१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

बालबालिकाको सिकाइ स्तर सुधार्दै ‘पढाइ कुना’

‘पढाइ कुना’ कोठामा बसेर अध्ययन गर्दै बालक र साथमा आमा। तस्बिर : नागरिक

कनकासुन्दरी गाउँपालिका– ७ का आभास कार्की स्थानीय मालिकमा माविमा कक्षा– १ मा अध्ययनरत छन्। उनको घरमा एउटा कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ। कापी, कलम र पोसाक राख्ने ठाउँको समेत व्यवस्था गरिएको छ। अहिले उनको पढ्ने बानीमा धेरै परिवर्तन आएको छ। यसअघि विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पटक्कै पढ्ने बानी थिएन।

विद्यालयबाट घर फर्किएपछि कार्कीले झोला र विद्यालय पोसाक व्यवस्थित तरिकाले राख्ने गरेको आमा जीवन कार्कीले बताइन्। ‘पहिले घरमा पढ्ने बानी थिएन। पढाइ कुना बनाएपछि छोराको घरमै पढ्ने बानी परेको छ’, उनकी आमाले भनिन्, ‘हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन। सरहरुले सिकाएर बनाउन लगाउनुभयो। अहिले धेरै राम्रो भएको छ।’

यस्तै सोही गाउँपालिका– ६ की स्मृति पछाई हरेक दिन विद्यालयबाट घर फर्किएपछि पढाइ कुना कोठामा बसेर गृहकार्य गर्छिन्। उनी त्यही कोठामा पढ्छिन्। ‘पहिले घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन। हिजोआज नियमित पढ्न मन लाग्छ’, स्मृति भन्छिन्, ‘पढाइ कुना बनाइएको कोठामा जाउँजाउँ लाग्छ, पढौंपढौं लाग्छ। पहिले घरमा पढ्नै मन लाग्दैन्थ्यो। विद्यालयमा मात्रै पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ।’

यस्तै सिंजा गाउँपालिका– ३ कै कृतिम रेग्मीको घरमा पनि पढाइ कुना छ। उनी हरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिक सामग्री त्यहीं राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्।

यता हिमा गाउँपालिका– १ बड्की गाउँकी सृजना शाहीको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन। हिजोआज नियमित पढ्छिन्। उनी भन्छिन्– अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ।’ आभास, स्मृति, कृतिम र सृजनाका घरमा मात्र होइन, सिंजा क्षेत्रका तीन गाउँपालिकाका तीन सय घरधुरीमा पढाइ कुना निर्माण गरिएको छ।

पढाइ कुनामा रहेका बालबालिकालाई घरमा बुबाआमाले पनि नियमित पढे–नपढेको विषयमा सोधखोज गर्न थालेका छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा सुधार भएको कनकासुन्दरी गाउँपालिका– ६ स्थित आधारभूत विद्यालय गोरुचौरका प्रधानाध्यापक गणेशप्रसाद आचार्यले बताए।

पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको आचार्य बताउँछन्।

कनकासुन्दरी गाउँपालिका र प्लान इन्टरनेसनल नेपाल, पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित र कनकासुन्दरी गाँउपालिकाको समन्वयमा आधार परियोजनाअन्तर्गत ‘एक घर एक पढाइ कुना’ कार्यक्रम सुरु गरिएको पेश नेपाल जुम्लाका सुपरिवेक्षक विर्ख बिष्टले बताए।

हिमामा १ सय २०, सिंजामा ६० र कनकासुन्दरी गाउँपालिकामा ९३ गरी दुई सय ७३ वटा  पढाइ कुना निर्माण गरिएको उनी बताउँछन्। ‘विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुआत गरेका छौँ’, पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले भने, ‘पढाइ कुनाले बालबालिकामा घरमा पढ्ने बानी बस्नुका साथै दैनिक क्रियाकलाप नै फेरिएको छ।’

सिंजा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर धितालले पढाइ कुनाले बालबालिकाको सिकाइस्तरमा सुधार आएको बताए। उनले भने, ‘अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत हुनुभएको छ।’

प्रकाशित: ६ वैशाख २०८१ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App