विधिको सर्वोच्चता
१५ माघ २०७९
•
५ मिनेट पाठ
विधिको सर्वोच्चता
नेपाली राजनीतिमा तीव्र गतिले अगाडि बढेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको यात्रामा सर्वोच्च अदालतको शुक्रबारको आदेशले रोक लागेको छ। सर्वोच्चको संवैधानिक इजलासले दिएका आदेशले तत्कालका लागि उनले नेपाली नागरिकता नलिएको पुष्टि भएको छ। विधिपूर्वक उनले नागरिकता पुनः प्राप्त गरी राजनीतिमा आउन सक्ने बाटो यो आदेशले छेकेको छैन तर उनीमाथि दोहारो राहदानी बोकेको विषय भने अझै छानबिनको विषय छ। यी विषयमा भविश्यमा हुने छानविनलाई सहयोग गर्दै पुनः राजनीतिमा फर्किन उनका निम्ति आगामी बाटो खुला छ।  




कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासबाट लामिछानेको संसद् सदस्यसम्बन्धी योग्यता नपुगेको ठहर भइसकेको छ। संवैधानिक इजलासले गरेको आदेश अन्तिम हुनाले यसमा पुनर्विचारको गुञ्जायस छैन। सर्वोच्चको अदेशलगत्तै उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट लामिछाने मुक्त भइसकेका छन्। सांसद बन्ने न्यूनतम योग्यतामा नेपाली नागरिक हुनु अनिवार्य छ। सर्वोच्चले यही कुरा भनेको हो।  

सर्वोच्चले लामिछानेविरुद्धको मुद्दामा ‘लोकप्रियता’ लाई होइन संविधान र कानुनलाई हेरेर निर्णय गरेको छ। सम्मानित न्यायालयले आदेश नगर्दै दोहोरो नागरिकताका निम्ति वातावरण बन्न थालिसकेको हो। लामिछानेका हकमा नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नपुगेको भन्ने हिसाबले अदालतको आदेश आइसकेको छ। नागरिकता पुनः प्राप्तिका विषयमा सर्वोच्चको पूर्ण पाठ आएपछि यसमा अन्तरर्निहित अन्य पक्ष पनि खुल्नेछन्। आजको विश्वव्यापी समयमा कुनै पनि व्यक्तिले आफ्नो नागरिकता छान्न वा विदेशमै बस्न सक्छन्। तर देशमा आएर फेरि बस्ने हो भने विदेशी नागरिकता परित्याग गरेपछि पुनः प्राप्तिको मौका दिएको छ। आफ्नै देशमा जन्मेका नागरिकप्रति नागरिकता त्यागिसकेपछि पनि आउन चाहँदा बाटो खुला गरेको हो। त्यसका निम्ति धन्य हुनुपर्छ। प्रक्रिया नपुर्‍याइ कसैले पनि नागरिकता पाउन सक्दैन। नागरिकता त्यति सजिलो हुँदो हो त देशमै एक पटक पनि प्राप्त गर्न नसकेका धेरै छन्।  

आजको दिनमा कैयन् नेपालीले विदेशी नागरिकता लिएका छन्। तिनले नेपाली नागरिकता परित्याग गरेका छैनन्। यो विषयलाई राज्यले पनि खासै हेरेको छैन। तर नेपाली नागरिकता त्यागिसकेको कुनै नेपालीले फेरि देशमा आएर यहाँ राजनीति गर्ने, देशको शासन प्रशासन चलाउने इच्छा राख्ने हो भने स्वाभाविकरूपमा कानुनअनुसार नागरिकता प्राप्ति र समाप्तिका पक्षमा ध्यान पुर्‍याउनका निम्ति लामिछानेसम्बन्धी मुद्दाले मार्गदर्शन गरेको छ। त्यति मात्र होइन, कुनै व्यक्तिले देशको ठूला जिम्मेवारी लिने हो भने तिनको नागरिकता, तिनको देशप्रतिको प्रेम र तिनको विगतको संलग्नता जहिले पनि मुद्दाको रूपमा उठ्न सक्छ।  

मुलुकका पाँच ठूला पदका निम्ति जहिल्यै नेपाली उत्पत्तिका नागरिकको खोजी हुनु स्वाभाविक हो। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्यायाधीश नेपालमै वंशजको नागरिकता लिएका व्यक्ति हुनुपर्छ। त्यति मात्र होइन, गृहमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री वा यस्तै राष्ट्रिय महत्वका रणनीतिक ठाउँमा नियुक्त हुँदा पनि विचार गर्नुपर्ने हुन्छ। प्रहरी महानिरीक्षक, प्रधानसेनापतिजस्ता पदको संवेदनशीलता पनि उत्तिकै छ। लामिछानेलाई उपप्रधान र गृहमन्त्री सुम्पिने बेलामा जुन तहको हतार गरियो त्यसका निम्ति उनी मात्र जिम्मेवार छैनन्। यस्ता महत्वपूर्ण पदमा नियुक्तिका बेला विचार गर्नुपर्ने अहिलेको नेतृत्वसमेत यसमा उत्तिकै चुकेको छ।  

हालै भारतमा न्यायाधीश नियुक्ति हुने बेलामा तिनका बारेमा त्यहाँका जासुसी संयन्त्रले दिएको जानकारीलाई समेत सार्वजनिक गरिएको छ। यसरी सुरक्षा निकायबाट आएका जानकारीलाई सार्वजनिक गर्नु हुँदैनथ्यो भन्ने युनियन कानुनमन्त्री किरेन रिजिजुको धारणा पनि बाहिरिएको छ। तर, यस्ता विषयमा हुने छलफलको पारदर्शिताको आफ्नै महत्व छ। भारतीय जासुसी संयन्त्रहरू रअ र आइबीले तिनको नियुक्तिमा आपत्ति गरेको जानकारी सर्वोच्च अदालतको कलेजियमले सार्वजनिक गरेपछि यस्ता नियुक्तिमा भारतमा समेत सुरक्षा निकायले जानकारी लिने चलन रहेको देखिएको छ। हामीकहाँ गृहमन्त्री वा रक्षामन्त्री जस्ता संवेदनशील जिम्मेवारीमा पुगेका व्यक्तिका बारेमा समेत कुनै जानकारी राख्ने गरेको देखिएन।  

लामिछानेलाई अमेरिकी नागरिक भनेर गृह मन्त्रालय आफैँले सूचना तथा सञ्चार मन्त्रालयलाई २०७४ मै जानकारी दिइसकेको हो। यस्तो जानकारी राज्यका निकायमा किन रहन सकेन ? नेपाली नागरिक नरहेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्ने र तिनलाई सहज गराउने काम निर्वाचन आयोगले कसरी गर्‍यो ? नागरिकता अवैध हो भन्ने थाहा पाउनुपर्ने काम राज्यका अन्य निकायको हो/होइन ? त्यसैगरी नियुक्तिको निर्णय गर्ने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीको यसमा जिम्मेवारी हुन्छ वा हुँदैन ? राष्ट्रपति विद्यादेवी भण्डारीको यसमा कुनै जिम्मेवारी छ वा छैन ? हाम्रो राज्य संयन्त्र र मुलुकलाई नै कमजोर बनाउने घटना भएको छ। नेपाली नागरिकता त्यागिसकेको एकजना नागरिक जिम्मेवारीमा पुग्दा पनि कतैबाट जानकारी भएको देखिएन।  

त्यसैले संवेदनशील पदहरू न्यायपालिका वा कार्यपालिकाको नियुक्ति सुरक्षाको दृष्टिबाट जाँच हुनुपर्छ। गृह मन्त्रालयमा जिम्मेवारी लिएर आउने मन्त्रीलाई अनेकन सूचनामा पहुँच हुन्छ। त्यस्तो व्यक्तिलाई त्यहाँ पु¥याउँदा भविष्यमा राज्यलाई पुग्न सक्ने क्षतिबारे पनि विचार गर्नुपर्ने हुन्छ। यस्तो पक्षमा ध्यान दिने काम हामीकहाँ भएन। लामिछानेको नागरिकता प्रकरणमा राज्यका विभिन्न निकायको निकम्मापन उदाङ्गो भएको छ। उनी गृहमा नियुक्त भएपछि छानबिन ठप्प मात्र पारिएन, उनकै पक्षमा सबै सरकारी निकाय लागेको देखिएको छ। महान्यायाधिवक्ताको कार्यालयले पनि यो मुद्दामा लामिछानेको पक्षपोषण गरेर निर्लज्जता प्रदर्शन गरेको छ।  

यो स्थितिमा लामिछाने मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी लिनु नैतिक हिसाबले उचित हुँदैन। उनीमाथि दोहोरो राहदानीबारेको छानबिन बाँकी छ। यो छानबिनका निम्ति उक्त दल, लामिछाने आफैँ र यसका अन्य सांसदले पनि सहजीकरण गर्नुपर्छ। गत निर्वाचनमा यो दललाई देखिएको मतदाताको समर्थन त्यत्तिकै होइन। अन्य दलले देखाएको व्यवहारका आधारमा पनि मतदाताले परिवर्तन खोजेका हुन्। परिस्थितिप्रति दिक्क भएर दिएको मतलाई ध्यानमा नराखी सत्ताका निम्ति हतार देखिएको छ। त्यति मात्र होइन, पुरानै दल र तिनका नेताप्रति नतमस्तक हुने लामिछाने र उनको दलको प्रवृत्तिले आममतदातालाई चिन्तित तुल्याएको छ। यो प्रकरणबाट लामिछानेको दलले सिक्दै न्यायालयले आगामी मार्ग सुधारका निम्ति दिएको यो आदेश कार्यान्वयनमा मद्दत गर्नुको विकल्प छैन। न्यायालयले फेरि एकपटक विधिको सर्वोच्चता कायम गर्न दिएको आदेशले लोकतन्त्रलाई अरू सम्पुष्ट गर्दै जानेमा विश्वस्त हुन सकिन्छ। 
अर्को समाचार
विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल
२६ वैशाख २०८३
•
२ मिनेट पाठ
विधिको शासन कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश मल्ल
सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताएकी छिन्।




शनिबार  ७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न सबैमा सकारात्मक सोच र भावना प्रदान गर्नुपर्ने बताएकी हुन्।

‘वर्तमान परिस्थितीमा अलिकति पनि विचलित नभई नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न कानून दिवसले सबैमा सकारात्मक सोच र भावना प्रदान गर्न सकोस् भन्ने कामनासहित कानून दिवसको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

न्यायपालिकामा गरिने सुधारको विषय न्यायपालिकाको एकाङ्की विषय नभई न्यायपालिकाको स्वतन्त्रता एवं सुदृढीकरण राज्यका समस्त अङ्गहरूको साझा दायित्व भएको उल्लेख गर्दै उनले यस साझा दायित्वको निर्वाहमा सबैको एकजुट एवं समन्वयित प्रयास अपरिहार्य भएको बताएकी छिन्।

सन्देशमा भनेकि छन्, ‘न्यायपालिकाले रणनीतिक योजनामार्फत चालेका सुधारका कार्यमा न्यायाधीश, सरकारी वकिल तथा कानून व्यवसायी, न्यायपालिकामा कार्यरत कर्मचारीहरू लगायत सरोकारवाला निकाय एवम् संस्थाहरूको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।’

संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुरूप न्यायपालिकाले न्याय सम्पादन गर्दै आइरहेको उल्लेख गर्दै उनले न्यायपालिकाले न्यायिक सुधारलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले विसं २०६१ सालदेखि रणनीतिक योजना तर्जुमा गरी क्रमिक रूपमा कार्यान्वयन गर्दै आएको बताइन्।

‘हाल पाँचौ पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको क्रममा छ, आर्थिक वर्ष २०८१र८२ मा उक्त योजनाका कार्यान्वयन सूचकहरू उत्साहजनक तथा सकारात्मक देखिएका छन्, जसबाट न्यायिक क्षेत्रका विभिन्न आयाममा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। प्राप्त यी उपलब्धिहरूको संरक्षण, संस्थागत सुदृढीकरण तथा सुधार प्रक्रियामा थप प्रभावकारिता अभिवृद्धि गर्न न्यायपालिका दृढतापूर्वक प्रतिबद्ध रहेको’, उनले भनिन्।

नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसको रुपमा मनाइँदै आएको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस