राष्ट्रिय गौरव आयोजनाको उपहास: पुल एकातिर, खोला अर्कैतिर
०६ जेष्ठ २०८१
•
७ मिनेट पाठ
राष्ट्रिय गौरव आयोजनाको उपहास: पुल एकातिर, खोला अर्कैतिर
जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ।




राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो। बेनी–जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले नौ करोड ९० लाखमा ठेक्का लिएको थियो।

जोमसोमदेखि वारागुङ मुक्ति क्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकमा पर्ने पाण्डाखोलाको पुलको सतहसम्म नै गेग्रान थुप्रिएको छ।

हरेक बर्खामा आउने बाढीले जोमसोम-कागबेनी-कोरला सडकमा यातायात प्रभावित हुने गरेको छ। त्यति बेलाको मापदण्डअनुसारकै उचाइ भएको पुल बने पनि कालीगण्डकीको सहायक पाण्डा खोलामा आउने बाढी र थुप्रिने गेग्रानले पुल जोखिममा परेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए।

‘धार परिवर्तन गरिरहने मुस्ताङका खोलाहरु सधैँ एकै ठाउँबाट नबग्ने भएकाले एकातिर पुल बन्ने, खोला अर्कैतिरबाट बग्ने समस्या देखिएको हो’, उनले भने, ‘खोलाले धार परिवर्तन गरिरहने र अनपेक्षित बाढीका कारण पुल निर्माणका लागि फरक डिजाइन र उपाय खोज्नुपर्ने अवस्था आएको छ।’

घरपझोङ गाउँपालिकाको मार्फा खोलामा बेमौसमी बाढीले मोटर गुड्ने पक्की पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ। १२० मिटर लामो पुल निर्माणाधीन अवस्थामा रहेको मार्फा खोलामा गत चैतमै बाढी आएको थियो।

मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा छ वर्ष लगाएर निर्माणको अन्तिम चरणमा पुगेको २५ मिटर लामो पक्की पुल गत साउन २९ गते कागखोलामा आएको बाढीले बगायो।

तत्कालीन सडक डिभिजन कार्यालयले २०७३ असारमा गाल्वा एण्ड रफिना जेभीसँग दुई करोड ८८ लाखमा ठेक्का सम्झौता गरेर बेनी–जोमसोम–कोरला सडक आयोजनालाई हस्तान्तरण गरेको यो पुलको दुवैतर्फको खम्बा रहे पनि गाडी गुड्ने भाग बाढीले बगाएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोडिएको छ।

४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खल्बलाउने गरी बाढीले बगाएको थियो । रुप्सेखोलामा पक्की पुलको विकल्पमा बेलिब्रिजबनाएर यातायात सञ्चालन गरिएको छ।

भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन गरी लम्बाई बढाउन पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाएको बेनी-जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार कागबेनीको पक्की पुलको बिमा मूल्याङ्कनको चरणमा छ।

पाण्डाखोला र छुसाङको खालीगण्डकीमा निर्माण भएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ। बाढी र नदीले धार परिवर्तन गर्ने समस्या समाधानका लागि पक्की पुलको उचाइ र दूरी बढाउनुपर्ने भएको हो।

विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित, विकास आयोजनाका संरचनामा क्षति र विपद्को जोखिम बढेको डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले बताए।

‘पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरु चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर बस्ती भन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको हो,’ उनले भने, ‘सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको विगतको अवस्थालाई आधार बनाएर डिजाइन गर्नुपर्छ।’

बेनी-जोमसोम-कोरला सडक योजना अन्तर्गत १४ ठाउँमा ठूला पहिरो छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर–१ बेगखोला, वडा नम्बर –२ माझखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर –३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारी राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ।

अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर–६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-३ दानाको गुइठेभिर, खाम भित्ता, लाटाखोलामा बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ। खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ।

काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा रक फलको समस्या छ। मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ। लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा ३८४ मिटर लामो सुरुङ बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ।

कालीगण्डकी नदीको कटानको जोखिम रहेको सो ठाउँमा सुरुङमार्ग बनाउन रु. ९० करोड लागत अनुमानसहितको डिपिआर तयार पारिएको हो।

रक फल हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रक एन्करिङ/रक नेलिङ’ गर्न थालिएको बेनी जोमसोम कोरला सडक योजनाका सब-इन्जिनियर गणेशमान श्रेष्ठले बताए।

‘बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ,’ उनले भने, ‘बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ।

भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा रहेको उनले बताए।

बेनी–जोमसोम–कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न स्थानीय सरोकारवालाले माग गरेका छन्।

तत्कालीन रुपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने म्याग्दीका प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन गर्नुपर्ने देखिएको उनले बताए।

म्याग्दीको बेनीदेखि मुस्ताङको लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्ययभार बढेको छ।

‘बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ,’ आयोजना प्रमुख झाले भने, ‘सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरूप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेका छौँ।’

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलाहरुमा पुल निर्माण गर्न २०७४सालदेखि जोमसोममा कार्यालय स्थापना गरेर काम थालिएको थियो।

१४ खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० फागुन मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत छ। छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको छ। यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ। छ ठाउँमा पक्की पुल निर्माणाधीन छन्। 

सन्तोष गौतम/रासस
अर्को समाचार
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
३६ मिनेट अघि
•
१ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। 




भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ। उत्पादित बस्तु बजारसम्म पुर्‍याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए। 

उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ। 

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए।
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस