'जलवायु न्याय अब अन्तर्राष्ट्रिय नारा मात्र होइन, नेपालको राष्ट्रिय कार्यदिशा बन्नुपर्छ'
२१ असोज २०८३
•
११ मिनेट पाठ
'जलवायु न्याय अब अन्तर्राष्ट्रिय नारा मात्र होइन, नेपालको राष्ट्रिय कार्यदिशा बन्नुपर्छ'
जलवायु परिवर्तनका कारण सिर्जित संकट अब भविष्यको सम्भावित जोखिम मात्र रहेन। यो हाम्रो आँखाअगाडि घटिरहेको वास्तविकता हो। हिमाल पग्लिरहेका छन्, हिमताल र नदी प्रणालीमा जोखिम बढिरहेको छ, वर्षाको ढाँचा अनिश्चित बन्दै गएको छ र बाढी, पहिरो, डुबान, हिमपहिरो तथा अन्य जलवायुजन्य विपद्ले मानव जीवन, पूर्वाधार, अर्थतन्त्र र विकासका उपलब्धिमाथि गम्भीर चुनौती खडा गरिरहेका छन्।




विशेषगरी सन् २०२६ को अगस्टमा भएको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु संकटको गम्भीर चेतावनी दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपद्ले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।

यसै पृष्ठभूमिमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु न्यायसम्बन्धी आवाज विशेष रूपमा मुखर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सम्बोधनमा भोटेकोशी–त्रिशूली विपद्लाई केवल नेपालको स्थानीय त्रासदी नभई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु न्यायलाई संयुक्त राष्ट्रसंघका दस्तावेजमा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने, अनुदानमा आधारित जलवायु वित्त बढाउनुपर्ने र हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।  

यो नेपालको लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय सन्देश हो। तर अब प्रश्न उठ्छ, के यति नै पर्याप्त छ?

मेरो विचारमा, छैन।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेको जलवायु न्यायको मुद्दा अब राष्ट्रिय नीति, संस्थागत संरचना, अनुसन्धान, बजेट, पूर्वतयारी, उद्धार तथा पुनर्निर्माण प्रणालीसँग जोडिनुपर्छ। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा उठाउनुभएको विषयलाई नेपालभित्रै व्यापक राष्ट्रिय अभियान र कार्ययोजनामा रूपान्तरण गर्न आवश्यक छ।

जलवायु संकटको मूल्य नेपालले किन तिर्ने?

जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून छ। तर भौगोलिक र सामाजिक–आर्थिक संवेदनशीलताका कारण नेपाल यसको प्रभावबाट अत्यन्त प्रभावित मुलुकमध्ये एक हो। यसको अर्थ नेपालले आफ्नो जिम्मेवारीबाट पन्छिनुपर्छ भन्ने होइन। नेपालले आफ्नो अनुकूलन क्षमता बढाउनुपर्छ, उत्सर्जन न्यूनीकरणमा योगदान गर्नुपर्छ, हरित विकासलाई अघि बढाउनुपर्छ र आफ्ना प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्नुपर्छ। तर अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ, जसले विश्वव्यापी जलवायु संकटमा ऐतिहासिक रूपमा ठूलो योगदान गरेका छन्, उनीहरूले जोखिममा परेका मुलुकलाई पर्याप्त वित्त, प्रविधि र क्षमता विकासमा सहयोग गर्नुपर्छ। यही नै जलवायु न्यायको मूल प्रश्न हो।

नेपालका लागि जलवायु न्यायको अर्थ केवल क्षतिपूर्ति माग्नु मात्र होइन। यसको अर्थ हो, हानि तथा क्षति, अनुकूलन, उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, प्रविधि हस्तान्तरण, पूर्वसूचना प्रणाली, अनुसन्धान र समुदायको क्षमता विकासका लागि सहज, पर्याप्त, पूर्वानुमानयोग्य र अनुदानमुखी वित्तमा पहुँच सुनिश्चित गर्नु हो ।

अन्तर्राष्ट्रिय जलवायु वित्त अत्यधिक जटिल र प्रक्रियामुखी भएको र विपद्पछि ऋण थपेर पुनर्निर्माण गर्नेभन्दा अनुदानमा आधारित सहयोग आवश्यक रहेको धारणा राख्नुभएको छ।  

अब नेपालभित्रै राष्ट्रिय जलवायु न्यायको मञ्च आवश्यक छ । नेपालले अन्तर्राष्ट्रियस्तरमा बलियो आवाज उठाइरहेको छ। तर त्यही आवाजलाई देशभित्र संस्थागत गर्ने समय आएको छ।एउटा व्यक्ति, एउटा मन्त्रालय, एउटा राजनीतिक दल, एउटा गैरसरकारी संस्था वा एउटा निजी क्षेत्रको पहल वा प्रयासले मात्र जलवायु संकटको समाधान गर्न सक्दैन। यो बहुआयामिक र राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो।

त्यसैले अब प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय राष्ट्रिय जलवायु न्याय तथा उत्थानशीलता संवाद आयोजना गर्न सकिन्छ। यसमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विश्वविद्यालय, अनुसन्धान संस्था, विज्ञ, सञ्चारमाध्यम, युवा, महिला, आदिवासी जनजाति, सीमान्तकृत समुदाय तथा विपद् प्रभावित समुदायलाई सहभागी गराउनुपर्छ।यस्तो राष्ट्रिय संवाद केवल भाषण र प्रतिबद्धतामा सीमित हुनुहुँदैन। त्यसबाट स्पष्ट कार्ययोजना, जिम्मेवारी, समयसीमा र बजेटसहितको राष्ट्रिय जलवायु कार्यढाँचा तयार हुनुपर्छ।चारवटा क्षेत्रमा तत्काल प्राथमिकता निर्धारण गर्नुपर्छ।  

पहिलो, अनुकूलन र उत्थानशीलताः

जलवायु परिवर्तनका वर्तमान तथा भविष्यका जोखिमलाई न्यूनीकरण गर्न स्थानीय तहदेखि राष्ट्रिय तहसम्म वैज्ञानिक, तथ्यमा आधारित जलवायु जोखिम नक्सांकनलाई प्राथमिकता दिनुपर्छ। जोखिममा रहेका बस्ती, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा अन्य महत्वपूर्ण पूर्वाधारको पहिचान गरी तिनको संरक्षण र उत्थानशीलता बढाउने दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। नयाँ पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनसँगै जलवायु जोखिम मूल्यांकनलाई पनि अनिवार्य मापदण्डका रूपमा समावेश गर्नुपर्छ। साथै, स्थानीय समुदायको ज्ञान, अनुभव र सहभागितालाई योजनाको अभिन्न हिस्सा बनाउँदै जलवायु अनुकूल कृषि, प्रकृतिमा आधारित समाधान, पानी संरक्षण, हरित पूर्वाधार तथा जोखिम संवेदनशील भू–उपयोग प्रणालीलाई प्रवर्द्धन गर्नुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय कायम गरी पर्याप्त बजेट, प्रविधि र प्राविधिक जनशक्ति सुनिश्चित गर्न सके मात्र नेपालका विकास संरचना र समुदायलाई जलवायुजन्य विपद्का लागि थप सुरक्षित, सक्षम र उत्थानशील बनाउन सकिन्छ।

दोस्रो, पूर्वसूचना, अनुसन्धान र उद्धारः

जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि नेपालले वैज्ञानिक अनुसन्धान, प्रविधि र पूर्वसूचना प्रणालीमा व्यापक लगानी बढाउन आवश्यक छ। हिमताल, हिमनदी, वर्षा, नदीको बहाव, भू–क्षय तथा पहिरो जोखिमको वास्तविक समय निगरानी गर्न आधुनिक प्रविधि, उपग्रह सूचना, स्वचालित मापन केन्द्र तथा स्थानीयस्तरका सूचना संयन्त्रलाई एकीकृत गर्नुपर्छ। प्राप्त सूचना सरल, विश्वसनीय र समयमै स्थानीय समुदायसम्म पुग्ने गरी बहु–जोखिम पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक छ। साथै, सम्भावित जोखिम क्षेत्रको नियमित जोखिम मूल्यांकन, विपद् पूर्वतयारी अभ्यास तथा समुदायमा आधारित उद्धार क्षमता अभिवृद्धि गर्नुपर्छ। विपद्को समयमा तत्काल परिचालन हुने स्पष्ट कमान्ड संरचना, दक्ष जनशक्ति, आवश्यक उपकरण, सञ्चार प्रणाली तथा पर्याप्त आपतकालीन कोष सुनिश्चित गर्नुपर्छ। विपद्पछि राहतमा मात्र सीमित नभई क्षतिको वैज्ञानिक मूल्यांकन, पुनर्स्थापना तथा 'Build Back Better' अवधारणाअनुसार सुरक्षित र उत्थानशील पुनर्निर्माणलाई संस्थागत गर्नुपर्छ।

नेपाल–भारत–चीनबीचको Himalayan Climate Resilience Mechanism हिमालय क्षेत्रमा बढ्दो जलवायु तथा विपद् जोखिम सम्बोधन गर्ने महत्वपूर्ण क्षेत्रीय पहलका रूपमा विकसित गर्न सकिन्छ। यस संयन्त्रमार्फत उपग्रह तथा वैज्ञानिक तथ्यांकको आदानप्रदान, हिमताल र हिमनदीको नियमित निगरानी, जलवायु तथा मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिमको संयुक्त अध्ययन तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा तीन देशबीच सहकार्यलाई संस्थागत गर्न सकिन्छ। हिमालय साझा पारिस्थितिक प्रणाली भएकाले यसको संरक्षण र जलवायुजन्य जोखिम न्यूनीकरण पनि साझा जिम्मेवारीका रूपमा अघि बढाउन आवश्यक छ।

तेस्रो, जलवायु वित्त र ‘क्लाइमेट क्रेडिट’लाई राष्ट्रिय हितसँग जोड्नेः

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि उपलब्ध अन्तर्राष्ट्रिय जलवायु वित्तमा प्रभावकारी पहुँच विस्तार गर्न संस्थागत क्षमता सुदृढ गर्न आवश्यक छ। यसका लागि उच्च गुणस्तरका परियोजना विकास, वैज्ञानिक अनुसन्धान, विश्वसनीय तथ्यांक प्रणाली,MRV (Measurement, Reporting and Verification) संयन्त्र, कार्बन बजार तथा जलवायु वित्तसम्बन्धी प्राविधिक र मानव संसाधन विकासलाई प्राथमिकता दिनुपर्छ। ‘क्लाइमेट क्रेडिट’ तथा कार्बन क्रेडिटलाई केवल विदेशी मुद्रा वा राजस्व आर्जनको माध्यमका रूपमा नभई जलवायु उत्थानशीलता र दिगो विकाससँग जोडिनुपर्छ। वन संरक्षण, नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, फोहोर व्यवस्थापन, दिगो कृषि तथा प्रकृतिमा आधारित समाधानमार्फत स्थानीय समुदायको सहभागिता र लाभ सुनिश्चित गर्नुपर्छ। साथै, कार्बन तथा जलवायु वित्तबाट प्राप्त लाभको पारदर्शी, समावेशी र न्यायोचित वितरणका लागि स्पष्ट कानुनी तथा संस्थागत शासन प्रणाली विकास गर्न आवश्यक छ। यसले जलवायु वित्तलाई राष्ट्रिय प्राथमिकता र समुदायको हितसँग जोड्ने आधार तयार गर्नेछ।

चौथो, हानि तथा क्षतिको राष्ट्रिय अभिलेख र प्रमाणः

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको हानि तथा क्षतिको वास्तविक अवस्था पहिचान, अभिलेखीकरण र प्रमाणमा आधारित रूपमा प्रस्तुत गर्न राष्ट्रिय जलवायु हानि तथा क्षति अभिलेख प्रणाली विकास गर्न आवश्यक छ। यस प्रणालीमार्फत जलवायुजन्य बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, खडेरी तथा अन्य विपद्बाट हुने मानवीय, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय क्षतिको नियमित र एकीकृत तथ्यांक संकलन गर्नुपर्छ। प्रभावित जनसंख्या, मृत्यु तथा विस्थापन, घर तथा सार्वजनिक पूर्वाधारको क्षति, कृषि तथा पशुपालनमा परेको प्रभाव, प्राकृतिक स्रोतको क्षय र स्थानीय अर्थतन्त्रमा भएको क्षतिलाई समेत व्यवस्थित रूपमा अभिलेख गर्न आवश्यक छ। संघ, प्रदेश र स्थानीय तहका तथ्यांक प्रणालीलाई एकीकृत गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था तथा नागरिक समाजको प्राविधिक सहयोग लिन सकिन्छ। विश्वसनीय र प्रमाणमा आधारित तथ्यांकले नेपालको अन्तर्राष्ट्रिय जलवायु कूटनीतिलाई बलियो बनाउनुका साथै हानि तथा क्षति, जलवायु वित्त र न्यायपूर्ण स्रोत परिचालनका लागि ठोस आधार निर्माण गर्नेछ।

‘राहत–पुनर्स्थापना’बाट ‘पूर्वतयारी–उत्थानशीलता’ तर्फ

हरेक विपद्पछि राहत वितरण, क्षतिको मूल्यांकन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र केन्द्रित हुने परम्परागत दृष्टिकोण अब पर्याप्त छैन। जलवायु परिवर्तनले विपद्को आवृत्ति र जोखिम बढाउँदै गएको अवस्थामा विपद् आउनुअघि नै जोखिम न्यूनीकरण र पूर्वतयारीमा लगानी गर्ने संस्कार विकास गर्न आवश्यक छ। यसका लागि जोखिमयुक्त क्षेत्रको पहिचान, सुरक्षित भू–उपयोग, जलवायु–उत्थानशील पूर्वाधार, समुदायमा आधारित पूर्वतयारी, नियमित विपद् अभ्यास तथा प्रभावकारी पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिनुपर्छ। साथै, विकासका हरेक योजनामा जलवायु तथा विपद् जोखिमलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। राहत र पुनर्स्थापनाका लागि छुट्टै स्रोत सुनिश्चित गर्नुका साथै 'द्यगष्मि द्यबअप द्यभततभच' अवधारणाअनुसार अझ सुरक्षित, दिगो र उत्थानशील संरचना निर्माण गर्ने नीति अवलम्बन गर्नुपर्छ।

सरकारले राष्ट्रिय तथा प्रदेशस्तरमा जलवायु तथा विपद् जोखिमका लागि आवश्यक बजेट सुनिश्चित गर्नुपर्छ। निजी क्षेत्रले पनि आफ्नो लगानीमा जलवायु जोखिम मूल्यांकन र उत्थानशीलता समावेश गर्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले जलवायु जोखिमयुक्त क्षेत्रका लागि बीमा, हरित लगानी र जोखिम न्यूनीकरण वित्तीय साधन विकास गर्न सक्छन्। विश्वविद्यालय र अनुसन्धान संस्थाले प्रमाणमा आधारित समाधान दिनुपर्छ। नागरिक समाजले समुदायको आवाज नीति निर्माणसम्म पुर्याउनुपर्छ।यसका लागि 'एक सरकार, एक संस्था होइन, सम्पूर्ण समाज तथा सरोकारवालाहरुको साझा अभियान' बन्न आवश्यक छ। जसका लागि सरकारले सबैलाई एकै ठाउँमा संयुक्त पहलका लागि अग्रसर हुन जरुरी छ ।  

अब अन्तर्राष्ट्रिय आवाजलाई राष्ट्रिय आन्दोलनमा बदलौँ

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले उठाउनुभएको जलवायु न्यायको विषय नेपालका लागि महत्वपूर्ण अवसर हो। तर यसको वास्तविक सफलता भाषण कति प्रभावशाली भयो भन्नेमा होइन, त्यसपछि नेपालभित्र कति प्रभावकारी काम भयो भन्नेमा निर्भर हुनेछ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय जलवायु छलफलले पनि जलवायु न्याय, अनुकूलन र कमजोर मुलुकसम्म वित्तको पहुँचलाई प्राथमिकतामा राखेको छ।

त्यसैले अब प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय तहको साझा पहल सुरु गरौँ। संघ, प्रदेश र स्थानीय सरकारलाई एउटै कार्यढाँचामा जोडौँ। निजी क्षेत्र, गैरसरकारी संस्था, अनुसन्धानकर्ता, विश्वविद्यालय, सञ्चारमाध्यम र नागरिक समाजलाई एउटै मञ्चमा ल्याऔँ। जलवायु जोखिमको वैज्ञानिक अध्ययन गरौँ। स्पष्ट राष्ट्रिय लक्ष्य निर्धारण गरौँ। आवश्यक स्रोत परिचालन गरौँ। अन्तर्राष्ट्रिय जलवायु वित्त र न्यायका लागि एकीकृत कूटनीतिक रणनीति बनाऔँ।

नेपालले विश्वलाई केवल 'हामी पीडित छौँ' भनेर मात्र भन्नु हुँदैन। नेपालले विश्वसामु 'हामी समाधानको साझेदार हौँ, तर न्यायपूर्ण साझेदारी चाहन्छौँ' भन्ने सन्देश दिनुपर्छ।आज भोटेकोशीले दिएको चेतावनीलाई हामीले सुन्नैपर्छ। भोलि अर्को विपद् आउनुअघि नै तयारी गनैपर्छ।जलवायु न्याय अब नेपालको कूटनीतिक एजेन्डामात्र होइन; यो राष्ट्रिय सुरक्षा, विकास, अर्थतन्त्र, वातावरण र मानव जीवनको साझा एजेन्डा हो, र यसको समाधान पनि साझा हुनुपर्छ।

सरकारबाट नेतृत्व हुनैपर्छ, सबै क्षेत्रलाई साथमा जोडौँ, प्रमाणमा आधारित योजना बनाऔँ र आवश्यक स्रोत सुनिश्चित गरौँ। किनकि जलवायु संकट कसैको एक्लो समस्या होइन, यसको समाधान पनि कसैको एक्लो जिम्मेवारी हुन सक्दैन।सँगै उभिएर, सँगै योजना बनाएर र सँगै कार्यान्वयन गरेर मात्र हामी जलवायु संकटलाई न्याय, उत्थानशीलता र दिगो भविष्यको अवसरमा बदल्न सक्छौँ।

-(लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।)
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस