स्वस्थ नागरिक समृद्ध देश
२९ कार्तिक २०७९
•
४ मिनेट पाठ
स्वस्थ नागरिक समृद्ध देश
अचेल जीवनशैली परिवर्तन हुँदा धैरै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ। जीवनशैलीकै कारण सर्नेभन्दा नसर्ने रोग व्यापक भइरहेका छन्। जतिबेला पनि खानेकुरा उपलब्ध हुने भएकाले अचेल मानिसमा समस्या बढ्दो छ। खान नपाउँदा एक किसिमको समस्या थियो भने सजिलै यसको उपलब्धताले विविध रोगको समस्या देखिन थालेको छ। त्यही भएर कति खाने, कतिबेला खाने, के खाने जस्ता विषयमा पनि मानिसको उत्तिकै ध्यान जान थालेको छ। विशेषगरी मधुमेह, रक्तचाप आदि रोगका कारण युवावस्थामै पीडित हुनुपर्ने अवस्था देखिन थालेको छ। विश्वभरि मधुमेह रोगबारे सचेत बनाउन सोमबार दिवससमेत मनाइएको छ। विश्व मधुमेह दिवस मनाउनुको उद्देश्य यसबारे चेतना फैलाउनका निम्ति हो।  




स्वस्थ जीवन बाँच्नु र नबाँच्नुले निकै फरक पार्छ। सकेसम्म रोग लाग्न नदिने उद्देश्य राख्नुपर्छ। लागिहाल्यो भने पनि त्यसमा यथोचित रोकथाम गरेर जीवनलाई सक्रिय तुल्याउन सक्नुपर्छ। फेरि एउटा रोग लागिसकेपछि त्यसले अन्य समस्यातर्फ क्रमशः शरीरलाई उन्मुख गराउँछ। मधुमेह भएपछि आँखाको समस्या हुन थाल्छ। विशेषज्ञहरूका अनुसार मधुमेह लागेका ३५ प्रतिशत बिरामीमा आँखाको समस्या हुने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ। विश्वभरि ५३ करोडभन्दा बढी मानिसलाई मधुमेह भइसकेको छ। यो समस्या अबका १० देखि १५ वर्षमा अरू भयावह हुन सक्ने चेतावनीसमेत विशेषज्ञहरूले दिएका छन्। युवा उमेरमै यसले आक्रमण गर्ने प्रवृत्तिको विकास भइरहेको छ।  

यो प्रक्षेपणका आधारमा पनि आगामी दिनमा मधुमेह रोकथामका निम्ति सरकारको ध्यानाकर्षण हुन आवश्यक छ। अहिले युवा उमेरमै मधुमेहको संक्रमण हुनु आफैंमा चिन्ताको विषय हो। त्यसैले यसबाट जोगिन बेलैमा सचेत हुन जरुरी छ। जीवनशैली परिवर्तन गर्ने हो भने यसले आक्रमण गर्न सक्दैन। त्यसैले दैनिक तोकिएको मात्रामा शारीरिक श्रम गर्न छाड्नु हुँदैन। विशेषगरी पत्रु खाना (जंक फुड) ले सर्वसाधारणको स्वास्थ्य बिगारिरहेको अवस्था छ। अतिरिक्त प्रशोधित खानाको ठाउँमा आफ्नै घरमा बनाएको सामान्य खानाले मानिसको स्वास्थ्य राम्रो हुन्छ भन्ने अध्ययन/अनुसन्धानले देखाइसकेको छ। सागपात, फलफूल, तरकारी, माछा/मासु, अन्डा, दाल, भात, रोटी वा अन्य यस्तै खाना राम्ररी खाने र यथेष्ट शारीरिक श्रम गर्ने हो भने मधुमेहको संक्रमण हुन सक्दैन।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०१० मै अघि सारेको स्वस्थ जीवनशैलीका उपाय अपनाउनु उचित हुन्छ। सकेसम्म वनस्पतिजन्य खाना खान, रोटी, अन्न, पास्ता वा आलु खान, विभिन्न तरकारी र फलफूल प्रतिदिन ४ सय ग्रामसम्म खान, शरीरको तौल ठीक अवस्थामा राख्न, बढी नमोटाउन, चिनीजन्य पदार्थ नखान, मदिराजन्य पदार्थ सेवन नगर्न आदि सुझाव दिएको छ। त्यसैगरी प्रौढका लागि प्रत्येक साता हल्का किसिमका शारीरिक गतिविधि १५० देखि ३०० मिनेटसम्म गर्नसमेत डब्लुएचओले सिफारिस गरेको छ। बालबालिका र किशोरका निम्ति प्रतिदिन ६० मिनेट हल्का शारीरिक अभ्यासका निम्ति सिफारिस गरिएको छ। प्रायः बालबालिका र किशोर दैनिकजसो सक्रिय हुन्छन्। प्रौढहरूमा भने विस्तारै शारीरिक अभ्यास घट्दै जान्छ। अझ कार्यालयमै बसेर धेरै काम गर्ने भएकाले शारीरिक अभ्यास कम हुन्छ। त्यसकारण पनि दैनिक शारीरिक अभ्यासका निम्ति समय छुट्ट्याउनु स्वास्थ्यका निम्ति उपयुक्त हुन्छ। त्यसैले ब्यायाम नगर्नुलाई धूमपान गर्नुभन्दा खतरनाक स्थितिका रूपमा चित्रण गरिन्छ।  

नेपालमा ८ प्रतिशत मानिसमा मधुमेह समस्या देखिएको छ। त्यसमा पनि ३० वर्षभन्दा माथिका मानिसमा यो समस्या धेरै देखिएको छ। पहिला ५० वर्ष कटेकालाई मात्र मधुमेह हुन्छ भन्ने ठानिन्थ्यो। त्यसैले खानपिनमा ध्यान दिने, पत्रु खाना नखाने, बढी खाना नखाने र शारीरिक कसरत गर्ने गर्नाले मधुमेह मात्र होइन; रक्तचाप र अन्य समस्याबाट समेत जोगिन सकिन्छ। मधुमेहको परीक्षण प्रत्येक वर्ष गर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन्। मधुमेह लागेको व्यक्तिमा तिर्खा लाग्ने, पिसाब धेरै लाग्ने, तौल कम हुने जस्ता समस्या हुन्छन्। त्यसैले आफ्नो शरीरमा कुनै त्यस्ता लक्षण देखिएको भए परीक्षण गरेर शंका निवारण गर्न सकिन्छ।  

भौतिक उन्नति गर्दै जाँदा मानिसमा यस्ता अनेक समस्या देखिन थालेका छन्। विश्वभरि नै यस किसिमको अवस्था छ। हिजो हामीकहाँ कृषिमा आधारित समाज हुँदा शारीरिक श्रम हुन्थ्यो। आज क्रमशः मानिस सेवा–व्यवसायमा लागेका छन्। त्यसमा कम शारीरिक श्रम हुन्छ। खानाको नियमित उपलब्धताले खाइरहन प्रेरित पनि गर्छ। त्यसैले हाम्रो खानपिनदेखि दैनिक बानी र व्यवहारको पनि सुधार हुन आवश्यक भइसकेको छ। अघिल्लो पुस्ताका मानिसले कमै भोग्नुपरेको समस्या अहिले बढेको छ, तर त्यसको समाधान पनि नभएको होइन। हामीले त्यसमा ध्यान नपु¥याएको मात्र हो। विश्व स्वास्थ्य संगठनदेखि अन्य जिम्मेवार निकायले समेत यसबारे ध्यानाकर्षण गरिरहेका छन्।  

यतिबेला मुलुक निर्वाचनमा व्यस्त छ। वास्तवमा स्वास्थ्य क्षेत्रलाई समेत सबैजसो दलले आफ्नो चुनावी अजेन्डा बनाएका छन्। यस्ता विषयलाई भोलि कार्यक्रम बनाएर सरकारमा हुँदा सञ्चालन पनि गर्नुपर्छ। राम्रो सरकार त्यही हो, जसले सर्वसाधारणलाई दैनिक मार्गदर्शन गर्न सक्छ। स्वस्थ जीवनयापनका निम्ति सरकारको मार्गदर्शन हुनै पर्छ। कतिपय सरकारले दैनिक कस्ता खाना खाने भनेर समेत सार्वजनिक सूचना जारी गर्ने गरेको देखिन्छ। कल्याणकारी राज्य भनेको त्यही हो; जसले आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन्छ। भोलिको नेपाल स्वस्थ नेपाल बनाउने हो भने यस्ता विषयमा ध्यान पु¥याउनुपर्छ। देशको विकास निर्माण मात्र होइन; बलिया र स्वस्थ नागरिक नै मुलुकका निम्ति सम्पत्ति हुन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले त्यसै भनेका होइनन्, ‘प्रजा मोटा भया दर्बार बलियो रहन्छ।’
अर्को समाचार
सन्दर्भ विश्व मधुमेह दिवसः गाउँ पस्यो मधुमेह
२८ कार्तिक २०७८
•
४ मिनेट पाठ
सन्दर्भ विश्व मधुमेह दिवसः गाउँ पस्यो मधुमेह
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन्। परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन्। पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो।




ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो। दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ। यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ।

भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउँछन्। खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ। उनी भन्छन्, ‘गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ।’

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उहाँले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताउँछन्। कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्याल सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउँछन्।

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उनको सुझाव छ। मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनको भनाइ छ। यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ। अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ।

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताउँछन्। ‘खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ।’ मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनी औल्याउँछन्।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो। यसलाई नियन्त्रणमा राख्नुपर्छ। अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन्। यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ।’

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उनले भने, ‘वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच÷दश वर्ष पछाडि धकेलिन्छ। शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ। हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ। यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ।’

आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उनको सुझाव छ। सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ। उनले एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिए।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारी मधुमेह आफैँमा रोग नभएको बताउँछन्। ‘मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो, उनले भने। मधुमेहका कारण आँखा, मुटु, मिर्गौला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ।

मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा अधिकारीले अर्को ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्को वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको सङ्ख्या रहेको बताउँछन्। विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ।

नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ।

नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उनले भने, ‘अर्को ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ।’ नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताए। स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उनले सुझाव दिए। उलने भने, ‘वर्षमा एकपटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ।’

रासस
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस