बाटोमा मन्दिर छ, महिनावारीमा विद्यालय बन्देज छ !
१८ मंसिर २०८१
•
३ मिनेट पाठ
बाटोमा मन्दिर छ, महिनावारीमा विद्यालय बन्देज छ !
अछामको पञ्चदेवल विनायक–९ कालेकाँडा र दैलेख जोड्ने खिड्कीज्युलाको कर्णाली नदीमा रहेको झोलुंगे पुल। पाँच महिनाअघि कोल्टिएको उक्त पुलको अझै मर्मत भएको छैन। तस्बिर: नागरिक
दैलेखको आठबिस नगरपालिका–६ की १४ वर्षीया लेलिन मगर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्तडास्थित चण्डिका माध्यमिक विद्यालयमा पढ्छिन्। गत असारयता उनी झन्डै महिना दिनभन्दा बढी दिन कक्षामा अनुपस्थित भइन्। यसका कारण हो। नियमित आउजाउ गर्ने पुलमा लट्ठा चुँडिएको छ, विकल्पमा रहेको अर्को पुलछेउ मन्दिर छ। महिनावारी भएका बेला त्यो पुल तर्न नमिल्ने ‘मान्यता’ छ।




अछामको पञ्चदेवल विनायक–९ कालेकाँडा र दैलेख जोड्ने खिड्कीज्युलाको कर्णाली नदीमा रहेको झोलुंगे पुलमा गत जेठ २७ गते सामान बोकेका १३ खच्चडको भार थेग्न नसकेर लट्ठा चुँडिएको थियो। कोल्टे परेको उक्त झोलुंगे पुल अझै मर्मत गरिएको छैन। त्यसको विकल्पमा एक किलोमिटर टाढाको अर्को पुल तर्नुपर्छ। त्यस पुलमा दुवैतर्फ नैनेल देवताको मन्दिर छ।

महिनावारीपछि पनि पाँच–सात दिनसम्मै पूजाआजा गर्न र मन्दिरनजिक जान नपाइने मान्यता रहेको स्थानीय बताउँछन्। ‘महिनावारी भएका बेला परीक्षा पर्‍यो, जरुरी पाठ पढाउने दिन भयो भने कोल्टे परेकै पुलबाट डरै डर स्कुल जान्छौं,’ लेलिनले भनिन्, ‘नत्र हरेक महिना स्कुल छुट्छ।’

मन्दिरका कारण पुलमा आउजाउ गर्न नमिल्ने विश्वासका कारण चण्डिका माविमा कक्षा ८, ९ र १० का करिब २५ छात्राले महिनामा १० दिन जति पढाइ छुटाउँछन्। हाजिर नहुँदा प्रतिदिन २० रूपैयाँ जरिवाना तिर्नुपर्ने विद्यालयको नियम छ। ‘महिनावारी हुँदा मन्दिर भएको पुलबाट हिँडे अनिष्ट हुन्छ भन्छन्, हामीलाई पनि हिँड्न डरै लाग्छ,’ आठबिस नगरपालिका–५ की अर्की छात्रा तुल्सी चौलागाईंले भनिन्, ‘स्कुल नजाँदा पढाइ छुट्छ, स्कुललाई जरिवाना पनि बुझाउनुपर्छ।’

पछिल्लो समय छात्रा अनियमित हुने क्रम बढेको चण्डिका माविका शिक्षक जनक न्यौपानेले बताए । ‘केही छात्रा जोखिम मोलेर विद्यालय आउने गर्छन्।

अधिकांश छात्रा महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्, हरेक महिना ९ दिन पढाइ छुट्नु भनेको सामान्य होइन,’ उनले भने, ‘पहिले राम्रो पढाइ भएका छात्रा अहिले कमजोर हुँदै गएका छन्।’

अछामतर्फ रहेको उक्त विद्यालयमा कक्षा ८, ९, १० दैलेखका विद्यार्थीका कारण मात्र चल्न सम्भव भएको पनि उनले बताए । शिक्षक न्यौपानेले मन्दिर भएकै पुलबाट आउन सुझाव दिँदा पनि छात्राहरू परापूर्वकालदेखि मनमा डर पैदा गरिएकाले नआउने गरेको बताए।

यस विषयमा संसद्मा समेत कुरा उठेको थियो। सरोकारवालाले फिल्डमै प्राविधिक कर्मचारी पठाएर पुलको अवस्था अध्ययन गरेका थिए। प्राविधिक टोलीको प्रतिवेदनले ‘पुल मर्मत गरेर मात्रै सञ्चालन गर्नसक्ने अवस्था नरहेकाले नयाँ निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्यो। समय बित्दै जाँदा सरोकारवालाले पनि त्यो घटना बिर्संदै गएको स्थानीयको गुनासो छ। घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण अछाम र दैलेखका कतिपय मानिसले कोल्टे परेकै पुलबाट जोखिम मोलेर पुल तर्ने गरेका छन्।

मन्दिर रहेको पुल उनीहरूले तर्न नमिल्ने स्थानीयको विश्वास छ। ८ महिना पुगेका गर्भवतीले पनि मन्दिरनजिकको पुलबाट आवतजावत गर्न नमिल्ने मान्यता रहेको पञ्चदेवल विनायक–९ की भानादेवी कार्कीले बताइन्। ‘गर्भावस्थामा अन्यत्र पनि पुल तर्नु हुँदैन भनिन्छ।

झन् यहाँ त पुलछेउमा ठूलै देवताको मन्दिर भएकाले मिल्ने कुरै भएन,’ उनले भनिन्, ‘हाम्रो मुख्य बजार भनेकै दैलेखको खिड्कीज्युला हो। गर्भवती भएको ८/९ महिनामा पनि बजारतिर जानुपर्ने हुन्छ। मेडिकल पनि उतैतिर छन्। यही जीर्ण पुलबाटै नगई धर छैन।’

पञ्चदेवल विनायक–९ का वडाध्यक्ष रामप्रसाद जैसी नैनेल देवताप्रति स्थानीयको धेरै विश्वास भएकाले महिला तथा किशोरीले डरले पुरानो चलन तोड्न नसकेको बताउँछन्। ‘अर्को पुल अपायक भएका कारण गर्भवती र महिनावारी भएका महिलाले लठ्ठा चुँडिएकै पुलबाट दैलेखको खिड्कीज्युला बजार आउजाउ गरिरहेका छन्,’ उनले भने, ‘पुल बनाउने विषयमा सरोकारवाला मौन भइसके।’

नैनेल देवतालाई कर्णाली तारेर लैजाने क्रममा ठिटुवा (धागो) को रस्सी बनाएर सजिलै तार्न सकेको भन्दै सम्मानस्वरूप त्यस ठाउँको दुवैतिर मन्दिर बनाइएको हो।

पुल कोल्टे फर्केर खच्चड अड्किएको समयमा स्थानीय प्रशासनले पुल प्रयोगमा रोक लगाएको थियो। कर्णाली राजमार्गबाट अछामतिरका व्यवसायीले सामान एक घण्टाभन्दा बढीको बाटोबाट बोकेर ल्याउनुपर्ने भएकाले महँगी पनि बढेको वडाध्यक्ष जैसीको भनाइ छ।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२३ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस