सिक्किम विलयका सारथि पौड्यालको निधन
०३ साउन २०८१
•
९ मिनेट पाठ
सिक्किम विलयका सारथि पौड्यालको निधन
भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा दुःखद निधन भएको छ। नौ दिनअघि (जुलाई ७)मा बेपत्ता भएका पौड्याल मंगलबार पश्चिम बंगालको एक नहरमा मृतावस्थामा फेला परेका छन्।




पौड्याल सिक्किमको पाकयोंग जिल्लाको आफ्नै गृहनगर छोटा सिंगताममा बस्दै आएका थिए। भारतीय सञ्चार माध्यमका अनुसार ७ जुलाई बिहान ९ बजे घरबाट तल सेतीपुलस्थित अन्तरी दिदीको घर जाने भनी निस्किएका थिए। दिउँसो २ बजे घर आइपुग्छु भनेर निस्किएका पौड्याल त्यो बेलादेखि सम्पर्कविहीन भएका थिए। त्यसपछि खोजीका लागि सिक्किम सरकारले विशेष जाँच दल (एसआइट) गठन गरेर खोजी थालेको थियो। तर, उनको कुनै अत्तोपत्तो लागेन।

मंगलबार पश्चिम बंगालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव भेटिएको छ। घडी र पहिरनले उनको शव पहिचान भएको हने। प्रहरीले प्रथम दृष्टिमै उनको शव टिस्टा नदीको माथिल्लो हिस्साबाट बगेर आएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि उनको मृत्युबारे विस्तृत जाँच भइरहेको पनि बताइएको छ।

को हुन् आरसी पौड्याल ?

पौड्याल भारतको सिक्किम प्रदेश विधानसभाका पूर्वउपसभामुख र प्रदेशका पूर्वमन्त्री भइसकेका व्यक्ति हुन्। तर, यत्तिले मात्र उनको परिचय पूर्ण हुन्न। सिक्किमलाई भारतमा विलय गराउन भूमिका खेल्दा तत्कालीन सिक्किमका प्रधानमन्त्री (पछि भारतीय राज्यका मुख्यमन्त्री) काजी लेन्डुप दोर्जे खाङ्सर्पाका प्रमुख सारथि पनि मानिन्छन्। विश्वभर देशद्रोहीको नाम लिँदा लेन्डुपको नाम अग्रपंक्तिमा राखिन्छ। उनकै अगुवाइमा १६ मे १९७५ मा सिक्किम भारतमा विलय भएको थियो। दोर्जेकै अगुवाइमा सिक्किम भारतमा विलय हुँदाका एक सशक्त सहयोगी पात्र थिए पौड्याल।

सिक्किम भारतमा विलय गराउने निर्णय हुँदा पौड्याल उपसभामुख थिए भने पछि दोर्जे मुख्यमन्त्री भएको सरकारमा उनी वनमन्त्री बनेका थिए। पछि देश बेचुवाको आरोप लागेपछि राजनीतिमा सफल हुन सकेनन्। पश्चात्तापको जिन्दगी व्यतीत गर्दैै बाँकी जीवन धर्मकर्म, नेपाली भाषा संस्कृतिको संरक्षण र उन्नयनमा बिताए।

संघर्ष, भारतमा विलय र पश्चात्ताप

सिक्किममा सन् १६४१ मा फुन्त्सोंग नमग्याल पहिलो चोग्याल (राजा) बनेका थिए। तिब्बतका तीन बौद्ध भिक्षुद्वारा फुन्त्सोंगलाई पहिला चोग्याल घोषणा गरिएको थियो। त्यसपछि नमग्याल राजवंशले तीन शताब्दीभन्दा बढी सिक्किममा राज गर्‍यो। भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज गर्दा सिक्किम पनि उसैको नियन्त्रणमा थियो। १८६१ मा सिक्किमका चोग्यालसँग कम्पनी सरकारले सम्झौता गरेर नमग्याल वंशलाई भारतका अन्य राजारजौटाका राज्य जस्तै कठपुतली बनाएर राखेको थियो।

भारतबाट अंग्रेज फिर्ता गएपछि सिक्किमको अर्को अध्याय सुरु हुन्छ। भारत स्वतन्त्र हुँदा सिक्किमका तत्कालीन चोग्याल टाँसी नमग्यालले भारतमा विलय हुन चाहेनन्। नागरिकले पनि स्वतन्त्र देशकै रूपमा रहन जनमत संग्रहमा अभिमत जाहेर गरे। त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले थप बल प्रयोग गरेर हडप्न चाहेनन्।

तर सिक्किममा करिब ७५ प्रतिशत नेपालीभाषी समुदाय थियो। जुन १४ प्रतिशत रहेको तिब्बती चोग्यालबाट शासित थियो। यही कारण नेपाली समुदाय र अन्य केही लोकतन्त्र चाहने समूह आन्दोलन गर्न थाले । जसमा भारतको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ। यसैबीच तिब्बती समुदायकै नेता लेन्डुपले राजतन्त्रको विरोध गर्दै गणतन्त्रका पक्षमा संघर्ष गर्न थाले। जसमा नेपाली समुदायको साथ हुन थाल्यो।

लोकतन्त्रका लागि आन्दोलन हुँदा राज्यले धरपकड, दमन, हिंसाका घटना हुन थाले। त्यही अशान्ति र अस्थिरताको फाइदा उठाउँदै भारतले सन् १९५० मा सन्धि गरेर भारत संरक्षित राज्य बनायो। जसमा चोग्याललाई सिक्किमको सार्वभौमिकता र स्वतन्त्रतामाथि कदापि दखल नदिने विश्वास दिलाएको बताइन्छ। यो सन्धिमार्फत सिक्किमको बाह्य रक्षा, परराष्ट्र मामिला र सञ्चारमा भने भारत सरकारले नियन्त्रण गर्ने अवसर पायो।

सन् १९५९ सम्म आइपुग्दा लेन्डुपलाई नेपाली समुदायका नेताहरूले पनि नेता स्विकारे।लेन्डुपको नेतृत्वमा सिक्किम नेसनल कांग्रेस स्थापना भयो। त्यतिबेला नेपाली समुदायले लेन्डुपलाई नेपाली समाजको सुरक्षाका लागि नेता मानेका थिए। सिक्किम मामिलाका जानकार वरिष्ठ पत्रकार हरिहर विरहीका अनुसार नेपालीले नै नेतृत्व दिँदा राजा बढी दमनमा उत्रिनसक्ने डर थियो। अर्को नेपालीलाई तिब्बती जुनसुकै बेला मिल्नसक्छन् भन्ने भय थियो । त्यसैले लेन्डुपले नेता बन्ने मौका पाए।

सन् १९६१ मा चोग्यालले अधिकार कटौती गर्दै नयाँ नीति ल्यायो । जसको विरोधमा नेपाली समुदाय उत्रियो। नेतृत्व सिक्किम नेसनल कांग्रेस र सिक्किम स्टेट कांग्रेसले लिए। पछि समाधानका लागि भारतले मध्यस्थता गरेको थियो। त्यसपछि सन् १९६२ मा भारत–चीन युद्ध, १९६३ मा चोग्याल टाँसीको निधन र सन् १९६४ मा नेहरूको पनि निधन हुँदा सिक्किममा भारतको नजर अझै कडा हुँदै गएको बताइन्छ। 

टाँसीको मृत्युपछि उनका छोरा पाल्देन थोन्डुप नमग्याल सन् १९६५ मा सिक्किमका नयाँ चोग्याल बनेका थिए। पाल्देन सन् १९५० को सन्धि खारेजीको माग गर्दै भुटानजस्तै राष्ट्र माग गर्नथाले। पाल्देन त्यतिमा रोकिएनन् सिक्किम, नेपाल र भुटानसहितको ‘हिमाली संघ’ बनाउने प्रस्ताव राख्न थाले।

उक्त कुरामा नेहरूको निधनपछि भारतीय प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले बाबु नेहरूको जस्तो धैर्य राख्न सकिनन्। उनले सिक्किमबारे आक्रामक रणनीति अख्तियार गरिन्। यसैबीच उनले लेन्डुपलाई विश्वासमा लिने कोसिस गरिन्। जसमा लेन्डुप फँस्दै गए।

सन् १९७२ मा सिक्किम जनता कांग्रेस स्थापना भयो, नेतृत्वमा केसी प्रधान आए। यसैबीच सोही वर्ष भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख रामेश्वरनाथ काओले सिक्किम विलयको योजना बनाए। इन्दिराले अनुमोदन गरिन्। जसमा चोग्याल राजतन्त्रको विस्तारै कमजोर पार्ने र त्यहाँका स्थानीय पार्टीको सहयोग लिने योजना बनेको थियो। सिक्किममा प्रजातन्त्रका लागि संघर्षरत नेपाली समुदायले यो विषयको छनकसम्म पाएनन्।

यसैबीच सन् १९७३ मा भएको निर्वाचनको नतिजा अस्वीकार गर्दै सिक्किम नेसनल कांग्रेसका नेता लेन्डुप, सिक्किम जनता कांग्रेसका केसी प्रधानले आन्दोलन सुरु गरे। नेपाली समुदाय लगातार आन्दोलित नै थियो। आरसी पौड्याल पनि त्यतिबेलाको लोकतान्त्रिक आन्दोलनमा नेपाली समाजको अगुवाइमा थिए। उनीबाहेक नरबहादुर खतिवडा पनि त्यतिबेला आन्दोलनमा थिए। पौड्यालले त राजधानी गान्तोकमा सात दिने अनशन नै गरेका थिए।

आन्दोलनकारीले लिखित संविधान, मौलिक अधिकार, बालिग मताधिकार, आरक्षण माग गरिरहेका थिए  तीन दिनकै आन्दोलनमा हजारौ व्यक्ति सडकमा ओर्लिए। उता दिल्लीको रणनीतिमा लेन्डुपबाहेक अरूलाई थाहा थिएन। तर अन्य नेतालाई चोग्यालको राजशाहीविरुद्ध सहयोग गर्ने भनेर आश्वस्त पारिएको थियो। 

तर राज्य दमन बढ्दै गएपछि नेताहरूमा ‘चोग्यालको गुलाम हुनुभन्दा सिक्किमलाई भारतमा गाभ्नु राम्रो हुने’ भन्ने धारणा विकसित भयो । तर, आम नागरिक र लोकतन्त्रवादी नेताहरू व्यवस्था मात्र परिवर्तन चाहन्थे। तर चोग्यालको दमन बढ्दै गएपछि पौड्याल र खतिवडा पनि विलयकै लाइनमा पुगेका थिए।

त्यसपछि भारतले आन्दोलनरत पक्ष र चोग्यालसँग दोहोरो संवाद गरेर वार्ताको वातावरण बनायो। सहजीकरण गर्न भन्दै दिल्लीबाट बिएस दास सिक्किम पुगे। १९७३ मे ८ मा राजा, भारत र दलबीच त्रिपक्षीय सम्झौता भयो। सम्झौतामा सिक्किमको रेखदेख गर्न एक भारतीय प्रतिनिधि रहने र आवधिक निर्वाचनको सहमति भयो।

१९७३ अगस्टमा लेन्डुप र प्रधानले पार्टी एकीकरण गरेर सिक्किम कांग्रेस बनाए। यसै क्रममा लेन्डुप सिक्किमको प्रधानमन्त्री पनि बने । उता लेन्डुपसँगको मिलेमतोमा राजा हुँदाहुँदै भारतले बिबी लाललाई सिक्किमको राज्यपाल पठायो। यसक्रममा उनले राजालाई क्रूर र निरंकुश भनेर भारतमा विलयको वातावरण बनाउँदै लगे।

यसैक्रममा सिक्किम प्रहरीलाई कमजोर बनाउँदै भारतले आफ्नो सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लग्यो। सन् १९७४ मा सिक्किममा निर्वाचन भयो। जसमा सिक्किम कांग्रेसले ३२ मध्ये ३१ सिट जित्यो। सोही निर्वाचनमा पौड्याल पनि निर्वाचित भएका थिए।

निर्वाचनपछि अप्रिल १९७५ मा बसेको संसद्मा लेन्डुपले भारतको इसारामा ‘सिक्किममा दिगो शान्ति, विकास र जनअधिकारका लागि’ भन्दै एउटा विधेयक प्रस्तुत गरे। अंग्रेजीमा लेखिएको विधेयक २० जना अंग्रेजी भाषा पटक्कै नबुझ्ने सांसदले थाहा नै पाएनन्। विधेयक निर्विरोध पारित भएको घोषणा गरियो।

जसमा ‘प्रशासन सञ्चालन भारतीय प्रशासकले गर्ने र सिक्किमलाई भारतमा विलय गर्ने विषयमा जनमतसंग्रह गर्ने’ विषय थियो । त्यो निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीसमेत भारतीय प्रशासनलाई प्राप्त भयो। १४ अप्रिल १९७५ मा जनमतसंग्रह भयो, जसमा ९३ प्रतिशत विलय पक्षमा मत आएको घोषणा गरियो । १६ मई १९७५ मा भारतले २२औं पूर्ण राज्यको मान्यता प्रदान गर्‍यो।

त्यसपछि विद्वान् र धाराप्रवाह बोल्नसक्ने नेता मानिने पौड्याल दुई विधानसभाको उपसभामुख भए भने त्यसपछि वनमन्त्री बने। तर, भारतमा विलिन गराएको आरोपले लेन्डुप, पौड्याल, खतिवडालगायत नेतालाई ‘देश बेचुवा’को आरोप लाग्यो। नरबहादुर भण्डारीले नयाँ दल खोलेरै तीनजनाको आलोचना गर्न थाले। जनस्तरमा पनि उनीहरू आरोपित हुँदै गए। उता भारतीय संस्थापनले पनि उनीहरूलाई हेप्न थाल्यो।

देश बेचुवाकै आरोपमा सन् १९७९ मा भएको विधानसभा निर्वाचनमा लेन्डुपसहित पौड्याल र खतिवडाहरू पनि हारे । बल्ल उनीहरूको चेत खुल्यो । त्यसपछि पश्चात्ताप गर्दै लेन्डुप कालिम्पोङमा गएर बस्न थाले। खतिवडा मुम्बईतिर गएर वकालत पेसा गर्न थाले।

विद्वान् मानिने पौड्याल पार्टी गठन गरेर राजनीति गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। त्यसपछि पछुतोले गर्दा योगी भएर गीताज्ञान प्रचारमा लागे । धार्मिक, सांस्कृतिक अभियानमा लागे। यही पश्चात्ताप पौड्यालले आफूसँगको भेटमा देखाएको वरिष्ठ पत्रकार विरहीले आफ्नो पुस्तकमा समेत लेखेका छन्। 

जसमा पौड्यालले ‘सबैले गलत बुझेका अथवा बुझाइएको मान्छे । हामीजस्ता इमानदार र सोझा मानिसले राजनीति गर्ने समय होइन रहेछ यो। त्यसैले मैले राजनीतिबाट सन्न्यास लिएँ,’ भनेका छन्। उनले दिल्लीसँग एक पैसा पनि नखाएको बताएको उल्लेख छ। ‘तर आफ्नो मातृभूमि कसैले बेच्छ ? दिल्लीसँग मैले आजसम्म एक पैसा पनि खाएको भए आमाको रगत बराबर हो। म नर्कमा परिजाऊँ।’

विरही पौड्याललाई सिक्किमलाई भारत विलय गराउन लेन्डुपको सारथीभन्दा परिचय नपुग हुने बताउँछन्। विरही भन्छन्, ‘उनी बहुसंख्यक सिक्किमे नेपालीलाई अधिकार दिलाउन लडेका व्यक्ति हुन्। उनकै संघर्षले नेपालीभाषीले चोग्यालको ठूलो अत्याचारबाट बचेको पनि देख्न सकिन्छ।’ पौड्यालकै संघर्षमा नेपाली भाषा, साहित्य, सनातन हिन्दू धर्म संस्कार पनि सिक्किममा जोगिएको विरहीको बुझाइ छ।

पश्चात्तापमा रहेका ८० वर्षीय नेता पौड्यालको निधनलाई शंकास्पद मानिएको छ । कसैले उनको मृत्यु आत्महत्या त कसैले हत्याका रूपमा व्याख्या गरिरहेका छन्। मृत भेटिएपछि बुधबार सिक्किममै उनको अत्येष्टि गरिएको छ। अन्त्येष्टि उनका भाइ पूर्वमन्त्री सोमनाथ पौड्यालले गरेका छन्। सोमनाथ पवन चाम्लिङ मुख्यमन्त्रीको मन्त्रिपरिषद्का सदस्य थिए। 
अर्को समाचार
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
२४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ। भाइरल भिडियोमा एक दुलहाले आफ्नो गलामा नोटको लामो र भारी माला लगाएको देखिन्छ। 




भिडियोमा गरिएको दाबी अनुसार यो मालामा एक करोड ३३ लाख भारतीय रुपैयाँका नोट छन्। माला यति लामो छ कि यो छतबाट सुरु भएर सडकसम्म पुग्छ।

भाइरल भिडियोमा स्पष्ट देखिन्छ कि नोटको माला विवाह समारोहको एक भाग हो। मानिसहरूको भीड यो दृश्य हेर्न उत्साहित छ। मालामा पाँच सय रुपैयाँका नोटहरू जोडिएका छन्, जुन सडकमा कार्पेटजस्तै फैलिएको छ। दुलहाले यो माला गर्वका साथ लगाएका छन्।

माला र त्यसको दाबीबारे कुनै आधिकारिक पुष्टि भएको छैन। कतिपयले सार्वजनिक रूपमा यत्राे रकम देखाउनु बुद्धिमानी हो भन्दै प्रश्न उठाएका छन्। धेरैले समाजमा बढ्दो फजुल खर्चको प्रतीक मानेका छन्। मालाको मूल्य ३३ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने अनुमान गरेका छन्।

यो भिडियो इन्स्टाग्राममा आमिर मेवातीले सेयर गरेका थिए, जसलाई कराेडाैं पटक हेरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो भिडियो भारतकाे नै हाे। तर कुन सहर वा राज्यको हो भन्ने स्पष्ट छैन। कतिपयले यस्तो खर्चलाई फजुल मानेका छन्, भने कतिपयले सबैलाई आ-आफ्नै तरिकाले उत्सव मनाउने अधिकार भएको तर्क गरेका छन्। एजेन्सी
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस