनको प्रतीक्षा गर्न भनिरहँदा आज आफ्नै जीवनको निर्णय गर्ने अवसरबाट वञ्चित गर्नु कस्तो न्याय हो ?

शिक्षित पुस्ता बेरोजगार हुनु केवल व्यक्तिगत असफलता होइन, यो राष्ट्रको मानवपुँजी उपयोग गर्न नसकेको संकेत पनि हो। डिग्री हासिल गरेको युवा निराश भएर बस्नु, आफ्नो क्षमतामा शंका गर्न थाल्नु वा बाध्यताले देश छाड्नु भनेको उसले मात्रै अवसर गुमाउनु होइन, देशले पनि सम्भावना गुमाउनु हो।

राष्ट्र निर्माणको अर्थ अग्ला भवन, फराकिला सडक र ठुला आयोजनाहरू मात्रै होइनन्। आफ्ना नागरिकले सिकेको ज्ञान प्रयोग गर्न पाउनु, श्रमको उचित मूल्य पाउनु, आफ्नो भविष्यबारे आशावादी हुन सक्नु र परिवारसँगै सम्मानपूर्वक बाँच्न सक्नु पनि विकासका आधार हुन्।

हामीले युवालाई देशमै बस्न आदेश दिएर रोक्न सक्दैनौं। उनीहरूलाई बस्न मन लाग्ने देश बनाउनुपर्छ। विदेश जाने बाटो बन्द गरेर होइन, स्वदेशमै सम्भावनाका ढोका खोलेर उनीहरूलाई जोड्नुपर्छ। भाषणमा युवाको प्रशंसा गरेर होइन, नीति र बजेटमा उनीहरूलाई प्राथमिकता दिएर विश्वास दिलाउनुपर्छ।

आजको शिक्षित पुस्ता भविष्यविहीन होइन, भविष्य निर्माण गर्ने अवसरको प्रतीक्षामा छ। उसको हातमा प्रमाणपत्र छ, मस्तिष्कमा विचार छ र मनमा सम्भावनाको सपना छ। अब प्रश्न युवाले के गर्न सक्छन् ? भन्ने मात्रै होइन। प्रश्न यो पनि हो– उनीहरूले गर्न सक्ने कामका लागि देशले कस्तो वातावरण तयार गरिरहेको छ ?

कुनै पनि राष्ट्रको सबैभन्दा ठुलो सम्पत्ति त्यसका प्राकृतिक स्रोत मात्रै होइनन्, ती स्रोतलाई सम्भावनामा बदल्न सक्ने नागरिक हुन्। ती नागरिकलाई शिक्षित बनाएर अवसर नदिनु लगानी गरेर प्रतिफल लिन नसक्नु हो। युवालाई निराश हुन दिनु र त्यसपछि उनीहरू देश छाडे भनेर चिन्ता गर्नु समाधान होइन।

अब समय आएको छ– शिक्षित युवालाई बेरोजगारको परिचयबाट बाहिर निकाल्ने, उनीहरूको सिपलाई उत्पादनसँग जोड्ने, उद्यमशीलतालाई व्यवहारमा उतार्ने र सम्मानजनक रोजगारीलाई राष्ट्रिय अभियान बनाउने किनकि देशको भविष्य विदेश गइसकेका युवालाई सम्झेर मात्रै बन्दैन, देशमै रहेका युवाको सम्भावना पहिचान गरेर पनि बन्छ।

राष्ट्रको वास्तविक सफलता कति युवाले डिग्री पाए? भन्नेमा मात्रै होइन, कति युवाले आफ्नो ज्ञानअनुसारको जीवन पाए? कति परिवारले आशा पाए? कति प्रतिभाले आफ्नै देशमा भविष्य देख्न सके? भन्नेमा मापन हुन्छ। शिक्षित पुस्तालाई भविष्यविहीन बनाइराखेर समृद्ध राष्ट्रको सपना पूरा हुन सक्दैन। अब प्रमाणपत्रलाई अवसरसँग, शिक्षालाई उत्पादनसँग र युवाको सपनालाई राष्ट्रिय विकाससँग जोड्ने समय आएको छ।

- ज्ञवाली सामाजिक-आर्थिक अभियन्ता तथा लेखक हुन्।  
अर्को समाचार
स्वरसम्राटको संग्रहालय
१५ मिनेट अघि
•
१ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए। अहिलेको नारायणगोपाल चोकदेखि पूर्वतिर एक कुनाको साँघुरो गल्लीमा २० आनाको नारायणगोपालको नाममा रहेको जमिन छ। त्यही जमिनमा स्वरसम्राटको दक्षिण मोहोडाको तीनतले पुरानो घर छ।  त्यही घर स्वरसम्राटको नाममा संग्रहालयमा परिणत भएको छ। समाजसेवी दीपक केसी हाल नारायणगोपाल संगीत कोषका अध्यक्ष हुन्।  सो संगीत कोषको स्थापना २०४७ सालमा भएको हो।




डा. वानीरा गिरि अध्यक्ष रहँदाको बखत दीपक केसीले सचिवका रूपमा काम गरेका थिए।  स्वरसम्राटको पुरानो घरसँगै टाँसिनेगरी पाँचतले रातो आधुनिक भवन निर्माण गरिएको छ, जसको शिलान्यास काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र भवनको उद्घाटन वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी हुन्। सो भवनको परिकल्पना दीपक केसीले गरेका रहेछन्। उनकै सक्रियतामा पाँचतले सो आधुनिक रातो भवनको निर्माण गरिएको हो, जसको नाम गीतगंगा भवन राखिएको छ।  सो भवनको लागत पाँच करोड ५० लाख रहेको छ। काठमाडौं महानगरपालिका र स्थानीय निकायबाट सो रकम जुटेको हो।

उक्त भवन निर्माण, संग्रहालय भवनको संरक्षण, महाराजगन्जको बिच चोकमा अवस्थित स्वरसम्राटको सालिक स्थापना, भवन बनाउँदा लाग्ने खर्च कसरी संकलन गरियो ? आधुनिक भवनमा के–कस्ता सांगीतिक कार्यक्रम सञ्चालन गरिने छन्, सांगीतिक साजबाजहरू के–कति छन् ? यसबारे पंक्तिकारलाई अध्यक्ष केसीले केही दिन पहिले विस्तृत रूपमा जानकारी गराएका थिए। निमोनियाका कारण लेख छिटो पूरा गर्न सकिनँ।  तैपनि सांगीतिक फाँटका पाठकहरूको जानकारीका लागि छोटकरीमा भए पनि आलेख तयार गरेको छु।

महाराजगन्जमा दिनहुँ सयौं सवारीसाधन नारायणगोपालको सालिकको परिक्रमा गरेर आफ्नो गन्तव्यमा पुग्छन्।  पाँच वर्ष पहिले सो सालिक अलि होचो थियो।  ट्राफिक प्रहरीलाई उभिएर सेवा दिन केही अप्ठ्यारो थियो।  अहिले त्यहाँ सालिकलाई १० फिट अग्लो बनाएर फराकिलो पारिएको छ।  दक्षिण मोहोडा भएको स्वरसम्राटको सो आकर्षक सालिकको निर्माण प्रसिद्ध कलाकार अमर चित्रकारले गरेका हुन्। सवारीसाधनमा यात्रा गर्नेहरूदेखि सयौं पैदल यात्रु श्रद्धापूर्वक स्वरसम्राटको सालिकलाई नमन गर्छन्।  जनजनबाट श्रद्धा पाउने नारायणगोपाल अमर स्रष्टा हुन्। यसो त शान्तिबाटिकास्थित सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिक र सहिदगेटमा स्थापित अर्धकदका चार जना अमर सहिदप्रति श्रद्धा गर्नेहरूको संख्या पनि कम छैन।

१०४ वर्षे राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन १९९७ सालमा काठमाडौंमा चार जनाले अमरत्व प्राप्त गरेका थिए।  यसैगरी सर्वमान्य नेताले तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए।  यता स्वरसम्राटले नेपाली गीतसंगीत र नेपाली भाषाको श्रीवृद्धिका लागि जीवनभर सेवा गरेका थिए। उनका सयौं कर्णप्रिय र कालजयी गीतले स्वदेश र विदेशमा बस्ने सबै नेपालीलाई एकसूत्रमा बाँधिदिएका छन्। २०५३ सालमा आफू वडाध्यक्ष रहँदा आफ्नी आमा नानी केसीले दिएको सल्लाहअनुसार स्वरसम्राटको सालिक स्थापनाका लागि पहल गर्नुका साथै सो ठाउँको नाम नारायणगोपाल चोक राख्न निकै धाउनुपर्‍यो।

तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले सालिक निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।  तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पनि ठुलो हात रहेको छ यो सालिक निर्माणमा। तत्कालीन खेलकुद तथा संस्कृतिमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको सो सालिकको अनावरण भने त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो।  २०५३ पुस १९ गते नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नारायणगोपाल चोक लेखिएको बोर्डको उद्घाटन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो। स्वरसम्राटको सो सालिकमा बर्सेनि मंसिर १९ गते गीतसंगीतका मात्र नभएर सबै वर्ग र क्षेत्रका असंख्य नरनारीले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरी उनलाई सम्झने गर्छन्। त्यसपछि स्वरसम्राटको आँगनीमा सबै वयका गायक–गायिकाले उनले गाएका कालजयी गीतहरू गाएर नारायणगोपालको गीति युगतिर उपस्थित सबै जनालाई डोर्‍याएको अनुभूति गराउँछन्। त्यही दिन देशका कलाक्षेत्रका स्वनामधन्य साधकलाई नगद राशिसहित ताम्रपत्र र दोसल्लाले अभिनन्दन गर्ने गर्छन्।

मानौं, कलाकर्मीका लागि मंसिर १९ गते हृदयदेखि स्वरसम्राटलाई सम्झने दिन हो।  साथै संगीत र गायनको शुभमुहूर्तका लागि साइतको दिन पनि हो।  शिशिर योगी, सुरज थापा, डा. टीका भण्डारी, यसैगरी गायिकाहरू शृंखला जोशी, निशा देसार, झुमा निरौला, संगीता प्रधान आदिले हुबहु रूपमा स्वरसम्राटले गाएका गीतहरू असंख्य दर्शकलाई सुनाएका ती दिनहरू भुल्नै सकिन्न।  सो क्रम संगीत कोषले प्रत्येक वर्ष जुराउँदै आएको छ।  यसैगरी स्वरसम्राटसँग गीतमा स्वर दिएका अमर स्रष्टालाई र जीवनोपयोगी गीत लेखेर नारायणगोपाललाई गाउन मनैदेखि स्वीकृति दिन सफल गीतकार र संगीतकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आइरहेको अध्यक्ष केसी बताउँछन्।

स्मरण रहोस्, स्वरसम्राट कसैका करकाप र बन्धनमा रहने गायक थिएनन्।  उनको ब्रह्मले रुचाएका गीत मात्र महिनौं लगाएर चित्त बुझ्दो गरी गाउँथे।  
स्वनामधन्य गीतकार कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, स्व. रत्नशमशेर थापा, भैरवनाथ रिमाल ‘कदम’, यसैगरी वरिष्ठ गायक तथा संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, सिके रसाइली, मौलिक लोकगीतका सर्जक झलकमान गन्धर्व आदिले स्वरसम्राट सम्मान प्राप्त गरिसक्नुभएको छ। प्रसिद्ध गायिका ज्ञानु राणा, मिरा राणा, दिलमाया खाती, शान्ति ठटाल आदिलाई पनि सो कोषले पुरस्कृत गरिसकेको छ। यसपटक पनि सो क्रम जारी छ।

प्रसिद्ध गायक प्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार तथा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, वरिष्ठ गीतकार प्रमोद ढुंगानालाई यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन जना स्रष्टा र नृत्यका गुरु भैरवबहादुर थापालाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ।  विगत ४० वर्षभन्दा बढी गीतसंगीत क्षेत्रमा सेवा गरेका माथि उल्लिखित सबै स्रष्टाको योगदान प्रशंसनीय छ।

अब केही चर्चा स्वरसम्राट नारायणगोपाल र उनकी पत्नी पेमला गुरुवाचार्यबिच लामो अवधिको प्रेमपत्र आदानप्रदानबारे पनि गरौं।  अहिलेसम्म जनसमक्ष आउन नसकेका र धेरै कुराहरू थाहा हुन नसकेका स्वरसम्राटसम्बन्धी सामग्रीको सँगालो एकत्रित गरी पुस्तकका रूपमा बाहिर ल्याउने सोचमा दीपक केसी रहेको बुझिएको छ। कोरोनाका बखत २०७६ सालमा कोठाका सामग्री मिलाउने क्रममा दराजमाथि एउटा पोको देखेँ।  के रहेछ ? भनी खोलेर हेर्दा स्वरसम्राट र पेमलाबिचका ९५ वटा प्रेमपत्र जम्मा गरिएका रहेछन्। साथै १९ वटा उहाँहरूका जीवनका डायरी पनि रहेछन्। ती प्रेमपत्र र डायरीमा दुई जनाबिचको प्रेम कति गहिरो रहेछ भन्ने कुराको बोध एकातिर रहेको छ भने अर्कातिर त्यस बेलाको जनजीवन, देशको अविकसित अवस्था, जीवनका भोगाइ र कतै–कतै राजनीतिक अवस्थाबारे पनि उल्लेख गरिएको पाइन्छ। स्वरसम्राटले मानिसको मुटु छुने र देशको प्राकृतिक सौन्दर्यको अलौकिक वर्णन गरिएका अत्यन्त मिठासपूर्ण गीत मात्र किन गाए ? भन्ने पनि बोध गराउँछन् यी डायरीले। ‘चुपचाप मन पराए’ शीर्षक दिएको सो पुस्तकमा प्रेमपत्र, डायरी, स्मरण र अन्तर्वार्ता रहेका छन्। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपीमा स्वरसम्राटको हँसिलो मुहार देखाइएको छ पुस्तकको आवरण पृष्ठमा।  
स्वरसम्राट आफैंले ‘गीत निवास’ नामकरण गरिएको पुरानो घरका दुवै तलाका कोठामा उनले पाएका थुप्रै प्रमाणपत्र र वाद्ययन्त्र छरिएर रहेका देखिन्छन्।  राष्ट्रिय नाचघरमा महाप्रबन्धक रहँदाको बखतको र इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्दाका प्रमाणपत्र भने त्यहाँ देखिएनन्। बरु गोपाल योन्जन र उनका समकालीन दौतरीका तस्बिर भने सिसाको दराजमा राखिएका थिए।  माथिल्लो कोठामा नारायणगोपालको ठुलो तस्बिर राखिएको छ।  आगन्तुकहरू त्यही अगाडि उभिएर तस्बिर खिचेर मनको धोको मेटाउँछन्। आगन्तुक पुस्तिका राख्नुपर्ने अनुभूति गरेँ।

त्यहीं बसेर कुरा गर्दै थियौं, प्रसिद्ध गीतकार प्रमोद ढुंगाना र बिबी अनुरागी आए।  दुवै जनाले स्वरसम्राटले गाउन नभ्याएका केही गीतहरू खोज्नुपर्ने बताउँदै थिए। कोठाको कुनामा संगीत कोषले प्रकाशमा ल्याएको उनका ‘कालजयी स्वरहरू’ नामक गीति पुस्तक चाङ लगाएर राखिएका छन्।  डा. वानीरा गिरि, उषा शेरचन र विप्लव प्रतीकद्वारा सम्पादित उक्त पुस्तकमा १३७ वटा सदाबहार गीत छन्। धेरैजसो स्वरसम्राटले एकल स्वरमा गाएका, कतिपयमा अन्य गायक–गायिकालाई पनि समावेश गरिएका मन छुने गीतहरू रहेका छन्।  साथै नेपाल भाषामा उनले गाएका तीनवटा गीत पनि रहेका छन्।

यसैगरी स्वरसम्राटले संगीत भरेका पाँचवटा गीत छन्।  ती गीत अरुणा लामा, फत्तेमान र कह्नैयाकुमार जोशीले गाएका हुन्। यी सबै गीतका गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’ हुन्। नेपाली गीति क्षेत्रको इतिहासमा यो पुस्तक संगीतकर्मीका लागि अत्यन्त उपयोगी छ।  प्रथम पटक २०५९ र दोस्रो पटक २०७४ सालमा प्रकाशित यो पुस्तकमा स्व. पेमला गुरुवाचार्य र संगीत तथा गीतका जानकार प्रकाश सायमीले भूमिका लेखेका छन्। पुस्तकका पछाडिपट्टि स्वरसम्राटका विभिन्न कालखण्डका २० तस्बिर रहेका छन्।

भुइँतलाको कोठामा उनले बजाउने गरेका १२ वटा भ्वाइलिनहरू थुपारिएका देखिन्छन्। आगन्तुकले बस्ने गरेको बैठक कोठामा पनि थुप्रो सामानहरू जम्मा गरिएका देखिन्छन्। विभिन्न समयका स्वदेशी–विदेशी कलाकारसँगका तस्बिर छन्। आफूले बजाउने गरेका हार्मोनियम र तबलालाई छोपेर राखेका छन्। स्वरसम्राटले आफ्नो जीवनकालमा संगीतका लागि जे–जति गरे, ती सबैका दस्ताबेज यही निवासमा देखिन्छन्। त्यसैले यो घर वास्तवमा संगीतको संग्रहालय हो। कुनै बेला संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले यही कोठामा विद्यार्थीलाई संगीत सिकाउँथे। यही कार्यको निरन्तरता अब नयाँ भवनमा गरिने भएको छ। घरको अगाडि फूलिरहेको बोट छ, यो बिरुवा पेमला भाउजूले नारायणगोपालको सम्झनामा रोप्नुभएको हो भन्दै थिए वरिष्ठ गीतकार रत्नशमशेर थापा।  रत्नशमशेर थापा पनि अहिले हामीबिच हुनुहुन्न।  त्यो कालखण्ड अब फर्किन्न। 
माथि उल्लेख गरेँझैं पुरानो घरसँगैको पाँचतले रातो रङको आधुनिक भवन छ।  माथि उक्लिने भर्‍याङ छ।  भर्‍याङको एक कुनामा स्वरसम्राटले चढ्ने गरेको बा.अ.प. ६४८ नं. को मोटरसाइकल राखिएको छ।  कुनै बेला यही साधन प्रयोग गरी उनी ओहोरदोहोर गर्थे।

२०३७ सालताका सडक नबन्दा सानो गल्लीमा चिप्लिएर मोटरसाइकलसँगै खेतमा नारायण दाइ लडेको देखेको छु भन्नुहुन्छ संगीतकार तथा गायक दीपक जंगम।  यसैगरी भ¥याङको भित्तापट्टि ख्यातिप्राप्त गायक–गायिका, संगीतकार र केही गीतकारका सजीव तस्बिर राखिएका देखिन्छन्।  टाढैबाट प्रस्टै देखिने ती तस्बिर जनकविकेशरी धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे, नातिकाजी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, शम्भुजित बास्कोटा, तारादेवी, दिलमाया खाती, झलकमान गन्धर्व, नीर शाह, अरुणा लामा, प्रेमध्वज प्रधान, दिनेश अधिकारी आदिका रहेका छन्। यी तस्बिर खिचेर टाँसेका होइनन्, देखेर कलाकारले उतारेका हुन्।  माथिल्लो तलामा ठुलो हल छ, कार्यक्रम सञ्चालनका लागि। सो भवनमा एफएम, रेडियो, गीतहरू रेकर्ड गर्ने आधुनिक स्टुडियो, संगीत सिक्नेहरूका लागि छुट्टै कक्षाकोठा, स्वरसम्राटबारे अनुसन्धान गर्नेहरूका लागि अध्ययन कक्ष, विविध सांगीतिक कार्यक्रम सञ्चालनार्थ बेग्लै कोठाको व्यवस्था गरिने योजना छ।

घरको आँगनीमा स्वरसम्राट र पेमला गुरुवाचार्यको २५ सय किलोको अर्धकदको सालिक छ।  सडक बढाउने क्रममा डोजर लगाएर हटाउन खोजेका थिए, मैले हात जोडेर नबिगारिदिन अनुरोध गर्दै आँगनीमा राख्न लगाएँ।  कुनै दिन मिलाएर यहाँ सालिक खडा गरिनेछ। घरको भर्‍याङ भत्काएर लिफ्ट तयार गरिनेछ। भुइँतलालाई पनि संगीतसाधना कक्षका लागि व्यवस्थित गर्ने सोच रहेको छ। कुनै बेला पेमला भाउजूले स्वरसम्राटको अर्धकदको सालिक दक्षिणपूर्वी मोहोडामा किन राखेको भनी प्रश्न गर्नुभयो।  उनले उत्तरमा तपाईंले टेम्पो चढेर कार्यालय जाँदा सहजै स्वरसम्राटको अनुहार देख्नुहुन्छ भन्ने पाएकी थिइन्। अहिले पेट्रोल पम्प राखेको ठाउँमा कुनै बेला टेम्पो पार्क थियो।  त्यही टेम्पो चढेर पेमला एउटा निजी कम्पनीमा काम गर्न जाने गर्थिन्। टेम्पोमा एक दिन दुई जनाले नारायणगोपालको सालिकको चर्चा गर्दै यो त मेरो गुच्चा र चेस खेल्ने साथी हो नि, पछि नामुद गायक भएर निस्क्यो भनेको सुनेको पेमलाले बताइन्।

यो शताब्दीका सर्वाधिक लोकप्रिय गायक नारायणगोपाललाई स्वरसम्राटको उपाधि एक व्यक्तिले नभई लाखौं श्रोताले दिएको प्यारको उपाधि हो। उनी स्वर्गीय भएको ३६ वर्ष पूरा भएर पनि दोस्रो नारायणगोपाल जन्मन नसक्नु कलाकारिता जगत्का लागि घाटा हो। सबैका लागि प्रिय भएकाले नारायणगोपाल स्वर्गीय भएको मंसिर १९ गतेको दिनलाई संगीतका साधकले श्रद्धापूर्वक सम्झने गर्छन्। नेपाल सरकारले स्वरसम्राटलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस