विश्व कीर्तिमानी आरोही टासी भन्छन्: सगरमाथा शिखरमा पुग्छु भन्ने सोचेकै थिएनँ
१५ जेष्ठ २०८२
•
७ मिनेट पाठ
विश्व कीर्तिमानी आरोही टासी भन्छन्: सगरमाथा शिखरमा पुग्छु भन्ने सोचेकै थिएनँ
सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै थिए। गाउँभन्दा थोरै माथि डाँडामै स्वागत गर्न आइपुगेका थिए गाउँले । तर स्वागत गर्नेको भीडमा टासीका आँखाले खोजेको एउटा मान्छे अनुपस्थित थिए । त्यो अनुपस्थित व्यक्ति अरु कोही नभएर आङछिरिङ अर्थात टासीकै बुबा थिए।




जब टासी पुगे घरको आँगन । डाँडामाथिको घाम झैँ भएका बुबा हातमा खादा लिएर ढोका अगाडि उभिरहेका थिए छोराको प्रतिक्षामा । त्यतिखेर पुनः टासीको आँखाले अर्को मान्छे खोज्यो । जसलाई त्यहाँ देख्न सम्भव थिएन । १५ वर्षअघि सधैँका लागि बिदा लिएकी आमालाई टासीको मनले खोजिरह्यो, “यतिखेर मेरो आमा पनि बुबासँगै भइदिनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।”बुबाले खादा लगाइसकेपछि अँगालो मारे एकअर्कालाई । अनि दुवैका आँखाबाट बग्यो खुसीका आँशु । जसरी हिमताल फुटेर उर्लिँदै झर्छ पग्लिएका बरफ । “बाहिर म जति खुसी देखिएपनि भित्रभित्रै मलाई तिम्रो धेरै चिन्ता थियो छोरा भन्नुभयो बुबाले”, टासीले लुक्लाबाट काठमाडौँ ओर्लिएको केही घण्टापछि बुधबार कपनको सिद्धार्थ होटलमा लेखकलाई भने, “७८ वर्षका बुवाको आँखाबाट आँशु झरेको मैले जीवनमै पहिलोपटक देखेँ । तर त्यो आँशु दुःखको थिएन ।”

किनकी बुबालाई थाहा थियो एउटा आरोहीको मर्म र जोखिम । उनले पनि  सगरमाथा शिखर टेकेका थिए तीन पटक । हिमालका उकाली र ओरालीमा बोक्दाबोक्दै दुःख, एक दशक अघि आङछिरिङ खुम्बु आइसफलको खर्पासमा परे। बुढेसकाल लागेको गोडाले साथ दिएनन् । दाहिने खुट्टाले लौरोको सहारा माग्यो । खट्टाले लौरोको सहारा मागेसँगै बन्द भयो आम्दानीको स्रोत र कान्छो छोरा टासीको पढाइ ।  छोरालाई पढाएर ठूलो मान्छे बनाउने आङछिरिङको सपना तुहिएको दिन थियो त्यो । त्यही छोरा जसलाई हिँडाउनु मन थिएन आफैले दुःखको भारी बोकेको गोरेटो । तर त्यही गोरेटो भएर आज फर्किँदै थिए टासी । फरक यत्ति थियो, कि टासीले १५ दिनमा चार पटक सगरमाथा शिखरमा पाइला राखी विश्व कीर्तिमान बनाएर फर्किएका थिए। जुन सामान्य आरोहीका लागि असम्भव सरह हो ।

पासाङल्हामु गाउँपालिका–४, फोर्चे गाउँ हेर्दा जत्ति सुन्दर छ, त्यति नै हिमालका दुःख र साहासका कथाले भरिएका छन् प्रत्येक घर । त्यही गाउँका २८ वर्षीय युवा हुन् टासी ग्याल्जेन । जो नागरिकताअनुसार २९ वर्षको भए। आरोहणको यात्रा सुरु गरेको सात वर्षमै टासीले विश्व कीर्तिमानी कायम गरेका छन्। उनले यही मे ९, १४, १९ र २३ तारिखका दिन एकै सिजनमा १५ दिनभित्र चारपटक सगरमाथा आरोहण गरे। सन् २०१८ देखि मात्र हिमालमा भारी बोक्न थालेका उनले यसअघि पाँचपटक सगरमाथा र एक पटक चोयूको आरोहण गरेका थिए। टासीले म कुनै दिन सगरमाथा शिखरमा पुग्छु भन्ने सोचेकै थिएनन्। उनलाई त बुबाको सपना पूरा गर्नु थियो । विसं २०७२ मा सर एडमण्ड हिलारी माध्यामिक विद्यालय खम्जुङबाट एसएलसी उत्तीर्ण गरेपछि बुवाले प्लस टु पढ्न काठमाडौँ पठाए। होटल म्यानेजमेन्ट लिएर सरासर प्लस टु गरेपछि स्नातक पनि सोही विषयमा पढ्ने चाहना थियो ।

तर स्नातकका लागि बुवाको कमाइले सम्भव भएन । अनि पुष्पलाल मेमोरियल कलेजमा पत्रकारिता विषय लिएर पढ्न थाले। दोस्रो वर्ष अध्ययन गर्दागर्दै बुबालाई खट्टाले साथ दिएन । दाजु र दिदीले बिहे गरिसकेका थिए।  एउटी बहिनी पढ्दै थिइन् । घर व्यवहार र बुवालाई हेर्ने जिम्मा टासीको काँधमा आयो ।“मलाई छिटो र धेरै पैसा कमाउनुपर्ने बाध्यता आइलाग्यो”, सातवर्ष अघिको परिस्थिति सम्झँदै टासीले भने, “त्यसरी छिटो पैसा कमाउने एउटै मात्र विकल्प  हिमालमा भारी बोक्नु भन्दा अरु थिएन ।” पहिलोपटक नै सन् २०१८ मा उनी चीनतर्फबाट अल्पाइन ग्लो नामक आरोहण कम्पनीसँग सगरमाथा आरोहणका लागि गए । तर उनीसँग आरोहणसम्बन्धी कुनै तालिम र ज्ञान थिएन । उनले आरोहण गर्न सकेनन्। गाउँ फर्किएपछि गाउँकै आरोहण तालिम केन्द्रमा आधारभूत र ‘एड्भान्स’ तालिम लिए।

सन् २०१९ मा चीनतर्फबाटै फोर्टिन पिक एस्पिडिशन नामक कम्पनीमार्फत सगरमाथा र त्यही वर्ष चोयू हिमालको आरोहण गर्न सफल भए।  त्यसपछि उनले सन् २०२२, २०२३ र २०२४ मा सगरमाथा आरोहण गरे। २०२४ मा भने दुईपटक सगरमाथा आरोहण गरे। फोर्चे गाउँका कुनै घर छैनन्, जुन घरका एक वा एकभन्दा बढी सदस्यले सगरमाथा आरोहण नगरेको । टासीकै साथीहरुले पनि कसैले १७ पटक, कसैले १४ पटक आरोहण गरिसके । “दुईवर्षअघि मलाई लाग्यो आरोहण त सबैले गर्छन् । अरुले भन्दा केही फरक गरिएन भने न मेरो आर्थिक प्रगति हुन्छ, न त मलाई कसैले चिन्छन्”, उनले भने, “त्यतिबेलै मैले २० दिनमा चारपटक सगरमाथा चढेर कीर्तिमानी बनाउँछु भनेर योजना बनाएँ ।”

योजना बनाए पनि त्यो पूरा गर्न सजिलो थिएन । उल्टै आरोहणका लागि खर्च गर्ने पैसा आफूसँग थिएन । सौभाग्यवशः यसवर्ष टासीको त्यही योजना पूरा गर्न दाजु छिरिङ टासीमार्फत चिनेको स्कटल्यान्डका जेम्स ल्याम्ब र लिटिल फाउन्डेशन, इन्सपायर ट्रेक तथा एटके एक्सपिडिशन कम्पनीबाट साथ पाए। यसवर्ष पहिलो आरोहणको रुपमा डोरी टाँग्ने ९रोप फिक्सिङ० टिममा सामेल भएर शिखर पुगे। ३० किलो तौल हुने ३०० मिटर लामो डोरी लगायतका सामान बोकेर काम गर्दै मे ९ तारिखका दिन साँझ ५ बजे शिखर पुगेका थिए।

“त्यो दिन मौसम यति सफा र राम्रो थियो कि चुचुरोमा सलाई कोरेर बाले पनि ननिभ्ने थियो”, उनले भने। त्यही बेला एउटा खादा सगरमाथालाई चढाउँदै ढोगेर उनले आशिष मागे, “मलाई माफ गर्नुहोला, यसपटक म तपाईँको शिरमाथि चारपटक पाइला राख्न आउँदैछु, मलाई आशिष दिनुहोला ।” सायद टासीले आशिष पाए।  यसवर्षको चौथो आरोहणमा उनले सगरमाथा र आफ्नो कुलपितृ लोबुचेलाई सम्झँदै फेरि एउटा खादा चढाएर धन्यवाद दिए।

यसवर्षको सबैभन्दा सजिलो आरोहण दोस्रो पटकको थियो । मे १४ तारिख बिहान ८ बजे शिखरमा पुगेका थिए। फर्किने क्रममा दोस्रो शिविरदेखि पहिलो शिविरको बाटोमा पर्ने नुप्त्से फेस आइपुगेपछि टासीलाई एक्कासि घरको याद ९होम सिक० आयो । आफैँलाई थाम्न सकेनन्। रोप फिक्सिङमा गरेको दुःख सम्झँदै बाटोमै भक्कानिएर एक्लै रोए। “खै के भयो, के भयो, अचानक होम सिक जस्तो भयो र आफैँलाई रोक्न सकिन”, त्यो क्षण सम्झिँदै उनले भने, “मलाई चिच्याइचिच्याइ रुन मन लाग्यो अनि भक्कानिएर रोएँ ।”

तेस्रो पटकको आरोहणमा उनले बङ्गलादेशका आरोही इक्रामुल हसन साकिललाई लिएर गए। जसलाई दुई वर्षअघि नै सगरमाथा शिखर लैजाने प्रतिबद्धता जनाएका थिए। समुद्रदेखि पैदलै हिँडेर ८४ दिनमा सगरमाथा शिखर आरोहण गरेका शाकिल अर्का साहसी आरोही थिए। ग्रेट हिमालयन ट्रेलको यात्रा पूरा गरिसकेका साकिललाई नेपालकै मकालु इ ट्रेडर्सले निर्भाना र अन्य अन्तरराष्ट्रिय ब्रान्डका आरोहणका लागि आवश्यक गियर्स ९जुत्तादेखि कपडा० सहयोग गरेको थियो । उनीहरु मे २३ तारिखका बिहान ६ः११ मा शिखर पुगेका थिए।

तेस्रोपटक आरोहण गरेर फर्किदा टासी निकै थकित थिए।   आधारशिविर आइपुगेपछि एकदिन आराम गर्ने सोचमा थिए। तर, जब आधारशिविरमा एटके एक्सपिडिशनका सञ्चालक लाक्पा शेर्पाले बधाई दिँदै खुसी र उत्साह थपे। एकाएक ती सबै थकाई हरायो र त्यही साँझ आधार शिविरबाट उकालो लागेका उनी दोस्रो शिविर पुगे। भोलिपल्ट चौथो शिविर पुगेर साँझ ८ बजे शिखरको यात्रामा लागेका उनका लागि यो आरोहण सबैभन्दा जोखिम र चुनौतीपूर्ण थियो ।

उनले बाटोमा करिब दुई सय आरोहीलाई ओभरटेक ९उछिन्नु० गरे। हिउँ परेर हराएको डोरी खोज्दै बिहान ३ः११ बजे शिखर पुगेका उनीसँग एटके एक्सपिडिशनकै फूर्वा तेन्जी शेर्पा थिए। फूर्वाले पहिलोपटक शिखर पुग्ने अवसर प्राप्त गरेका थिए। उनीहरुका पछिपछि थिए चारपाँच जना अरु आरोही । टासीलाई एउटै डर थियो फर्किने बेला ट्राफिक जाममा परिन्छ कि भन्ने । हावा यति बेजोड चलेको थियो कि भर्खरै परेको हिउँ उडाएर गालामा हिर्काउँदा थप्पड हानेको भन्दा बढी दुखाउँथ्यो । तर फर्किँदा टासी र फूर्वाले करिब ३० जनामात्र आरोही बाटोमा भेटे । बाँकी सबै आरोही प्रतिकूल मौसमका कारण फर्किए छन् ।

यसरी टासीले सगरमाथा आरोहणको इतिहासमा साहसिक विश्व कीर्तिमानी राख्ने आरोहीहरुको सूचीमा आफ्नो नाम समावेश गर्न सफल भए। त्यसो त यो कीर्तिमानीप्रति उनमा कुनै घमण्ड भने छैन । उनी भन्छन्, “म भन्दा छिटो दौडिन सक्ने शेर्पा दाजु भाइ अझै धेरै हुनुहुन्छ, तर आफ्नो ‘क्लाइन्ट’लाई सम्हाल्दै शिखरमा पु(याउनुपर्ने बाध्यताले यो कीर्तिमानी राख्ने अवसर मैले प्राप्त गरेको हुँ ।”

टासीका दुईवटा सपना छन्, एक शिक्षामा पिछडिएको आफ्नो गाउँलाई समृद्ध बनाउने, जुन सपना पूरा गर्न युवा पुस्ताका भाइबहिनी पनि शैक्षिक प्रगति हासिल गरिरहेका छन् । अर्को छ, पर्यटनकै माध्यमबाट देशलाई संसारमा थप परिचित गर्ने । पर्यटनबाट देशलाई समृद्ध बनाउने अभियानमा एउटा इँटा थप्ने । तरपनि दुःखको कुरा एउटै छ, हिमालमा काम गर्ने शेर्पालाई राज्यले आफ्नै देशका नागरिक हुन् भनेर गम्भीरतापूर्वक कहिल्यै लिएन । “सामाजिक सुरक्षा र अरु सुविधा त परै जाओस्, कम्तीमा हिमालमा ज्यान गुमाउने शेर्पाका बालबच्चालाई निःशुल्क पढ्ने व्यवस्था गरेपनि हुन्थ्यो”, उनले भने, “हिमालमा ज्यान गुमाउनेहरु वास्तवमा हिमालका सहिद हुन्, उनीहरुका बालबच्चा पढाउन विदेशीलाई हात फैलाउनुपर्ने अवस्थाबाटमाथि उठ्न सकिएको छैन ।”

परिस्थितिले काँध थाम्नु परेको जिम्मेवारीले टासीलाई परिपक्व बनाउँदै छ । कम्तीमा आफ्नो काखमा हुकिँदै गरेका चार वर्षीय छोराको अवस्था आफ्नै जस्तो नहोस् भन्नेमा सचेत छन् उनी। हुन त सफलताको कुनै मापन छैन, विश्वको सर्वोच्च शिखर पुगे पनि आखिर झर्नैपर्छ फेदीमा । त्यो वास्तविकताका साक्षी टासी आफैँ हुन्। तर पनि यस पटकको सफलता टासीको दृढ सङ्कल्प र मेहनतले मात्र सम्भव भएको हो । “मैले १६ दिनसम्म कुनै रात राम्रोसँग आराम गरिँन”, उनी भन्छन्, “ढिलोमा रातको २ बजे उठिसक्थेँ । वास्तविक सपना पूरा गर्न निदाएर सम्भव छैन भन्ने मलाई राम्रोसँग थाहा थियो ।” कुम्भराज राई/ रासस
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
११ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस