काठमाडौं-सरकारले एक वर्षअघि मात्र मैतिदेवी–सेतोपुल सडक कालोपत्रे गरेको थियो। तीन सय मिटर लामो उक्त सडकमा तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। अहिले त्यहाँ दायाँतर्फको दुईलेन खनेर खाल्डैखाल्डा बनाइएको छ।
मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप बिछ्याउन कालोपत्रे सडक धमाधम खनेको हो। काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख श्याम खरेलले सडक र खानेपानीबीच समन्वय नहुँदा कालोपत्रेमा खर्च भएको तीन करोडमध्ये डेढ करोड त्यसै खेर गएको बताए। उनका अनुसार खनेको भाग फेरि कालोपत्रे गर्न झन्डै डेढ करोड लाग्छ।
यही हाल छ, धोबीखोला करिडोरको।
धोबीखोला करिडोरमा ग्राभेल सडक बनाउँदा सरकारी निकायबीच समन्वय अभावले ६३ करोड रुपैयाँ नाश भएको छ। करिडोरमा हालै मात्र ६३ करोड खर्चेर ग्राभेल गरिएको थियो। अहिले ढल बनाउन जम्मै भत्काउनुपर्ने भएको छ। केही ठाउँमा भत्काउने क्रम सुरु भइसक्यो।
यी दुई घटना सहरी विकासमा देखिएका बेथितिका उदाहरण हुन्।
उपत्यकामा हालै विस्तार गरिएका अधिकांश पक्की सडकमा निर्माण पूरा नहुँदै यस्ता बेथिति देखिन थालेका छन्। सरकारले काठमाडौं उपत्यकाको सडक विस्तार क्रममा करिब एक सय किलोमिटर कालोपत्रे गरिसकेको छ। यसका लागि आठ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। तर, यति ठूलो रकम लगानी गरेर भर्खरै कालोपत्रे गरिएका ती सडक अब भत्किने भएका छन्।
मेलम्ची खानेपानीले काठमाडौं उपत्यकामा खानेपानी पाइप बिछ्याउनेबारे सरकारी निकायबीच बेलैमा समन्वय नहुँदा यस्तो स्थिति आएको हो। पाइप बिछ्याउन नयाँ सबै सडकको झन्डै २५ प्रतिशत चौडाइ भत्काउनुपर्नेछ। मैतिदेवी–सेतोपुललगायत कतिपय सडक खण्डमा भत्काउने काम सुरु भइसकेको छ। यसले सडक निर्माणमा खर्च भएको ८ अर्बमध्ये २ अर्ब खेर जाने सडक विस्तार आयोजना प्रमुख खरेलले बताए।
'अहिले निर्माण गरिएका सबै सडक मेलम्ची खानेपानीले पाइप बिछ्याउन भत्काउँदैछ,' उनले आइतबार नागरिकसँग भने, 'बल्लतल्ल निर्माण भएको सडक भत्काउँदा राज्यले खर्च गरेको रकमको २५ प्रतिशत खेर जाने देखिन्छ।'
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी उपत्यकाबासीको घरघर पुर्याउन पाइप बिछ्याउन सुरु गरेको हो। निर्देशनालयले सुन्दरीजलको पानी प्रशोधन केन्द्र (टि्र्रटमेन्ट प्लान्ट) बाट बल्खुसम्म २७ किलोमिटर र घरघरसम्म पुर्याइएका पुराना पाइप फेरेर करिब सात सय किलोमिटर नया" पाइप राख्दैछ।
यसबारे समयमै समन्वय नहुँदा र सहरी विकासका दीर्घकालीन योजना नबनाइँदा नयाँ निर्माण गरिएको एक सय किलोमिटर मात्र होइन, उपत्यकामा निर्माणाधीन थप ६ सय किलोमिटर सडकसमेत भत्काउनुपर्ने भएको छ। ठेक्का लागिसकेका अन्य सडकको खर्चसमेत निर्माणस्थलको धुलोजस्तै उडेर जाने स्थिति आएको छ। यसबाट दोहोरो कामले समय नाश हुने त छँदैछ, राज्यका निकायको लापरबाहीले विकास निर्माणका नाममा करोडौं बजेट नासिने भएको छ।
मेलम्चीको पानी दुई वर्Èभित्र उपत्यकामा ल्याउने सरकारको तयारी छ। यसका लागि त्योभन्दा अगाडि नै उपत्यकाका सबै क्षेत्रमा गरी सात सय किलोमिटरभन्दा बढी सडक भत्काउनुपर्नेछ। निर्देशनालयले पाइप बिछ्याउने कामको नमुना सुरुआत दुई वर्षअघि नै गरेको थियो। त्यतिबेलै पाइप बिछ्याइने क्षेत्रको नक्सासमेत तयार पारिएको थियो। यसबीच त्यही क्षेत्रमा धमाधम सडक विस्तार हुँदासमेत उसले पाइप बिछ्याउनलाई भत्काउनुपर्छ भनेर सूचित नगरेको खरेलले बताए।
'पहिला जानकारी नै दिएनन्,' उनले भने, 'अहिले सडक निर्माण भइसकेपछि खन्नलाई स्वीकृति माग गरिएको छ।' उनका अनुसार समयमै योजना बनाएर एकीकृत रूपमा अघि बढेको भए त्यही रकममा खानेपानी पाइप बिछ्याउने र ढल निर्माणको कामसमेत पूरा हुने थियो।
पाइप बिछ्याउन उपत्यकामा नयाँ बनाइएका लैनचौर–महाराजगन्ज, माइतीघर–तीनकुने, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल, गौशाला–नयाँ बानेश्वर–शंखमुल, कालिका मार्ग, थिरबम सडक, नक्साल क्षेत्र, सानो गौचरण–कालोपुल, कालिमाटी–बल्खु, धुम्बाराही–मन्डिखाटार–गल्फुटार, जडीबुटी–पेप्सी–मनोहरा लगायत सबै सडक भत्किनेछन्। यसमध्ये माइतीघर–तीनकुने खण्डमा भने फुटपाथतर्फ मात्र भत्काइनेछ। चक्रपथबाहिर र भित्रका अधिकांश सडक पनि बाँकी रहने छैनन्।
यतिमात्र होइन, एकीकृत योजना नहुँदा अहिले खानेपानीको पाइप बिछ्याउन भत्काइएका सडक दुई वर्षपछि फेरि ढल निर्माणका लागि भत्काउने तयारी भइसकेको छ। केयुकेएलले खानेपानी पाइप राखेको ६ महिनादेखि १ वर्Èभित्र उपत्यकाका ३ सय २१ किलोमिटर सडकखण्डमा ढलको पाइप बिछ्याउने तयारी गरेको छ।
केयुकेएलका प्रवक्ता मिलनकुमार शाक्य नयाँ बनाइएको सडक र खानेपानी पाइपको काममा सरकारी निकायबीच तालमेल नमिल्दा सरकारलाई आर्थिक क्षति पुगेको स्वीकार गर्छन्। 'समयमै तालमेल नमिल्दा यो बेथिति देखिएको हो,' उनले भने, 'यसले सरकारलाई बढी आर्थिक भार पर्ने देखिएको छ।'
उनले पाइप बिछ्याइने क्षेत्रबारे सडकलाई पहिल्यै जानकारी गराइए पनि केही समय नकुर्दा समस्या बढेको बताए। 'सडक निर्माणको गति छिटो भयो, तर पाइप बिछ्याउने र ढल राख्ने गति केही ढिला भयो,' उनले भने, 'सडकले केही समय कुरेर पाइप बिछ्याएपछि मात्र काम अघि बढाएको भए यो समस्या आउने थिएन।'
उपत्यकाका सबै स्थानमा खानेपानी र ढलका पाइप राखेपछि मात्र सडक निर्माण गर्नुपर्नेमा उनले जोड दिए। 'हामी पनि बनाइएका संरचना नभत्काऊँ भन्नेमै हुन्छौं,' शाक्यले भने, 'हामीले जानकारी दिँदादिँदै पनि सडकले हतारहतार कालोपत्रे गरेको पाइन्छ।' सडक विस्तार क्रममा जथाभावी डोजर चलाउँदा उपत्यकाका धेरै स्थानमा खानेपानी पाइप फुटेर क्षति पुगेको उनले बताए।