नेपाली कांग्रेस : अन्तरसंघर्ष र पुनर्जागरण
०२ भदौ २०८३
•
१२ मिनेट पाठ
नेपाली कांग्रेस : अन्तरसंघर्ष र पुनर्जागरण
नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन, लामो लोकतान्त्रिक आन्दोलनको संस्थागत अभिव्यक्ति पनि हो। २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसले राणा शासनविरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान सभाबाट नेपालको संविधान–२०७२ निर्माणसम्म नेपालको राजनीतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ।




आज पनि कांग्रेसको आधिकारिक राजनीतिक परिचय राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आधारित छ। तर इतिहासको गौरवले मात्र वर्तमानका चुनौती समाधान गर्न सक्दैन। नेपाली कांग्रेस अहिले बाह्य राजनीतिक चुनौती, नवयुवा पुस्ताको बदलिँदो अपेक्षा र पार्टीभित्र तीव्र बन्दै गएको नेतृत्व तथा संगठनात्मक अन्तरसंघर्षका कारण एउटा महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ। त्यसैले आज कांग्रेसको प्रश्न केवल सत्ता, शक्ति र संघर्षको विषयमा सीमित छैन। यो विचार, विमर्श, संगठनात्मक पुनर्संरचना र २१औँ शताब्दीको समाज रूपान्तरणका लागि स्पष्ट कार्यदिशासँग पनि जोडिएको छ। कांग्रेसको रूपान्तरण अब सामाजिक उत्तरदायित्व बहन गर्ने र जनताको जीवनसँग प्रत्यक्ष जोडिने दिशामा उन्मुख हुन आवश्यक छ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको विद्रोह नेपालको राजनीतिमा एउटा महत्वपूर्ण पुस्तान्तरणको संकेतका रूपमा देखापर्‍यो। बढ्दो भ्रष्टाचार, राजनीतिक संरक्षणवाद, अवसरको असमान वितरण, बेरोजगारी, कमजोर सार्वजनिक सेवा तथा पुरानो राजनीतिक संस्कारप्रतिको असन्तुष्टि सडकमा अभिव्यक्त भयो। उक्त विद्रोहले परम्परागत राजनीतिक दलहरूलाई एउटा असहज तर गम्भीर प्रश्नसमेत गर्‍यो।

लामो संघर्ष र बलिदानको इतिहास भएका राजनीतिक दल तथा तिनका नेताहरूले लोकतन्त्र स्थापना भएपछि त्यसको लाभ नागरिकको दैनिक जीवनमा अपेक्षित रूपमा पुर्‍याउन किन सकेनन्? जनसरोकारसँग जोडिएका यी प्रश्न नेपाली कांग्रेसका लागि अझ गम्भीर छन्, किनकि कांग्रेसले आफूलाई नेपालको लोकतान्त्रिक आन्दोलनको प्रमुख संवाहकका रूपमा प्रस्तुत गर्दै आएको छ। त्यसैले जेनजी विद्रोहलाई केवल कुनै सरकार वा कुनै राजनीतिक दलविरुद्धको क्षणिक असन्तुष्टिका रूपमा बुझ्नु ऐतिहासिक भूल हुनेछ। यो पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको मागसमेत हो भन्ने यथार्थलाई स्वीकार गर्नुपर्छ। नेपाली कांग्रेसले यसलाई केवल चुनौतीका रूपमा होइन, आत्मसुधार, संगठनात्मक पुनर्निर्माण र राजनीतिक पुनर्जागरणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ।

जेनजी पुस्ताका युवाहरूको विद्रोहबाट असामान्य राजनीतिक परिस्थिति सिर्जना भएपछि उठेका सशक्त आवाजलाई सम्बोधन गर्दै युवाहरूलाई राजनीतिको मूलप्रवाहमा अर्थपूर्ण रूपमा सहभागी गराउनु आवश्यक भयो। यही सन्दर्भमा नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने परिस्थिति सिर्जना भयो। नेतृत्वले नियमित महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाइरहेको दाबी गरिरहँदा पार्टीभित्रको एउटा ठूलो समूहले मुलुकमा देखिएको असामान्य परिस्थितिको सम्बोधन गर्न तत्काल विशेष महाधिवेशन आवश्यक रहेको तर्क अघि सार्‍यो। नेपाली कांग्रेस विधान–२०१७ को धारा १७(२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई आधार बनाउँदै विशेष महाधिवेशनको माग अघि बढाइयो। तर तत्कालीन नेतृत्वले त्यसको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाएपछि कांग्रेसभित्र दुई धारबीच गम्भीर राजनीतिक तथा कानुनी संघर्ष सुरु भयो।

विशेष महाधिवेशनको मुख्य विवाद यसको वैधानिकतामाथि केन्द्रित थियो। तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको दाबी गर्दै त्यसमा सहभागी नहुन आग्रह गर्‍यो भने विशेष महाधिवेशनका समर्थकहरूले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई विधानले सुनिश्चित गरेको अधिकारका रूपमा व्याख्या गर्दै महाधिवेशन प्रतिनिधिहरूको मागबमोजिम निर्धारित अवधिभित्र महाधिवेशन बोलाउन बाध्यकारी हुने तर्क गरे। अन्ततः विशेष महाधिवेशन सम्पन्न भयो र विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भयो। गगनकुमार थापा नेपाली कांग्रेसको सभापति बन्नुभयो र उहाँकै नेतृत्वमा फागुन २१ गते आमनिर्वाचन सम्पन्न भयो। विशेष महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि विवादले थप संस्थागत रूप लियो। त्यसपछि सर्वोच्च अदालतले पनि ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग आएपछि तोकिएको अवधिभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई बाध्यकारी प्रावधानका रूपमा व्याख्या गरेको छ।

यससँगै विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद केवल राजनीतिक दाबीको विषयमा सीमित रहेन, राज्यका सम्बन्धित संवैधानिक तथा न्यायिक निकायका निर्णयबाट समेत यसले संस्थागत निष्कर्ष प्राप्त गरेको अवस्था देखिन्छ। राजनीतिक रूपमा हेर्दा विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा एउटा नयाँ अध्याय सुरु गरेको छ। एउटा पक्षले यसलाई बदलिँदो समयअनुकूल पार्टी रूपान्तरण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ भने अर्को पक्षले यसलाई १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विस्थापित गर्ने प्रक्रियाका रूपमा लिएको छ। यी दुई दृष्टिकोणबीचको अन्तरलाई अब निरन्तर द्वन्द्वको विषय बनाइराख्नु भन्दा पार्टीको भविष्यका लागि रचनात्मक बहसमा रूपान्तरण गर्नु आवश्यक छ।

नयाँ नेतृत्वको पहिलो उपलब्धि पुरानो नेतृत्वलाई विस्थापित गर्नु मात्र हुन सक्दैन। यसको वास्तविक सफलता पार्टीको संस्थागत पुनर्निर्माण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, संगठनको पुनर्जीवन र जनविश्वासको पुनर्स्थापनाबाट मापन हुनुपर्छ। विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा पार्टीभित्र नयाँ राजनीतिक ऊर्जा र परिवर्तनको आकांक्षा देखिएको छ। “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नाराले पनि यही अपेक्षा र भरोसालाई प्रतिबिम्बित गरेको देखिन्छ। तर नयाँ नेतृत्वका अगाडि सबैभन्दा कठिन परीक्षा आफ्नो नेतृत्वप्रति असहमत पक्षलाई कसरी साथमा लिएर अघि बढ्ने र पार्टीलाई लोकतान्त्रिक संरचनाभित्र अझ सुदृढ कसरी बनाउने भन्ने हो। लोकतान्त्रिक पार्टीको नेतृत्वको वास्तविक शक्ति आफ्ना समर्थकको संख्याले मात्र होइन, आफूसँग असहमत विचार र व्यक्तिलाई समेत संस्थाभित्र सम्मानजनक स्थान दिन सक्ने क्षमताले मापन हुन्छ।

यसैबीच नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले देशका विभिन्न प्रदेशमा भेला, छलफल तथा संगठनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। प्रदेशस्तरीय भेलामार्फत पार्टीको बृहत्तर एकता, भावी कार्यदिशा तथा १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितामा सम्पन्न गर्न साझा संयन्त्र आवश्यक रहेको धारणा सार्वजनिक हुँदै आएको छ। लोकतान्त्रिक पार्टीभित्र नेतृत्वको आलोचना गर्ने, वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने र संगठनको भविष्यबारे बहस गर्ने अधिकारलाई अस्वाभाविक मान्न सकिँदैन। बरु यस्ता बहसले पार्टीलाई थप जीवन्त बनाउन सक्छन्। तर समस्या असहमतिको अस्तित्वमा होइन, असहमति संस्थागत बहसबाट बाहिर निस्केर समानान्तर संगठनात्मक संरचनातर्फ उन्मुख हुने अवस्थामा उत्पन्न हुन सक्छ।

चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गर्नु तथा विभिन्न तहमा छुट्टै संगठनात्मक गतिविधि सञ्चालन गर्नुले यस विषयलाई थप गम्भीर बनाएको छ। संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको सन्दर्भमा पार्टी एकताका लागि गरिएका प्रयास सार्थक हुन नसकेपछि राष्ट्रिय बहस र नयाँ कार्यदिशाका लागि यस्तो भेला आवश्यक भएको इतर पक्षको तर्क छ। तर कांग्रेसको आधिकारिक संरचनाभन्दा बाहिरबाट राष्ट्रिय स्तरका राजनीतिक निर्णय र संगठनात्मक गतिविधि सञ्चालन गर्ने अभ्यासले पार्टीलाई बलियो बनाउँछ कि कमजोर? यो प्रश्नमा गम्भीर बहस आवश्यक छ। कुनै पनि लोकतान्त्रिक दलमा भेला, छलफल र विचार निर्माण निषेध हुनु हुँदैन, तर राष्ट्रिय राजनीतिक निर्णय, संगठनात्मक संरचना तथा पार्टीको आधिकारिक कार्यदिशा निर्धारण गर्ने अधिकार पार्टीको विधानसम्मत निकायमा नै रहनुपर्छ। त्यसैले पार्टीको आधिकारिक संरचनाभन्दा बाहिरबाट हुने कुनै पनि गतिविधिले समानान्तर शक्ति केन्द्र निर्माण गर्ने अवस्था सिर्जना गर्नु हुँदैन।

यदि राष्ट्रिय भेलाको उद्देश्य नेतृत्वलाई रचनात्मक दबाब दिनु, १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन बहस सिर्जना गर्नु तथा पार्टीभित्र सुधारको वातावरण निर्माण गर्नु हो भने संवादको ढोका खुला राखिनुपर्छ। तर त्यस्ता गतिविधि समानान्तर संगठन निर्माण गरी अन्ततः पार्टी विभाजनको आधार तयार गर्ने दिशामा अघि बढे भने त्यो नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र सहिदहरूको योगदानप्रति अन्याय हुनेछ।

कांग्रेस विभाजित हुँदा तत्काल कुनै एउटा समूहले आफूलाई विजयी ठाने पनि दीर्घकालमा यसको क्षति मुलुक, लोकतन्त्र र स्वयं नेपाली कांग्रेसलाई हुनेछ। नेपाली कांग्रेसको शक्ति कुनै एक नेता, परिवार वा गुटमा सीमित छैन। यसको वास्तविक शक्ति देशभर फैलिएको संगठन, लोकतान्त्रिक आन्दोलनको इतिहास र लाखौँ पार्टी सदस्यहरूको भावनात्मक सम्बन्धमा आधारित छ। त्यसैले अहिलेको आवश्यकता गुटगत शक्ति परीक्षण होइन, संस्थागत एकता र जनविश्वासको पुनर्निर्माण हो। समानान्तर संगठनको अभ्यासले केन्द्रबाट सुरु भएको विवाद वडा तहसम्म पुग्ने जोखिम हुन्छ। त्यसपछि पार्टी सदस्यले विचार र नीतिका आधारमा होइन, व्यक्तिका आधारमा समूह रोज्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। अझ महत्वपूर्ण कुरा, जेनजी पुस्ताले पुराना राजनीतिक दलहरूप्रति प्रश्न गरिरहेको समयमा नेपाली कांग्रेस स्वयं गुटगत संघर्षमा फस्यो भने नयाँ पुस्तामा राजनीतिक निराशा अझ बढ्न सक्छ। त्यसैले आज कांग्रेसलाई विजयभन्दा बढी विश्वासको राजनीति आवश्यक छ।

नेतृत्वको सबैभन्दा ठूलो परीक्षा विपक्षी वा अन्य राजनीतिक दलसँग मात्र होइन, आफ्नै पार्टीभित्रको असन्तुष्ट पक्षसँगको सम्बन्ध व्यवस्थापनको कुशलतामा हुनेछ। नेतृत्वले असहमतिको विषयलाई सहमतिको प्रक्रियामा लैजान निम्न कार्यहरू गर्न जरुरी छ।

१. इतर समूहका प्रमुख नेताहरूसँग औपचारिक संवादको संयन्त्र बनाउनुपर्छ। असन्तुष्टिलाई सार्वजनिक आरोप–प्रत्यारोपमा होइन, पार्टीको बैठक र संस्थागत प्रक्रियामा ल्याउनुपर्छ।

२. पार्टी संगठनमा अवसर र जिम्मेवारी वितरण गर्दा गुटगत निष्ठाभन्दा क्षमता, योगदान, समावेशिता र जनाधारलाई आधार बनाउने प्रतिबद्धतासहित कार्यान्वयनको ग्यारेन्टी आवश्यक हुन्छ।

३. गुटगत अविश्वासलाई तोड्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशन तत्काल गर्ने गरी सबै पक्षले विश्वास गर्ने समय, प्रक्रिया, प्रतिनिधित्व र निर्वाचन संयन्त्र निर्माणका विषयमा स्पष्टता आवश्यक हुन्छ।

४. नेपाली कांग्रेसको बहस गुट वा अरू कुनै व्यक्तिको वरिपरि केन्द्रित हुनु हुँदैन। हाम्रो बहस र पैरवी रोजगारीको सिर्जना गर्ने, युवामैत्री अवसर, भ्रष्टाचार नियन्त्रण, सामाजिक उत्तरदायित्व र राज्यलाई जवाफदेही बनाउने, शिक्षा र स्वास्थ्यमा गुणस्तर ल्याउने, कृषि, पर्यटन र कृषिजन्य उत्पादनलाई अर्थतन्त्रको आधार बनाउने, प्रविधि र उद्यमशीलतालाई राष्ट्रिय विकासको मानक बनाउनेसम्बन्धी विषयहरूमा कांग्रेसको स्पष्ट दृष्टिकोण निर्माण हुनुपर्दछ।

५. दोष केवल नेतृत्वलाई दिने होइन। इतर समूहले पनि आफूलाई प्रश्न गर्नुपर्छ। कांग्रेसभित्र सुधार चाहिएको हो कि आफ्नो छुट्टै शक्ति केन्द्र? यदि सुधार चाहिएको हो भने पार्टीभित्रै लोकतान्त्रिक संघर्ष गर्नुपर्छ। नेतृत्वको कार्यशैली सुधारका लागि वैधानिक विकल्प प्रस्तुत गर्नुपर्छ। तर समानान्तर संगठन निर्माण गरेर पार्टीलाई दुई ध्रुवमा विभाजित गर्ने बाटो अन्ततः कसैका लागि हितकर हुँदैन। प्रश्न गर्नु र असहमति राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो, तर संस्थालाई कमजोर पार्नु लोकतान्त्रिक चरित्र हुन सक्दैन। नेतृत्व बदल्नु लोकतान्त्रिक प्रक्रिया हो, तर नेतृत्व बदल्ने नाममा संस्था नै कमजोर बनाउनु अराजनीतिक चरित्र हो।

६. हाम्रा छलफल र बहसको केन्द्रविन्दु युवा पुस्ता हुनु जरुरी छ। युवाहरूको चाहना, सोच र अपेक्षाअनुसार पार्टीका गतिविधि अगाडि बढाउनुपर्दछ। विशेष गरी सुशासन र सेवा प्रवाहमा जोड दिँदै दल, राज्य र समाजप्रति युवाहरूको विश्वास जगाउने सन्दर्भमा हामीले काम गर्नुपर्दछ।

कांग्रेसलाई केवल गुट मिलाउने वा गुट भत्काउने सन्दर्भमा मात्र हेरेर समस्याको निकास खोज्न सकिँदैन। आज कांग्रेसलाई पार्टी नेतृत्व र इतर पक्षबीच मात्र होइन, कांग्रेस र नेपाली जनताबीच पनि एउटा नयाँ राजनीतिक विश्वास र सम्बन्धको निर्माण गर्न आवश्यक छ। जनतामा छाएको निराशा तोड्दै कांग्रेसले स्पष्ट रूपमा भन्न सक्नुपर्छ—हामी विगतका गल्ती दोहोर्‍याउने छैनौँ, युवाको आवाज सुन्नेछौँ, भ्रष्टाचारविरुद्ध कुनै सम्झौता गर्ने छैनौँ, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनेछौँ, व्यक्तिभन्दा संस्थालाई ठूलो बनाउनेछौँ र हामी केवल निर्वाचन जित्ने होइन, देश चलाउन सक्षम र उत्तरदायी पार्टी बन्नेछौँ। यही विचार, प्रतिबद्धता र कार्यदिशाले नेपाली कांग्रेसको पुनर्जागरणको आधार तयार गर्न सक्छ।

नेपाली कांग्रेस अहिले इतिहासको एउटा निर्णायक मोडमा छ। एकातर्फ नयाँ पुस्ताको असन्तुष्टि, पार्टीभित्रको अन्तरसंघर्ष र नयाँ नेतृत्वप्रति असीमित अपेक्षा छ भने अर्कोतर्फ पुरानो नेतृत्व र संरचनासँग जोडिएको ठूलो राजनीतिक अनुभव र संगठनात्मक शक्ति पनि छ। यी दुई वस्तुगत अवस्थालाई टकरावमा होइन, रचनात्मक रूपान्तरणमा जोड्न सकियो भने वर्तमान संकट नै कांग्रेसको पुनर्जागरणको आधार बन्न सक्छ।

कांग्रेसभित्र फरक मत रहोस्, बहस होस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, तर लोकतान्त्रिक मूल्यमान्यता, संस्थागत प्रक्रिया र पार्टी एकतामा ह्रास आउने वातावरण निर्माण नहोस्। किनकि लोकतान्त्रिक पार्टीभित्र नेतृत्व परिवर्तन सम्भव हुन्छ, तर इतिहासको उत्तराधिकार र जनताको विश्वास पुनर्निर्माण गर्न फेरि दशकौँ लाग्न सक्छ। त्यसैले आज नेपाली कांग्रेसलाई फुटाउने राजनीति होइन, बदल्ने राजनीति आवश्यक छ। गुटगत स्वार्थभन्दा संस्थागत हित, व्यक्तिभन्दा विचार र सत्ता र शक्तिको राजनीतिभन्दा जनविश्वासलाई प्राथमिकता दिन सकियो भने यही रूपान्तरणको यात्राले नेपाली कांग्रेसलाई पुनः जनताको कांग्रेसका रूपमा स्थापित गर्न सकिन्छ।

(लेखक नेपाली कांग्रेस चितवनका सचिव हुनुहुन्छ।)
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस