६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुदूरपहाडका तीन विमालस्थलमा परीक्षण उडान

बझाङ विमालस्थलमा परीक्षण उडानको लागि अवतरण भएको विमान । तस्बिरः जगत/नागरिक

सुदूरपश्चिमका तीनवटा विमालस्थल अनुमगन गरिएको छ। डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमालस्थल कालोपत्रे गरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान गदै अनुगमन गरेका हुन्।  

लामो समयदेखि बन्द रहेका विमालस्थल शनिबार सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान गरिएको हो। समिट एयरको जहाजबाट तीनवटै विमालस्थलको निरीक्षण गरिएको हो।

परीक्षण उडान सफल भएपछि धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न पहल थालिने बताइएको छ। अनुगमनका क्रममा मन्त्री भट्टराईले छिट्टै पहाडी जिल्लामा नियमति उडान गरिने बताए। मन्त्री भट्टराईसँगै बैतडी, बझाङ, डोटीका प्रतिनिधिसभा सदस्यहरु, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, प्राविधिकसहितको टोलीले विमालस्थल निरीक्षण गरेका हुन्। ‘यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन हामी नियमित रुपमा जहाज चलाउने छौं। यसमा स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ’ मन्त्री भट्टराईले भने।

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिए।

वर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको पाटनका स्थानीय हरिश बिष्टले बताए। विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अन्य भौतिक पूर्वाधार निर्माण र उपकरण जडानमा पनि ध्यान दिन आवश्यक भएको स्थानीय बताउँछन्।

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।

परीक्षण उडानमा बझाङ पुगेका मन्त्री भट्टरार्ईले जिल्लाबासीलाई नियमित उडान हुने बाचा गरेका छन्। जिल्लामा नियमति उडान भए पर्यटकहरु भित्रिने सम्भावना भएका खप्तड राष्ट्रिय निकुन्ञ्ज, साईपाल हिमाल, उरैभन्ञ्जया, वडिजियावन, सुर्मासरोवर लगायतका पर्यटकीयस्थलको विकास गर्न सहज हुने स्थानीय बताउँछन्।

विमानस्थलमा लामो समयपछि जहाज आउँदा खुसी लागेको स्थानीय कृष्ण धामीले बताए। सडकबाट यात्रा गर्दा बर्खामा समस्या हुने गरेको थियो। समयमै उपचार नपाउँदा धेरैले बाटोमै ज्यान गुमाएको उनले बताए। नियमित जहाज उडे यहाँका व्यवसायी र यात्रुुलाई सहज हुने स्थानीय बताउँछन्।

डोटीको दिपायल विमानस्थल पनि २०७६ कार्तिकमा कालोपत्रेको काम सम्पन्न भएको थियो। सपना गल्वा जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा विमानस्थल कालोपत्रेको ठेक्का पाएको थियो। दिपालय विमानस्थलको झन्डै ४ सय ९० मिटर कालोपत्रे गरिएको छ। यस्तै ५ सय ८० मिटर लम्बाइ रहेको बैतडीको पाटन विमानस्थल पनि ११ करोड रुपैयाँमा केही महिना अघि कालोपत्रे सम्पन्न भएको छ।  

ग्याल्वा च्यामलिंगा/जगदम्बा जेभीले विमानस्थल कालोपत्रे गर्ने पाएको थियो। पाटनको कन्ट्रोल टावर र टर्मिनल भवन भने अझै बनेको छैन। बझाङको चैनपुर विमानस्थल कालोपत्रेको काम पनि भर्खरै सम्पन्न भएको छ। प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि झण्डै चार करोड रुपैयाँ विनियोजन गरेको थियो।  

सुदूरपहाडका अधिकांश विमानस्थल सडक पुगेपछि यात्रु कम हुँदा बन्द भएका थिए। पाटन विमानस्थल २०३४ मा सञ्चालन भइ ०५२ सालदेखि बन्द रहेको थियो। चैनपुर विमानस्थल २०३५ देखि ०६६ सम्म सञ्चालनमा रहेको थियो भने डोटी विमालस्थलमा २०३५ सालदेखि २०५० सालसम्म हवाई यातायात सञ्चालन भए पनि सडक पुगेपछि भने बन्द भएको थियो।

प्रकाशित: १७ आश्विन २०७७ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App