मुलकमा विकासका विरोधी र समर्थकबीच द्वन्द्व छ
११ वैशाख २०७९
•
९ मिनेट पाठ
मुलकमा विकासका विरोधी र समर्थकबीच द्वन्द्व छ
डा. विश्वनाथ पौडेल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग ।
संघीयतापछि मुलुकले विकासमा फड्को मार्छ भन्ने आम बुझाइ थियो तर त्यस्तो हुन सकेको छैन। स्थानीय तथा प्रदेश सरकारले प्रभाकारी ढंगले विकासका कार्यक्रम अघि बढाउन सकेका छैनन्। विकास निर्माणमा नीतिगत र बजेट अभाव लगायतका समस्या छन्।




संघीय संरचनामा गएपछि पनि विकास हुन के ले रोक्यो? बजेटको सदुपयोग कसरी भइरहेको छ? जनप्रतिनिधिले कसरी काम गरिरहेका छन्? आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता के के हुन्? एमसिसी पारित गरेपछि नेपाललाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टिकोण कस्तो छ? विदेशी लगानी आउने सम्भावना छ छैन जस्ता विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

मुलुक संघीयतामा गएपछि प्रदेश र स्थानीय तहले जनअपेक्षा र आवश्यकता अनुसार विकास गरे त?

स्थानीय र प्रदेश तहका आफ्नै खालका गुनासा छन्। विशेष गरी प्रदेशमा आवश्यक प्राविधिक जनशक्ति पाइएन भन्ने गुनासो छ। समयमा बनाउनुपर्ने कानुन नबनाएको भन्ने छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एउटा मात्र इञ्जिनियर भएको, ४०/५० जना उपसचिव चाहिने ठाउँमा दुई/चार जना मात्र उपलब्ध गराइएको जस्ता समस्या पनि औंल्याइएका छन्। केन्द्रले प्रदेश तहमा योजना पठाए पनि सो अनुरूप बजेट तथा जनशक्ति नपठाएकाले अपेक्षाअनुरूप विकास निर्माण गर्न नसकिएको गुनासो छ।

अहिले प्रदेश र स्थानीय तहमार्फत खर्च गरिएको बजेट अपेक्षित रूपमा सदुपयोग हुन सकेन भन्ने पनि छ नि?

अनुगमन र मूल्यांकनको पक्ष कमजोर भयो। जिल्ला समन्वय समितिलाई अनुगमन, मूल्यांकन गर्न लगाउने भन्ने थियो। कतिपय ठाउँमा उपभोक्ता समितिमार्फत काम गराउँदा त्यहाँ पारदर्शी रूपमा काम भएन भन्ने गुनासो पनि छ। विकास चाहिँ सीमित रूपमा भएको देखिन्छ। धेरै जसो जनताको माग सडक हो। स्थानीय तहमा धेरै सडक खनिएको छ। सडकको गुणस्तर खोजे जस्तो भयो कि भएन भन्ने त्यो अर्को प्रश्न हो। शिक्षा र स्वास्थको परिणामलाई हेर्ने हो भने एसर्ईईको तथ्यांक मात्रै हेर्दा पनि शिक्षामा धेरै राम्रो भएको छ भन्ने ठाउँ छैन। यद्यपि त्यति खराब अवस्था पनि होइन। स्वास्थ्यको क्षेत्रमा केही सुधार अवश्य भएको छ।

कतिपय योजना प्रदेशबाट केन्द्रमा तानिएका छन् भने केही आयोजना संघीय कार्यालय मातहत नै राखिएका छन्। तल्लो तहमा योजना कार्यान्वयन गर्ने क्षमता नभएकाले त्यसो गरिएको हो?

सिंहदरबारले जिम्मेवारी, स्रोत र जनशक्ति तल पुग्न सकेन भन्ने अनुभूति गरेको छ। बजेट पठाउने हो भने ठूला सडक बनाउने जनशक्ति पनि प्रदेश वा तल्लो तहमा जान्छ भन्ने हो। सक्षम जनशक्ति चाहिँ म जाउँला स्रोत र परियोजना प्रदेशमा नआउला भनेर डराइरहेको छ। उ एक्लै गएर पनि के गर्ने ? कपितय केसमा स्रोत जाने जनशक्ति नजाने भएको पनि देखियो। यससन्दर्भमा केही कमजोरी रहेको छ। यसलाई सुधार गरेर अघि बढ्नुपर्छ।

आव ०७९/८० का लागि कस्ता योजना प्राथमिकतामा राखिएका छन्?

गत वर्षको भन्दा बजेट बढेर आउँछ। पञ्चवर्षीय योजनाको लक्ष्य अनुसार प्राथमिकता निर्धारण गरिन्छ। योजना आयोगले यो वर्ष महिलालाई प्राथमिकतामा राखेको छ। शिक्षा, स्वास्थ्य, सडक प्राथमिकतामा छन्। दुई वर्षभित्र हरेक व्यक्तिको घरमा बिजुली पुर्‍याउँदैछौं। करिब तीन लाखको घरमा बिजुली पुगेको छैन। ती सबैभन्दा विपन्न परिवार हुन्।

कुनै लाभ र लागत नहेरी हरेक नागरिकको घरमा बिजुली पुर्‍याउछौं। खानेपानी आयोजनामा पनि ध्यान दिएका छौं। ठूला पूर्वाधार योजना पनि अघि बढाउनुपर्ने दायित्व छ। पूर्व–पश्चिम राजमार्ग, पोखरा–काठमाडौं सडकलाई चौडा बनाउने र विस्तार गर्ने योजना छ। निजगढ–काठमाडौं फास्ट ट्र्याक लगायतका प्रमुख सडक बनाउछौं। प्रमुख सहरहरूलाई सकडसँग जोड्ने योजना छ। हिमाली क्षेत्रमा सडक नपुगेर हेपिएको अनुभव गरेका छन्। ती क्षेत्रमा सडक पुर्‍याउछौं।

गेमचेञ्जर परियोजना पनि आउँदैछन्?

पूर्व–पश्चिम राजमार्ग नै गेमचेञ्जर परियोजना हो। यसलाई चार लेनको बनाउने, प्रति घण्टा एक सय किलोमिटरको गतिमा सवारी गुड्न सक्ने बनाउने हो। यसका लागि ठूलो बजेट आवश्यक छ। निजगढ–काठमाडौं फास्ट ट्र्याकमा अहिले सामान्य काम भएको छ। यसमा पनि धेरै गर्नुपर्नेछ। विमानस्थलहरूलाई आधुनिकीकरण गर्नुपर्नेछ। निजगढ विमानस्थलको थप अध्ययन गर्नका लागि मेरै संयोजकत्वमा एउटा समिति बनेको छ। कुन मोडालिटीमा अघि बढाउने भन्ने विषय हेर्दैछौं।

पूर्वाधारका ठूला आयोजना के कारणले निर्धारित समयमा पूरा हुन सकिरहेका छैनन?

स्रोतको कमी, नीतिगत समस्या, ठेकदारको लापरबाही लगायतका विभिन्न समस्या छन्। जस्तै बेनीघाटदेखि लार्चेलसम्मको सडक छ। अहिले हामीले विनियोजन गरेको बजेट हेर्ने हो भने २० वर्षमा पनि त्यो सडक बनेर सकिँदैन। कतिपय सडकमा २०–३० करोड रूपैयाँ मात्र बजेट दिइएको छ। धेरै स्रोत भत्ता र अनुदानमा गएको छ।

अहिले सुरु गरेका धेरै सडकका लागि छुट्याइएको बजेट हेर्ने हो भने कति वर्षमा निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित छैन। केही निर्माण व्यवसायीका हातमा धेरै परियोजना छन्। गुणस्तरमा समस्या छ। सडकको माग छ तर स्रोत र काम गर्न सक्ने निर्माण व्यवसायीको कमी छ। हामी कहाँ यस्तै प्रकारका कमजोरीले निर्धारित समयमा आयोजनाहरू पूरा हुन सकिरहेका छैनन्।

ठूला पूर्वाधार परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी आउन सकेको छैन किन?

हरेक वैदेशिक अनुदानमा विरोध गरेर विज्ञ भइन्छ भन्ने मनोविज्ञान छ। एमसिसीमा पनि हामीले त्यो देख्यौं। एउटाले ठेक्का नपाए पछि अर्कोले मुद्दा मामिला गर्ने परम्परा छ। विरोधै विरोधको कारण पनि समस्या सिर्जना भएको छ। विरोधका बीच एफडिआई आकर्षित गर्न कठिन छ। सस्तो ऋणमा बनाइरहेको नागढुंगा सडकमा विरोध आयो। विदेशी ठेकेदारले काम गरिरहेका ठाउँमा समेत अनेक कम्प्लेन छन्।

एमसिसी पास भएपछि अन्तर्राष्ट्रिय समुदायमा कस्तो सन्देश गएको छ र अन्य मुलुकले यस्ता परियोजनमा सघाउन सक्ने सम्भावना हुन्छ/हुँदैन?

हाम्रो देशमा विकास विरोधी र विकास समर्थकबीच द्वन्द्व छ। भविष्यमा पनि हुन्छ। एमसिसी पास भएपछि विकासका लागि हिंसाको सहारा नलिइकन प्रजातान्त्रिक पद्धतिबाट निकास निकाल्न सकिन्छ भन्ने सन्देश गएको छ। कसैले पनि विपक्षमा भोट दिएन। अमेरिकामा पनि नेपालमा एमसिसीको पक्ष, विपक्षमा जे बहस भए पनि सही ढंगले यसको सकारात्मक किनारा लाग्यो भन्ने सन्देश गएको छ।

नेपालमा विकासप्रतिको तीव्र चाहना देखियो। एमसिसी स्वीकार गर्ने निर्णय भयो। नेपालको लागि भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापान, युरोप लगायतको सद्भाव लिएर अघि बढ्नुपर्छ। छिमेकी विरुद्ध गतिविधि गर्न दिनु हुँदैन। ठूला मुलुकका बीच आफ्ना समस्या होलान्। हामीले सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ। यसले विदेशमा पनि राम्रो सन्देश गएको छ। खुलापनले विकासको क्रम अघि बढिरहेको छ। वैदेशिक अुनदान र ऋणमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ।

हामीले विआरआई परियोजना पनि ल्याउन सक्छौं?

नेपालका लागि विदेशी सहयोगका परियोजना आवश्यक छन् तर कति प्रतिशत सस्तो ऋण भन्ने हो। अहिले हामीले सस्तो ऋण प्रयोग गरिरहेका छौं। ०.०१ प्रतिशत, ०.७५ प्रतिशतमा ऋण तथा अनुदान ल्याएका छौं। अरू ठाउँबाट पाउने दरमै प्रतिस्पर्धी दररेटमा ऋण पाइयो भने चीनबाट ल्याउन गाह्रो पर्दैन। बिआरआई वा अरू कुनैको नाममा महंगो ऋण लिने कुरा आउँदैन।

चीन मित्र राष्ट्र भएकाले सहयोग गर्दै आएको छ गर्ने प्रतिवद्धता पनि जाहेर गरेको छ। भारत र अमेरिकाले जुन सर्तमा ऋण सहयोग गरिरहेका छन् चीनले पनि त्यही अनुसार सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा छ। चीन आर्थिक रूपमा पनि सम्पन्न भैसकेकाले सहयोग गर्नेमा विश्वस्त छौं।

एमसिसीपछि देश मागेर चलाउने कि आन्तरिक रूपमा मजबुत हुने भन्ने बहस पनि चलाइएको पाइयो, ऋण लिने हाम्रो क्षमता के हो?

कुनै पनि लगानीका योजनाको प्रतिफल हेर्ने हो। विपन्न बस्तीमा सडक, खानेपानी, खोप लगाउनै परे पनि विदेशी संस्थाबाट आवश्यकता अनुसार ऋण लिने हो। ऋण लिएर काठमाडौंमा अस्पताल बनाएकाले हुम्ला÷जुम्लामा पनि अस्पताल बनाउन ऋण लिनुपर्ने पनि हुन सक्छ। म ग्रामीण विद्युतिकरण र ग्रामीण सडक निर्माण जस्ता परियोजनामा ऋण लिएर पनि गति अघि बढाउनुपर्छ भन्ने पक्षमा छु।

वैदेशिक ऋणको कारण श्रीलंकाको अर्थतन्त्रमा समस्या आयो। हाम्रोमा पनि विदेशी विनिमय सञ्चिति घटिहेको छ। के हाम्रो अर्थतन्त्र पनि अप्ठ्यारो अवस्थामा पुगेको हो?

नेपालको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु गलत छ। हामीले ८० प्रतिशत ऋण विश्व वैंक र एसियाली बैंकबाट ल्याएका छौं। ती संस्थाको ऋण निकै सहुलियत दरमा छ। हाम्रो सात खर्ब रूपैयाँ ऋण औषत एक प्रतिशत व्याज दरको छ। ऋणको सावाँ, व्याज भुक्तानीका लागि वार्षिक ४० अर्ब रूपैयाँ छुट्टयाएका छौं। २०,३० वर्ष पछिसम्म तिर्ने ऋण छ। ऋण आजको भोलि तिर्ने होइन। अहिले हामीसँग साढे नौ अर्ब डलर विदेशी मुद्रा छ। आजको भोलि नै ऋण तिर्छु भने पनि हामीसँग सञ्चिति छ। वैदेशिक ऋण भन्दा हामीसँग वैदेशिक मुद्रा धेरै छ।

आयातमा असर पर्छ। सामान ल्याउन नसक्ने, ऋण तिर्न नसक्ने अवस्थामा छैनौं। बुझेर पनि यो विषय किन उचालेका छन्। यो त पहिला एमसिसी परियोजना ल्याउँदा ट्रान्समिसन लाइनबाट अमेरिका आउँछ भने जस्तै हो। कोभिडको बेला आयात कम भएको थियो। अहिले आयात बढेको छ। अर्थतन्त्र श्रीलंकाको जस्तो छैन। संरचनागत रूपमा फरक रहेको छ। श्रीलंका आर्थिक रूपमा हामीभन्दा राम्रो थियो। वैदेशिक ऋणमा अराजकता भयो। उनीहरूको वैदेशिक ऋणले प्रतिफल दिन सकेन।

आगामि बजेटमा नेपाली कांग्रेस नेतृत्वको सरकारले ‘कोषदेखि सोखसम्म’को सामाजिक सुरक्षाको प्याकेज ल्याउँदैछ भन्ने सुनिन्छ। कस्ता प्याकेज आउँदैछन्?

हामीले मानिसको जीवनचक्रमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा फोकस गरौं भनेको हो। गर्भमा बसेदेखि सुरक्षा चाहिन्छ। गर्भवती आमालाई सुरक्षा, जन्मपछिको केयर, बालबालिकाको पाँच वर्ष अघिको अर्ली चाइल्डहुड डेभपलमेन्ट, फ्री स्कुल शिक्षा, छात्राहरूलाई छात्रावास, महिला सशक्तिकरण, युवाको सुरक्षाका लागि रोजगार कार्यक्रम, वृद्ध भएपछि वृद्धभत्ता लगायतका कार्यक्रम हुन्।

वृद्धभत्तालाई प्रगतिशील बनाउने सोच छ। अहिले सम्पन्न र विपन्नले पाएका छन्। विपन्नले बढी पाउने सक्ने बनाउन सकिन्छ। सामाजिक सुरक्षा भत्ता दिने उमेर समूह ७० बाट ६५ वर्ष बनाउने, रोग लागेको मान्छेलाई केही गर्न सक्छौं कि भन्ने छ। मरेपछि पनि लास बेवारिसे नबनोस्, घाट व्यवस्थित बनोस् भन्ने छ। यसरी कोखदेखि मृत्युसम्म सबैलाई समेट्ने योजना छ।

वृद्ध भत्ता दिने उमेर ७० बाट ६५ मा झारेर सामाजिक सुरक्षाका अन्य कार्यक्रम थप्दा हाम्रो देशको आर्थिक क्षमताले धान्न सक्छ?

हाम्रो क्षमता एउटा पक्ष होला। राज्यको दायित्व अर्कोपक्ष हो। वृद्धभत्ता ७० वर्षमा हेर्दा अहिले धेरै बाँँच्ने मान्छे सम्पन्न जिल्लामा छन्। ५० वर्षभन्दा बढी जिल्लामा औषत आयु ७० वर्ष भन्दा कम छ। काठमाडौंका मान्छेलाई वृद्धभत्ता किन दिएको ? यो सामाजिक सुरक्षा हो कि होइन भन्ने प्रश्न छ। काठमाडौंमा वृद्धभत्ताले जीवन परिवर्तन भएका मान्छे थोरै मात्र होलान्। सुदूरपश्चिम वा सदूर पूर्वका जिल्लामा ७० वर्ष बाँच्छन् कि बाँच्दैनन्।

धनी परिवारको मान्छे ७० वर्ष बाँच्नु र गरिब परिवारको लागि त्यही उमेर राख्नु कति न्यायोचित हुन्छ? सुकुम्बासी बस्तीमा ७० वर्ष बाँच्न कति संघर्ष गर्नुपर्छ र भैंसेपाटी वा बालुवाटारमा बस्नेको ७० वर्ष उमेरलाई पनि हेर्नुपर्छ। संघर्षको कथा एउटै होइन। तथ्यांक हेरि विश्लेषण गरेर विपन्नलाई धेरै दिउँ, सम्पन्नलाई कम दिउँ भन्ने हो। तुलनात्मक रूपमा सम्पन्न व्यक्तिलाई भत्ता दिन सक्छ भने दुर्गममा बसेकालाई दिने कि नदिने? सामाजिक सुरक्षामा कसलाई सुरक्षित बनाउन खोजिएको हो भन्ने विषयमा कमै मात्र छलफल भएको छ। विपन्न र अप्ठ्यारोमा परेका मानिसले राहत पाउन भन्ने हो।
अर्को समाचार
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
१५ वैशाख २०८१
•
२ मिनेट पाठ
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताएका छन्।




आइतबारदेखि यहाँ सुरु हुन लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा उनले भने, ‘लगानीकर्तालाई सम्मेलनमा अन्तरक्रियाको सिलसिलामा के कुरामा आश्वस्त पार्न सक्नुपर्छ भने हामीले जे कुरा बोलिरहेका छौ, त्यो कुरा अक्षरशः कार्यान्वयन गर्छौं। अहिले नै हामीले उनीहरुसँग गरेका प्रतिज्ञाअनुसार सुविधा दिने वातावरण छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ।’

लगानीकर्ताको चित्त बुझ्यो भने मात्र लगानी गर्न तयार हुने उल्लेख गर्दै योजनाविद् क्षेत्रीले लगानीका लागि विश्वासको वातावरण ‘ज्ञारेन्टी’ गर्नुपर्ने सुझाव दिए।

‘लगानीकर्ता आफ्नो लगानीबाट मिल्ने लाभ हेरेरै जोखिम लिन तयार हुन्छन,’उनले भने, ‘स्वभाविक रुपमा फजुलमा खर्च गर्न मात्र लगानीकर्ता आउँछन् भन्ने अपेक्षा राख्नु हुँदैन।’ 

लगानीकर्तासँँग प्रचुर मात्रामा पैसा भए पनि त्यसको विवेकशील ढङ्गबाट लगानी गर्न मात्र उनीहरु आउँछन् भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ।

पूर्वउपाध्यक्ष क्षेत्रीले भने, ‘देशभित्र पूँजीको अभाव भएको अनुभव गरिरहेका छौँ तर विडम्बना हामीसँग भएको सीमित पूँजी पनि सरकारले बजेटमार्फत विनियोजन गरेको तर खर्च हुन नसकेको अवस्था छ।’

यो परिस्थितिमा वैदेशिक लगानीका लागि गरिरहेको आह्वान पैसाका लागि मात्र नभई प्रविधि र व्यवस्थापन पनि भित्र्याउने गरी गरिएको हो भनी विश्वस्त पार्नसक्नुपर्नेमा उनले जोड दिए।

‘हामीले ‘सार्वभौम साख’ मूल्याङ्कन गर्न सकिरहेका छैनौँ। मुलुकको कर्जा योग्य हुने अवस्था के हो भन्ने कुराको अहिलेसम्म लेखाजोखा छैन, त्यो अहिलेको आवश्यकता हो,’ उनले भने, ‘उसो त लगानीकर्ताले विकासशील देशहरुमा यस्ता कुरा सामान्य हो भन्ने बुझेका हुन्छन तर पनि वस्तुगत परिस्थितिलाई आँकलन गरेर उनीहरुले लगानी गर्ने कि नगर्ने भन्ने कुरा त्यही थलोमा गएर निर्णय गर्ने हिसाबले आएका हुन्छन्।’

लगानी सम्मेलनका लागि यस पटक राम्रै प्रयास भएको उल्लेख गर्दै पूर्वउपाध्यक्ष क्षेत्रीले स्वदेश तथा विदेशमा सम्मेलनको तयारी गर्न सरकारका विभिन्न निकायले दौडधुप गरेर प्रयास भएको देखिएको बताए। ‘एक सय ४८ परियोजना हामीसँग छन् भन्नुको अर्थ पनि तयारी राम्रै हो,’ उनले भने।

यसका अतिरिक्त त्यस्ता उद्योगी र व्यवसायीको सम्पर्क व्यक्तिसँग सम्पर्कमा रहिरनुपर्ने उल्लेख गर्दै उनले अहिले लगानीकर्तालाई आतिथ्यताको उत्कृष्ट व्यवस्थापनमा विशेष ध्यान दिन सुभाव दिए।

लगानीकर्तासँग प्रस्ताव राख्ने र सम्झौता गर्ने तौरतरिकाका लागि पनि उपयुक्त जनशक्तिको सहयोग अपरिहार्य हुने उनको धारणा छ।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस