पृथक शैलीको तिज
०४ भदौ २०७७
•
३ मिनेट पाठ
पृथक शैलीको तिज
महिलाको महान् पर्व हरितालिका तिज आँगनमै आइसकेको छ । त्यसैले यतिबेला महिला पोते, चुरा र नयाँ कपडा आदि किन्न व्यस्त देखिन्छन् । लामो समयदेखि कोरोनाको डरका कारण घरभित्रै पिल्सिएका महिलामा कोरोनाको त्रास कायमै भए पनि केही उत्साह भने देखिएको छ ।




खासमा तिज आफ्नै नन्द÷आमाजू, आमा, भाउजू, बुहारी र साथीसंगीसँग मनाउने हो । दर खाने हो र नाचगान पनि गर्ने हो । खासमा तिजको मुख्य आकर्षण नै यसैमा छ तर विडम्बना नै भन्नुपर्छ, यसपटकको तिज कोरोनाका कारण यस्तो हुने छैन । जसले तिजसँगै उकासिएको उत्साहमा केही अवरोध पक्कै सिर्जना गरेको छ ।

हिजोका दिनमा अलि तडकभडक पनि हुन्थ्यो । कैयौँ दिनअघिदेखि पार्टी प्यालेसहरूमा भोजभतेर नै चल्थ्यो । तर अहिले अवस्था फेरिएको छ । जुटेर भन्दा पनि छुटेर मनाउनेहरूको संख्या बढिरहेको छ । एकातिर संस्कृति जोगाइराख्नुपर्ने अर्कोतिर भिडभाड पनि गर्न नहुने बाध्यता यतिखेर नेपाली महिलासामु तेर्सिएको छ ।  

तिज महान् पर्व हो भन्नेमा शंकै छैन । त्यसैले यस्ता परम्पराले हाम्रो जीवनमा ऊर्जा थपेको छ । सोझै भन्ने हो भने हाम्रा पर्वहरूले हामीसँग मितेरी नै लगाएका छन् । जसबाट हामी अलग हुनै सक्दैनौँ । अझ तिज त झन् त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ । मीठो खाने, राम्रो लगाउने, भेटघाट गराउने माहोलसमेत सिर्जना गर्ने भएकाले पनि तिजको महत्व निकै छ ।

गीत तिजको अर्को आकर्षण हो । यतिबेला एल्बमहरू निकाल्नेको भिडै लाग्छ भने स्टेज सोहरू पनि उत्तिकै आयोजना हुन्छन् । विकृति र विसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ । तर अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकि यसपटक हामी यसरी तिज मनाउने अवस्थामा छैनौँ ।

पहिलेका गीत सासू बुहारीसँग, नन्द आमाजूसँग जोडिएका हुन्थे भने अहिलेका तिज गीत समयसँगै फेरिएका छन् । विकृति नंग्याउन उद्यत छन् । यो राम्रो पाटो हो । महिलाको आत्मविश्वास बढाउने र अधिकार लिन उत्साहित गर्नेखालका छन् । यो झनै उज्यालो पक्ष हो । त्यसैले तिजले विकृतिमात्रै भित्र्याएको छैन, राम्रा पक्ष पनि अंगाल्दै गएको छ ।

हाम्रा पर्वका मौलिकतालाई जीवन्त राख्नुपर्छ । भड्किलो बनाउनु हुँदैन । केही समयदेखि तिजले विकृति निम्त्यायो भन्नेहरू धेरै छन् । तर यसका सकारात्मक पाटातिर भने ध्यान दिइएको पाइन्न । एकाध छाडा गीत हेरेर तिजको मूल्यांकन गर्नु उचित होइन । उत्प्रेरणा जगाउने गीत पनि त छन् नि । तिनलाई पनि हेर्नुपर्छ । नत्र तिजप्रति गरिने टिकाटिप्पणी हल्का हुनेछन् ।

व्रत तिजको अर्को आकर्षण हो । कतिले यसलाई नचाहिने कामका रूपमा व्याख्या गर्दै आएका छन् । कतिले भने सही ठानेका छन् । तर स्वास्थ्यलाई असर नपर्ने गरी  कोही बस्छ भने अरूको टाउको दुखाइ नहुनु पर्ने हो । धेरै महिला आफैँ बुझ्छन् । त्यसैले उनीहरूका लागि शिक्षा पनि आवश्यक नपर्ला कि ? जे होस्, व्यक्तिगत चाहना र अधिकारमाथि हस्तक्षेप पनि उचित होइन भन्ने लाग्छ ।

कतिपयलाई श्रीमान्का नाममा व्रत बसेको मन पर्दैन । कतिपयका लागि भने यो निजी मामिला हो । आफ्नो संरक्षक, परिवारको मूली तथा जीवनसाथीप्रति श्रद्धाभाव दर्शाउँदा केही बिग्रेला जस्तो लाग्दैन । तर यो व्यक्तिको स्वविवेकमा भर पर्ने कुरा भएकाले अरूले त्यति चासो नदिएकै उचित होला ।

पहिलो कुरा त धर्मकर्म आफ्नै लागि गर्ने हो । दोस्रो कुरा आफूले रीतिरिवाजअनुसार गर्दा भावी पुस्ताले पनि अंगाल्छन् । त्यसैले आधुनिकताका नाममा संस्कृति छाड्ने काम सही हैन । हो, अहिले कोरोनाको संक्रमण बढी छ । त्यसैले भनेजसरी, सोचेजसरी गर्न नसकिएला तर पुर्खौँदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न । यसो भयो भने त केही वर्षभित्र हाम्रा सबै पर्व, चाड समाप्त भएर जानेछन् । यसतर्फ विचार पु¥याउनु आवश्यक छ ।

पर्व अवश्य मनाउनुपर्छ । तिज पनि नमाउने कुरै भएन । तर यसपटकको तिज भने अलि फरक तरिकाले मनाउँ । पहिले पहिले जुटथ्यौँ अब केही समयका लागि अलिक टाढै बसौँ । ज्यान रहे तिज त अर्को पटक फेरि आइहाल्छ नि । मुख्य कुरा ज्यानको ख्याल राखौँ । जुटेर भन्दा पनि छुटेर तिज मनाउँ । कोरोना भाइरसलाई परास्त गरौँ ।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस