‘लर्निङ’ का साथै ‘अर्निङ’ को व्यवस्था आवश्यक
२७ मंसिर २०७९
•
१० मिनेट पाठ
‘लर्निङ’ का साथै ‘अर्निङ’ को व्यवस्था आवश्यक
राष्ट्रिय परीक्षाबोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले हालै कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। सबै विद्यार्थीहरूले कुनै न कुनै ग्रेड प्राप्त गरेकाले उनीहरू आफूले रुचाएका विषयमा अध्ययन गर्र्न विषय र कलेज छनौट गर्न व्यस्त छन् भने कलेज सञ्चालकहरूलाई पनि विद्यार्थी भर्नाको चटारो छ।  




कक्षा १२ पछिका विद्यार्थीहरू विश्वविद्यालय प्रवेश गर्ने जमात हुन्। ग्रेडिङअनुसार प्रकाशित नतिजाका कारण विश्वविद्यालय तथा अन्तर्गतका कलेजका विद्यार्थीहरूको भर्ना सहज बनेको कलेज सञ्चालकहरू नै बताउँछन्।  

विगतमा कक्षा १२ मा ए प्लस वा राम्रो ग्रेड हासिल गर्नेहरूको पहिलो रोजाइ नै मेडिकल, इन्जिनियरिङ्ग हुने गरेकोमा हाल यो अवस्थामा परिवर्तन आएको छ। विद्यार्थीहरू अध्ययनपछि भविष्यमा के गर्ने भन्नेबारे अहिलेदेखि नै सचेत देखिन्छन्।  

विश्वविद्यालय अनुदान आयोगको एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा कुल १२ वटा विश्वविद्यालय, पाँच मेडिकल एकेडमी र तिनका आबद्ध तथा सम्बन्धनप्राप्त क्याम्पसहरूबाट कुल चार लाख ६० हजार ८ सय २६ विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गरिरहेका छन्। यसमध्ये पनि सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा भर्ना छन्। यो विश्वविद्यालय एक्लैले तीन लाख ४७ हजार २ सय ६९ विद्यार्थीलाई कुनै न कुनै विषयमा पठनपाठन गराइरहेको छ।  

शिक्षाको क्षेत्रमा भर्ना हुने अनुपात सामान्य कार्यक्रममा ७९.२८ प्रतिशत छ भने प्राविधिकतर्फ २०.७२ प्रतिशत रहेको छ। विषयगत रूपमा हेर्दा आयोगको तथ्यांकले सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा अध्ययन गरिरहेको उजागर गरेको छ। व्यवस्थापनमा कुल विद्यार्थीको ४६.२४ प्रतिशत विद्यार्थी अध्ययनरत छन् भने शिक्षामा २२.१८ प्रतिशत, मानविकी तथा सामाजिक विज्ञानमा ७.९८ प्रतिशत छ भने विज्ञान तथा प्रविधिमा ८.३ प्रतिशत, चिकित्सामा ५.३८ प्रतिशत र इन्जिनियरिङमा ५.५६ प्रतिशत अध्ययनरत छन्।  

अर्कोतर्फ नेपालमै पनि अध्ययन गराइने विषयमै उच्च शिक्षा हासिल गर्न विदेसिने विद्यार्थीहरूको क्रम पनि बढी रहेको छ। गत महिना मात्र शिक्षा मन्त्रालय एनओसी शाखाका अनुसार ६ हजार ६ सय २६ ले विदेशमा उच्च शिक्षा हासिल गर्न एनओसी लिए भने विगत ११ महिनाभित्र एक लाख २ हजार ८ सय ७५ विद्यार्थीले एनओसी लिएका छन्।  

नेपालका विश्वविद्यालयहरूका पाठ्यक्रम विश्वस्तरीय र माटो सुहाउँदो छन्। अध्ययनपछि स्वदेश तथा विदेशमै राम्रो अवसर पनि छ। अब उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई स्वदेशमै पढाइसाथै कमाइको पनि व्यवस्था कानुनी रूपमै गर्न सके उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू स्वदेशमै अध्ययनको वातावरण बन्ने विभिन्न शिक्षा सम्बन्ध सरोकारवालाहरूको सुझाव छ।  

पढाइसँगै काम गर्ने कल्चर बसाउनुपर्छ  

विदेशका शैक्षिक नीतिमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरू कमाउँदै पढ्दै गर्ने सरकारी व्यवस्था छ। यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने भएकाले अब नेपालको उच्च शिक्षा नीतिमा पनि यस किसिमको व्यवस्था गरिनु अपरिहार्य बनेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सञ्चालक संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवाल बताउँछन्। ‘हाम्रा विद्यार्थीहरू विश्वविद्यालय शिक्षा हासिल गर्दाको समयसम्म पनि अभिभावकमै निर्भर रहने अवस्था छ। यसले विद्यार्थीलाई पर निर्मर बनाएको छ,’ अध्यक्ष सिलवालले भने, ‘अब पुरानो शिक्षा नीतिले काम गर्दैन। सूचना प्रविधिको युगले सम्पूर्ण विश्वलाई साँघुरो बनाएको छ,’ उनी थप्छन्, ‘त्यही भएर अब स्वदेशमै उच्च शिक्षा हासिल गर्ने वातावरण तयार पार्न पढाइसँगै विद्यार्थीका लागि काम गर्ने अनिवार्य नियम बनाउनुपर्छ।’ उनले विदेशमा जुन सुकै काम गर्न तयार हुने विद्यार्थी नेपालमा काम गर्ने कल्चर नभएकै कारण पछि परेको औंल्याए। ‘राजनीतिक दलहरूले समेत ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत शिक्षा साधारण गर्ने प्रतिबद्धता गरेका छन्। यी विषयवस्तुहरू व्यवहारमा कार्यान्वयन हुनुपर्छ,’ अध्यक्ष सिलवाल सुझाउँछन्, ‘शिक्षालाई सिपसँग जोडे विद्यार्थी कमाउन थाल्छन्। पढाइकै क्रममा लगानी पनि उठाउन थाल्छन्।’  

टेक्सस कलेजका भाइस प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले विश्वविद्यालयका कोर्सहरू समय सापेक्ष रहेकाले कोर्समा कुनै गुनासो भएको जनाउँदै उनले घरमा समेत सुरक्षित वातावरण तयार पार्नुपर्ने बताए। ‘घरमा पनि अभिभावकले आफ्नो सन्तानका लागि आर्थिक, सामाजिक र व्यक्तिगत सुरक्षाको वातावरण तयार पार्नुपर्छ,’ भाइस प्रिन्सिपल श्रेष्ठले सुझाए, ‘अनि मात्र विद्यार्थीहरू कमाउने र पढ्ने वातावरण बन्छ।’

युनिग्लोब कलेजका नरबहादुर विष्टले उच्च शिक्षामा स्कुलदेखि नै विदेश जाने भनेरै विद्यार्थीलाई तयार पारिने सोचले पनि उच्च शिक्षामा समस्या आएको औंल्याए। अब सरकारले पढाइसँगै आम्दानी गर्ने आधार तयार पार्नुपर्ने र पढाइअनुसारको अवसर सृजना गर्नुपर्ने सुझाए।  

‘हाल सकी नसकी विद्यार्थी विदेसिने क्रम उच्च भएकाले अब सरकार र स्वयम् कलेज सञ्चालकहरूका तर्फबाट समयै छलफल गरी विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्न कार्य र पढाइलाई सँगै लाने नीति ल्याउनुपर्छ,’ विष्टले अनुभव सुनाए, ‘यसो गर्न नसके देशमा युवाहरू विदेश पलायन हुने र माथिबाट कलेज सुक्दै आउने अनि तलबाट स्कुल सुक्दै जाने समस्या आउँछ। यसले ठूलो आर्थिक चुनौती पनि थपिने छ।’

स्टेट एजुकेसनको व्यवस्था जरुरी  

नेपाली उच्च शिक्षा प्रदायक विश्वविद्यालयहरूको कोर्स कन्टेन्ट विश्वस्तरीय र प्रतिस्पर्धी परिमार्जन रहे पनि त्यसको उचित मार्केटिङ गर्न चुकेकै कारण नेपालमै पनि पढाइने विषयमा लाखौं खर्चेर वर्षेनी हजारौं विद्यार्थी विदेश जान बाध्य रहेको कान्तिपुर इन्टरनेसनल कलेजका प्रतापराज जोशीको अनुभव छ। ‘जति पनि विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्ने छन्, ती सबै उपत्यकाभित्र नै सीमित रहे,’ जोशीले अनुभव सुनाए, ‘पूर्वाञ्चललगायतका सबै विश्वविद्यालयका कोर्सहरू विश्वस्तरीय छन्। व्यवस्थापन, आइटी र इन्जिनियरिङका कोर्स समयसापेक्ष छन्। तर दुःखसाथ भन्नुपर्छ हामीले यसको उपत्यकाबाहिर मार्केटिङ नै गर्न चुक्यौं,’ उनले थपे, ‘जसका कारण काठमाडौंबाहिर जिल्लाका विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न नेपालमै भएका विषयहरू बाहिर गएर अध्ययन गर्न बाध्य बनेका छन्।’ उनले अब सरकारले स्टेट एजुकेसनको व्यवस्था गर्नुपर्ने आवश्यकता आंैल्याए। उनका अनुसार सरकारले अब समयसापेक्ष शिक्षा नीति बनाएर कार्यान्यन गर्नुपर्छ।

पेड इन्टर्नसिपको आवश्यकता  

उच्च शिक्षामा पढाइको एक महत्वपूर्ण पाटो इन्टर्नसिपको बुझाइ नेपाली शैक्षिक निकाय र विद्यार्थीमा अझै नभएकै कारण विद्यार्थीहरू अध्ययनपछि निरास बन्ने गरेको साउथ वेस्टर्न स्टेट कलेजका गणेश महराको बुझाइ छ। ‘हामी कहाँ अझै इन्टर्नसिपको संस्कृतिको अभ्यास छैन। कहीं कतै इन्टर्नसिप गराइहाल्यो भने पनि पैसा दिँदैनन्,’ महराले सुझाए, ‘उच्च शिक्षाको हरेक विषयमा भुक्तानीसहितको विषयगत इन्टर्नसिपको व्यवस्था हुनुपर्छ। यसले विद्यार्थीलाई स्वदेशमै पनि सक्षम र सिपयुक्त बनाउँछ। उत्पादित जनशक्ति स्वदेश तथा विदेशमा खपत हुन्छन्।’

शैक्षिक लोनको व्यवस्था हुनुपर्छ  

नेपाली विद्यार्थीलाई विदेशमा उच्च शिक्षा हासिल गर्न विभिन्न बैंकहरूले लोन दिने भए पनि स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक लोनको व्यवस्था नभएका कारण पनि धेरै विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्नु चुनौती खेप्नुपरेको प्रिसिडेन्सियल बिजनेस स्कुलका लक्ष्मण केसीले औंल्याए। ‘सरकारले उच्च शिक्षामा विद्यार्थीलाई आत्मनिर्भर गर्ने नीति लिनुपर्छ,’ केसीले भने, ‘शैक्षिक लोनको उच्च शिक्षामा व्यवस्था भए विद्यार्थी अभिभावकमाथि निर्भर हुनुपर्ने अवस्था अन्त हुन्छ। उनीहरू उच्च शिक्षा स्वदेशमै हासिल गर्ने वातावरण बन्छ।’

विदेशी डिग्री नेपालमै छ भन्नेबारे विद्यार्थीलाई बुझाऔं  

नेपालमा विदेशी र स्वदेशी दुवै खाले डिग्री उपलब्ध भइरहे पनि नेपाली विद्यार्थीलाई खासै थाहा नभएको सिल्भर माउन्टेन कलेजका सञ्चालक समीर थापाले जनाए। उनले नेपालमा स्वदेशी र विदेशीबीचको अन्तरद्वन्द्वलाई रोकेर स्वदेशमै पनि विश्वका हजार स्थानमा पर्ने विश्वविद्यालयहरूको सम्बन्धमा कलेजहरूले विभिन्न विषयमा पठनपाठन गराइरहेकोबारे बुझाउनुपर्ने आवश्यक रहेको थापाले सुझाए। शिक्षा मन्त्रालयका अनुसार नेपालमा विदेशी शैक्षिक सस्थाहरूबाट सम्बन्धन लिएर कुल ९५ कलेजहरू सञ्चालनमा छन्। जसमध्ये ५७ वटामा स्नातकदेखि स्नातकोत्तर तहसम्म सञ्चालन भइरहेको छ। यसमा २२ हजार विद्यार्थीहरू अध्ययनरत छन्। ‘गत वर्ष मात्र ६७ अर्ब रूपैयाँ विदेश अध्ययन गर्नमा नेपालबाट बाहिरिएको छ। विदेशी सम्बन्धनमा चलेका कलेजहरू नेपालमा हजार रैंकिङका छन्,’ अध्यक्ष थापाले सुझाए, ‘यसैगरी नेपाल सरकारले पनि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी हजार रैंकिगको विश्वविद्यालयहरूमा जाने नियम बनाइदिनु पर्छ। यसले गर्दा विद्यार्थी ठगिनेबाट जोगिन्छ।’ उनले थपे, ‘सरकारले शैक्षिक नीति समयसापेक्ष बनाउनुपर्छ।’

प्रिसिडेन्सियल बिजनेस स्कुलका लक्ष्मण केसीका अनुसार सरकारले स्वदेशी र विदेशी शिक्षा नीतिबीच विभेद गरेकै कारण विद्यार्थीहरू स्वदेशमै बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नबनेको हो।  

‘अहिले नेपाली विद्यार्थी सिधै विदेश अध्ययन गर्न जाने हो भने सरकारले कम कर लिने र स्वदेशमै बसेर विदेशी शैक्षिक निकायबाट शिक्षा हासिल गर्दा बढी कर तिर्नुपर्ने असमान शैक्षिक करको व्यवस्थाका कारण पनि नेपाली विद्यार्थीहरू स्वदेशमै सञ्चालित विदेशी कलेजबाट शिक्षा हासिल गर्न बिच्चेको देखिन्छ, ‘केसी औल्याउँछन्, ‘सरकारले नै विदेश जाने शैक्षिक नीति सहज गरिदिएको छ। सरकारले नै विदेश पठाउने चाहन्छ। अब शैक्षिक परामर्श दातृ निकायले पनि विदेशी विद्यार्थी स्वदेशमा ल्याउनुपर्ने नियम बन्नुपर्छ।’

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानले स्नातकसम्म नेपालमा उच्च स्तरीय शिक्षा दिन नेपाली र स्वदेशी कलेजहरू निकै सक्षम रहेको बताए। उनले विद्यार्थीहरू स्वदेशमै परिवारसँगै बसेर निकै सर्वसुलभ शुल्कमै विदेशी डिग्री नेपालमै पाउने भएकाले अब विद्यार्थीहरू विदेश दुःख पाउन जाने अवस्थाको अन्त हुने विश्वास व्यक्त गरे। ‘स्नातक शिक्षा नेपालमा हासिल गरेर मास्र्टर गर्न विदेश जाँदा सम्मानजनक काम पाउँछ,’ अध्यक्ष जलानले भने, ‘परिवारसाथ बस्ने बानी बनिसकेकाले विदेश गएको विद्यार्थी सिप र दक्षता लिएर नेपाल फर्कंदा देश आर्थिक रूपमा पनि सक्षम बन्छ।’  

क्रेडिट ट्रान्सफरको व्यवस्था कार्यान्वयन हुनुपर्छ  

लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानले विद्यार्थीलाई विषयको नामभन्दा पनि त्यस विषयले दिने कन्टेन्टमा ध्यान दिनुपर्ने सुझाउँछन्। उनले सस्तो शुल्क र विश्व बजारमा बिक्न सक्ने विषयका रूपमा अहिले विद्यार्थीले व्यवस्थापन र आइटी शिक्षालाई समेत प्राथमिकतामा राख्न थालेको जनाए।  

अध्ययन सकिनासाथ रोजगार र अवसर पाउने भएकाले अभिभावक र विद्यार्थी दुवैको रोजाइ आइटी र व्यवस्थापन बनेको उनको भनाइ छ। उनले सरकारी नीति नियममै उच्च शिक्षालाई उद्योगसँग प्रत्यक्ष लिंक गर्नुपर्नेमा जोड दिए। ‘उच्च शिक्षाको पाठ्यक्रम व्यावहारिक र सिपसँग जोडिएको हुनुपर्छ,’ अध्यक्ष जलानले भने, ‘यसले गर्दा विद्यार्थीहरूलाई पास हुना साथ उद्योगमा तलबमा आधारित इन्टर्नसिपको व्यवस्था गरिनुपर्छ,’ उनले थपे, ‘सरकारले नै देशमा सञ्चालित उद्योग व्यवसायको सूची तयार पारी विश्वविद्यालयसँग लिंक गराएर विद्यार्थीलाई सिप र कोर्सअनुसारको अनिवार्य कामको अवसर सृजना गर्नुपर्छ।’

अझै पनि विद्यार्थीले राम्रो ग्रेड ल्याउनासाथ पहिलो रोजाइ मेडिसिन त्यसपछि इन्जिनियरिङ अनि व्यवस्थापन र आइटी बनेको छ। व्यवस्थापनतर्फ बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिटिटिएम, बिसिए, बिटेक इन फुड, बिएससि सिएसआइटीलगायतका विषयहरूमा विद्यार्थीको आकर्षण छ।  

नेपालमा इन्जिनियरिङ विषय त्रिभुवन विश्वविद्यालय, पोखरा, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेज तथा विश्वविद्यालयमा पठनपाठन गराइन्छ। व्यवस्थापन सबै विश्वविद्यालयहरूले पढाउँछन्। विश्वविद्यालयहरूले चार वर्षे स्नातकमा क्रेडिट ट्रान्सफरको व्यवस्था कार्यान्वयन अझै गरेका छैनन्। यसले गर्दा पनि विदेशमा शिक्षा हासिल गर्दागर्दै सोही विषय नेपालमा अध्ययन गर्न समस्या भएको अध्यक्ष सिलवाल बताउँछन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस