२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वायु प्रदूषणः पर्यटन क्षेत्र पनि प्रभावित, हवाई उडानको टुंगो छैन, खुसी छैनन पाहुना

पोखरा महानगरपालिका–१८ सेदीस्थित मकैखोरिया सामुदायिक वनमा लागेको डढेलो, पृष्ठभूमिमा पोखरा–सराङकोट जोड्ने केवलकार। तस्बिरः नागरिक

पोखरा महानगरपालिका–१८ सेदीस्थित मकैखोरिया सामुदायिक वनमा लागेको डढेलो दुइदिनदेखि नियन्त्रणमा छैन। दिनरात जलिरहेको जंगलबाट निस्केको धुँवाले अत्तालिएका एकजना विदेशी पर्यटक बसिरहेको रिसोर्ट छाडेर अन्यत्र बसाई सरे।दृष्यावलोकन गर्न नपाएको, धुँवाले बसिरहेको रिसोर्ट घेरेको ती पाहुनाको गुनासो थियो। यस्तै समस्या देखाउँदै केहीदिन अघि पनि सराङकोटबाट बसाई सरेर एकजना विदेशी पर्यटक त्यही रिसोर्टमा बास बस्न पुगेका थिए।  

वन डढेलोले पर्यटनमा पारेको अप्ठेरोको उदाहरण त्यत्तिमात्र होईन, तीनदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडान पनि प्रभावित छन, जसले गर्दा तोकिएको समयमा पर्यटक गन्तव्य पुग्न पाएका छैनन। बिहान ६ बजे नै खुल्ने विमानस्थल ६–७ घण्टासम्म ढिलागरि खुल्न थालेको छ। बेलैमा उडान नहुँदा विमानस्थलमा यात्रुको भीड बढ्ने गरेको छ । कतिपय उडान नै रद्द हुन थालेका छन्। बुधबार पनि मध्यान्ह १२ बजे मात्र विमानस्थल खुलेको थियो।  

त्यत्तिमात्र नभई पोखराको आकाशमा उडान हुने अल्ट्रालाइट, प्याराग्लाइडिङ लगायतका गतिविधि पनि प्रभावित भएका छन। उडान भईहालेपनि पर्यटकले हिमाली दृष्य देख्न पाएका छैनन। आसपासको दृष्य देख्न नपाउँदा पर्यटक खिन्न हुने गरेका छन। कतिपयले त उडान नै रद्द पनि गर्न थालेका छन।  

‘वन डढेलोको प्रभाव वायु प्रदूषणमा मात्र सीमित छैन। त्यसको प्रभाव पर्यटनमा पनि परेको छ,’ पोखराका पर्यटन व्यावसायी दोर्जे लामाले भने, ‘पोखराको अहिलेको प्रदूषणले पर्यटक पटक्कै खुसी छैनन। कतैको पनि दृष्यावलोकन गर्न नपाएको उनीहरुको गुनासो छ।’

सिजनको बेलाको पाहुना आगमनमा वायु प्रदूषण बाधक बनेको उनले बताए। लामाका अनुसार वायु प्रदूषणका कारण पर्यटकले बसाई सराई समेत गर्न थालेका छन। ‘सबैतिर धुँवाले ढाकेपछि पर्यटकले पनि अत्तासिएको अनुभूति गरेका छन,’ उनले भने, ‘खुला रुपमा रमाउन नपाएको उनीहरुको गुनासो छ।’लामाका अनुसार भिजिविलिटी नपुग्दा पर्यटकहरु बेलैमा गन्तव्य पुग्न पाएका छैनन।

काठमाडौंबाट पोखरा आउने पर्यटक बेलैमा उडान नहुँदा आउन नसकेको उनले बताए। ‘विमानस्थल पनि बेलैमा खुल्न सकेको छैन। पाहुनाको आउजाउको समय नै टुंगा लाग्न पाएको छैन,’ उनले भने, ‘कुन बेला उडान हुने भन्ने ठेगान नलाग्दा पर्यटकलाई अन्योल हुने गरेको छ।’

पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडान पनि वायु प्रदूषणका कारण प्रभावित भएको व्यावसायीले बताएका छन। ‘उडान नै नहुने भन्ने त होईन। उडेका पाहुना खुसी भने छैनन,’ प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था हवाई खेलकुद संस्था (ना) निवर्तमान अध्यक्ष कृष्ण भण्डारी भन्छन, ‘उड्नका लागि मात्र उड्ने अवस्था छ। आकाशबाट हिमाल, ताल, सहर, आसपासको बस्ती, वनजंगल कतै केही देखिन्न। प्याराग्लाइडिङको यतिबेलाको उडान अनुभव बटुल्नमा मात्र सीमित छ। दृष्यावलोकनका लागि तुँवालो बाधक छ।’ पर्यटकीय सिजन भएपनि यतिबेला दिनमा २ सय देखि ३ सय हाराहारीमा मात्र उडान भएको उनले बताए।  

भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हवाई कम्पनिले बताएका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्याह् १२ बजेमात्र खुलेको थियो। खासमा अरु बेला विमानस्थल बिहान ६ बजे नै खुल्छ। तर, तुँवालोका कारण भिजिविलिटी नपुगेर ६ घण्टा ढिलागरि विमानस्थल खुलेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए। उनका अनुसार प्रदूषणले भिजिविलिटी नपुग्दा बुधबार पोखरा–भरतपुर उडान रद्द भएको थियो। पोखरा–काठमाडौंका उडान ६ घण्टासम्म प्रभावित भएका थिए।  

‘बेलैमा उडान नहुँदो पिरलो हामीलाई छ। यात्रु छट्पटिएर बस्ने गरेका छन। ६–७ घण्टासम्म यात्रु विमानस्थलमै अलपत्र पर्ने गरेका छन,’ गौतमले भने, ‘उडान ढिला हुँदै जाँदा यात्रुुमा अन्योल थपिने मात्र नभई विमानस्थलमा व्यवस्थापनमा पनि समस्या हुने गरेको छ। यात्रु भीडभाडले बस्ने ठाउँसमेत अभाव हुन्छ।’  

उनका अनुसार तीनदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान वायु प्रदूषणका कारण प्रभावित छ। उडान ढिला नभएको दिनै नहुने उनले बताए। ‘बिहान १० बजेसम्म ६ सय यात्रु भेला भईसक्छन। बस्ने ठाउँ पनि पुग्दैन। उडान व्यावस्थापनमा हामीलाई सकस पर्छ । यात्रु अत्तालिएर बसेका हुन्छन,’ उनले भने। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि कम्तिमा ३८ सय मिटर भिजिविलिटी चाहिन्छ। तर, अहिले भिजिविलिटी घटेर दुइहजार मिटरसम्म पनि झर्ने गरेको छ।  

राजधानी काठमाडौं सबैभन्दा प्रदूषित सहर भएको भन्ने सन्देश प्रवाहित हुँदा त्यसको असर पर्यटनमा पनि पर्ने व्यावसायीको चिन्ता छ। विज्ञहरुले काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुग्ने भन्दै चेतावनि दिँदा त्यसको प्रभाव पर्यटनमा पर्ने व्यावसायीको चिन्ता छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘अहिले नै पर्यटनमा असर परेको त होईन। तर, यस्तै अवस्था रह्यो भने पर्यटकले नेपालबारेको यात्रामा सोच्ने अवस्था आउन सक्छ। वायु प्रदूषणका कारण संघीय राजधानी नै अप्ठेरोमा रहेको भन्ने सन्देशले असर पार्न सक्छ।’  

उनका अनुसार दृष्यावलोकन र घुमघाममा पनि यो प्रदूषणले केही असर भने पारेको छ। बेलैमा तोकिएको गन्तव्यमा पुग्न नपाउने गरि हवाई सेवा ढिला हुने गरेको छ। ‘दृष्यावलोकन पनि गर्न पाइने अवस्था छैन। तोकिएको समयमा उडान र अवतरण हुने अवस्था छैन। अझ हावाहुरीले त पोखराको अवस्था दिनहुँजसो अस्तव्यस्त पार्ने गरेको छ,’ उनले भने, ‘पोखराबाट बिहानै देखिने हिमाल हेर्न नपाउँदा पर्यटक खुसी भने छैनन। सिजनको बेलाको आगमनमा असर पार्न सक्छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पर्यटकलाई पोखराको आकाशमा सयर गराउने गरि उडान हुने अल्ट्रालाइट सेवा प्रभावित भएको छ। दृष्यावलोकनका लागि उड्ने पाहुना उड्न छाडेका छन। ‘अल्ट्रालाइटको उडान पनि प्रभावित छ । मौसम सुधार नहुँदा सम्म पर्यटनमा असर पर्ने पक्का छ,’ पोखरा अल्ट्रालाइट कम्पनिका संचालक समेत रहेका श्रेष्ठले भने, ‘हिमाल खुलेको छैन। त्यसैले उडेका पाहुना पनि खुसी छैनन । बेलैमा हवाई उडान नहुँदा नियमित आउजाउ पनि प्रभावित छ।’  

प्रकाशित: २८ चैत्र २०८० १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App