सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी
११ माघ २०८०
•
७ मिनेट पाठ
सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी
बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।
दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा मुस्किलले तीन सय विद्यार्थी पनि छैनन्। २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला–पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले गाउँमै छोराछोरी पढाउँथे। अहिले विद्यालयको सुविधासम्पन्न भवन छ तर विद्यार्थी संख्या स्वात्तै घटेको छ।




‘पहिला १३÷१४ सय विद्यार्थी हुँदा भुइँमा बसेर विद्यार्थी पढ्थे। अहिले भवन भव्य छ, विद्यार्थी खासै छैनन्।’ तेमाल गाउँपालिका ८, भोटेपाटी निवासी सो विद्यालयका पूर्वविद्यार्थी वेनीबहादुर श्रेष्ठ भन्छन्, ‘मैले २०४४-४५ मा झिँगटीको छानो भएको सानो भवनमा पढेको थिएँ। अहिले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, प्रयोगशालाजस्ता सुविधा छन् तर ज्यामी गरेर भए पनि अभिभावकले छोराछोरी काठमाडौं वा अन्य सहरका राम्रा विद्यालयमा पढाउन थालेका छन्।’

स्थानीय विद्यालयमा तीन घन्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यता भएकाले पनि विद्यार्थी पढ्नकै लागि अभिभावकका साथमा सहरतिर धाउन थालेका छन्। कतिपय अभिभावकले छोराछोरी पढाउनकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन्।

गाउँबाट सहरमा बसाइँसराइ र गाउँमा बेरोजगारी समस्याका कारण यहाँका अधिकांश विद्यार्थी सहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन्। गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त ?

कुशेश्वर माविका प्रधानाध्यापक दमैसिं दोङ आफूहरूले गुणस्तर सुधारका लागि सक्दो प्रयास गरे भए पनि गाउँमा बस्ने मानिसको संख्या घट्दो भएकाले विद्यार्थी न्यून हुँदै गएको बताउँछन्। दोङ प्रधानाध्यापक नियुक्त हुँदा २०७३ सालमा आउँदा सो विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म कुल एक हजार विद्यार्थी थिए, अहिले घटेर जम्मा दुई सय ७३ भएका छन्। शिक्षा संकायमा पढाइ भइरहेको कक्षा ११ र १२ मा जम्मा २७ मात्रै विद्यार्थी छन्।

सो विद्यालयका राहत र करार गरी २४ जना शिक्षक–कर्मचारी छन्। नर्स एकजना र कार्यालय सहयोगी दुईजना छन्। गाउँपालिकाले विद्यालयका मसलन्द र सामाजिक लेखा परीक्षणका लागि न्यून रकम दिने गरेको छ भने विद्यालयको मुद्दती खाताको ब्याजबाट करार शिक्षकलाई सुविधा दिँदै आएको छ। कुनै शिक्षक रिक्त भएमा विद्यालयले करारमा शिक्षक नियुक्त गर्न आन्तरिक स्रोतले धानेकाले शिक्षक अभावमा विद्यार्थीको पढाइ अवरोध हुने स्थिति छैन।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले जनगणना २०६८ र २०७८ का बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको देखाएको छ। त्यसैगरी सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिएको छ।

सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ। सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठुलो हिस्सा रहेको देखिन्छ। ग्रामीण जनसंख्या अझै पनि एकतिहाइ छ जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइँ कम गर्न दबाब परेको देखिएको छ। हाल नगरपालिकाको जनसंख्या ६६. १७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ।

कुशेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थोकर समग्रमा मानिसको जन्मदर कम हुनु, रोजगारी तथा अवसरका लागि अभिभावक बनेपा, धुलिखेल र काठमाडौंतिर बसाइँसराइँ र विदेश जानुले गाउँका विद्यालयमा बालबालिका कम भएको बताउँछन्। गाउँमा सोचेजस्तो गुणस्तरीय शिक्षा नभएको र राज्यले पनि यहाँका विद्यालय सुधारका लागि उचित व्यवस्थापन नगरेकाले आफूहरूले अभिभावकलाई आश्वस्त पार्न नसकेको अध्यक्ष थोकरको भनाइ छ।

विद्यार्थीलाई गाउँमै टिकाउन कस्ता योजना ल्याउँदै हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष थोकरले विद्यालयले आफ्नै स्रोतबाट कक्षा ८ भन्दा माथिका कक्षामा आवासीय कक्षा सञ्चालनको सोच बनाइएको बताए। उनले २०८२ सालको शैक्षिक सत्रदेखि प्राविधिक धारको पढाइ र कक्षा ११ र १२ मा हालको शिक्षा विषयका अतिरिक्त विज्ञान, व्यवस्थापन र कानुनलगायतका विषय थप्ने तयारी गरिएको बताए।

तेमाल गाउँपालिका ५ नारायणस्थानस्थित नारायणस्थान माध्यमिक विद्यालयमा आठ वर्षअघि चार सय थिए भने हाल प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म जम्मा दुई ४० विद्यार्थी छन्। उक्त विद्यालयका प्रधानाध्यापक कालीदास दाहाल अभिभावक अवसरको खोजीमा सहरकेन्द्रित हुँदा विद्यार्थी घटेको स्वीकार्छन्। उनले विद्यार्थीलाई आकर्षण दिन कक्षा ११ र १२ मा सबै विषयका पाठ्यपुस्तक निःशुल्क र उच्च ग्रेडमा उत्तीर्ण भएर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको जनाए।

सोही गाउँपालिका ८ भोञ्याङस्थित जनज्योति माध्यमिक विद्यालयमा पनि अहिले विद्यार्थी घटेर एक सय ५९ पुगेको छ। पाँच–छ वर्षअघिसम्म यस विद्यालयमा चार सयसम्म विद्यार्थी हुन्थे। सो विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली पढाइको गुणस्तर खस्किएर नभई रोजगारीको अवसरको खोजीमा अभिभावक सहर जान थालेकाले गाउँमा विद्यार्थी कम भएको बताउँछन्।

तेमालमा बिपी राजमार्गको कालढुङ्गा–मेच्छेपौवाको तल्लोबाटो र भकुण्डेबेँसी–नारायणस्थन–मेच्छेपौवाको माथिल्लो बाटो कच्ची भएकाले गाउँमा विद्यार्थीले विद्यालय आउन–जान धुलोमैलो र उकाली–ओराली खेप्नुपर्ने हुन्छ। सवारीको असुविधा र विद्यार्थी सहर जान थालेकाले यस गाउँपालिकामा एउटा वटा पनि निजी (संस्थागत) विद्यालय सञ्चालनमा छैनन्। सबै सामुदायिक (सरकारी) छन्।

तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङका अनुसार यहाँ हाल १० माध्यमिक विद्यालय छन्, त्यसमध्ये पाँच वटामा कक्षा ११ र १२ को पढाइ हुन्छ। यस्तै आधारभूत तहका आठ र प्राथमिक तहका २१ सामुदायिक विद्यालय छन्। यी सबै विद्यालयमा गरी तीन हजार दुई सय विद्यार्थी छन्।

यसमा छात्रा संख्या करिब एक सयले बढी रहेको प्रवक्ता तामाङले जानकारी दिए। गाउँपालिकामा साक्षरताको प्रतिशत भने ९५.९७ रहेको छ। त्यसो त गाउँपालिकाको जनसंख्या पनि घट्दो छ। राष्ट्रिय जनगणना, २०७८ मा  हजार १६ हजार नौ सय ५९ रहेको छ भने २०७८ सालको जनगणनामा २२ हजार सात सय १२ जनसंख्या रहेको थियो।

‘अहिले दुई सन्तानको मान्यताले जन्मदर नै कम हुँदै गएको छ, अर्कातिर रोजगारीका लागि सहरी क्षेत्रमा अभिभावक केन्द्रित भएका छन्।’, गाउँमा विद्यार्थी कम भएको सम्बन्धमा प्रवक्ता तामाङ भन्छन्, ‘सामुदायिक विद्यालयका शिक्षक कर्मचारीमा पनि आफूले पढाउने विद्यालयप्रति विश्वास नभएको देखिन्छ।

उनीहरूका अधिकांश छोराछोरी काठमाडौं वा अन्यत्रका राम्रा वा निजी विद्यालयमा पढाइएका छन्। छोराछोरीलाई पढाएर यस्तो बनाउँछु भन्ने चेतना भएका अभिभावकले सहरमा विद्यार्थी लगे। पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ भन्ने सोच भएका अभिभावकले मात्रै गाउँकै विद्यालयमा पढाइरहेका छन्।’

गाउँपालिकामा विद्यार्थी टिकाउन विशेष प्याकेजहरू अघि सारिएको र प्रयोगकै क्रममा रहेको तामाङले जानकारी दिए। काभ्रेपलाञ्चोककै नमोबुद्धमा नगरपालिकाका आवासीय विद्यालयमा गाउँपालिकाले खर्च दिएर विज्ञान विषयामा कक्षा ११ र १२ मा दुई भर्ना गराइएकामा ती विद्यार्थीले पढाइ गाहे भएकाले बीचैमा छाडेर भागेको अनुभव पनि उनले सुनाए। अब शिक्षाबारे अभिभावक चेतना दिने विद्यार्थी नियमित विद्यालय गए नगएको, समयमा घर फर्किए–नफर्किएको जस्ता विषयमा पनि गाउँपालिकाले अनुगमन गरी अभिभावकलाई सहजीकरण गर्ने उनको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङबाट प्रस्तुत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ को नारासहित शिक्षालाई मानिसको आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र सीपमूलक पाठ्यक्रम विकास गरी नमुना विद्यालय विकास गर्ने योजना लिइएको छ।

गाउँपालिकाले सबै विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य, सरसफाइ र आधारभूत खानेपानी सेवा विस्तार गर्ने, अंग्रेजी माध्यमबाट शिक्षणका लागि शिक्षक दरबन्दीमा प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेको छ। नीति तथा कार्यक्रममा शैक्षिक प्रणालीमा रुपन्तरणका लागि पाठ्यक्रमको विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थापन, शैक्षिक पात्रो व्यवस्थापन, अद्यावधिक स्रोत व्यवस्थापन, विद्यालय–अभिभावकबीचको सञ्चार व्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरणलगायतका क्षेत्रमा सूचना प्रणालीको प्रभावकारी उपयोग गरी शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गर्ने उल्लेख छ। –रासस
अर्को समाचार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२० वैशाख २०८१
•
३ मिनेट पाठ
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ। पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहेका छन्। बिहान पढ्नका लागि विद्यालय गएका उनीहरू बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा छन्।




जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गीन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहेका छन्। 

‘विद्यालय जाने बेलामा परेकाले पढ्ने किताब कापी त हामीसँगै छ’, रजनीले भने, ‘खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ।’ बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाए।

सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुँवा नियाल्दै भने, ‘यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भए पनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ।’ जिउमा लगाउने कपडाबाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उनले बताए।

सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासी भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताए। ‘अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ’, उनले भने, ‘सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ।’

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन्। 

गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिदेखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ।

पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ। घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन्।

गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताए। तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उनले बताए।

त्यस्तै,नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ। त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलोपटक भएको जनाएको छ।

घटनापश्चात तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनःनिर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनःनिर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न प्रयन्त गरिने उनले बताए।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ। -रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस