वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती
१८ असोज २०८१
•
३ मिनेट पाठ
वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती
विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।




सगरमाथा आधार शिविरको पदयात्रामा जान लुक्लासम्मको उडान गरेपछि मात्र पदयात्रा सुरु हुन्छ। लुक्ला पुग्नका लागि काठमाडौं–लुक्ला हवाई उडान, काठमाडौं–मन्थली गाडीको यात्रापछि मन्थलीबाट लुक्लासम्मको हवाई यात्रा गर्नुपर्छ। यसबाहेक हेलिकप्टरबाट पनि लुक्ला पुग्न सक्ने विकल्प छन्।

पछिल्लो समय विपी राजमार्ग हुँदै मन्थली जाने बाटोमा गएको पहिरोले खुकोर्टस्थित पुल भत्काएको हुँदा मन्थली पुगेर लुक्लासम्मको हवाई उडान गर्ने पर्यटकलाई समस्या परेको छ। काठमाडौंदेखि लुक्लासम्मको हवाई उडानमा मौसम र बाढी पहिरोले निम्त्याएको समस्याले अहिले सगरमाथा आधार शिविर जान चाहने धेरै विदेशी पर्यटक काठमाडौंमै रोकिन बाध्य छन्।

मुख्य पर्यटकीय याममा सगरमाथा आधार शिविरसम्म जान काठमाडौंबाट लुक्ला जाने हवाई उडानले मात्र नपुग्ने हुदाँ पर्यटक मन्थली पुगेर त्यहाँबाट लुक्लासम्मको हवाई यात्रा गर्छन्। सबै यात्रुहरूलाई काठमाडौंबाट जाने जहाजमा सिट नपुग्दा र लुक्लाको मौसमले गर्दा पनि काठमाडौंबाट लुक्लासम्म गरिने हवाई तालिकाले अपुग हुने गरेकोछ। यही कारण पर्यटक मन्थलीसम्म गाडीमा गएर त्यहाँबाट लुक्लासम्मको हवाईयात्रा गर्छन्। 

उच्च हिमाली भेगमा पथप्रदर्शकको काम गर्दै आएका फुर्वा शेर्पाका अनुसार सिजनमा सगरमाथा आधार शिविर जाने सबै पर्यटकलाई काठमाडौं विमानस्थलबाट काठमाडौं–लुक्ला हुने हवाई तालिकाले नपुग्ने भएका कारण ट्राभल एन्ड ट्रेक एजेन्सीहरूले मन्थली हुँदै लुक्ला लाने गरेको बताए। ‘मन्थली जाने बाटो र खुर्कोटस्थित पुल भत्किएका कारण अहिले पर्यटकलाई सहजै मन्थली एयरपोर्टसम्म लान सकिरहेका छैनौं’, उनले भने, ‘मौसमको कारण काठमाडौंबाट लुक्ला जाने उडानहरू पनि उतिसारो हुन सकिरहेका छैनन्।’ उनले थपे ‘काठमाडौं विमानस्थलमा एयर ट्राफिक भएर पनि लुक्ला उडान धेरै हुँदैनन्, जसले गर्दा मन्थली विमानस्थलबाट पर्यटकलाई लुक्लासम्मको फ्लाइटमा लानुपर्छ।’

भर्खरै सगरमाथा आधार शिविर पदयात्रा गरेर आएका उनले तीन दिने झरीले सगरमाथा आधार शिविरको पदमार्गलाई खासै असर नपारे पनि विपी राजमार्गको बाटो बिग्रँदा सो रूटहुँदै जान चाहने पर्यटक प्रभावित भएका छन्।

काठमाडौंबाट मन्थली जाने बाटो बन्द भएपछि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले नयाँ सडकमार्गबाट मन्थलीसम्म जाने बाटो सम्बन्धी जानकारी दिएका थिए। टानले दिएको जानकारी अनुसार मन्थली विमानस्थलको वैकल्पिक सडक चरिकोट हुँदै जाने मार्ग हुनसक्छ।

मन्थली पुग्ने वैकल्पिक सडक मार्ग प्रयोग गर्दा समय र लागत दुबै दोब्बर हुने भएको छ। यसअघि एकै दिनमा मन्थलीदेखि काठमाडौंसम्म ‘अप–डाउन’ गर्दै आएको गाडी समय बढेसँगै मन्थलीमै बस्नुपर्ने र भोलिपल्ट मात्रै फर्किनुपर्ने भएपछि भाडा दोब्बर पुग्ने अवस्था देखिएको हो।

अहिलेको अवस्थामा मन्थली पुग्न खाडीचौर चरिकोट हुँदै जानुपर्छ। यसअघि चार घण्टामै पुग्न सकिने मन्थली यो बाटो हुँदै जाँदा कम्तीमा आठ घण्टा लाग्ने अवस्था छ। त्यो बाटोको पनि केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएकाले जनकपुरबाट उडान सुरु गरिएको थियो।

यस्तै टानले उड्डयन प्राधिकरणसँग छलफल गरेर रामेछाप विमानस्थलको विकल्प जनकपुरबाट सुरु गरेको थियो। रामेछाप विमानस्थलको विकल्पमा जनकपुरबाट सुरु भएको एभरेस्ट उडान दुई दिनमै असफल भएको छ। काठमाडौंदेखि मन्थलीसम्म जाने बाटो बिग्रिएपछि सगरमाथा आधार शिविरसम्म पुग्ने लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुरलाई विकल्प बनाउन खोजिएको थियो। पर्यटकहरूको असन्तुष्टि र असुविधाको कारण यो सम्भव नभएको टानले बताएको छ।

पर्यटकीय याममै सडकमार्ग अवरूद्ध हुँदा सगरमाथा आधार शिविर जाने पर्यटकहरू दोधारमा परेका छन्। कतिपय पर्यटकले सगरमाथा आधार शिविर जाने तालिका परिवर्तन गरेर अन्य गन्तव्यको पदयात्रामा जान लागेको ट्रेकिङ एजेन्सीहरूले बताएका छन्। 
अर्को समाचार
कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती
२५ कार्तिक २०८१
•
९ मिनेट पाठ
कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती
गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो। चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए। सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो।




हाम्रो टोलीका आठ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए। दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ। हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए। ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो।

सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो। गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड) मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो। कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो।

हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो। अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो। मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिनुभयो। बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो। यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो। रिङ्गटा लागेजस्तै टाउको भारी भयो। एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो। पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ।

दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै पाँच हजार एक सय ८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहाल्नुभयो। कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुग्नुभएका उहाँले हामीलाई विस्तारै होटलभित्र पुर्याउनुभयो। उहाँले सुरुमा तातोपानी दिनुभयो। त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो। उहाँले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याउनुभयो। र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गर्नुभयो। चाउचाउको झोलले शरीर तात्न थाल्यो। मेरो शरीरले अलिक बिसेक मान्यो।

एकमनले त यहाँसम्म आइहालियो, अब कालापत्थर नचढौँ कि भन्ने पनि भयो। लेक लागेर (अक्सिजन अभाव) सिकिस्तै भएका पर्यटकलाई एकैछिन अघि हेलिकप्टरमार्फत उद्धार गरेको देखेकाले पनि होला आत्मबल घट्दो थियो। तर मिङ्मा र कमल प्रसाईँले यो सामान्य हो भन्दै सम्झाउनुभयो। उहाँहरुको परामर्शपछि अलिकति आत्मबल बढेझैँ भयो। तलमाथि भइहाल्यो भने उहाँहरु हुनुहुन्छ भन्ने सोचले हौसला मिल्यो। होटलभित्र झण्डै आधा घण्टा बिताएपछि हामी कालापत्थर आरोहणका लागि तयार भयौँ।

गोरकसेप सगरमाथाको प्रवेशविन्दु हो। गोरकसेपको नाम चराबाट लिइएको रहेछ। शेर्पाहरू राभेन चरालाई गोरक भन्दा रहेछन्। कुनै शेर्पाले यस क्षेत्रमा मरेको गोरक देखेकाले यस ठाउँको नाम गोरकसेप रहन गएको भन्ने जनविश्वास रहेछ। सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि यस क्षेत्रको लोकप्रियता र व्यापकता विश्वभर फैलिएको मानिन्छ। पर्यटकहरू गोरकसेपमा विश्राम गरेर कालापत्थर, सगरमाथा आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्छन्। लुक्लाबाट नाम्चे हुँदै गोरकसेप पुगेपछि चोला पास र गोक्योसम्म जाने पनि यही भेटिन्छन्।

गोरकसेपबाट कालापत्थर र आधार शिविरतर्फ शेर्पाका साथमा लामबद्ध विदेशी पर्यटकले त्यतिबेलाको माहोल ‘गुल्जार’ बनाएको थियो। पिठ्यँुमा ब्यागप्याक र दुवै हातमा ट्रेकिङ पोलका साथमा विभिन्न गन्तव्यतर्फ पाइला चालिरहेका पर्यटकहरूको पङ्क्ति निकै लोभलाग्दो थियो। हाम्रो गन्तव्य भने कालापत्थरको चुचुरो थियो। कालापत्थरको चुचुरोबाट जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबारे पत्रकार सम्मेलनमार्फत विश्वको ध्यानाकर्षण गराउनु थियो। हेर्दा नजिकैजस्तो देखिए पनि गोरकसेपबाट त्यहाँ पुग्न करिब दुई घण्टा लाग्ने रहेछ। तर मिङ्माजस्ता आरोहीका लागि भने आधा घण्टा नै काफी हुने रहेछ। वरिपरि सेताम्मे हिमाल भएर पनि कालापत्थर मात्र भएकाले यसको नाम कालापत्थर रहन गएको हो। यद्यपि कालापत्थरको उचाइमा हिउँको केही अंश भने बाँकी नै थियो।

कालापत्थरबाट देखिने सगरमाथाको दृश्य अविष्मरणीय थियो। किनभने यसअघि माउन्टेन फ्लाइटलगायतबाट सगरमाथाको शिरमात्र देखेका मेरा आँखाले झण्डै पूर्ण आकारको सगरमाथा देख्नु ‘बकेट लिस्ट’ कम गर्नु थियो। सगरमाथाको पश्चितर्फ उभिएको नुप्त्से (शेर्पा भाषामा पश्चिम चुचुरो) र दक्षिणतर्फको ल्होत्से हिमाल (शेर्पा भाषामा दक्षिण चुचुरो) तथा कालापत्थरसँगै शिरको पुमोरीलगायतका हिमालको पानारोमिक भ्यूमा हेर्न पाउनु जति रोमाञ्चक र सुन्दर छ त्यतिनै सङ्घर्ष त्यहाँसम्म पुग्नमा रहेछ। पुमोरीको अर्र्थ शेर्पा भाषामा अविवाहित छोरी भनिने रहेछ। कतिपयले यसलाई सगरमाथाको छोरीका रूपमा पनि अथ्र्याउने रहेछन्।

कालापत्थर पुग्ने हाम्रो योजना दसैँ अगाडि नै बनिसकेको थियो। तर पर्यटकीययाम भएकाले विदेशी पर्यटकको बाक्लो उपस्थितिका कारण जहाजको टिकट र हेलिकप्टर पाउनै मुस्किल हुनेरहेछ। काठमाडौँ–लुक्लाका लागि विमानको टिकट नपाएपछि हामी काठमाडौँबाट गाडीमा रामेछाप पुग्यौँ। प्रतिकूल मौसमका कारण विमान मन्थली–लुक्ला–मन्थली विमान र हेलिकप्टर नचल्दा हामीभन्दा अगाडि नै करिब पन्ध्र सय पर्यटक मन्थलीमै रोकिएका रहेछन्। त्यति नै सङ्ख्यामा लुक्लाका होटलमा रहेछन्। मन्थलीमा तीन दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि हामी काठमाडौँ फर्कन बाध्य भयौँ।

तर काठमाडौँ फर्केको एकाध दिनमा मौसम खुल्यो। मौसमसँगै हाम्रो मन पनि उज्यालियो। काठमाडौँबाट रामेछापसम्म गाडीमा र त्यहाँबाट विमान चढ्ने हाम्रो योजना बने पनि संयोगले काठमाडौँ–लुक्लाको उडानको टिकट मिल्यो। अक्टोबर २५ तारिखमा तीन जना र भोलिपल्ट दुई जना विमान तथा एक जना हेलिकप्टरमार्फत हामी लुक्ला पुग्यौँ। दुई जना भने पहिले नै लुक्ला पुगिसक्नुभएको थियो।

हामी लुक्लामा छँदा त्यहाँका प्रायः सबै होटल पर्यटकले भरिएका थिए। पर्यटन व्यवसायीका लागि ‘पिकआवर’ थियो। प्रायः सबै खालको सुविधा प्राप्त हुने लुक्ला सगरमाथा क्षेत्रका लागि प्रवेशविन्दु हो। यहाँसम्म पुग्नका लागि हवाई उडान एकमात्र विकल्प हो। त्यसो त केही पर्यटक सल्लेरी हुँदै पदयात्रामार्फत पनि पुग्ने रहेछन्। यद्यपि अब लुक्लालाई मोटरेबल सडकको पहुँचले जोड्ने काम पनि भइरहेको रहेछ। विमानस्थल नजिकै बसपार्क निर्माणका लागि जग्गा पनि छुट्याइएको रहेछ। लुक्लासम्म सामान ढुवानीका लागि मानिसबाहेक विमान, हेलिकप्टरका साथै खच्चर र घोडा प्रयोग गरिन्छ भने त्यसभन्दा माथि हेलिकप्टर, खच्चर र घोडाले बोक्छन्। खच्चरलाई नाम्चेभन्दा माथि लैजान पाइँदैन।

दुई दिन अगाडि नै लुक्ला पुगेका हामी तीन जनाले लुक्लाको गाउँ र बजार घुम्न पायौँ। स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले सुच्या र अमेरिकानोको स्वाद चखाउँदै पासाङल्याह्मु शेर्पाको सङ्ग्रहालयसहित लुक्ला बजार घुमाउनुभयो। स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतसँग भलाकुसारीसहित गुम्बालगायतका ऐतिहासिक सम्पदा पुग्ने मौका पनि जुर्यो। कालापत्थर जानुभन्दा अघिल्लो दिन मेरापिक जाने बाटोतर्फ पदयात्राको छोटो–मीठो ‘रिहर्सल’ पनि गर्न पायौँ।

गोरकसेप जानका लागि अक्टोबार २७ तारिखको बिहान साढे ६ बजे नै हेलिप्याड बोलाइएको थियो। हामी त्यहाँ पुग्दा हेलिकप्टर उडान र अवतरण भइरहेको थियो। विदेशीहरू आउने र जाने क्रम चलिरहेकै थियो। यत्तिकैमा हाम्रो पनि पालो आयो। लुक्लादेखि पाक्दिङ, नाम्चेबजार, पाङबोचे, दुक्ला हुँदै विभिन्न हिमशृङ्खला र हिमताल हेर्दै निमेषभरमै गोरकसेप पुगेको पत्तै भएन।

गोरकसेपबाट कालापत्थरको उचाइसम्मको दूरी धेरै होइन। समथर भए १० मिनेट र पहाडमा भए करिब ३० मिनेट। तर उच्च उचाइको उक्त क्षेत्रमा पाइला अघि बढाउनै मुस्किल हुनेरहेछ। हामी त्यसै पनि दुई घण्टामा पाँच हजार एक सय ८० मिटरबाट पाँच हजार छ सय ५३ मिटरको उचाइमा पुग्दै थियौँ। पाइलैपिच्छे अल्टिच्युड बढ्ने भएकाले प्रत्येक पाइला चाल्दा मात्रै शरीरमा बोझ थपिएजस्तो हुनेरहेछ। हामी प्रत्येक १०–१५ पाइलापछि थकाइ मेट्थ्यौँ। सबैभन्दा अगाडि मिङ्मा र पछाडिबाट नाम्गेल शेर्पाले टोलीलाई सम्हाल्दै अगाडि बढाइरहनुभएको थियो। फुर्बाले समयसमयमा चकलेटको टुक्रा र त्यसलाई निल्न तातोपानी दिँदै शरीरमा ऊर्जा थपिरहनुभएको थियो। कमल प्रसाईँ तस्बिर र श्रव्यदृश्य कैद गर्दै अगाडि बढ्नुभएको थियो।

कालापत्थरको चुचुरोमा पुगेपछि मिङ्माले हिमालबारेको अनुभव साट्नुभयोे। ‘तपाईँहरूले देखेको सगरमाथा, नुप्त्से र ल्होत्से पहिलेजस्ता छैनन्, १७ वर्षअघि मैले यस क्षेत्रमा काम गर्दा हिमालमा बाक्लो हिउँ हुन्थ्यो, तर अहिले कालापहाडजस्तै बनेका छन्, कतैकतै मात्रै बाक्लो हिउँ देखिन्छ अन्यत्र पातलो छ’, उहाँले भन्नुभयो। उहाँका अनुसार यो जलवायु परिवर्तनको असर हो। यही कारणले खुम्बु क्षेत्रकै थोमेमा केही समय अगाडि बाढीपहिरो गयो। दुईवटा हिमताल फुट्दा पर्यटकीय गाउँ थामेको पहिचान मेटिएको उहाँको बुझाइ छ।

पर्यटन व्यवसायी नाम्गेलले पनि त्यस्तै अवस्था सुनाउनुभयो। सगरमाथाको पारिपट्टिको चीनमा भएका ठूला औद्योगिक क्षेत्रबाट उत्पन्न हुने कार्बन उत्सर्जनको असर हाम्रो हिमालमा देखिएको उहाँको बुझाइ थियो। त्यसो त गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाउनुभएको थियो।

जलवायुको असर

खुम्बु क्षेत्र हिमाल हेर्न रहर गर्नेका लागि जति रहरलाग्दो छ, त्योभन्दा बढी पीडा जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबाट यहाँका स्थानीय पीडित छन्। एसियाली विकास बैंकले केही दिनअघि प्रकाशित गरेको ‘द रुफ अफ द वर्ल्ड इज मेल्टिङ’ शीर्र्षकको लेखमा जलवायु परिवर्तनका कारणले एसियाका हिमनदी तीव्रगतिमा पग्लन थालेकाले यसले स्थानीयमा जोखिम बढाएको उल्लेख छ।

हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ। त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ।

खुम्बुमात्र होइन, नेपालसहितका आठवटा देशमा फैलिएको विश्वको तेस्रो महत्वपूर्ण ‘वाटर टावर’ भनिने हिन्दुकुश हिमालय क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा प्रभावित छ। हिन्दुकुश हिमालय क्षेत्रलाई अत्यधिक ‘आइस रिजर्भ’का कारण पनि पृथ्वीको तेस्रो पोल पनि भन्ने गरिन्छ। एसियाली विकास बैंकको अध्ययनअनुसार यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा जलवायु परिवर्तनका कारण जम्मा भएको हिउँको ७५ प्रतिशत पग्लनेछ। यसले बाढीपहिरो बढाउनुका साथै खानेपानी, सिँचाइ, कृषि, जलविद्युत््लगायतका लागि खानेपानीको अभाव सुरु हुनेछ।

कुल तीन हजार पाँच सय किलोमिटर हिमाली क्षेत्रमा फैलिएको यो क्षेत्र नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ। यो क्षेत्रबाट निस्कने प्रमुख नदीमा अमु दर्या, ब्रह्मपुत्र, गङ््गा, हिन्दुस, एरावती, मेकोङ, सलविन, तारिम, याङते र यल्लो नदी छन्। जसमा यस क्षेत्रको ठूलो जनसङ्ख्या आश्रित छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ। इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ। त्यसैले हिमालमात्र होइन, यससँग आश्रित तराईसम्मको पारिस्थितिक प्रणाली जोगाउनका लागि पनि जलवायु परिवर्तनले पारेको असरबारे गम्भीर हुनुपर्ने समय आइसकेको छ। कमलकुमार बस्नेत/रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस