दैलेखको नारायण नगरपालिका –३ कालीमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू पढ्न होइन पानी बोक्नका लागि विद्यालय जाने गरेका छन्। पानी बोक्नु उनीहरूको दैनिकी जस्तै बनेको छ।
विद्यालयमा नजिकैको धारामा खानेपानी आउन छाडेपछि धारा मर्मत गर्न छाडेर विद्यालय प्रशासनले विद्यार्थीहरु पानी खोज्न पठाउने गरेको पाइएको छ।
विद्यालय पुगे लगत्तै अरू विद्यालयमा प्रार्थना गरेर पढाईको अभ्यास सुरु हुन्छ तर, यस विद्यालयमा खोल्सीबाट पानी बोक्नु पर्ने हतारो सुरु हुन्छ। कम्तीमा १ घण्टा विद्यालयमा पानी बोकेपछि बल्लतल्ल पढाईको तालिका आरम्भ हुने गरेको छ।
चिटिक्क विद्यालयको पोशाक लगाएर विद्यालय पुगेका विद्यार्थीहरूको पोशाक नै पानी बोक्दा फोहोर भइसकेको हुन्छ। त्यही फोहोर पोशाकमै पढ्नुपर्ने बाध्यता अर्कोतिर रहेको छ।
विद्यालयमा पानीको अभाव भएको भन्दै विद्यार्थीहरुलाई पानी बोकाउनु परेको विद्यालयले जनाएको छ। पानी अभाव देखाएर विद्यालय प्रशासनले पढ्न गएका विद्यार्थीहरुको प्रयोग गरेको प्रति अभिभावकहरु समेतले आलोचना गरेका छन्।
नगरपालिका मार्फत बजेट मागेर वा अभिभावकबाटै पैसा उठाएर भएपनि विद्यालयकाे खानेपानी लाईन मर्मत गर्नुपर्ने स्थानीयहरूको भनाई छ। तर, विद्यालयले त्यसो नगरी विद्यार्थीको प्रयोग गर्नु राम्रो नभएको शिक्षासँग सम्बन्धित व्यक्तिहरूले बताए।
पढाइभन्दा पनि सरहरूले भनेपछि पानीको जोहोको लागि बिहानको समय आफूहरूले छुट्ट्याउनु परेको विद्यार्थीहरू बताउँछन्।
खानेपानीका साथै विद्यालयको शौचालयका लागि समेत विद्यार्थीहरुले पानी ल्याउने गरेका छन्। वडा र नगरपालिकालाई खानेपानी समस्या समाधान गर्न बारम्बार आग्रह गरेको तर, सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक रंगनाथ खनालले बताए।
विद्यालयका कर्मचारी बाहिर गएकाले विद्यार्थीको पालो अनुसार पहिलेदेखि पानी बोक्नु परेको उनको भनाई छ। खानेपानीको अभाव हुँदा विद्यार्थीको पढाई प्रभावित हुनुका साथै शौचालय पनि दुर्गन्धित हुने गरेको विद्यालयका प्रधानाध्यापक खनालले सुनाए।
घरबाटै पनि विद्यार्थीहरुले आफूले खान पानी ल्याउने गर्दछन्। तर, पनि सरहरु र शौचालयको लागि अतिरिक्त पानी विद्यार्थीहरुबाट बोकाइने गरेको विद्यार्थीहरूको गुनासो छ।
विद्यालयमा कार्यालय सहयोगी छन् तर, सहयोगीले पानी नबोक्दा विद्यार्थीलाई प्रयोग गरिएको हो। नगरपालिकाले तत्काल खानेपानी मर्मतका लागि पहल गर्नुपर्ने अभिभावकहरुले बताए।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...