जुम्ला । जुन विद्यालयको कक्षाकोठामा बसेर अक्षर चिनेका थिए हरिबहादुर बुढाले, अहिले उनी त्यहीँ पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। विद्यार्थी हुँदा उनले यहीँबाट शिक्षाको पहिलो खुड्किलो चढेका थिए। २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै जीवनको बाटो पहिल्याए। समयले उनलाई फेरि त्यही विद्यालयमा पुर्यायो, जहाँबाट उनको भविष्यको जग बनेको थियो।
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि आफूले के गर्न सक्छु?
यो व्यक्तिगत भावनामा मात्र सीमित रहेन। आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झिरहेका पूर्वविद्यार्थीलाई जोड्ने अभियान सुरु भयो। अहिले त्यो अभियान पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा ‘भूपू विद्यार्थी अक्षयकोष’का रूपमा अघि बढेको छ।
मानवशास्त्री डोरबहादुर विष्टले स्थापना गरेको यस विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी निकाय, व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीले नयाँ पुस्ताको शिक्षामा योगदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। उनीहरूको सोच छ—आफूले पाएको शिक्षाको अवसर पछिल्लो पुस्ताले पनि पाओस्, आर्थिक अभावका कारण कसैले पढाइ छाड्नुपर्ने अवस्था नआओस्।
‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’
२०७५ सालमा सरुवा भएर विद्यालय आएपछि बुढाले पूर्वविद्यार्थी गगन बुढा, श्रवणकुमार महतारालगायतसँग यस विषयमा छलफल थालेका थिए। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसमेत रहेका महतारालगायत पूर्वविद्यार्थीसँग विद्यालयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्नेबारे विमर्श भयो।
विद्यालयमा बेन्च, डेस्क वा भवन निर्माण गरेर तत्कालीन आवश्यकता पूरा गर्ने विकल्प पनि थियो। तर, त्यस्ता संरचना समयसँगै जीर्ण हुने र पुनः मर्मत गर्नुपर्ने भएकाले उनीहरूले स्थायी आर्थिक स्रोत निर्माण गर्ने उपाय रोजे। त्यसकै परिणाम हो, अक्षयकोष।
‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्नेभन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौँ भन्ने सोच आयो,’ बुढा भन्छन्।
अक्षयकोषको मूलधन खर्च नगरी नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना छ। एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। जेहेन्दार, विपन्न, अपांगता भएका तथा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।
अहिलेसम्म ४१ जना पूर्वविद्यार्थी तथा सहयोगी यस अभियानमा जोडिएका छन्। संस्थापक सदस्यहरूको अभिलेखअनुसार दुई लाख ३० हजार दुई सय ९९ रुपैयाँ जम्मा भएको छ। ठूलो आर्थिक हैसियत भएका केही व्यक्तिको सहयोगभन्दा धेरै जनाको सामूहिक योगदानबाट विद्यालयको स्थायी शैक्षिक स्रोत निर्माण गर्ने प्रयास गरिएको छ।
विद्यालयले सात सदस्यीय समिति बनाएर कोष सञ्चालन, व्यवस्थापन र पारदर्शिताको व्यवस्था गरेको छ। छुट्टै आयव्ययको लेखा राख्ने, प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।
तर, कोषबाट छात्रवृत्ति वितरण गर्दा उत्कृष्ट अंकलाई मात्र आधार बनाउन नहुने आवाजसमेत उठेको छ। समान अंक ल्याउने विद्यार्थीमध्ये आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने पूर्वविद्यार्थी दलबहादुर महताराको सुझाव छ।
‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ उनी भन्छन्।
उनको भनाइमा अक्षयकोषको सफलता रकम सङ्कलनमा होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था र इच्छुक व्यक्तिलाई पनि अभियानमा सहभागी गराउनुपर्ने उनको सुझाव छ।
डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा र वडा नम्बर ४ का अध्यक्ष कालीबहादुर ऐडीले पनि छात्रवृत्ति वितरणमा विपन्न विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। समान अंक ल्याउने विद्यार्थीको छनोट गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने उनीहरूको धारणा छ।
विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रमन बुढाले निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि आफूले शिक्षा पाएको विद्यालयप्रतिको जिम्मेवारीसँग जोडिएको छ।
‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’
पूर्वविद्यार्थी पञ्चकली बुढा पनि आफूले पाएको शिक्षा र संस्कारको प्रतिफल नयाँ पुस्तालाई दिन पाउनु सौभाग्य भएको बताउँछिन्।
‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनी भन्छिन्।
१० घण्टा अघि
•
१ मिनेट पाठ