थोपा-थोपामा प्रदूषण
२८ मंसिर २०६६
•
२८ मिनेट पाठ
थोपा-थोपामा प्रदूषण
जाजरकोटमा केही महिनाअघि दुई सयभन्दा बढीको ज्यान जानेगरी फैलिएको हैजा र झाडापखालाको मुख्य कारण प्रदूषित खानेपानी थियो। पानीको मुहानमा दिसा मिसिएकाले महामारी फैलिएको स्थलगत निरीक्षणमा गएका विशेषज्ञले बताएका थिए।




सिंगै गाउँलाई शोकमा डुबाएको जाजरकोट घटनाले सिंगै देशलाई झस्काएको छ। किनकि, खानेपानीको गुणस्तर जाजरकोटमा मात्र होइन, देशको कुनै पनि ठाउँमा सन्तोषजनक छैन। राजधानीमा त झन् भयावह छ। सरकारी धाराबाट आउनेदेखि भूमिगत स्रोत र ठुल्ठुला कम्पनीले 'मिनरल वाटर' भनी मार्केटिङ गरेको बोतलको पानीसमेत शुद्ध नभएको विशेषज्ञ औंल्याउँछन्। सहरी क्षेत्रका केही उपभोक्ताले पानी तताएर पिउने गरे पनि धेरैलाई त्यो चेतनासमेत छैन।

'जाजरकोटको जस्तो महामारी देशका कुनै पनि ठाउँमा जुनसुकै बेला हुनसक्छ। काठमाडौं उपत्यका अझ बढी खतरामा छ,' विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पानीसम्बन्धी वरिष्ठ वैज्ञानिक सुजेनमान श्रेष्ठ भन्छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइराला पनि खानेपानीको गुणस्तरमा समस्या रहेको स्वीकार गर्छन्। तर, आपूर्तिको समस्या नै उपभोक्ताका लागि बढी टाउको दुखाइ भइरहेकाबेला गुणस्तरतिर चासो दिने कसैको फुर्सद नभएको उनको राय छ।

अब विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यो तथ्यांक हेरौं।

विश्वका एक अर्ब १० करोड व्यक्ति शुद्ध खानेपानीबाट वञ्चित छन्। ८० प्रतिशतभन्दा बढी मानिस बिरामी पर्नुको मुख्य कारण पानी नै हो। पानीबाटै फैलिने रोगले दैनिक २५ हजारभन्दा बढीको मृत्यु भइरहेको छ। त्यसमध्ये वार्षिक १८ लाख त झाडापखालाकै कारण मर्छन्। मर्नेमा ९० प्रतिशत बालबालिका छन्, त्यो पनि पाँच वर्षमुनिका। ती धेरैजसो नेपालजस्ता अल्पविकसित देशकै छन्।

यो तथ्यांकले पानीको शुद्धता र रोगको सम्बन्ध स्पष्ट पार्छ। नेपालले डब्लुएचओको खानेपानी गुणस्तर मापदण्ड हुबहु अंगालेको छ। तर, के उपभोक्ताले यसअनुरुप शुद्ध पानी पिउन पाइरहेका छन् त?

अनुसन्धान भन्छ
नास्टले वर्षको तीनचोटि बोतल, भूमिगत र धाराको पानी परीक्षण गर्छ। वार्षिक १२ सयभन्दा बढी पानीका नमूना परीक्षण गरिन्छ।

नास्टको पछिल्लो परीक्षणअनुसार बोतलको पानी (जसलाई बोलीचालीमा 'मिनरल वाटर' भनिन्छ) ५० प्रतिशत, धाराको ६० प्रतिशत र भूमिगत पानी (डिपबोरिङ वाटर) ९० प्रतिशतले डब्लुएचओ मापदण्ड पूरा गरेका छैनन्। यसमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने सूक्ष्म जीवाणु भेटिएको नास्टले जनाएको छ।

'हाम्रो अनुसन्धानअनुसार सुद्धिकरण नगरी उपत्यकामा उपलब्ध कुनै पनि प्रकारका पानी पिउनलायक देखिँदैन,' श्रेष्ठ भन्छन्।

परीक्षण गरिएका १२ सयभन्दा बढी नमूनामध्ये ४६ प्रतिशतमा आइरनको मात्रा बढी भेटिएको छ। भूमिगत पानीमा आइरनको मात्रा बढी छ। प्रतिलिटर शून्य दशमलव ३ मिलिग्रामभन्दा कम हुनुपर्नेमा बढी पाइएको श्रेष्ठ बताउँछन्। यस्तो पानीबाट एक प्रकारको गन्ध आउँछ। यसले लुगा धुँदा दाग बस्नुका साथै सेतो कपडा पहेँलो हुन्छ।

त्यस्तै, ८६ प्रतिशतमा कोलिफर्म फेला परेको छ। कोलिफर्म भएको पानी नउमाली पिउँदा भाडापखाला लाग्नसक्छ। परिक्षण गरिएको नमूनामध्ये २६ प्रतिशतमा एमोनिया भेटिएको छ। डब्लुएचओ र नेपाल मापदण्डअनुसार खानेपानीमा कोलिफर्म र एमोनिया हुनु हुँदैन। एमोनिया भएको पानी पिउँदा क्यान्सर हुने सम्भावना बढ्छ। 'केमिकल टि्रटमेन्ट' गरेर पिउँदा पनि यसले फाइदा गर्दैन।

पानीका केही नमूनामा आर्सेनिक पनि फेला परेको छ। यसले छालाको क्यान्सर निम्त्याउन सक्छ।

नास्टसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि वर्षको एकपटक प्रत्येक बोतल वाटर उद्योगको उत्पादन र प्रविधि परीक्षण गर्छ। यस वर्ष परीक्षण गरिएका ४४ ब्रान्डका ५६ नमूनामध्ये १७ वटामा मानव स्वास्थ्यका लागि प्रतिकूल सूक्ष्म जीवाणु भेटिएको विभागले जनाएको छ। २०६५ मा परीक्षण गरिएका ६४ नमूनामध्ये ३४ मा समस्या देखिएको थियो।

'पानी उत्पादन गर्ने साना उद्योगमा गुणस्तरको अभाव छ,' विभागका कोइराला भन्छन्, 'धेरै नमूनामा सूक्ष्म जीवाणुको मात्रा बढी छ।'

विभागले धारामा आउने पानी र ट्यांकरबाट वितरण गरिने पानीको भने परीक्षण गर्दैन। ट्यांकरबाट वितरित पानी के-कति शुद्ध छ परीक्षण गर्ने जिम्मा काठमाडौं उपत्यका खानेपानी बोर्डको हो। तर, निरीक्षणको जिम्मा पाएको बोर्डसँग पानी परीक्षणका लागि प्रयोगशालासमेत छैन।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भने आफूले वितरण गर्ने पानीको मुहान दैनिक परीक्षण गर्ने दाबी गर्छ। केयुकेएलले २३ मुहान र ६४ वटा डिप ट्युवेलबाट उपत्यकामा पानी वितरण गर्छ। उसले पानी सुद्धिकरण गर्न मुहानमा ब्लिचिङ पाउडरलगायत केमिकल प्रयोग गर्दै आएको छ। तर, आफैंले वितरण गरेको पानी स्वच्छ छ भन्न ऊ सक्दैन।

 पानीमा बेइमानी

केयुकेएलका अनुसार काठमाडौं उपत्यकामा झन्डै ४० प्रतिशत पानी चुहावट हुन्छ। यो सरकारी आंकडा हो। तर, सरकारी अनुमतिबिना कसले कति लिटर पानी जमिनमुनिबाट तानेर उपभोग गरिरहेका छन्, त्यसको रेकर्ड कसैसँग छैन।

काठमाडौंमा च्याउसरी उमि्रएका हाउजिङमा डिप ट्युबवेलबाट पानी झिकिन्छ। ठूला होटलमा पनि यस्तै हुन्छ। यी हाउजिङ र ठूला होटलले भूमिगत पानी तान्न केयुकेएल वा अन्य कुनै सरकारी निकायको अनुमतिसम्म लिएका छैनन्। 'कुनै पनि हाउजिङ पानी चाहियो भनेर केयुकेएलमा आएका छैनन्,' केयुकेएलका प्रवक्ता रामेश्वरलाल तखाछे श्रेष्ठ भन्छन्, 'यो गैरकानुनी काम हो। जमिनमुनिको स्रोतमा सरकारको अधिकार हुन्छ।'

यसरी व्यावसायिक प्रयोजनका लागि जथाभावी पानी तान्ने प्रवृत्तिले हाउजिङ र होटल व्यवसायलाई त प्रशस्त नाफा भइरहेको होला, तर देशले ठूलो राजस्व गुमाइरहेको छ। त्यतिमात्र होइन, यसले पानीका स्रोत संकुचित हुन गई भविष्यमा आपूर्तिमै गम्भीर समस्या आउने खतरा छ। जमिन भास्सिने र खेतीपातीको संकट पनि बढ्छ।

खुलेआम पानीको स्रोतमा बेइमानी भइरहेको सम्बन्धित निकायलाई थाहा भए पनि नियन्त्रण हुन सकेको छैन। यसमा पानीसम्बन्धी कानुनको अभाव मुख्य कारण रहेको श्रेष्ठ बताउँछन्। 'पानीको स्रोत दुरुपयोग गर्दा के कारबाही गर्ने भन्ने नै यकिन छैन,' उनी भन्छन्।

यसबाहेक सरकारी धाराको भर परेर बस्दा पानी पिउनै आपत् पर्ने स्थिति आएपछि धेरै घरपरिवार त निजी ट्यांकरको पानी मगाउँछन्। काठमाडौं उपत्यकामा दिनहुँ निजी ट्यांकरले कति पानी वितरण गर्छन् भन्ने तथ्यांक पनि छैन। तथ्यांकमात्र होइन, कहाँबाट कसरी कस्तो पानी वितरण भइरहेको छ, त्यसको गुणस्तर जाँच्ने काम पनि कुनै निकायले गरेको छैन। ललितपुर, नुवाकोटलगायत छेउछाउका झरनाबाट सिधै ट्यांकरमा पानी भरेर घरघरमा आपूर्ति गरिन्छ। त्यही पानी कति उपभोक्ताले सोझै पिउँछन्। यो सब थाहा पाउँदा-पाउँदै पनि जिम्मेवार निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही बढाएको देखिँदैन।

यहाँसम्म कि विभागमा दर्ता भएर बोतलको पानी बेचिरहेका कम्पनीको निरीक्षण पनि फितलो छ। विभागले निकाल्ने वार्षिक प्रतिवेदनमा पटकपटक मिनरल वाटरमा यतिउति प्रतिशत मिसावट फेला पर्‍यो भन्ने तथ्यांक छापिन्छ। तर, अर्को वर्ष त्यो कम्पनीले आफ्नो गल्ती सच्यायो कि सच्याएन भन्ने जानकारी उपभोक्तालाई दिइँदैन।

बोतलमा पानी बेच्ने अधिकांश कम्पनीले आफ्नो उत्पादन 'मिनरल वाटर' भनी दाबी गर्दै लेबलसमेत टाँसेका हुन्छन्। तर, त्यसका लागि पालना गर्नुपर्ने वैज्ञानिक प्रक्रिया ती कम्पनीले पूरा गरेका छन् कि छैनन् भन्ने विभागलाई थाहा छैन।
केयुकेएलका प्रवक्ता रामेश्वरलाल तखाछे श्रेष्ठ पानी सुद्धिकरण गर्न हदैसम्म प्रयास गरेको दाबी गर्छन्। 'वर्षा याममा समस्या छ,' उनी भन्छन्, 'खानेपानीको पाइपमा भेल मिसिन्छ।'

सूक्ष्मजीव विज्ञानको शोधपत्रका लागि केयुकेएलले वितरण गर्ने पानी अनुसन्धान गरिरहेका प्रविन शाक्य आफूले विभिन्न धाराबाट संकलन गरेका प्रायः नमूनामा 'बायो फिल्म' नामक जीवाणु समूह भेटिएको बताउँछन्।

'धाराको पानीमा सुडोमोनास नामक सूक्ष्मजीवाणु बढी छ,' उनी भन्छन्, 'यसले हैजा लाग्छ।' उनले राजधानीको मीनभवन, सातदोबाटो, छाउनी, सुन्धारा, बुद्धनगर लगायत क्षेत्रबाट ८० नमूना संकलन गरेका थिए। उनलाई यो अनुसन्धानमा नास्टले सहयोग गरिरहेको छ।

प्रदूषणको कारण
गुणस्तर परीक्षणका यी नतिजाले उपत्यकाबासीले पिइरहेको खानेपानी कति शुद्ध छ र पानी उत्पादन तथा वितरण गर्नेहरू उपभोक्ताप्रति कति संवेदनशील छन् भन्ने छर्लंग हुन्छ। आखिर किन हुन सकेन त खानेपानी शुद्ध?

केयुकेएलका रामेश्वर खानेपानी पूर्वाधार जीर्ण हुनुलाई मुख्य जिम्मेवार मान्छन्। उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा चन्द्रशमशेरका पालामा जडान गरिएका पाइपबाट पानी वितरण भैरहेको छ। कतिपय ठाउँमा ढलमाथि 'क्रसिङ' गरेर खानेपानी पाइप बिछ्याइएको छ। ढल फुट्दा त्यसबाट निस्कने फोहरमैला सिधै खानेपानीसँग मिसिने समस्या छ।

चन्द्रशमशेर पालाका पाइप धेरै मक्किसकेका र खिया परेर प्वाल परिसकेकाले यस्तो जोखिम बढी छ। पाइप धेरै तल पुरिएको र माथि धेरै ठाउँमा घर र सडक बनिसकेकाले कहाँ-कहाँ प्वाल परेको छ भन्ने पत्ता लगाउन पनि असम्भव छ।

हुन त राणाकालका पाइप फेर्ने परियोजना नआएको होइन, तर राजनीतिक खिचातानीले गर्भमै तुहियो। सन् १९९० मा विश्व बैंकले ६ अर्ब रुपैयाँको पाइप पुनर्निर्माण परियोजना ल्याएको थियो। 'तत्कालीन राजनीतिक स्वार्थ र अक्षम व्यवस्थापनका कारण परियोजना सञ्चालन हुन सकेन,' रामेश्वर भन्छन्।

केयुकेएलले महांकाल, बाँसबारी, बोडे, बालाजु, सुन्दरीघाट, सैंबुलगायत ठाउँमा 'टि्रटमेन्ट प्लान्ट' पनि राखेको छ। तर, प्रदूषणका कारण धेरै भएकाले शुद्ध पानी उपभोक्तासम्म पुर्‍याउन नसकेको उसको दाबी छ। 'मक्केका पाइपबाट भेल छिरेर पानी प्रदूषण भएको छ,' रामेश्वर भन्छन्, 'हिउँदमा त्यति प्रदूषण हुँदैन, वर्षामा भने हिलो र लेदो पानी आयो भन्ने गुनासो आउँछ।'

धाराबाट आउने पानी आफैंमा प्रदूषित त छँदैछ, मक्केका पाइपले प्रदूषण अझ बढाएको पनि अनुसन्धानले देखाएको छ। पानी बग्दा पाइपभित्र सूक्ष्म जीवाणुले सतह बनाउँछ। त्यही भएर हातले छाम्दा पाइप चिप्लो हुन्छ। यसलाई 'बायो फिल्म' भनिन्छ। यो जीवाणुहरूको एक समूह हो। केयुकेएलले वितरण गरेको पाइपमा सुडोमोनियाको अंश धेरै देखिएको छ। यस्तो जीवाणु पानीमा बहेर घरका भाँडासम्म आइपुग्छन्।

बोतलको पानीमा पनि उस्तै समस्या छ। खाद्य प्रविधि विभागले हरेकचोटि बोतल पानीको गुणस्तर परीक्षण गर्दा सुक्ष्म जीवाणु भेटेको छ। ती उत्पादन बजार आउन भने कहिल्यै रोकिँदैन।

'बोतल वाटर उत्पादन उद्योगले आफ्ना फिल्टर समयमा फेर्दैनन्,' विभागका प्रवक्ता कोइराला भन्छन्, 'कतिले त सिधै धाराबाट जारमा पानी भरेर वितरण गरिरहेका छन्।'

सबभन्दा जोखिमपूर्ण त बोतलको पानी उत्पादन र वितरण गर्ने धेरै उद्योगसँग आफ्नो प्रयोगशाला नै छैन। बोतलमा राख्नुअघि पानी शुद्ध भए पनि बोतल सफा नगरी पानी भरिँदा प्रदूषित हुन्छ। बिर्को पनि राम्रोसँग लगाइएको हुँदैन। उत्पादन गर्ने उपकरणको सरसफाइ गरिँदैन। जारबाहिरै फोहोर जमेको पनि देखिन्छ।

'ढुंगा, मासु, फोहर र पानी बोक्न एउटै ढुवानी साधन प्रयोग गरिन्छ,' उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय कार्यसमितिका सदस्य रमेशचन्द्र पौडेल भन्छन्, 'कतिले खोलाको पानी सिधै बोतलमा भरिरहेका छन्। जाँच र कारबाही गर्ने निकाय कमजोर हुँदा बोतलको पानी गुणस्तरीय हुन सकेको छैन।'

के भन्छ कानून ?
खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कुनै पनि खाद्य उत्पादन बजारमा लानुअघि गुणस्तर मापदण्ड पूरा गरेको प्रमाणपत्र लिनुपर्छ। सबभन्दा बढी उपयोग हुने पानीमा पनि यही नियम लागू हुन्छ। उद्योगले उत्पादन गर्ने पानी र प्रविधिको निरीक्षण तथा जाँच गर्ने काम खाद्य प्रविधि विभागको हो।

ऐनअनुसार उद्योगहरूले प्रत्येक वर्ष आफ्नो उत्पादन र प्रविधि परीक्षण गरी विभागबाट अनुज्ञापत्र नवीकरण गराउनुपर्छ। तर, मापदण्ड पूरा नगरी उत्पादन गरिएका पानीका बोतल वर्षेनी बजारमा भेटिन्छन्। त्यसमा कारबाही भने हुँदैन। अझ ठूलो बिडम्बना त विभागबाट अनुज्ञापत्रै नलिई पानी उत्पादन र वितरण गर्ने उद्योगको संख्या अनुज्ञापत्र लिनेसँग झन्डै बराबर छ। यस्ता उत्पादन कहाँ हुन्छन्, कसले गर्छन्, सम्बन्धित निकायलाई पत्तो छैन।

'प्रत्येक पसलमा अनुज्ञापत्रको फोटोकपी दिनोस् भनेका छौं, यसबाट मात्र उपभोक्ताले सही उत्पादन रोज्न सक्छन्,' कोइराला भन्छन्, 'अनुज्ञापत्र लिएकाले तुलनात्मक रूपमा सफा पानी उत्पादन र वितरण गरेका छन्।'

अनुज्ञापत्र नलिई बोतलको पानी उत्पादन र वितरण गर्नु अपराध हो। खाद्य ऐन २०२३ को धारा ५ मा भनिएको छ- 'गुणस्तर उल्लंघन गरी उत्पादन बिक्री वितरण गरे सुरुमा एकदेखि दुई हजार रुपैयाँसम्म जरिवान गर्न सकिनेछ। दोस्रोपटक उल्लंघन गरे दुईदेखि पाँच हजार रुपैयाँ जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म जेल सजाय वा दुवै हुनसक्छ।'

कसैले उत्पादनको प्रयोगबाट आफ्नो स्वास्थ्यमा समस्या देखियो भनेर प्रमाणित गरे २५ हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपूर्ति गराउने व्यवस्था छ। तर, प्राविधिक जटिलताका कारण यो व्यवहारमा लागू हुन नसकेको कोइराला बताउँछन्।

सबभन्दा ठूलो बिडम्बना त जुन पानी हामी मिनरल वाटर भनेर पिइरहेका छौं, ती कुनै पनि मिनिरल वाटर होइनन्। कोइराला भन्छन्, 'नेपालमा उत्पादन हुने सबै पानी प्रशोधित (प्रोसेस्ड वाटर) पानी हुन्, मिनिरल वाटर होइन। मिनरल वाटरको छुट्टै मापदण्ड हुन्छ।' विभागमा दर्ता भएका ४४ मध्ये १३ उद्योग मिनिरल वाटरका नाममा दर्ता भएका छन्।

विभागले केही वर्षयता मापदण्ड पूरा नगरेको भनी आयुष वेभरेज, सिनामंगल (अक्वा किंग), इचंगु खानेपानी फुड एन्ड वेभरेज, इचंगु (अक्वा ड्रप्स), पशुपति स्पि्रङ वाटर उद्योग, महांकाल (अक्वा एक्स्प्रेस) र बालाजी मिनेरल वाटर, नागार्जुन (अक्वा लाइस) गरी चार उद्योगको उत्पादनमा रोक लगाएको छ।

उपभोक्ता अधिकारकर्मी पौडेल भने पानीको गुणस्तर नियन्त्रणमा एकीकृत कानुनको अभाव देख्छन्। 'उपभोक्ता हित संरक्षण ऐन छ तर मापदण्डै नभएको अवस्था छ,' उनी भन्छन्, 'कानुन नै अपुरो छ।'

उत्पादनको गुणस्तर परीक्षण तथा निरीक्षण गर्न प्रत्येक जिल्लामा एकजना सरकारी कर्मचारी खटाउने व्यवस्था भए पनि त्यसको कार्यन्वयन शैली जिल्लैपिच्छे फरक छ।

'कहीँ वाणिज्यले त कहीँ घरेलु कार्यालय प्रमुखले बजार अनुगमन गर्छन्। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति समिति पनि छ,' पौडेल भन्छन्, 'ऐन कार्यान्वयन गराउने निकायबीच नै तालमेल छैन, कसरी पाउने उपभोक्ताले न्याय?'


सुद्धिकरण उपाय

उपत्यकाबासीले जुन पानी पिइरहेका छन्, तत्काल त्यसको अर्को विकल्प देखिँदैन। तर उपलब्ध भैरहेको पानी कसरी पिउनयोग्य बनाउने भन्ने उपाय छन्। सरकार उदासीन भए पनि उपभोक्ता आफैं जागरुक भए पानी स्वास्थ्यअनुकूल बनाउन सकिने विज्ञहरू बताउँछन्।

'उपत्यकामा पाइने पानी सिधै पिउन हुँदैन,' नास्टका श्रेष्ठ भन्छन्, 'यसलाई सुद्धिकरण गरेर पिए स्वास्थ्यलाई असर गर्दैन। कम्तिमा उमालेर पिउनुपर्छ।'

प्रदूषित पानीले जन्डिस, पोलियो, झाडापखला, टाइफाइड, रगतमासी, हेपाटाइटिस, हैजा, आउँ, जुका पर्ने, दाँत बिग्रने, कुप्रो पर्नेलगायत रोग लाग्नसक्छ। उपत्यकामा वितरण हुने खानेपानीमा यिनै रोगका जीवाणु भेटिएकाले पनि रोगको जोखिम बढी छ।

'पानीमा सूक्ष्म जीवाणु नहुन् भनेर सुद्धिकरणका लागि क्लोरिन प्रयोग गरिन्छ,' पौडेल भन्छन्, 'तर, क्लोरिनको मात्रा बढी भए पनि क्यान्सर हुन्छ।'

पानी उमाल्ने, केमिकल प्रगोग गर्ने, सोडिस प्रविधिको प्रयोग (घाममा बोतल राखेर तताउने), ओजोनेसन, रिभर्स ओस्मोसिस प्रणाली, अल्ट्राभाइलेन्ट टि्रटमेन्ट (युरोगार्ड, अक्वागार्ड) जस्ता विभिन्न तरिकाले पानी सुद्धिकरण गर्न सकिने उनको सुझाव छ।

'सरकार उदासीन छ, उपभोक्ता पनि जागरुक छैनन्,' पौडेल भन्छन्, 'पहिला त उपभोक्ता नै जागरुक हुनुपर्छ।

उपत्यकामा पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिकामा पानी वितरणको जिम्मेवारी सम्हालेको छ।

संस्थाका अनुसार उपत्यकामा दैनिक पानीको माग २८ करोड लिटर छ। तर, वर्षभरि नै यहाँ मागअनुसार पानी आपूर्ति हुँदैन। वर्षा याममा १६ करोड लिटर र सुख्खामा १० करोड लिटर मात्र वितरण हुँदै आएको केयुकेएलले जनाएको छ।

केयुएकेलले किटान गरेको यो मागको आधार कुनै सर्वेक्षण होइन, खानेपानीको सरकारी धारा जडान गरेका घरपरिवारको संख्या हो, जुन उपत्यकामा १ लाख ६५ हजार छ। तर, फैलिँदो बस्ती र धारा जडान नगरेका उल्लेख्य घरपरिवारलाई समेत आधार मान्दा काठमाडौं उपत्यकामा खानेपानीको माग केयुएकेएलले निर्क्यौल गरेकोभन्दा निकै बढी हुन्छ।

२०५८ को जनगणनालाई आधार मान्दा काठमाडौं महानगरपालिकाभित्र १ लाख ५२ हजार १ सय ५५ घर छन्। त्यस्तै, कीर्तिपुर नगरपालिकामा ६ हजार, ललितपुर उपमहानगरपालिकामा ३४ हजार ९ सय ९६ र भक्तपुरका दुई नगरपालिकामा १ लाख ९३ हजार १ सय ५१ घर छन्। बितेका ९ वर्षमा उपत्यकामा कति घर थपिए र त्यसै आधारमा खानेपानीको माग कति प्रतिशत बढ्यो, त्यसको लेखाजोखा छैन।

केयुकेएलले २३ वटा मुहान र ६४ वटा डिप ट्युबवेलबाट संकलित पानी उपत्यकामा वितरण गर्दै आएको छ। सुख्खा याममा ६५ प्रतिशत मुहान र ३५ प्रतिशत भूमिगत पानी आपूर्ति गरिन्छ भने वर्षामा ८६ प्रतिशत मुहान र १४ प्रतिशत भूमिगत पानी पर्छ। 
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस