७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एमसिसीको पहिलो ठेक्का सम्झौता, ३९ महिनामा नवलपरासीमा सबस्टेसन बन्ने

अमेरिकी सहायता नियोग (एमसिसी) अन्तर्गत नेपालमा निर्माण हुने आयोजनाहरूको पहिलो ठेक्का सम्झौता भएको छ।

पहिलो ठेक्काअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बन्ने ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माण गर्ने योजना छ। उक्त ठेक्का भारतको लिंकसन इन्डिया प्रालीले पाएको छ।

बिहीबार नवलपरासीमा एक समारोहबीच एमसिए–नेपाल र ठेक्का प्राप्त कम्पनी लिंकसनबीच निर्माण सम्झौता भएको हो। सम्झौता समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, स्थानीय अधिकारीहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त ठेक्का सम्झौताको अवधि ३९ महिना निर्धारण गरिएको छ। सम्झौताअनुसार लिंकन इन्डियाले ३९ महिनामा सबस्टेशन निर्माण गरेर एमसिए–नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ।

समारोहमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा आवश्यकता सम्बोधनका गर्न एमसिसी कम्प्याक्टको उपयोगिता सिद्ध गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताए।

उनले एमसिसीको सहयोगमा निर्माण हुन लागेको सबस्टेसनले घरेलु उपभोग, व्यापारिक एवं औद्योगिक संस्थाहरूको विस्तार तथा सीमापार विद्युतीय व्यापारका लागि प्रसारण क्षमतामा सुधार ल्याउने बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले न्यु बुटवल सबस्टेसन  प्राधिकरणको प्राथमिकतामा परेको संरचना रहेको बताउँदै यसले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान पुर्‍याउने बताए।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी कम्प्याक्ट कार्यान्वयनमा तीव्रतापूर्वक अगाडि बढिरहेको बताए।

उनले भने, ‘प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइएको छ।’ उनले बाँकी दुई वटा सबस्टेसनको निर्माणका लागि खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको बताए।

एमसिसीअन्तर्गत विद्युत् प्रसारण आयोजनाअन्तर्गत नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक–एक वटा सबस्टेसन निर्माण गर्ने योजना छ।

प्रकाशित: २७ वैशाख २०८१ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App