दसैंको ‘प्राइम टाइम’ मा चुके तीनवटै सिक्वेल, दयाहाङ राईका दुई चलचित्र १० करोडमाथि
३० कार्तिक २०८३
•
४ मिनेट पाठ
दसैंको ‘प्राइम टाइम’ मा चुके तीनवटै सिक्वेल, दयाहाङ राईका दुई चलचित्र १० करोडमाथि
दसैंको अवसर पारेर प्रदर्शनमा आएका तीनवटै नयाँ नेपाली चलचित्र बक्स अफिसमा कमजोर साबित भएका छन्। संयोग नै मान्नुपर्छ, दसैंको बिदा लक्षित गरी हलमा भित्रिएका ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ तीनवटै सिक्वेल चलचित्र हुन्। तर, यी तीनै चलचित्रले आ-आफ्ना अघिल्ला शृङ्खलाको तुलनामा आधा व्यापारसमेत गर्न सकेका छैनन्।




नेपाली चलचित्र क्षेत्रका लागि दसैंलाई सधैँ ‘प्राइम टाइम’ मानिने गरिन्छ। चाडपर्वको माहोलमा दर्शक हलसम्म तानिने अपेक्षाका साथ निर्माताहरू दसैंको मिति ताक्छन्। तर, यो वर्ष एक दिनको फरकमा प्रदर्शनमा आएका तीनवटै सिक्वेल चलचित्रले यो ‘प्राइम टाइम’ लाई न्याय दिन सकेनन्।

दसैंका मुख्य तीन चलचित्र सुस्ताइरहँदा त्यसको ठीक विपरीत दसैं अगाडि र टीकाको भोलिपल्ट प्रदर्शनमा आएका चलचित्रले भने बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।

ती दुवै चलचित्र अभिनेता दयाहाङ राईका हुन्। उनका चलचित्र ‘पेन्सन पट्टा’ र ‘कबड्डीः ५ आफ्टर द फाइनल म्याच’ ले बक्स अफिसमा १० करोड रुपैयाँमाथिको कलेक्सन गरिसकेका छन्।

अब कुरा गरौं दसैंको माहोल छोपेर प्रदर्शनमा आएका तीन सिक्वेल नेपाली चलचित्रको। असोज ३० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ बक्स अफिसमा सुस्त देखिएको छ। चन्द्र पन्तको निर्देशनमा गत वर्ष प्रदर्शनमा आएको यसको अघिल्लो भागले १३ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेर दर्शकको मन जितेको थियो।

तर, अघिल्लो शृङ्खलाको सफलताले सिर्जना गरेको अपेक्षाविपरीत यसको सिक्वेलले प्रदर्शनको यतिका दिन बितिसक्दा पनि सात करोड रुपैयाँको आँकडा छुन सङ्घर्ष गरिरहेको छ। बक्स अफिसको पछिल्लो विवरणअनुसार आइतबारसम्म यो चलचित्रले छ करोड ८२ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ।

हालसम्म दुई लाख ४१ हजार ८६ जना दर्शकले हेरेको यो चलचित्रको व्यापार पछिल्लो साता लगभग रोकिएजस्तै देखिएको छ। आइतबारसम्मको कुल कमाइ गत साताको तुलनामा जम्मा ६० हजार रुपैयाँ मात्र बढी छ। हलमा दर्शकको चाप निकै घटिसकेको छ।

असोज ३० गते नै प्रदर्शनमा आएको अर्को सिक्वेल ‘१२ गाउँ २’ को अवस्था झन् निराशाजनक देखिएको छ। बिराज भट्टको निर्देशनमा तयार भएको यस चलचित्रमा बिराज र समीर भट्टको मुख्य भूमिका छ भने अनुपविक्रम शाही खलपात्रको भूमिकामा देखिएका छन्।

यसको पहिलो शृङ्खलाले घरेलु बक्स अफिसमा करिब २५ करोड रुपैयाँको व्यापार गरेको थियो। तर, दोस्रो शृङ्खलाले भने त्यो सफलता दोहोर्‍याउन नसक्दा निर्मातालाई निराश तुल्याएको छ। प्रदर्शनको लामो समय बितिसक्दा पनि चलचित्र तीन करोड रुपैयाँको कमाइका लागि सङ्घर्ष गरिरहेको छ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार आइतबारसम्म ‘१२ गाउँ २’ ले दुई करोड ३२ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ। हालसम्म यो चलचित्र ७६ हजार ६० जना दर्शकले मात्र हेरेका छन्। जुन अघिल्लो शृङ्खलाको तुलनामा निकै कमजोर नतिजा हो।

असोज ३१ गते प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै २’ ले पनि बक्स अफिसमा दर्शकको बलियो साथ पाउन सकेन। हास्यव्यङ्ग्य विधामा आधारित र दीपकराज गिरी अभिनीत यो शृङ्खला राजनीतिक विकृतिमाथिको व्यङ्ग्यमा केन्द्रित छ। यसको अघिल्लो भागले बक्स अफिसमा नौ करोड रुपैयाँमाथिको कलेक्सन गरेको थियो।

तर, परिचित ब्रान्ड र कलाकार हुँदाहुँदै पनि दोस्रो भाग भने बक्स अफिसमा कमजोर देखियो। बक्स अफिस विवरणअनुसार ‘छ माया छपक्कै २’ ले आइतबारसम्म तीन करोड ४३ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ। अहिलेसम्म यो चलचित्र एक लाख छ हजार ८८३ जना दर्शकले हेरेका छन्।

दसैंजस्तो व्यावसायिक अवसरमा प्रदर्शनमा आएका यी तीनवटै सिक्वेल चलचित्र बक्स अफिसमा कमजोर हुनुका पछाडि आ-आफ्नै कारण भए पनि समग्रमा केही साझा कमजोरी प्रस्टै देखिन्छन्। निर्माण र प्रदर्शनताका प्रचारप्रसारमा जति जोड दिइयो, कथावस्तुमा भने त्यति मिहिनेत पुगेन।

मूलतः दर्शकलाई हलमा बाँधेर राख्न सक्ने रोचक कथाको अभाव नै यी चलचित्र कमजोर हुनुको मुख्य कारण बनेको छ। बेस्वादिलो कथा पस्किनु, चलचित्रको गति सुस्त हुनु र पात्रहरूबिचका संवाद चोटिलो नहुनुले हलमा पुगेका दर्शकलाई पनि उत्साहित बनाउन सकेन।

त्यसैगरी, चलचित्र हेर्दै गर्दा अब के हुन्छ भन्ने कुरा दर्शकले सहजै पूर्वानुमान लगाउन सक्ने भएकाले कथामा नवीनता र कौतूहलता बाँकी रहेन। अझ, स्वाभाविक प्रस्तुतिभन्दा बाहिर गएर आवश्यकताभन्दा बढी दर्शकलाई सिनेमा हलमा रुवाउन खोज्ने प्रवृत्तिले पनि दर्शकलाई आकर्षित गर्न नसकेको देखिन्छ।

समग्रमा हेर्दा, अघिल्लो चलचित्रको लोकप्रियता र दसैंको ‘प्राइम टाइम’ को भरोसामा मात्र सिक्वेल ल्याउँदा दर्शकले नपत्याउन सक्छन्। तसर्थ, प्रचारप्रसारको हल्लाभन्दा माथि उठेर कथावस्तु, गति र संवादमा काम गर्न नसक्दा तीनवटै सिक्वेलको व्यापारिक नतिजा कमजोर बन्न पुगेको छ।
अर्को समाचार
स्वरसम्राटको संग्रहालय
८ मिनेट अघि
•
१ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए। अहिलेको नारायणगोपाल चोकदेखि पूर्वतिर एक कुनाको साँघुरो गल्लीमा २० आनाको नारायणगोपालको नाममा रहेको जमिन छ। त्यही जमिनमा स्वरसम्राटको दक्षिण मोहोडाको तीनतले पुरानो घर छ।  त्यही घर स्वरसम्राटको नाममा संग्रहालयमा परिणत भएको छ। समाजसेवी दीपक केसी हाल नारायणगोपाल संगीत कोषका अध्यक्ष हुन्।  सो संगीत कोषको स्थापना २०४७ सालमा भएको हो।




डा. वानीरा गिरि अध्यक्ष रहँदाको बखत दीपक केसीले सचिवका रूपमा काम गरेका थिए।  स्वरसम्राटको पुरानो घरसँगै टाँसिनेगरी पाँचतले रातो आधुनिक भवन निर्माण गरिएको छ, जसको शिलान्यास काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र भवनको उद्घाटन वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी हुन्। सो भवनको परिकल्पना दीपक केसीले गरेका रहेछन्। उनकै सक्रियतामा पाँचतले सो आधुनिक रातो भवनको निर्माण गरिएको हो, जसको नाम गीतगंगा भवन राखिएको छ।  सो भवनको लागत पाँच करोड ५० लाख रहेको छ। काठमाडौं महानगरपालिका र स्थानीय निकायबाट सो रकम जुटेको हो।

उक्त भवन निर्माण, संग्रहालय भवनको संरक्षण, महाराजगन्जको बिच चोकमा अवस्थित स्वरसम्राटको सालिक स्थापना, भवन बनाउँदा लाग्ने खर्च कसरी संकलन गरियो ? आधुनिक भवनमा के–कस्ता सांगीतिक कार्यक्रम सञ्चालन गरिने छन्, सांगीतिक साजबाजहरू के–कति छन् ? यसबारे पंक्तिकारलाई अध्यक्ष केसीले केही दिन पहिले विस्तृत रूपमा जानकारी गराएका थिए। निमोनियाका कारण लेख छिटो पूरा गर्न सकिनँ।  तैपनि सांगीतिक फाँटका पाठकहरूको जानकारीका लागि छोटकरीमा भए पनि आलेख तयार गरेको छु।

महाराजगन्जमा दिनहुँ सयौं सवारीसाधन नारायणगोपालको सालिकको परिक्रमा गरेर आफ्नो गन्तव्यमा पुग्छन्।  पाँच वर्ष पहिले सो सालिक अलि होचो थियो।  ट्राफिक प्रहरीलाई उभिएर सेवा दिन केही अप्ठ्यारो थियो।  अहिले त्यहाँ सालिकलाई १० फिट अग्लो बनाएर फराकिलो पारिएको छ।  दक्षिण मोहोडा भएको स्वरसम्राटको सो आकर्षक सालिकको निर्माण प्रसिद्ध कलाकार अमर चित्रकारले गरेका हुन्। सवारीसाधनमा यात्रा गर्नेहरूदेखि सयौं पैदल यात्रु श्रद्धापूर्वक स्वरसम्राटको सालिकलाई नमन गर्छन्।  जनजनबाट श्रद्धा पाउने नारायणगोपाल अमर स्रष्टा हुन्। यसो त शान्तिबाटिकास्थित सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिक र सहिदगेटमा स्थापित अर्धकदका चार जना अमर सहिदप्रति श्रद्धा गर्नेहरूको संख्या पनि कम छैन।

१०४ वर्षे राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन १९९७ सालमा काठमाडौंमा चार जनाले अमरत्व प्राप्त गरेका थिए।  यसैगरी सर्वमान्य नेताले तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए।  यता स्वरसम्राटले नेपाली गीतसंगीत र नेपाली भाषाको श्रीवृद्धिका लागि जीवनभर सेवा गरेका थिए। उनका सयौं कर्णप्रिय र कालजयी गीतले स्वदेश र विदेशमा बस्ने सबै नेपालीलाई एकसूत्रमा बाँधिदिएका छन्। २०५३ सालमा आफू वडाध्यक्ष रहँदा आफ्नी आमा नानी केसीले दिएको सल्लाहअनुसार स्वरसम्राटको सालिक स्थापनाका लागि पहल गर्नुका साथै सो ठाउँको नाम नारायणगोपाल चोक राख्न निकै धाउनुपर्‍यो।

तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले सालिक निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।  तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पनि ठुलो हात रहेको छ यो सालिक निर्माणमा। तत्कालीन खेलकुद तथा संस्कृतिमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको सो सालिकको अनावरण भने त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो।  २०५३ पुस १९ गते नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नारायणगोपाल चोक लेखिएको बोर्डको उद्घाटन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो। स्वरसम्राटको सो सालिकमा बर्सेनि मंसिर १९ गते गीतसंगीतका मात्र नभएर सबै वर्ग र क्षेत्रका असंख्य नरनारीले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरी उनलाई सम्झने गर्छन्। त्यसपछि स्वरसम्राटको आँगनीमा सबै वयका गायक–गायिकाले उनले गाएका कालजयी गीतहरू गाएर नारायणगोपालको गीति युगतिर उपस्थित सबै जनालाई डोर्‍याएको अनुभूति गराउँछन्। त्यही दिन देशका कलाक्षेत्रका स्वनामधन्य साधकलाई नगद राशिसहित ताम्रपत्र र दोसल्लाले अभिनन्दन गर्ने गर्छन्।

मानौं, कलाकर्मीका लागि मंसिर १९ गते हृदयदेखि स्वरसम्राटलाई सम्झने दिन हो।  साथै संगीत र गायनको शुभमुहूर्तका लागि साइतको दिन पनि हो।  शिशिर योगी, सुरज थापा, डा. टीका भण्डारी, यसैगरी गायिकाहरू शृंखला जोशी, निशा देसार, झुमा निरौला, संगीता प्रधान आदिले हुबहु रूपमा स्वरसम्राटले गाएका गीतहरू असंख्य दर्शकलाई सुनाएका ती दिनहरू भुल्नै सकिन्न।  सो क्रम संगीत कोषले प्रत्येक वर्ष जुराउँदै आएको छ।  यसैगरी स्वरसम्राटसँग गीतमा स्वर दिएका अमर स्रष्टालाई र जीवनोपयोगी गीत लेखेर नारायणगोपाललाई गाउन मनैदेखि स्वीकृति दिन सफल गीतकार र संगीतकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आइरहेको अध्यक्ष केसी बताउँछन्।

स्मरण रहोस्, स्वरसम्राट कसैका करकाप र बन्धनमा रहने गायक थिएनन्।  उनको ब्रह्मले रुचाएका गीत मात्र महिनौं लगाएर चित्त बुझ्दो गरी गाउँथे।  
स्वनामधन्य गीतकार कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, स्व. रत्नशमशेर थापा, भैरवनाथ रिमाल ‘कदम’, यसैगरी वरिष्ठ गायक तथा संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, सिके रसाइली, मौलिक लोकगीतका सर्जक झलकमान गन्धर्व आदिले स्वरसम्राट सम्मान प्राप्त गरिसक्नुभएको छ। प्रसिद्ध गायिका ज्ञानु राणा, मिरा राणा, दिलमाया खाती, शान्ति ठटाल आदिलाई पनि सो कोषले पुरस्कृत गरिसकेको छ। यसपटक पनि सो क्रम जारी छ।

प्रसिद्ध गायक प्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार तथा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, वरिष्ठ गीतकार प्रमोद ढुंगानालाई यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन जना स्रष्टा र नृत्यका गुरु भैरवबहादुर थापालाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ।  विगत ४० वर्षभन्दा बढी गीतसंगीत क्षेत्रमा सेवा गरेका माथि उल्लिखित सबै स्रष्टाको योगदान प्रशंसनीय छ।

अब केही चर्चा स्वरसम्राट नारायणगोपाल र उनकी पत्नी पेमला गुरुवाचार्यबिच लामो अवधिको प्रेमपत्र आदानप्रदानबारे पनि गरौं।  अहिलेसम्म जनसमक्ष आउन नसकेका र धेरै कुराहरू थाहा हुन नसकेका स्वरसम्राटसम्बन्धी सामग्रीको सँगालो एकत्रित गरी पुस्तकका रूपमा बाहिर ल्याउने सोचमा दीपक केसी रहेको बुझिएको छ। कोरोनाका बखत २०७६ सालमा कोठाका सामग्री मिलाउने क्रममा दराजमाथि एउटा पोको देखेँ।  के रहेछ ? भनी खोलेर हेर्दा स्वरसम्राट र पेमलाबिचका ९५ वटा प्रेमपत्र जम्मा गरिएका रहेछन्। साथै १९ वटा उहाँहरूका जीवनका डायरी पनि रहेछन्। ती प्रेमपत्र र डायरीमा दुई जनाबिचको प्रेम कति गहिरो रहेछ भन्ने कुराको बोध एकातिर रहेको छ भने अर्कातिर त्यस बेलाको जनजीवन, देशको अविकसित अवस्था, जीवनका भोगाइ र कतै–कतै राजनीतिक अवस्थाबारे पनि उल्लेख गरिएको पाइन्छ। स्वरसम्राटले मानिसको मुटु छुने र देशको प्राकृतिक सौन्दर्यको अलौकिक वर्णन गरिएका अत्यन्त मिठासपूर्ण गीत मात्र किन गाए ? भन्ने पनि बोध गराउँछन् यी डायरीले। ‘चुपचाप मन पराए’ शीर्षक दिएको सो पुस्तकमा प्रेमपत्र, डायरी, स्मरण र अन्तर्वार्ता रहेका छन्। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपीमा स्वरसम्राटको हँसिलो मुहार देखाइएको छ पुस्तकको आवरण पृष्ठमा।  
स्वरसम्राट आफैंले ‘गीत निवास’ नामकरण गरिएको पुरानो घरका दुवै तलाका कोठामा उनले पाएका थुप्रै प्रमाणपत्र र वाद्ययन्त्र छरिएर रहेका देखिन्छन्।  राष्ट्रिय नाचघरमा महाप्रबन्धक रहँदाको बखतको र इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्दाका प्रमाणपत्र भने त्यहाँ देखिएनन्। बरु गोपाल योन्जन र उनका समकालीन दौतरीका तस्बिर भने सिसाको दराजमा राखिएका थिए।  माथिल्लो कोठामा नारायणगोपालको ठुलो तस्बिर राखिएको छ।  आगन्तुकहरू त्यही अगाडि उभिएर तस्बिर खिचेर मनको धोको मेटाउँछन्। आगन्तुक पुस्तिका राख्नुपर्ने अनुभूति गरेँ।

त्यहीं बसेर कुरा गर्दै थियौं, प्रसिद्ध गीतकार प्रमोद ढुंगाना र बिबी अनुरागी आए।  दुवै जनाले स्वरसम्राटले गाउन नभ्याएका केही गीतहरू खोज्नुपर्ने बताउँदै थिए। कोठाको कुनामा संगीत कोषले प्रकाशमा ल्याएको उनका ‘कालजयी स्वरहरू’ नामक गीति पुस्तक चाङ लगाएर राखिएका छन्।  डा. वानीरा गिरि, उषा शेरचन र विप्लव प्रतीकद्वारा सम्पादित उक्त पुस्तकमा १३७ वटा सदाबहार गीत छन्। धेरैजसो स्वरसम्राटले एकल स्वरमा गाएका, कतिपयमा अन्य गायक–गायिकालाई पनि समावेश गरिएका मन छुने गीतहरू रहेका छन्।  साथै नेपाल भाषामा उनले गाएका तीनवटा गीत पनि रहेका छन्।

यसैगरी स्वरसम्राटले संगीत भरेका पाँचवटा गीत छन्।  ती गीत अरुणा लामा, फत्तेमान र कह्नैयाकुमार जोशीले गाएका हुन्। यी सबै गीतका गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’ हुन्। नेपाली गीति क्षेत्रको इतिहासमा यो पुस्तक संगीतकर्मीका लागि अत्यन्त उपयोगी छ।  प्रथम पटक २०५९ र दोस्रो पटक २०७४ सालमा प्रकाशित यो पुस्तकमा स्व. पेमला गुरुवाचार्य र संगीत तथा गीतका जानकार प्रकाश सायमीले भूमिका लेखेका छन्। पुस्तकका पछाडिपट्टि स्वरसम्राटका विभिन्न कालखण्डका २० तस्बिर रहेका छन्।

भुइँतलाको कोठामा उनले बजाउने गरेका १२ वटा भ्वाइलिनहरू थुपारिएका देखिन्छन्। आगन्तुकले बस्ने गरेको बैठक कोठामा पनि थुप्रो सामानहरू जम्मा गरिएका देखिन्छन्। विभिन्न समयका स्वदेशी–विदेशी कलाकारसँगका तस्बिर छन्। आफूले बजाउने गरेका हार्मोनियम र तबलालाई छोपेर राखेका छन्। स्वरसम्राटले आफ्नो जीवनकालमा संगीतका लागि जे–जति गरे, ती सबैका दस्ताबेज यही निवासमा देखिन्छन्। त्यसैले यो घर वास्तवमा संगीतको संग्रहालय हो। कुनै बेला संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले यही कोठामा विद्यार्थीलाई संगीत सिकाउँथे। यही कार्यको निरन्तरता अब नयाँ भवनमा गरिने भएको छ। घरको अगाडि फूलिरहेको बोट छ, यो बिरुवा पेमला भाउजूले नारायणगोपालको सम्झनामा रोप्नुभएको हो भन्दै थिए वरिष्ठ गीतकार रत्नशमशेर थापा।  रत्नशमशेर थापा पनि अहिले हामीबिच हुनुहुन्न।  त्यो कालखण्ड अब फर्किन्न। 
माथि उल्लेख गरेँझैं पुरानो घरसँगैको पाँचतले रातो रङको आधुनिक भवन छ।  माथि उक्लिने भर्‍याङ छ।  भर्‍याङको एक कुनामा स्वरसम्राटले चढ्ने गरेको बा.अ.प. ६४८ नं. को मोटरसाइकल राखिएको छ।  कुनै बेला यही साधन प्रयोग गरी उनी ओहोरदोहोर गर्थे।

२०३७ सालताका सडक नबन्दा सानो गल्लीमा चिप्लिएर मोटरसाइकलसँगै खेतमा नारायण दाइ लडेको देखेको छु भन्नुहुन्छ संगीतकार तथा गायक दीपक जंगम।  यसैगरी भ¥याङको भित्तापट्टि ख्यातिप्राप्त गायक–गायिका, संगीतकार र केही गीतकारका सजीव तस्बिर राखिएका देखिन्छन्।  टाढैबाट प्रस्टै देखिने ती तस्बिर जनकविकेशरी धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे, नातिकाजी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, शम्भुजित बास्कोटा, तारादेवी, दिलमाया खाती, झलकमान गन्धर्व, नीर शाह, अरुणा लामा, प्रेमध्वज प्रधान, दिनेश अधिकारी आदिका रहेका छन्। यी तस्बिर खिचेर टाँसेका होइनन्, देखेर कलाकारले उतारेका हुन्।  माथिल्लो तलामा ठुलो हल छ, कार्यक्रम सञ्चालनका लागि। सो भवनमा एफएम, रेडियो, गीतहरू रेकर्ड गर्ने आधुनिक स्टुडियो, संगीत सिक्नेहरूका लागि छुट्टै कक्षाकोठा, स्वरसम्राटबारे अनुसन्धान गर्नेहरूका लागि अध्ययन कक्ष, विविध सांगीतिक कार्यक्रम सञ्चालनार्थ बेग्लै कोठाको व्यवस्था गरिने योजना छ।

घरको आँगनीमा स्वरसम्राट र पेमला गुरुवाचार्यको २५ सय किलोको अर्धकदको सालिक छ।  सडक बढाउने क्रममा डोजर लगाएर हटाउन खोजेका थिए, मैले हात जोडेर नबिगारिदिन अनुरोध गर्दै आँगनीमा राख्न लगाएँ।  कुनै दिन मिलाएर यहाँ सालिक खडा गरिनेछ। घरको भर्‍याङ भत्काएर लिफ्ट तयार गरिनेछ। भुइँतलालाई पनि संगीतसाधना कक्षका लागि व्यवस्थित गर्ने सोच रहेको छ। कुनै बेला पेमला भाउजूले स्वरसम्राटको अर्धकदको सालिक दक्षिणपूर्वी मोहोडामा किन राखेको भनी प्रश्न गर्नुभयो।  उनले उत्तरमा तपाईंले टेम्पो चढेर कार्यालय जाँदा सहजै स्वरसम्राटको अनुहार देख्नुहुन्छ भन्ने पाएकी थिइन्। अहिले पेट्रोल पम्प राखेको ठाउँमा कुनै बेला टेम्पो पार्क थियो।  त्यही टेम्पो चढेर पेमला एउटा निजी कम्पनीमा काम गर्न जाने गर्थिन्। टेम्पोमा एक दिन दुई जनाले नारायणगोपालको सालिकको चर्चा गर्दै यो त मेरो गुच्चा र चेस खेल्ने साथी हो नि, पछि नामुद गायक भएर निस्क्यो भनेको सुनेको पेमलाले बताइन्।

यो शताब्दीका सर्वाधिक लोकप्रिय गायक नारायणगोपाललाई स्वरसम्राटको उपाधि एक व्यक्तिले नभई लाखौं श्रोताले दिएको प्यारको उपाधि हो। उनी स्वर्गीय भएको ३६ वर्ष पूरा भएर पनि दोस्रो नारायणगोपाल जन्मन नसक्नु कलाकारिता जगत्का लागि घाटा हो। सबैका लागि प्रिय भएकाले नारायणगोपाल स्वर्गीय भएको मंसिर १९ गतेको दिनलाई संगीतका साधकले श्रद्धापूर्वक सम्झने गर्छन्। नेपाल सरकारले स्वरसम्राटलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस