स्रष्टा श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ र ‘सफलताका आयाम’ लोकार्पण
२९ असार २०८२
•
२ मिनेट पाठ
स्रष्टा श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ र ‘सफलताका आयाम’ लोकार्पण
स्रष्टा राजीव ‘अनाहक प्रश्नहरू’ कवितासङ्गह र ‘सफलताका आयाम’ जीवनीकृति दुई कृतिको लोकार्पण भएको छ।




सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित एक कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, डा जीवलाल बस्याल लगायतले ती कृतिहरू लोकार्पण गरेका हुन्।

प्रमुख अतिथि प्राडा श्रेष्ठले राजीवका कवितामा सरलता र तडकभडक नभएको भन्दै प्रतिक कम भए पनि गहन अर्थ बोकेका कविताहरू रहेको बताए। उनले राजीवलाई जीवनका दुखभित्रबाट सुख खोज्ने कविको रूपमा चित्रण गरे।

अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’  ले राम्रो काम सुरु जहिले गरे पनि शुभसाइत हुने भन्दै पचासकै दशकमा लेखनी थालेका राजीवको कृति ढिलो गरी आएको बताए। उनले लेखनीमा उनी सम्भावना बोकेर देखापरेका बताए।

लोकार्पित कविता कृतिमाथि विमल भौकाजीले चर्चा गर्दै भने, ‘राजीव कवितामा संवेदनशील भएर पोखिने कवि हुन्। आफ्ना भोगाइ र जीवनप्रतिको आशावादिता कविताहरूले पोखेका छन्।’  उनले कवितामा ३२ कविता समेटिएको बताए।

अर्का चर्चाकार डा जीवलाल वस्यालले जीवनीप्रति चर्चा गर्दै भने, ‘लेखकले विभिन्न व्यक्तिको सूक्ष्म अध्ययन गरेर जीवनी लेख्नुभएको छ। बहुआयामिक स्वरूपलाई कृतिमा समेट्ने प्रयास गर्नुभएको छ। स्वदेशदेखि विदेशसम्मका विभिन्न क्षेत्रका व्यक्तित्वहरूबारे जीवनी आएको बताउँदै विद्यार्थी,अनुसन्धानदाता लगायतले यो प्रयोग गर्न सक्छन्।’ 

स्रष्टा राजीव श्रेष्ठले लेखनीको प्रेरणाको श्रोत स्व

पिताजी भएको बताउँदै लेखकीय मन्तव्य राखे र सबैलाई धन्यवाद दिए।

कार्यक्रममा राजीवका निकट आमा सानुमैयाँ श्रेष्ठ, ठूली आमा सुलोचना श्रेष्ठसहित आधा दर्जन परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो।

कवि पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ , तारा केसी र विश्व सिग्देलले कृतिका १/१ थान कविता वाचन गरेका थिए।

कार्यक्रमका अतिथिहरूलाई आयोजकबाट मायाको चिनो कार्यक्रमका अध्यक्ष छविरमण सिलवालले प्रदान गरे।

सुनकोसी वाङ्मय प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा सदस्य शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखिन्।
अर्को समाचार
बिहानको घन्टी
४ मिनेट अघि
•
१ मिनेट पाठ
बिहानको घन्टी
बिहानको साढे चार बजेको थियो। बाहिर अझै अँध्यारो थियो। सहरका सडकहरू निदाइरहेका थिए, तर त्यो घरभित्र एउटी महिलाको मन वर्षौंदेखि जागै थियो। ओछ्यानको छेउमा राखिएको मोबाइल अचानक बज्यो। श्रीमान् झस्किएर उठे। उनले मोबाइल उठाउनुअघि नै श्रीमतीको निद्रा खुलिसकेको थियो। उनले आँखा खोलिनन्, केवल कान थापिन्। मोबाइलको पर्दामा कसको नाम चम्किएको थियो, उनलाई थाहा थिएन तर त्यो फोन कसको हुन सक्छ भन्ने अनुमान गर्न उनलाई अब कुनै प्रमाण चाहिँदैनथ्यो।




‘यति बिहान कसको फोन ?’ उनले सामान्य स्वरमा सोधिन्।

‘अफिसको काम हो,’ श्रीमान्ले हतारिँदै जवाफ दिए।

उनी मुस्कुराइन्। त्यो मुस्कानमा विश्वास थिएन, प्रश्न थिएन, झगडा पनि थिएन। केवल वर्षौंदेखि दोहोरिइरहेको एउटा पीडाप्रतिको थकान थियो। उनलाई याद आयो–यही समयमा पहिले पनि फोन आउँथ्यो। यही बहाना बनाइन्थ्यो। यही घरबाट उनी बाहिर निस्कन्थे र हरेकपटक फर्केर आएपछि सबै कुरा सामान्य भएको अभिनय गरिन्थ्यो।

उनले धेरैपटक सोधेकी थिइन्। धेरैपटक रोएकी थिइन्। कतिपटक रिसले काँप्दै घर छोड्ने निर्णय पनि गरेकी थिइन् तर बिहान भएपछि छोराछोरीको अनुहार देखिन्थ्यो, घरको जिम्मेवारी सम्झिन्थिन् अनि राति गरेका निर्णयहरू फेरि मनभित्रै गाडिन्थे।

समाजले उनलाई असल श्रीमती भन्थ्यो। परिवार सम्हाल्न जानेकी महिला भन्थ्यो। उनको घर, श्रीमान्, छोराछोरी र सामाजिक प्रतिष्ठाको प्रशंसा गर्थ्यो। कसैले उनलाई सोधेन– यो घर सम्हाल्दा–सम्हाल्दै तिमी आफैं कति बाँकी छौ ?

प्रतिष्ठाको घरभित्र उनीहरूको विवाह प्रेम, विश्वास र साझा सपनाबाट सुरु भएको थियो। जीवनको सुरुवाती दिनमा उनीहरूले सँगै बसेर भविष्यका योजना बनाएका थिए। दुःखका दिनमा एकअर्काको हात समातेका थिए। आर्थिक कठिनाइमा खर्च कटौती गरेर परिवार चलाएका थिए। छोराछोरीको भविष्यका लागि आफ्ना रहरहरू पछि सारेका थिए। त्यो समय श्रीमान् उनका लागि जीवनसाथी मात्र थिएनन्, सबैभन्दा नजिकका मित्र पनि थिए।

समयसँगै उनीहरूको सम्बन्धमा अदृश्य पर्खाल उठ्न थाल्यो। श्रीमान्को व्यस्तता बढ्यो, घर फर्किने समय अनिश्चित हुन थाल्यो, मोबाइलको पासवर्ड फेरियो, सामान्य प्रश्नहरू पनि उनलाई हस्तक्षेप लाग्न थाले। सुरुमा उनले परिस्थितिलाई दोष दिइन्। कामको तनाव होला, जिम्मेवारी धेरै होला, उमेरसँगै मानिस बदलिन्छन् होला भन्ने सोचिन्।

शंकाको बिउ एकपटक मनमा उम्रिएपछि त्यसलाई उखेल्न सजिलो हुँदैन। विशेषगरी जब सत्य बारम्बार व्यवहारबाट देखिन्छ, तर शब्दहरूले त्यसलाई ढाक्ने प्रयास गरिरहन्छन्।

एक दिन उनले एउटा सन्देश देखिन्। अर्को दिन एउटा झुट समातिन्। त्यसपछि केही यस्ता घटनाहरू भए, जसले उनका शंकालाई वास्तविकतामा बदलिदिए।

त्यस दिन उनले ठुलो स्वरमा चिच्याइनन्। घरका सामान फालिनन्। कसैलाई फोन गरेर आफ्नो पीडा सुनाइनन्। उनी बाथरुममा गइन्, ढोका बन्द गरिन् र ऐनामा आफूलाई हेरिरहिन्। उनले आफ्नै आँखामा एउटा प्रश्न देखिन्– ‘मैले के गुमाएँ, श्रीमान्लाई कि आफूलाई ?’ त्यो प्रश्नको उत्तर उनीसँग थिएन। झगडाभन्दा गहिरो मौनता !

त्यसपछि उनीहरूबिच पटक पटक झगडा भयो। कहिले रातभरि कुरा बन्द हुन्थ्यो, कहिले एउटै कोठामा बसेर पनि अपरिचितझैं व्यवहार गरिन्थ्यो। श्रीमान् आफूलाई निर्दोष साबित गर्न खोज्थे। उनी कहिले रिसाउँथे, कहिले उल्टै श्रीमतीलाई शंकालु भएको आरोप लगाउँथे। ‘तिमीलाई मेरो विश्वास नै छैन,’ उनी भन्थे।

उनी मनमनै सोच्थिन्, विश्वास मागेर पाइने वस्तु होइन, व्यवहारले जोगाइराख्नुपर्ने सम्बन्ध हो। तर उनी हरेकपटक बोल्न सक्दिनथिन् किनकि उनले बुझेकी थिइन्– सत्य बोल्नु र सत्य स्वीकार गराउन सक्नु फरक कुरा हुन्।

घरमा पाहुना आउँदा उनीहरू सँगै बस्थे। पारिवारिक समारोहमा तस्बिर खिचाउँथे। आफन्तले उनीहरूको सम्बन्धको उदाहरण दिन्थे। श्रीमान् सार्वजनिक कार्यक्रममा उनको प्रशंसा गर्थे, उनी श्रीमान्को सफलतामा मुस्कुराउँथिन्। तस्बिरमा उनीहरू खुसी देखिन्थे। तस्बिरले कहिल्यै देखाउँदैनथ्यो– त्यसअघि उनीहरूबिच कति लामो मौनता थियो।

समाजलाई उनीहरूको घरको बाहिरी रूप थाहा थियो। भित्रको सत्य जान्न कसैलाई चासो थिएन। अझ भनौं, सत्य थाहा पाए पनि धेरैले महिलालाई नै सम्झाउँथे। भन्थे– पुरुषको स्वभाव यस्तै हो, छोराछोरीको भविष्य सोच, यत्रो राम्रो परिवार छ, सानो कुरामा घर बिगार्नुहुँदैन, समाजमा इज्जत पनि त राख्नुपर्छ।

यी वाक्य अरूले उनलाई सान्त्वना दिन भनेका थिए तर उनको मनमा ती वाक्य हरेकपटक एउटा नयाँ बोझ बनेर थपिन्थे किनकि अरू सबैलाई परिवार जोगाउन उनको त्याग चाहिन्थ्यो। कसैले श्रीमान्लाई आफ्नो व्यवहार सच्याउनुपर्ने जिम्मेवारी सम्झाउन चाहेनन्।

उनले आफ्नो अनुहार फेरि चिनिन्। वर्षौं बिते। छोराछोरी हुर्किए। घरको आर्थिक अवस्था राम्रो भयो। बाहिरबाट हेर्दा जीवनमा अभाव केही थिएन तर उनीभित्र हराउँदै गएको थियो, आफ्नो जीवनमाथिको अधिकारको अनुभूति।

पहिले उनी आफ्ना रहर पूरा गर्न चाहन्थिन्। नयाँ कुरा सिक्न, आफ्ना साथीहरूसँग समय बिताउन, केही सिर्जना गर्न र आफ्नै पहिचान बनाउन चाहन्थिन्। बिस्तारै उनको संसार श्रीमान्को समय, मनस्थिति र व्यवहार वरिपरि घुम्न थालेको थियो।

श्रीमान् खुसी हुँदा घरमा शान्ति हुन्थ्यो। उनी रिसाउँदा सबैको दिन बिग्रिन्थ्यो। श्रीमान् घरमा हुँदा उनले आफूलाई नियन्त्रण गर्नुपर्थ्यो। श्रीमान् बाहिर जाँदा मनमा प्रश्नहरू उठ्थे। उनको जीवनको केन्द्र उनी आफैं थिइनन्।

एक दिन छोरीले सोधी, ‘ममी, तपाईं खुसी हुनुहुन्छ ?’ प्रश्न सामान्य थियो तर जवाफ दिन उनलाई कठिन भयो।

‘किन यस्तो सोधेकी ?’

‘तपाईं सबैका लागि गर्नुहुन्छ तर आफ्ना लागि के गर्नुहुन्छ ?’

छोरीले अर्को कुरा पनि भनी, ‘ममी, तपाईंले हामीलाई बलियो बन्न सिकाउनुभयो तर तपाईंलाई दुःख हुँदा तपाईं किन सधैं एक्लै बस्नुहुन्छ ?’

त्यस रात उनी धेरै बेरसम्म निदाउन सकिनन्। उनले पहिलोपटक आफ्नो विवाहलाई श्रीमान्को व्यवहारबाट मात्र होइन, आफ्नो जीवनको दृष्टिबाट हेर्ने प्रयास गरिन्।

उनले आफूले दिएका वर्षहरू सम्झिन्, आफूले गरेको माया सम्झिन्, परिवारका लागि गरेका त्याग सम्झिन् तर एउटा नयाँ कुरा पनि महसुस गरिन्– उनको त्यागको मूल्य श्रीमान्ले नबुझे पनि त्यसले उनको मूल्य घटाउँदैनथ्यो।

उनको जीवनको सबैभन्दा ठुलो गल्ती माया गर्नु थिएन। आफ्नो अस्तित्वलाई अरूको व्यवहारसँग जोडेर हेर्नु थियो।

त्यस रात उनले कुनै निर्णय गरिनन् तर एउटा प्रश्नको उत्तर भेटिन्– अबदेखि आफ्नो जीवनको निर्णय अरूको झुटले होइन, आफ्नै विवेकले गर्नेछु।

केही दिनपछि फेरि बिहान साढे चार बजे मोबाइल बज्यो। श्रीमान् उठे। फोन हेरे। पहिलेझैं हतारिए तर यसपटक उनी पनि उठिन्।

‘तिमी कहाँ जान लाग्यौ ?’ उनले सोधिन्।

‘एउटा काम छ।’

‘कस्तो काम ?’

‘तिमीलाई किन चाहियो सबै कुरा जान्न ?’

उनी केही क्षण चुप लागिन्। त्यसपछि शान्त स्वरमा भनिन्, ‘तिमीले कहाँ जाने, कसलाई भेट्ने र कससँग सम्बन्ध राख्ने भन्ने निर्णय तिमी आफैं गर्छौ। म तिम्रो जीवन नियन्त्रण गर्न चाहन्नँ तर मेरो जीवनमा के स्वीकार गर्ने भन्ने निर्णय म आफैं गर्छु।’

श्रीमान् पहिलोपटक निरुत्तर भए। उनले अगाडि भनिन्, ‘मैले तिम्रो व्यवहार धेरैपटक बुझेँ। तिम्रा बहाना पनि सुनेँ। तिमीलाई बदल्न खोजेर मैले आफ्नै शान्ति गुमाएँ। अब तिमी बदलिन्छौ कि बदलिँदैनौ, त्यो तिम्रो निर्णय हो। तर म आफ्नो जीवनलाई अनिश्चित प्रतीक्षामा राखिरहन सक्दिनँ।’

‘तिमी के भन्न खोज्दै छौ ? घर छोड्छौ ?’

उनले टाउको हल्लाइन्। ‘म अहिले घर छोड्ने वा नछोड्ने बहस गर्न उठेकी होइन। म आफ्नो अस्तित्व फिर्ता लिन उठेकी हुँ। यो घर हाम्रो हो भने यहाँ मेरो आत्मसम्मान पनि सुरक्षित हुनुपर्छ। सम्बन्ध जोगाउने जिम्मेवारी मेरो मात्र होइन।’

त्यसपछि उनले वर्षौंदेखि मनमा थुपारेका सबै कुरा एकैपटक पोखिनन्, न त विगतका हरेक घटनाको हिसाब मागिन्। उनले आफ्नो सीमा स्पष्ट पारिन्। विश्वास पुनःनिर्माण गर्न सत्य, इमानदारी र व्यवहारमा परिवर्तन चाहिन्थ्यो। सम्बन्धमा सम्मान हुनुपर्थ्यो। आवश्यक परे उनीहरू परामर्श लिन तयार हुनुपर्थ्यो। यी कुरा सम्भव नभए उनले आफ्नो भविष्यका लागि स्वतन्त्र निर्णय गर्ने थिइन्।

श्रीमान् उनको यो स्वरका अभ्यस्त थिएनन्। उनले यसअघि धेरैपटक आँसु देखेका थिए, रिस देखेका थिए, निराशा देखेका थिए। तर यसपटक उनको स्वरमा धम्की थिएन, असहायता पनि थिएन। त्यहाँ एउटा स्पष्ट निर्णय थियो।

उनी आफ्नो कुरा राखेर भान्सातिर लागिन्। बिहानको उज्यालो बिस्तारै झ्यालबाट भित्र पस्दै थियो। त्यो बिहान उनको संसार एकैपटक बदलिएको थिएन। विगतका घाउ हराएका थिएनन्। श्रीमान्को व्यवहार पनि तत्काल सुध्रिएको थिएन। अगाडिको बाटो अझै कठिन थियो तर एउटा कुरा बदलिएको थियो। अब उनी आफ्नो पीडालाई आफ्नो परिचय बनाउन तयार थिइनन्।

त्यसपछि उनले आफ्ना पुराना सपनाहरू सम्झिन थालिन्। वर्षौंदेखि थाती राखेका कामहरू अघि बढाइन्। आफूलाई आवश्यक पर्ने सिप सिकिन्। आर्थिक र भावनात्मक रूपमा आत्मनिर्भर बन्ने बाटो रोजिन्। आफ्ना साथीहरूसँग सम्बन्ध पुनःस्थापित गरिन्। परिवारका सदस्यहरूसँग खुलेर कुरा गर्न थालिन्।

उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूको अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पनि चाहिनन्। उनलाई थाहा थियो– आफ्नो सत्य प्रमाणित गर्न सधैं संसारलाई अदालत बनाइरहनुपर्दैन।

केही समयपछि परिवारको एउटा कार्यक्रममा आफन्तहरूले फेरि उनीहरूको प्रशंसा गरे– ‘तपाईंहरू त कति राम्रो जोडी ! यति वर्षसम्म पनि सम्बन्ध कति बलियो !’

उनी मुस्कुराइन्। यसपटक त्यो मुस्कानमा न त झुट थियो, न कसैलाई खुसी पार्नुपर्ने बाध्यता।

उनले केवल यत्ति भनिन्, ‘सम्बन्ध लामो हुनु र सम्बन्ध स्वस्थ हुनु फरक कुरा हुन्। परिवार जोगाउनु राम्रो हो तर परिवार जोगाउने नाममा कुनै एक व्यक्तिले आफ्नो आत्मसम्मान गुमाइरहनुपर्छ भन्ने होइन।’

कोठा केही क्षण शान्त भयो। कसैले त्यसलाई सामान्य टिप्पणी ठान्यो। कसैले गहिरो अर्थमा बुझ्यो। श्रीमान्ले उनको अनुहार हेरे। उनले कुनै चुनौती दिएकी थिइनन् तर अब उनी पहिलेकी महिला पनि थिइनन्।

उनीहरूको भविष्य के भयो भन्ने प्रश्नको उत्तर समयसँगै खुल्ने थियो। उनीहरूबिच विश्वास फेरि निर्माण भयो वा अलग बाटो रोजियो, त्यो उनीहरूको इमानदार प्रयास र निर्णयमा निर्भर थियो तर उनको जीवनको परिणाम अब एउटा कुराले मात्र निर्धारण गर्दैनथ्यो– श्रीमान्ले उनलाई रोजे कि रोजेनन्, उनले आफूलाई रोज्न थालेकी थिइन्।

त्यसको केही महिनापछि पनि उनी कहिलेकाहीं बिहान साढे चार बजे ब्युँझिन्थिन्। पुराना स्मृतिहरू कहिलेकाहीं फर्किन्थे। मनमा प्रश्न उठ्थे। वर्षौंको पीडा केही शब्दले मेटिँदैनथ्यो तर अब उनी मोबाइलको घन्टी सुनेर आफ्नो मूल्य नाप्दिनथिन्।

उनले बुझिन्– आत्मसम्मान भनेको सम्बन्ध तोड्नु मात्र होइन। सम्बन्धमा रहँदा पनि आफ्ना सीमा स्पष्ट पार्न सक्नु हो र आवश्यक परे सम्बन्धबाट बाहिरिने साहस राख्नु पनि हो। उनले आफ्नो जीवनलाई फेरि आफ्नै आँखाले हेर्न सिकिन्।

एक बिहान झ्याल खोलेर बाहिर हेर्दा आकाशमा उज्यालो फैलिँदै थियो। उनले लामो सास फेरिन्। वर्षौंसम्म उनी श्रीमान्को जीवनमा के भइरहेको छ भनेर जान्न खोजिरहेकी थिइन्। अब उनलाई आफ्नै जीवनमा के हुनुपर्छ भन्ने कुरा थाहा हुँदै थियो।

उनी सबै कुरा जान्दथिन्, श्रीमान्का बहाना, सम्बन्धका दरार, समाजको दोहोरो मापदण्ड र परिवारको नाममा महिलामाथि राखिने अपेक्षा। अन्ततः उनले सबैभन्दा महत्वपूर्ण कुरा थाहा पाएकी थिइन्– परिवारको इज्जत जोगाउन आफ्नो आत्मसम्मान गुमाउनु प्रेम होइन। अरूलाई बदल्न नसके पनि आफ्नो जीवनको दिशा बदल्न सक्नु नै स्वतन्त्रताको सुरुवात हो।

त्यो बिहान, पहिलोपटक, उनले आफ्नो जीवन कसैको प्रतीक्षामा होइन, आफ्नै निर्णयमा बाँच्ने प्रण गरिन्।
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस