ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका एक सय २८ जना विद्यार्थीको अध्ययन शुल्क तिरिदिएको छ। पालिकाले प्रति विद्यार्थी १८ हजार २५ रुपैयाँका दरले २३ लाख ७ हजार २ सय रुपैयाँ ताप्लेजुङस्थित पाथिभरा बहुमुखी क्याम्पसमा भुक्तानी गरिदिने भएको हो।
पाथिभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेलले कुल रकममध्ये फक्ताङलुङ गाउँपालिकाले पहिलो किस्तावापत १५ लाख रुपैयाँ क्याम्पसमा भुक्तानी गरेको जानकारी दिए।
जिल्लाकै शिक्षण संस्थामा अध्ययन गर्न प्रोत्साहित गर्ने तथा उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका विद्यार्थीलाई निःशुल्क पढाउने पालिकाको योजनाअनुसार उक्त कदम अघि बढाइएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लाबुङ लिम्बुले जानकारी दिए।
बाँकी रकम दोस्रो किस्तावापत चालु आवमै भुक्तानी दिइसक्ने पालिकाले जनाएको छ। उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका विद्यार्थीको शुल्क तिरिदिने गरी फक्ताङलुङ गाउँपालिका र पाथिभरा बहुमुखी क्याम्पसबीच सम्झौतासमेत भएको थियो।
गाउँपालिकाले चालु आवका लागि गत असार १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममै उक्त योजना अघि सारेको थियो। सोहीअनुसार पाथिभरा बहुमुखी क्याम्पससँग सम्झौता गरी त्यसैअनुसारको रकम भुक्तान गर्न थालिएको गाउँपालिका उपाध्यक्ष रवीन साम्राले जानकारी दिए।
प्रकाशित: २७ वैशाख २०८१ ११:४५ बिहीबार