विद्यार्थी नियमित गराउन ‘हेलो अभिभावक’
२२ पौष २०८०
•
४ मिनेट पाठ
विद्यार्थी नियमित गराउन ‘हेलो अभिभावक’
भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन्। दोर्दीको विकट गाउँमा ५० वर्षदेखि शिक्षाको उज्यालो छरिरहेको बालकल्याण माध्यमिक विद्यालय यसकै एक उदाहरण हो।




अघिल्लो पुस्ताको त्याग र मेहनतको जगमा उभिएको सो विद्यालयले अहिले शैक्षिक तथा भौतिक सुधारमा फड्को मारेको छ। चिटिक्क विद्यालय भवन, सिकाइ मैत्री वातावरण, अध्यापनमा समर्पित शिक्षक, जिज्ञासु र अनुशासित विद्यार्थी, जागरुक अभिभावक तथा विद्यालयप्रतिको सामाजिक एकताले बालकल्याण मावि सिँगारिएको छ।

२०३० सालमा बोधलाल श्रेष्ठ, कामराम गुरुङ र चेष्टनारायण गुरुङले सो विद्यालय स्थापनामा अगुवाइ गरेका थिए। दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले बालकल्याण माविलाई गाउँको चेतनाको धरोहरका रूपमा चिनाए।

“दोर्दी करिडोरको अगुवा विद्यालय हो यो, भौगोलिक हिसाबले पछाडि परे पनि यहाँको शैक्षिक उन्नयनमा बालकल्याण माविको महत्त्वपूर्ण योगदान छ”, उनले भने।
उक्त विद्यालयमा फलेनीसहित ढोडेनी र बन्सर क्षेत्रका बालबालिका अध्ययनका लागि आउने गरेका छन्। विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार अहिले विद्यालयमा दुई सय पाँच विद्यार्थी छन्। गुणस्तरीय सिकाइका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालय, बालविकास केन्द्र आदि सञ्चालनमा रहेको प्रअ घिमिरेले बताए।

“भवन, कक्षाकोठाको अभाव छैन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनवटा पक्की भवन बनेका छन्, भौतिक रूपमा विद्यालय सम्पन्न छ”, उनले भने, “विद्यार्थीको सिकाइ उपलब्धिसँगै विद्यालयको समग्र शैक्षिक सुधारतर्फ हामी केन्द्रित भएका छौँ।”

विद्यालयले कक्षा १० का विद्यार्थीका लागि आवासीय रूपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको उनले बताए।

कक्षाकोठामा अधिकतम रूपमा शैक्षिक सामग्रीको प्रयोग गर्दै विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक सिकाइ अभ्यासमा जोड दिइएको उनले बताए।

“छिट्टै अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजनामा छौँ, तर त्योभन्दा पहिले तल्लो तहका विद्यार्थीलाई नेपाली भाषामै परिपक्व बनाउनुपर्ने आवश्यकता छ”, प्रअ घिमिरले भने, “कक्षा १० र ८ कक्षामा पूर्वपरीक्षा लिने गरिएको छ, विद्यार्थीलाई नियमित विद्यालय ल्याउन हेलो अभिभावक कार्यक्रम सञ्चालन भइरहेको छ।”

भौगोलिक विकटता र छरिएर रहेका बस्ती भएका कारण कक्षा ९ र १० मा पढ्ने कतिपय विद्यार्थी घण्टौँ लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष रीसमाया गुरुङले बताए।
लप्सीबोट, दैलुङ, नागी, सिमलगायत गाउँबाट एक–डेढ घण्टा पैदल हिँडेर विद्यार्थी बालकल्याण माविमा आउने गरेको उनको भनाइ छ।

“टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले गाडीको व्यवस्था गर्नसके धेरै सहज हुने थियो, यसमा हामीले पहल गर्छौँ, गाउँपालिकामा पनि यो कुरा उठाउँछौँ”, वडाध्यक्ष गुरुङले भने, “गाउँलेकै योगदान र पहलबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो, भवनलगायत पूर्वाधारमा राज्यको पनि ठूलो लगानी परेको छ।”

विद्यालयसम्म जोड्ने सडक स्तरीय नहुँदा यातायात सञ्चालनमा पनि कठिनाइ रहेको उनको भनाइ छ। वडाको थोरै बजेटले पूर्वाधार विकासका काम गर्न नसकिने भन्दै वडाध्यक्षले गुरुङले त्यस क्षेत्रमा सडक र खानेपानीको सुविधाका प्रदेश र सङ्घ सरकारको बजेट चाहिने उल्लेख गरे।

विद्यालयकै शैक्षिक विकासका लागि ‘बालकल्याण मावि स्वर्ण अक्षयकोष’ स्थापना गरिएको प्रज घिमिरेले बताए। यही पुस ९ देखि १४ गतेसम्म चलेको विद्यालयको ५०औँ वार्षिकोत्सव एवं स्वर्ण महोत्सवका अवसरमा उक्त अक्षय कोषमा ४३ लाख ५० हजार रूपैयाँ सङ्कलन भएको उनले बताए।

अक्षयकोष स्थापनार्थ सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्थानीय दाताबाट सो रकम जुटेको हो। सबैभन्दा बढी दोर्दी–८ बन्सरका खर्ब तामाङले रतीन लाख रूपैयाँ प्रदान गरेको विद्यालयले जनाएको छ।
विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधा लगायतका योजना अगाडि बढाएको छ।

विद्यालयमा प्रावि तहमा नौ स्थायी, निमाविमा चार स्थायी र मावि अनुदानमा दुई शिक्षक, एक लेखापाल, कार्यालय सहयोगी लगायत गरी १९ जना शिक्षक तथा कर्मचारी छन्। शिक्षकको तलब सुविधामा विद्यालयलाई आन्तरिक स्रोतबाट रकम जुटाउनुपर्ने स्थिति छैन। तलब, भत्ता सबै राज्यकोषबाट प्राप्त हुने गरेको प्रअ घिमिरेले बताए।

“टाढाबाट आउने विद्यार्थीका लागि यातायातको सुविधा नहुँदा समस्या भइरहेको छ, दैनिक घण्टौँ लगाएर विद्यालय आउजाउ गर्नुपर्ने अवस्था छ”, उनले भने, “विद्यालयको आफ्नै बस सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँग आर्थिक सहयोगको माग गरेका छौँ।”
अर्को समाचार
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
४ घण्टा अघि
•
१ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
जुम्ला । जुन विद्यालयको कक्षाकोठामा बसेर अक्षर चिनेका थिए हरिबहादुर बुढाले, अहिले उनी त्यहीँ पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। विद्यार्थी हुँदा उनले यहीँबाट शिक्षाको पहिलो खुड्किलो चढेका थिए। २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै जीवनको बाटो पहिल्याए। समयले उनलाई फेरि त्यही विद्यालयमा पुर्‍यायो, जहाँबाट उनको भविष्यको जग बनेको थियो।




प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि आफूले के गर्न सक्छु?

यो व्यक्तिगत भावनामा मात्र सीमित रहेन। आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झिरहेका पूर्वविद्यार्थीलाई जोड्ने अभियान सुरु भयो। अहिले त्यो अभियान पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा ‘भूपू विद्यार्थी अक्षयकोष’का रूपमा अघि बढेको छ।

मानवशास्त्री डोरबहादुर विष्टले स्थापना गरेको यस विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी निकाय, व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीले नयाँ पुस्ताको शिक्षामा योगदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। उनीहरूको सोच छ—आफूले पाएको शिक्षाको अवसर पछिल्लो पुस्ताले पनि पाओस्, आर्थिक अभावका कारण कसैले पढाइ छाड्नुपर्ने अवस्था नआओस्।

‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’

२०७५ सालमा सरुवा भएर विद्यालय आएपछि बुढाले पूर्वविद्यार्थी गगन बुढा, श्रवणकुमार महतारालगायतसँग यस विषयमा छलफल थालेका थिए। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसमेत रहेका महतारालगायत पूर्वविद्यार्थीसँग विद्यालयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्नेबारे विमर्श भयो।

विद्यालयमा बेन्च, डेस्क वा भवन निर्माण गरेर तत्कालीन आवश्यकता पूरा गर्ने विकल्प पनि थियो। तर, त्यस्ता संरचना समयसँगै जीर्ण हुने र पुनः मर्मत गर्नुपर्ने भएकाले उनीहरूले स्थायी आर्थिक स्रोत निर्माण गर्ने उपाय रोजे। त्यसकै परिणाम हो, अक्षयकोष।

‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्नेभन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौँ भन्ने सोच आयो,’ बुढा भन्छन्।

अक्षयकोषको मूलधन खर्च नगरी नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना छ। एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। जेहेन्दार, विपन्न, अपांगता भएका तथा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

अहिलेसम्म ४१ जना पूर्वविद्यार्थी तथा सहयोगी यस अभियानमा जोडिएका छन्। संस्थापक सदस्यहरूको अभिलेखअनुसार दुई लाख ३० हजार दुई सय ९९ रुपैयाँ जम्मा भएको छ। ठूलो आर्थिक हैसियत भएका केही व्यक्तिको सहयोगभन्दा धेरै जनाको सामूहिक योगदानबाट विद्यालयको स्थायी शैक्षिक स्रोत निर्माण गर्ने प्रयास गरिएको छ।

विद्यालयले सात सदस्यीय समिति बनाएर कोष सञ्चालन, व्यवस्थापन र पारदर्शिताको व्यवस्था गरेको छ। छुट्टै आयव्ययको लेखा राख्ने, प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

तर, कोषबाट छात्रवृत्ति वितरण गर्दा उत्कृष्ट अंकलाई मात्र आधार बनाउन नहुने आवाजसमेत उठेको छ। समान अंक ल्याउने विद्यार्थीमध्ये आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने पूर्वविद्यार्थी दलबहादुर महताराको सुझाव छ।
‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ उनी भन्छन्।

उनको भनाइमा अक्षयकोषको सफलता रकम सङ्कलनमा होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था र इच्छुक व्यक्तिलाई पनि अभियानमा सहभागी गराउनुपर्ने उनको सुझाव छ।

डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा र वडा नम्बर ४ का अध्यक्ष कालीबहादुर ऐडीले पनि छात्रवृत्ति वितरणमा विपन्न विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। समान अंक ल्याउने विद्यार्थीको छनोट गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने उनीहरूको धारणा छ।

विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रमन बुढाले निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि आफूले शिक्षा पाएको विद्यालयप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्‍याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’

पूर्वविद्यार्थी पञ्चकली बुढा पनि आफूले पाएको शिक्षा र संस्कारको प्रतिफल नयाँ पुस्तालाई दिन पाउनु सौभाग्य भएको बताउँछिन्।
‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनी भन्छिन्।
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
यो पनि पढौँ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस