थोरङलाको सिरेटो
०५ जेष्ठ २०८२
•
१३ मिनेट पाठ
थोरङलाको सिरेटो
नेपाल विविध भौगोलिक, सामाजिक तथा जातजाति युक्त सद्भाव सहितको साझा फूलबारी मानिन्छ। भौगोलिक र सामाजिक एवं सांस्कृतिक असमानताबीच पनि यहाँको रहनसहन र रितिरिवाजमा असमञ्जस्यता र बेमेल कतै पनि देखिदैन। हामी नेपाली भएको कारणले मात्र देशको बखान गरिएको चाँही कदापी होइन। फूललाई कसैले कति नराम्रो भनेको सायदै सुनिदैन, चाहे त्यो पहेलो होस वा रातो रंग नै किन नहोस? फूल आखिर फूल नै हो। फूलमा हुने सुगन्ध र उन्मुकता अरु चिजमा खोजेर पाइदैन्।  




नेपाललाई फूलको थुङगासँग तुलना गर्दा पनि खासै फरक पर्दैन। नेपाल सुन्दर छ यसमा कुनै शंका छैन्। किनभने प्रकृतिको अनुपम वरदान प्राप्त मुलुक हो नेपाल। हिमाल पहाड र तराई तीनथरि भौगोलिक बनावट रहेको हाम्रो देशमा हरेक थरि विविधताका बावजुद पनि आपसी आत्मियता जुन छ, त्यो वास्तवमै गर्व गर्न लायक छ।

२०५१ सालमा प्रहरी सेवा प्रवेश गरे पश्चात तालिमसहित २७ वर्ष ६ महिना नेपालको बिभिन्न जिल्लामा फरकफरक दर्जागत भूमिकामा सेवारत रहे भने २ वर्ष ६ महिना संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ अफ्रिकी मुलुक दक्षिण सुडान र युरोपियन मुलुक कोसोभोमा कार्यरत रहे। सोही अवसरमा युरोप र अफ्रिका लगायतका मुलुकहरु घुम्ने मौका पनि मिल्यो तर नेपाल जस्तो सुन्दर कुनै मुलुक पनि लागेन। जागिरको असिम उत्तराद्र्धमा मैले नेपालको अत्यन्तै रमणीय र अनौठो भौगोलिक वनावट भएको पवित्र धाम मुक्तिनाथ र दामोदरकुण्डको पावनभूमी हिमालपारिको जिल्ला मुस्ताङको प्रहरी प्रमुखको जिम्मेवारि प्राप्त गरेको थिए। २०८१ सालको भाद्र १६ गते सेवा अबधी पुरा गरि म अनिवार्य अवकासमा जानु पर्ने नै थियो।  

२०८० भदौ १५ गते मेरो सरुवा मुस्ताङ प्रहरी प्रमुखको रुपमा भएको थियो। त्यसको ठ्याक्कै १० दिन पछि अर्थात २०८० सालको भदौ महिनाको २५ गते मैले आफ्नो जिम्मेवारी जोमसोमस्थित कार्यालयमा पुगि सुरुवात गरेको थिए। जोमसोम बिमानस्थलमा ओर्लिंदा म भर्खर तालीम सकेर नयाँ कार्यक्षेत्रमा प्रवेश गर्दाको जत्तिकै मनमा प्रफुल्लताले घेरिएको थिए। जागिरको उत्तराद्र्धमा हुँदै गर्दा पनि ममा न कुनै किसिमको थकान थियो, न हिमाली जिल्लामा जानु परेकोमा नैराश्यता नै? एकवर्ष जिल्ला प्रहरी प्रमुखको रुपमा बिताउँदा आफूलाई यस पावन भूमिमा रहेर जनताको सुरक्षा र शान्त वातावरणको निर्माण गर्ने काममा कटिवद्ध बनाउन सकेकोमा आफूलाई अत्यन्त भाग्यमानी पनि महसुस गरेको थिए।

दिनहरु बितिरहेका थिए। जिल्लामा कुनै अप्रिय घटना भएका पनि थिननन्। सबै सुरक्षा निकायबीच अनोन्याश्रित सम्बन्ध थियो। जिल्लामा शान्ति सुव्यवस्था बनाउने कार्य अत्यन्त प्रभावकारी थियो। अघिल्लो वर्ष भन्दा अपराधिक, सामाजिक लगायतका घटनामा उल्लेख्य कमि आएको थियो। सुरक्षा लगायतका सबै सूचक सकारात्मक थिए। यसको अलावा स्थानीय सरकार र र नागरिकसँगको समन्वयको कारण एउटा पारिवारिक वातावरणमा काम गर्ने मेसो मिलेको थियो ।  

फाइल तस्बिरः नागरिक 
मुस्ताङ बसाईको एकवर्षे अवधिमा मुस्ताङमा शान्ति सुरक्षा कायम गर्ने सवालको अलावा मुस्ताङलाई पर्यटनको विकासमा सघाउने उद्देश्यले मैले लेख रचना लेखे। म त्यहाँको भूगोलसँग यति लोभिएको थिए की जहाँ गयो त्यही थचक्क भुईंमा बसेर त्यहाँको भूगोलको बारेमा लेख्न मन लाग्थ्यो। तर त्यो सबै सम्भव थिएन।  

मुस्ताङको मुख्य समस्या भनेको पर्यटकले पैदलयात्राको क्रममा बाटो बिराई हराउँदा प्रहरीद्वारा गरिने खोजतलास र उद्धार  नै हो। मेरो बसाई अवधिमा आधा दर्जन यस्ता घटनाको सामना गर्नु परेको थियो। खास गरि यस्तो समस्या मनाङ बाट पैदल यात्राको क्रममा थोरङला पास हुदै मुक्तिनाथ झर्ने र डोल्पाको सीमाना हुँदै घमि माथि ढकमार, मराङ र लोमान्थाङ, तथा कागबेनी आउने पर्यटकमा बढि हुने गर्दछ। हिमाल तथा उच्च हिमाली भेगको यात्रा सुरु गरेपछि एक दिनमा टुङगिने बिषय पनि होइन र हता हतार गरेर टुङग्याउन पनि सकिदैंन।  यसमा हप्तौ अथवा केहिदिन लाग्ने हुनसक्छ।  

यात्राको सुरुवात गर्दा राम्रो मौसम भएता पनि उच्च हिमाली भूगोलमा कति बेला मौसम प्रतिकुल बन्छ पत्तो नै हँंदैन्। यदि मौसम बिग्रिएर अचानक हिउँ परेको अवस्थामा पैदल मार्ग हिउँले पुरिन जाने र बाटो पत्ता नलाग्दा पर्यटक हराउने समस्या अधिक हुने गर्दछ।  

मुस्ताङ प्रमुख रहेकै अबस्थामा एकपटक डोल्पा हुंदै आएका दुईजना बिदेशी नागरिक र दुइजना नेपाली भरिया लोघेकर दामोदर कुण्ड गाउँपालिकाको ढाकमार माथि खोंचमा एकहप्ता देखि हराएकोमा निजको मोबाइलको अन्तिम टावर लोकेसनको आधारमा हेलिकोप्टरद्वारा गरिएको उद्धार कार्यमा म आफै खटिएको थिए। 

पर्यटकको लागि अर्को रुट भनेको थोरङला पास हो। थोरङला पास हुदै आएका धेरै पर्यटकले बाटो बिराएका कारण धेरै पटक प्रहरीले उद्धार गर्नु परेको थियो। मुक्तिनाथमा रहेको इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेल नेतृत्वको टोलीले स्थानीय मानिसहरुको सहयोगमा साहसिक रुपले पटक पटक हिउँमा फसेका तथा बाटो बिराई हराएका पर्यटकको उद्धार गरेको थियो।

मेरो जागिर अबधिमा त्यति साहसिक प्रहरी मैले देखेको थिइन्। अरुलाई चारघण्टा लाग्ने थोरङलाको उकालो उनी दुई घण्टा मै पार गरि भञ्ज्याङमा पुग्ने गर्दथे।  अर्कोतिर हिमाली भेकमा फसेका यात्रुको उद्धार कार्य  त्यत्तिकै कठिन हुने गर्दछ। किनभने उद्धारकर्ता यदि उच्च हिमाली भौगोलिक बनावट भएको भूभागमा अभ्यस्त भएनन भने लेक लाग्ने सम्भावना हुन्छ र अर्को दुर्घटना निम्तिने जोखिम पनि हुन्छ।  
थोरङला यात्रा भन्ने बित्तिकै हामीले केबल मनाङको रुट मात्र सम्झन्छौं। तर, मुस्ताङ तर्फबाट पनि थोरङला पुग्न सकिन्छ र पास छिचोलेर मनाङ, लमजुङ हुंदै फर्किन पनि सकिन्छ। थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो। शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो। खास गरि दसैँ तिहारको बिदामा थोराङ्ला पास पैदल यात्राका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीको टोली आउने क्रम बढेको छ। 

फाइल तस्बिरः नागरिक 
मनमोहक हिमशृंखल, विविधतायुक्त भूगोल, स्थानीय संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाइने भएकोले पनि आन्तरिक पर्यटकको घुइँचो यता लाग्ने गरेको हो। थोरङलाको मुस्ताङ तर्फको फेदी मुक्तिनाथ मन्दिरमा त यो समयमा दर्शनार्थीहरुको भीड थामि नसक्नु नै हुन्छ। केहि केहि त थोरङला यात्राको क्रममा नै मुक्तिनाथ मन्दिर दर्शन गर्ने तालिका बनाई आउने गरेका छन्।  

अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ। चामेदेखि पाँचदिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ। उता लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि पनि  यात्रा सुरु गर्ने गरेका छन्।  माथिल्लो मनाङदेखि करिब चारघण्टाको पैदलयात्रा गरेर चारहजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ। याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चारहजार ४ सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ।  

थोराङ्ला फेदीदेखि चारदेखि पाँचघण्टा यात्रा गरेपछि ४ हजार ८ सय ६ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ। त्यहाँ बास बसेर दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि राति नै यात्रा गर्नु उपयुक्त हुन्छ। तर मुस्ताङ तर्फबाट थोरङला यात्रा अत्यन्त सहज छ। मुक्तिनाथ मन्दिर भन्दा माथि फेदी सम्म गाडि नै पुग्दछ। फेदीबाट पैदल यात्रा सुरु गर्दा करिब ५ घण्टामा बिस्तारै हिड्दा पनि सहजै थोरङला पुग्न सकिन्छ।  

यही क्रममा हामी पनि एकपटक यस्तै यात्रामा निस्कियौ । थोरङलाको हाम्रो यात्रा मुस्ताङ तर्फबाट थियो  । हाम्रो गन्तब्य मुस्ताङ तर्फको भूभाग हुंदै मनाङ र मुस्ताङ जिल्लाको सीमानामा रहेको थोरङला पास सम्म यात्रा गर्ने थियो। सोही योजना बमोजिम हामी तयारीमा लागेका थियौं। इात्राका सहयात्रीहरुमा तत्कालिन प्रजिअ, राष्ट्रिय अनुसन्धान  प्रमुख, सप्रनाउ, एक्याप प्रमुख, म र सहायक प्रजिअ सहित अन्य केहि साथिहरु यो यात्रामा जुटेका थियौं ।  

हाम्रो यात्रा सुरु भयो जोमसोमबाट एकाबिहानै। करिब सवा घण्टाको गाडीको यात्रा पश्चात हामि करिब ४२०० मिटर उचाईमा रहेको थोरङला फेदीमा पुग्यौं। फेदीमा केहि होटेल छन। बाटो बिग्रिएको कारण होटलसम्म गाडी पुग्न सकेन। हामीले गाडी होटेल भन्दा अलि तल नै रोक्नु पर्ने अवस्था आयो। मौसम सम्बन्धि जानकारी दिने मोवाइल एप्लीकेसनले मौसम सफा रहने बताएको भएपनि वरिपरिको पहाड तथा भूगोल ढाकिने गरि बाक्लो कुहिरो लागेको र मसिनो गरि सीमसीम पानी समेत परेको थियो। हामी हतार हतार होटेलमा पुग्यौ। 

श्वास बढेर सास्ती? मैले प्रश्नवाचक नजरले ईप्रका प्रमुखको अनुहार हेरे। सायद उनले कुरा बुझेछन क्यारे, ‘एकछिन हो सर मौमस बिग्रने, बिहानी उज्यालो हुनासाथ बादल हराएर जान्छ र पानी पनि रोकिन्छ, यहाँको मौसम सधै यस्तै हुन्छ। मानौ मौसमबिद् नै उनै हुन जस्तो गरि उनले आफ्नो भनाई टुङग्याए।  

हामी घोडामार्फत यात्रामा लाग्ने मेसोमा थियौं। त्यत्ति नै बेला घोडा पनि आइपुगे। बिहानीको उज्यालोले आफ्नो पंख फिजाउदै थियो। करिब आधा घण्टा जतिमा सात वटा घोडा लिएर दुईजना घोड सवारीहरु आइपुगे। पैदल हिड्नेमा इप्रका प्रमुख लगायतका साथि हुनुहुन्थ्यो।  

‘हामीहरु फस्र्ट टि सपमा हजुरलाई पर्खन्छौं,’ भन्दै उहान्हरुले यात्रा सुरु गरि सक्नुभएको थियो। यात्राको लागि आवश्यक पर्ने सबै कुराहरुको चाँजोपाँजो मिलाउँदा बिहानको साढेसात बजिसकेको थियो। इप्रका प्रमुखले भने जस्तै साँच्चै कुहिरो हटेर वारिपरिको पहाड छर्लङै देखिने भयो। पानी पर्न पनि छाड्यो। थोरङ पिक टाउको माथि ठोकिन्छ कि जस्तो गरि उभिएको थियो। हामीले  ठ्याक्कै फेदीबाट घोडामा यात्रा आरम्भ गरेका थियौं, एउटा असीम आनन्दको अनुभुति मनमा लिएर।  

बाटो खासै थिएन, जताततै ढुङग्यान, घोडालाई बाटो पनि नचाहिने रहेछ। हुनत सधै त्यहि बाटो हिडेको कारणले गर्दा पनि होला। अगाडीको घोडामा सिडियो साब हुनुहुन्थ्योँ उहाँको घोडालाई अन्य घोडाले भेट्टाउन सकेका थिएनन्। म पहिलो पटक घोडामा यात्रा गरेको थिएँ। मनमा एक खालको डर पनि थियो। घोडाले कतै खसाल्ने पो हो की? भन्ने मनमा खुल्दुली चाँही हुँदो रहेछ। अरु केही साथिहरु पनि पहिलोपटक घोडा चढ्नु भएको रहेछ। अरु पनि म जस्तै सिकारु रहेको हुँंदा मनोबल अलिक बढेर आयो। बीचबीचमा रोकिदै हामी करिब पचास मिनेट जतिको यात्रामा फस्ट टि सपमा पुग्यौं।  

अघि हिड्नु भएको साथिहरु पाँचमिनेट अगाडि नै त्यहाँ पुग्नुभएको रहेछ। निलो टिनको छानो हालेर मानिसले आराम गर्न मिल्ने गरि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मुस्ताङले पर्यटकहरुको बस्ने सुबिधाको लागि टहरो निर्माण गरेको रहेछ।  त्यहाँ हामी एकछिन सुस्तायौं। घोडाहरु पनि लगातार हिड्न नसक्ने रहेछन्। हामीले झोलामा बोकेर ल्याएका खानेकुरा एक आपसमा साटफेर गरेर खायौं। सायद त्यो स्थान समुन्द्र सतह देखि ४५०० मिटर जति उचाईमा हुनु पर्छ।  

करिब आधा घण्टाको बसाई पश्चात हामीले यात्रा पुन सुचारु गर्र्यौं। अलि माथि पुगेपछि बाटो देखिन थाल्यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले प्रत्येक बर्ष गोरेटो बाटो र घोडेटो बाटो मर्मत गर्दो रहेछ। तर बेला बेलामा पर्ने हिँउ र पानीले गर्दा माथिबाट गेग्रयान झरेर बाटो प्रत्येक बर्ष हिड्न नमिल्ने गरि मासिँदो रहेछ।  

प्रजिअ सवार त घोडा गाइड जस्तो रहेछ। उकालो हिड्दै गर्दा अरु घोडाले उछिन्न खोज्यो भने पनि मरि गए अरु घोडालाई अगाडि जान नदिने। सहायक प्रजिअ चढेको घोडा हिडन नसकेको हो वा उहाँ अलिक मोटो भएर हो सबैभन्दा पछाडि थियो। म बीच।  

करिब एकघण्टाको यात्रा पश्चात हामी सेकेन्ड टि सपमा पुग्यौं। त्यहाँ पनि केहि बेर रोकियौं। पानी लगायतका खानेकुराहरु फेरि खायौं। बाटोमा मनाङको बाटो हुंदै मुस्ताङ तर्फ झर्दै गरेका धेरै बिदेशी तथा आन्तरिक  पर्यटक हातमा लठ्ठीको सहारमा बिस्तारै ओराओ झर्दै गरेको भेट्यौं। यात्रा पुरा गर्न पाएकोमा सबैको अनुहारमा प्रसस्तै खुसी देखिन्थ्यो। हामी उनीहरुको खुसी देखेर अवाक भयौं। हाम्रो देशका भूभागहरुले बिदेशी नागरिक (पर्यटक) लाई खुसी बनाउन सकेकोमा नेपाल आमा प्रति हामी पनि कृतघ्न भयौं।  

मौसममा कुनै फेरबदल थिएन। तर वरिपरिको वातावरण त्यति चहकिलो भने थिएन्। गिरु पौडेलले हामीलाई सूचित गर्दै थिए ‘अघिको जस्तो मौसम चहकिलो छैन, यस्तो हुँदा बादल लाग्न सक्ने सम्भावना रहन्छ।’  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) मुस्ताङ इकाइ र स्थानीय मानिस, पर्यटन व्यावसायी र जनप्रतिनिधि समेतको सहभागितामा टिनको छानो सहितको दुईवटा टहरा त्यहाँ पनि निर्माण गरिएको रहेछ। जुन ठाउँलाई सेकेन्ड टि सप भनिँदो रहेछ। हामी करिब २० मिनेट जति त्यहाँ रोकिएर केही फोटो खिच्यौं। टाउको माथि पुर्व र पश्चिममा दुइवटा अग्ला चुचुरा, वास्तवमै रमणीय स्थान थियो। तर त्यति अग्ला हिमालमा पनि हिउँ थिएन।  आइसको पत्र जमेर ठुलो ढिक्का झुण्डिएको भने हामीले देख्यौं। आफूलाई प्रकृतिसँग थप आनन्दित बनाउँदै हामी ६ हजार १ सय ४४ मिटर उचाई अर्थात २०,१६० फिट उचाईको थोरङ पिक हिमाल र बायाँतर्फ ६,४८२ मिटर उचाईको याक्वा काग्ङ पिकको भञ्न्ज्याङ अर्थात मनाङ र मुस्ताङ जिल्लाको सीमाना समुन्द्र सतह देखि ५,४१६ मिटर उचाईमा रहेको थोरङला पासमा पुग्यौं।  

थोरङला पास साच्चै अद्भूत र रमणीय स्थान रहेछ। पासको छेउमा मनाङ तर्फ साना साना आकारका करिब ६ वटा हिमालबाट बग्दै आएको निलो पानी जमेर  बनेका ताल देख्यौं। तालको नामाकरण भने भएको रहेनछ। ती तालहरुको बारेमा हामीले कतै केही पढ्न पाएनौ। कति सुन्दर दृश्य, हामीले केहिबेर आराम गरेर फोटो लियौं। थोरङला पासमा फोन नलाग्ने रहेछ।  पुर्व र पश्चिममा रहेका दुईवटा पीकको काखमा थोरङला थियो। हामीले एउटा अति नै सुन्दर ठाउँमा आफूलाई उभ्याएका थियौं। मनाङ तर्फको भञ्न्ज्याङ बाट चिसो सिरेठो चल्दो रहेछ। नाक र कान नै झर्ला जस्तो। टोपी र स्कार्फले आँखा मात्र अलिअलि देखिने गरि अनुहार पुरै छोप्यौ। वर्षा ऋतु भएपनि हिमाली भूभागको यात्रा गर्दा शरीरमा चिसो पस्यो भने बिरामी पर्न सकिन्छ भन्ने हिसबाले हामी तयारी साथ नै यात्रामा निस्केका  थियौं।  

हामी चढेर आएका घोडा लिएर पथ प्रदर्शकको रुपमा आएका घोडाका मालिक भने घोडा लिएर ओरालो लागिसकेका थिए। हामीलाई थोरङला पास पुर्याउने गरि उनीहरु आएका थिए। हामीले आफूलाई क्यामेरामा कैद गर्दैगर्दा अचानक मौसममा गडबढी भयो। दुई मिनेट अगाडि सम्म खुल्ला रहेको वरिपरिको हिमाली वातावरण पुरै बादलले ढाकियो। कहाँबाट आयो त्यो बादल हामी अचम्ममा पर्यौं।  

‘अब ओर्लियौ, पानी पर्न सक्छ,’ एक्यापका प्रमोद जी ले कुरा राख्नुभयो। साच्चै त्यहाँ बसेर अर्थ पनि थिएन, किनभने वरिपरि बादलले ढाकिएको कारण फोटो खिच्ने कुरा पनि भएन। हामीले साथमा बोकेर ल्याएको लठ्ठी टेक्दै ओरालो यात्रा सुरु गर्यौं। ओरालो यात्रा गर्दै गर्दा आफ्नो शरीरलाई अड्याउन पनि गाह्रो हुने कुनै ठाउँमा। लठ्ठीको भरमा पुरा शरीर छोड्नु पर्ने रहेछ।  

म गिरु पौडेल र निर्मल भाई अगाडी लाग्यौं, पानी सिमसिम पर्न सुरु गरिसकेको थियो। हामीले छाता ओढ्नुपर्ने अबस्था बन्यो। अरु सहयात्रीहरु क्रमश ओरालो यात्रामा सहभागि हुनुभयो। हामी करिब एकघण्टा चालिस मिनेटमा तल फेदीमा पुग्यौं। हामी पुगेको चालिस मिनेट पछि प्रजिअ सहितका सहभागि भेटिन आइपुग्नु भयो। अनुहार प्रायजसोको थकानले गर्दा हेरिनसक्नु थियो।  

हाम्रो शरीरमा जे जस्तो थकान भए तापनि हामी हाम्रो जिम्मेवार इलाकामा रहेको एउटा कठिन भूगोलसँग साक्षात्कार भएका थियौं। नेपालको उच्च हिमाली भूभागमा रहेको विश्व प्रसिद्ध स्थान थोरङला पास पुग्ने मौका प्राप्त भएकोमा हामी मनमा खुशीले गदगद थियौं।  शारीरिक अबस्थालाई केहि हद सम्म भए पनि सामान्य बनाउने प्रयास गर्दै हामीले केहि बेर सोहि स्थानमै थकान मेट्यौं।

अघिसम्म थकित देखिने सहयात्रीका अनुहार अहिले हेर्नलायक बनिसकेको थियो। झोलामा बचेखुचेका खानेकुरा सबै खायौं। तल गाडि भएको स्थानसम्म झर्नलाई थप करिब २० मिनेट हिड्नु थियो, त्यसैले हिडेर हामी गाडी सम्म पुग्यौ। ‘तोरीको तेलले खुट्टा तथा घँुंडा मालिस गरेर सुत्न नभुल्नु होला है’ छुट्ने बेला प्रमोद जी ले भन्नु भएको त्यो वाक्य अहिले पनि मेरो मानसपटलमा ताजै छ।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस