पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
२२ पौष २०७९
•
४ मिनेट पाठ
पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्।  




दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो। ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन्। खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ। तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो।  

तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो। ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ। ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ। तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ। बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ।  

लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ। यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताए। उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउँछन्।

टीकाराम भन्छन्, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ।’ उनी सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउँछन्। अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ। उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए। अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउँछन्।

‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ’, उनले भने, ‘ताललाई व्यवस्थित बनाइएको छ,  तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ।’

स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइन्। बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउँछिन्। केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ। चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन्।

‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे’, उनले भनिन्, ‘यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन्।’

तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ। यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए। अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए। गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ।

‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाख रुपैयाँको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ’, सूचना अधिकारी गिरीले भने, ‘ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवद्र्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ।’

निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए। उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए।  

अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ।’

ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ। यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन्। तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ। आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन्।
अर्को समाचार
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
१ घण्टा अघि
•
१ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।




नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म देशभित्रको खपतपछि बचत भएको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा बिक्री गरिएको हो।

प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ। चार महिनाको औसत विद्युत् बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ।

कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ। उक्त महिनामा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, असोज महिनामा सबैभन्दा धेरै विद्युत् निर्यात भएको छ। सो महिनामा ६५ करोड ९ लाख युनिट विद्युत् बिक्री गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको थियो। असोजमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा पुगेको थियो।

प्राधिकरणले देशभित्र खपत भएर बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ।

यसका साथै द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ।

नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् बिक्री हुँदै आएको छ। हरेक वर्ष वर्षायामको छ महिनामध्ये जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ।

भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यस वर्ष त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् निर्यात प्रभावित भएको बताएका छन्। 

भदौ र असोजमा आएको बाढीले विद्युत् उत्पादन तथा प्रसारणका संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको उत्पादन बन्द भएको उनले बताए।

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य मात्रामा निर्यात गर्न प्राधिकरण सफल भएको श्रेष्ठको भनाइ छ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो। गत आर्थिक वर्षमा विद्युत् आयातको तुलनामा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो।
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस