दुर्गममै अस्पताल
०५ भदौ २०८३
•
३ मिनेट पाठ
दुर्गममै अस्पताल
राप्तीसोनारीका बासिन्दाका लागि बिरामी हुनु भनेको रोगसँग मात्रै लड्नु थिएन, उपचार पाउनुपर्ने दूरीसँग पनि संघर्ष गर्नु थियो। रातको समयमा कसैलाई स्वास्थ्य समस्या देखियो भने गाउँमा तत्काल उपचारको भरपर्दो विकल्प थिएन। गर्भवती महिलालाई प्रसूति गराउन होस् वा स्थानीयलाई आकस्मिक उपचार चाहिँदा, घन्टौंको यात्रा गरेर कोहलपुर वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो। यही बाध्यताबिच भदौ १ देखि राप्तीसोनारी– ४ बैजापुरमै अस्पताल सञ्चालनमा आएको छ, जसले दुर्गम गाउँका नागरिकलाई ‘बिरामी पर्दा अब कहाँ जाने?’ भन्ने चिन्ताबाट केही हदसम्म मुक्त गराएको छ।




राप्तीसोनारी भौगोलिक रूपमा ठुलो क्षेत्र भएकाले सबै बस्तीबाट स्वास्थ्य संस्था पुग्न सहज छैन। आर्थिक अवस्था कमजोर भएका परिवारका लागि उपचार खर्चसँगै यात्रा खर्च थपिन्थ्यो। कतिपयले यही कारण स्वास्थ्य समस्या बढिसकेपछि मात्रै अस्पताल पुग्ने अवस्था पनि थियो। स्थानीय तहमा अस्पताल स्थापना भएपछि प्रारम्भिक उपचार सहज हुने र गम्भीर बिरामीलाई मात्र बाहिर पठाउन सकिने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार अस्पताल सञ्चालनको मुख्य उद्देश्य नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने अवस्था अन्त्य गर्नु हो। उनका अनुसार अस्पताललाई विस्तारै आवश्यक जनशक्ति, उपकरण र सेवासहित व्यवस्थित बनाउने योजना छ।

‘अस्पताल सञ्चालन गर्नु पहिलो चरण हो। यसलाई प्रभावकारी स्वास्थ्य सेवा दिने संस्थाका रूपमा विकास गर्नुपर्नेछ’, पौडेल भन्छन्, ‘अहिले केही जनशक्ति अभाव छ। आवश्यकता हेरेर क्रमशः जनशक्ति थप्दै जाने छौं।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष मिनराज खड्का पनि अस्पतालले स्थानीयको लामो समयदेखिको आवश्यकता सम्बोधन गरेको बताउँछन्। उनका अनुसार सेवा सुरु भएसँगै नागरिकको अपेक्षा पनि बढेको छ। त्यसैले उपलब्ध सेवाको गुणस्तर कायम गर्दै थप उपचार सुविधा ल्याउनुपर्ने आवश्यकता छ।

अस्पतालको अर्को महत्त्वपूर्ण तयारी प्रसूति सेवासँग जोडिएको छ। आगामी असोजदेखि प्रसूतिको शल्यक्रियालगायत केही शल्यक्रिया सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। यसका लागि भेरी अस्पतालसँग सहकार्य गरिने भएको छ।

भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारीमा ल्याएर विशेषज्ञ सेवा दिने तयारीसमेत गरिएको छ। यसले ग्रामीण क्षेत्रका महिलालाई प्रसूति उपचारका लागि टाढा जानुपर्ने अवस्थालाई कम गर्न सक्ने अपेक्षा छ। विशेषगरी आकस्मिक प्रसूति अवस्था आउँदा समयमै स्वास्थ्य संस्थामा पुग्नु महत्त्वपूर्ण हुने भएकाले स्थानीयस्तरमै सेवा विस्तारलाई नागरिकले सकारात्मक रूपमा लिएका छन्।

स्थानीय महिला विन्दु थारू भन्छिन्, ‘गर्भवती हुँदा नियमित जाँचका लागि पनि टाढा जानुपर्ने अवस्था थियो। शल्यक्रिया गर्नुपर्ने भए झन् ठूलो समस्या हुन्थ्यो। अब गाउँमै सेवा थपिँदै गए महिलालाई धेरै सहज हुनेछ।’

अस्पतालमा बालबालिकाको उपचार सेवा सुरु हुनु पनि अभिभावकका लागि राहतको विषय बनेको छ। बालबालिका बिरामी हुँदा सामान्य अवस्थामै टाढाको अस्पताल लैजानुपर्ने बाध्यता कम हुने उनीहरूको अपेक्षा छ तर अस्पताल सञ्चालनसँगै चुनौती पनि कम छैनन्। पर्याप्त स्वास्थ्यकर्मी, विशेषज्ञ चिकित्सक, उपकरण, औषधि तथा भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्नेछ। सेवा विस्तारसँगै बिरामीको चाप बढ्ने भएकाले त्यसअनुसार जनशक्ति र स्रोतसाधन जुटाउनुपर्ने देखिन्छ। गाउँपालिका भने अस्पताललाई विस्तारै पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारीमा छ। स्थानीयको आवश्यकता र मागअनुसार सेवा थप्दै जाने योजना रहेको अध्यक्ष पौडेल बताउँछन्।

राप्तीसोनारीमा अस्पताल सञ्चालन भएको केही समय मात्रै भएको छ। अहिले सेवा प्रारम्भिक चरणमा छ तर वर्षौंदेखि स्वास्थ्योपचारका लागि बाहिर निर्भर रहँदै आएका नागरिकका लागि यसको सुरुवात नै महत्त्वपूर्ण परिवर्तन हो। अब अस्पतालले स्थानीयको विश्वासलाई सेवा र गुणस्तरमा बदल्नुपर्नेछ।

चौबीसै घन्टाको सेवा, प्रसूति तथा बाल उपचारबाट सुरु भएको यात्रा विशेषज्ञ सेवा र शल्यक्रियासम्म विस्तार हुने तयारीमा छ। योजना कार्यान्वयन हुँदै गए र आवश्यक जनशक्ति तथा उपकरण थपिँदै गए राप्तीसोनारी अस्पताल दुर्गम क्षेत्रका नागरिकका लागि उपचारको भरपर्दो केन्द्र बन्न सक्नेछ। गाउँमै अस्पताल खुलेपछि स्थानीयको अपेक्षा एउटै छ, ‘बिरामी पर्दा उपचार खोज्दै टाढा जान नपरोस्।’ अहिले सुरु भएको सेवा त्यही अपेक्षा पूरा गर्ने दिशातर्फको पहिलो पाइला बनेको छ।  
अर्को समाचार
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
१ घण्टा अघि
•
१ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
सुर्खेत। कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति सङ्घले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ।




सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगका सहकार्यमा सञ्चालन हुने ‘सम्भव जीवन’ परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ।

परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविरमार्फत नागरिकलाई आँखा तथा कानको उपचारका पहुँचमा ल्याउने लक्ष्य परियोजनाले राखेको छ।

कर्णाली प्रदेशमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले समेत देखाएका छन्। सङ्घले सन् २०२५ मा गरेको वैज्ञानिक अध्ययनअनुसार सुर्खेत र सल्यान जिल्लाका एक हजार ९४६ जना अध्ययन सहभागीमध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या पाइएको थियो। तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास देखिएको थियो।

अध्ययनले समयमै परीक्षण, रोग पहिचान र उपचार सेवाको विस्तार आवश्यक रहेको औँल्याएको छ।

त्यसैगरी, प्रदेशमा सन् २०१९ मा गरिएको ‘र्यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस’ सर्वेक्षणले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनाको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ र विशेषज्ञ सेवाको अभाव आँखा उपचारमा पहुँचका प्रमुख चुनौतीका रूपमा रहेका जनाइएको छ।

सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगैकै सहकार्यमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममार्फत सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम (२०२०– २०२५) कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी तथा बृहत्स्तरमा सेवा विस्तार गर्न लागिएको जाकारी दिए।

उनले भने,'‘सम्भव जीवन’ परियोजनाले कर्णाली प्रदेशका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।'

तीन लाखभन्दा बढीलाई निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा

‘सम्भव जीवन’ परियोजना कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार परियोजनाको दोस्रो चरणअन्तर्गत तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ भने पाँच हजारभन्दा बढी आँखा तथा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ।त्यसैगरी, विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ।

यसका अतिरिक्त समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान, आवश्यक उपचार तथा थप विशेषज्ञ सेवाका लागि ‘रेफरल’ प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा समेत परियोजनाले जोड दिनेछ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिइने छ।

सङ्घका महासचिव भरतबहादुर चन्दले भने, 'कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याएको हौं।'

कर्णालीका दुर्गम जिल्लामा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन्। त्यस्ता नागरिकलाई उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिककै घरदैलो नजिक विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताए।

आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। रासस
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस