मेडिकल कलेजको शल्यक्रिया, न शिक्षा न सेवा
१३ चैत्र २०७१
•
२४ मिनेट पाठ
मेडिकल कलेजको शल्यक्रिया, न शिक्षा न सेवा
काठमाडौं-राजधानीको भिडमभिड मध्यसहरमा ११ तले भव्य भवन ठडिएको छ। भवनको विशाल प्रवेशद्वार खुलै छ। तीन सुरक्षा गार्ड छेउमै उभिएका छन्। घरी बाहिर निस्कन्छन्, घरी भित्र छिर्छन्।
बिहीबार बिहान १० बजेदेखि १ बजेसम्मको अवलोकन अवधिमा ठूलो भिडभाड पनि सुलुत्तै निलिदिनेजस्तो विशाल यस भवनभित्र न कोही छिर्छन् न कोही बाहिरिन्छन्।
यो कुनै ‘भूतबंगला' होइन जहाँ खेल्दाखेल्दै केटाकेटी छिर्लान् र डराउलान् भनेर मात्र ढोकामा पाले कुरिरहेका हुन्।यो त चौबिसै घन्टा जनतालाई स्वास्थ्य सेवा दिन सञ्चालनमा ल्याइएको एउटा सुविधासम्पन्न अस्पताल हो। जुन अस्पताल नियमित कार्यालय समयको सबैभन्दा चाप हुने अवधिमा पनि सुनसान खण्डहरजस्तो देखिन्छ।
सार्वजनिक बिदाका दिन वा सातामा कुनै एक दिन होइन, जुनकुनै दिन यो भवनको हालत यस्तै हो। यो त्यही प्रस्तावित मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्पताल हो जुन अहिले सम्बन्धनको पर्खाइमा छ।
घट्टेकुलोको साँघुरो सडकभित्र रहेको घना बस्तीबीच प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेज करिब एक वर्षदेखि यस्तै हालतमा छ। अझ अचम्म त त्यही समय उक्त अस्पतालबाट पाँच मिनेट पैदल दुरीमा रहेको डिल्लीबजार पीपलबोटस्थित एककोठे क्लिनिक ‘सहरी स्वास्थ्य क्लिनिक' मा बिरामीको लामै लाइन देखिन्छ।
प्राथमिक उपचार मात्र हुने एककोठे सरकारी क्लिनिकमा बिरामीको भिडभाड तर सामान्यदेखि विशिष्ट उपचार सेवा प्रदान गर्छु र बिरामीको उपचार गर्ने चिकित्सकसमेत उत्पादन गर्छु भनेर मनसायपत्र पेस गरी सञ्चालनमा ल्याइएको अस्पताल भने सुनसान।
यस्तो किन त?
किनकि, यो नाम मात्रको अस्पताल हो। मेडिकल कलेज सम्बन्धन लिन यसका सञ्चालकले अस्पताल चलाइसकेको ढोंग गरेका हुन्, यथार्थमा न त्यहाँ आवश्यकजस्तो अस्पताल छ न चाहिनेजति बिरामी र डाक्टर नै।
एक सय ५० विद्यार्थीलाई डाक्टरी शिक्षा दिन्छु भन्दै सम्बन्धन मागिरहेको यस कलेजले अस्पतालमा बिरामीको चाप देखाउन समय–समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्छ। पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अचेल शिविरमा समेत बिरामी पाउँदैन यो अस्पतालले।
वीरगन्जमा नेसनल मेडिकल कलेज सञ्चालन गरिरहेकै सञ्चालक वसुरिद्दन अन्सारी र जनरुद्दिन अन्सारी दाजुभाइले चलाउन खोजेको यस कलेजले सम्बन्धनका लागि विश्वविद्यालय र मेडिकल काउन्सिल टोली अनुगमन गर्न आउँदा वीरगन्जबाटै चिकित्सक टोली ल्याएर भिड देखाएको थियो।
अनुगमनका समयमा देखाउन ल्याइएका चिकित्सक तथा प्राध्यापक फर्किएपछि अस्पताल नाम मात्रको बन्छ। थोरै संख्यामा चिकित्सक र स्वास्थ्यकर्मीले अस्पताल धानी मात्र रहेको एक कर्मचारी बताउँछन्।
यो अवस्था काठमाडौं नेसनल मेडिकल कलेजको मात्र होइन, मापदण्ड पूरा गरेको जालझेल गरी सम्बन्धनका लागि अनेक तिकडम गरिरहेका मुख्य चारवटै कलेजको हालत उस्तै हो। यो लाइनमा अरू १७ कलेज छन् जसको अवस्था अझ हरितन्नम छ।
नियमअनुसार एक सय ५० विद्यार्थी पढाउने मेडिकल कलेज चलाउन विभिन्न २२ विभागका लागि २ सयभन्दा बढी चिकित्सक चाहिन्छ। काठमाडौं नेसनलमा मुस्किलले २० चिकित्सक कार्यरत रहेको त्यहीँका कर्मचारी बताउँछन्।
‘गहिरोसँग हेर्ने हो भने सम्बन्धन मागिरहेका कुनै पनि कलेजसँग नियमअनुसार आवश्यक पूर्वाधार छैनन्,' नेपाल मेडिकल काउन्सिलका अध्यक्ष जागेश्वर गौतम भन्छन्।

चिकित्सक मात्र होइन, आवश्यक उपकरण र प्रयोगात्मक कक्षाका लागि चाहिने पूर्वाधारसमेत छैन यो अस्पतालमा। अनुगमनका बेला उपकरण र अन्य पूर्वाधारसमेत वीरगन्जबाटै ल्याइएको र अहिले फर्काइएको ती कर्मचारीले जानकारी दिए। त्यसो त वीरगन्जमै पनि पर्याप्त डाक्टर छैनन्, अनुगमन गएका बेला भारतबाट ल्याउने गरिन्छ।
सम्बन्धन माग्ने मेडिकल कलेजसँग ६० प्रतिशत ‘बेड अकुपेन्सी' भएको कम्तीमा तीन सय शऒ्ढयाको चालू अस्पताल अनिवार्य हुनुपर्छ। एक सय ५० कोटाका लागि आवेदन दिएको काठमाडौं नेसनलको उक्त अस्पतालमा यही हिसाबले ७ सय ५० बेड हुनुपर्छ। तर, अस्पतालमा बेडसमेत पूरा छैन।
अझ महत्वपूर्ण कुरा, तीमध्ये ६० प्रतिशत बेडमा बिरामी हुनुपर्नेमा सबै रित्ता छन्। ‘एक वर्षअघि अनुगमनका बेला बेडमा बिरामी देखाउन अस्पतालले लगातार सात दिन निःशुल्क शिविर चलायो,' एक स्थानीय भन्छन्, ‘शिविरमा आएका बिरामीलाई भर्ना गरेर निःशुल्क उपचार सेवासमेत दियो।'
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकै एक प्राध्यापकका अनुसार अस्पतालले कलेज पढाउने प्राध्यापकसमेत अनुगमनकर्तालाई देखाउन बाहिरबाट ल्याउँछन्। ‘अनुगमनका बेला प्राध्यापक मात्र नभई बिरामीसमेत खडेबाबाझैं उभ्याउँछन्,' ती प्राध्यापकले भने, ‘टोली गएपछि सबै फर्कन्छन्, अनि अस्पताल रित्तो हुन्छ।' यस्ता पाहुना प्राध्यापक र बिरामीलाई केही समयका लागि उभिइदिने प्रयोजनमा ल्याइने भएकाले ‘खडेबाबा' भन्ने गरिन्छ।
काठमाडौं नेसनल मात्र होइन, सम्बन्धनको लाइनमा रहेका सबै कलेजको तौर एकै हो। ‘विश्वविद्यालय, आइओएम र मेडिकल काउन्सिलले ती कलेजमा आकस्मिक निरीक्षण गर्ने हो भने मेडिकल कलेजका लागि आवश्यक कुनै पनि पूर्वाधार भेटिँदैन,' ती प्राध्यापक भन्छन्।
काठमाडौं नेसनलका मेडिकल निरीक्षक डा. केएन रायमाझी अस्पतालले सम्बन्धनका लागि सबै पूर्वाधार पूरा गरेको दाबी गर्छन्। तर, रायमाझीको दाबीसँग अस्पतालको दिनहुँका गतिविधि पटक्कै मेल खाँदैन।
विगतमा डा. करवीरनाथ योगीको नेतृत्वमा काठमाडौं नेसनलको अनुगमन प्रतिवेदन तयार पार्ने क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजकै फ्याकल्टी ल्याएर देखाइएको स्रोत बताउँछ।

अर्कातिर, मेडिकल कलेज चलाउन अस्पतालबाट १० किलोमिटर क्षेत्रभित्र कम्तीमा सय रोपनी आफ्नै जग्गा हुनुपर्छ। काठमाडौं नेसनलले लिजमा लिएको जग्गा अस्पताल भवनबाट झन्डै १५ किलोमिटर टाढा छ। जग्गा लिजमा लिइएको तथ्य अनुगमन टोलीले प्रतिवेदनमा लुकाएको स्रोतको भनाइ छ। हाउजिङका लागि बनाइएको उक्त भवन इन्जिनियरिङ हिसाबले पनि अनुपयुक्त रहेको स्वास्थ्य मन्त्रालयले नै औंल्याएको थियो। तैपनि अनुगमन टोलीले आँखा चिम्लिदियो।
हाल सम्बन्धनको पर्खाइमा रहेका र सञ्चालनमा रहेका निजी मेडिकल कलेज तथा अस्पतालमध्ये केही थोरै राम्रा भए पनि धेरैजसोको हालत काठमाडौं नेसनल मेडिकल कलेजको भन्दा नाजुक छन्।
सम्बन्धन पर्खाइमा रहेका मनमोहन मेडिकल कलेज, पिपल्स मेडिकल र नेपाल प्रहरीका कलेजहरूमा प्रतिवेदन तयार पार्दाका अवस्थामा रहेका पूर्वाधारसमेत हाल नरहेको पाइएको छ। अनुगमनका बेला रातारात फ्याकल्टी देखाएका कलेजमध्ये अधिकांशसँग अहिले कागजमा मात्रै फ्याकल्टी रहेको आइओएम अधिकारीको भनाइ छ।
नियमअनुसार मनसायपत्र पाएको तीन वर्षभित्र कलेजहरुले कम्तीमा ३ सय शऒ्ढयाको अस्पताल सुरु गरिसक्नुपर्छ र त्यही आधारमा विश्वविद्यालयबाट सम्बन्धन र काउन्सिलबाट प्रारम्भिक मान्यता लिइसक्नुपर्छ। त्यसपछि विद्यार्थी संख्याका आधारमा प्राध्यापक, प्रयोगशालाजस्ता पूर्वाधार बनाउनुपर्छ। तर यी चारवटै मेडिकल कलेजले जग्गा र भवनबाहेक अरू केही देखाउन सकेका छैनन्।
बिरामीको चाप, भवन र जग्गा तथा पूर्वाधारका हिसाबले प्रस्तावित मनमोहन मेडिकल कलेजको अवस्था नेसनलको भन्दा केही राम्रो देखिन्छ। तर, मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने प्राध्यापक तथा अन्य जनशक्ति र अस्पतालमा हुने बिरामीको चाप भने निकै कम छ। स्रोतका अनुसार अस्पतालमा ग्यास्ट्रोइन्जेरोलोजी, बर्न, न्युरोसर्जरी, थोरासिक, अडियोमेट्री, स्पिच थेरापी, मेमोरी क्लिनिक, ग्लुकोमा क्लिनिक, रेटिनल क्लिनिकजस्ता क्लिनिक र मेडिकल एजुकेसन विभागका लागि आवश्यक पूर्वाधार र जनशक्ति नै छैनन्।
यति मात्र होइन, एक सय ५० जना विद्यार्थी पढाउँछु भन्दै सम्बन्धन मागिरहेको मनमोहनले पनि कागजमा मात्र प्राध्यापक देखाएको, अनुगमनका समयमा ‘खडेबाबा' देखाएको पाइएको छ।
स्रोतका अनुसार अनुगमनका क्रममा खडेबाबा ल्याएर शतप्रतिशत पूरा देखाएको मनमोहनमा अहिले फ्याकल्टी ५० प्रतिशत पनि नपुग्ने देखिन्छ। अघिल्लो वर्षको कात्तिकमा कलेजको अनुगमन नै एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त डा. केके ओली नेतृत्वको टोलीले गरेको थियो। टोलीले बिरामीको न्यून चाप, उपकरणलगायत पूर्वाधार नपुग रहँदासमेत राम्रो भन्दै प्रतिवेदन दिएको थियो।
लामो समयदेखि डेन्टल कार्यक्रम सञ्चालन गरिरहेको पिपल्सले समेत एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन लिने तयारी गरिरहेको छ। डेन्टल कलेज सञ्चालनमै पूर्वाधार र प्राध्यापक पूरा गर्न नसकेको पिपल्सको समेत एमबिबिएस कार्यक्रमका लागि कुनै पनि पूर्वाधार र मापदण्ड पुग्दैन। डेन्टलमा नै पूर्वाधार नपुगेको भनेर कोटा घटाइएको पिपल्स कलेजले अनुगमन क्रममा सबैका आँखा छल्न विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट उपकरण र प्राध्यापक ल्याएर देखाएको थियो। यसका साथै कलेजले पुतलीसडकको एक इन्स्टिच्युटमा पढाउने प्राध्यापकलाई समेत आफ्नो भनेर देखाएको थियो।
डेन्टलबाट जनरल अस्पताल बनाइए पनि अस्पतालमा बिरामीको चाप निकै कम छ। पूर्वाधारका हिसाबमा मनमोहन र नेसनलभन्दा कमजोर पिपल्समा समेत कलेज सञ्चालनका कुनै मापदण्ड पूरा नरहेको आइओएम स्रोत बताउँछ। पिपल्सको अनुगमन डा. शशि शर्मा नेतृत्वको टोलीले गरेको थियो।
सम्बन्धन पर्खाइमा रहेको प्रहरीको प्रस्तावित मेडिकल कलेजले समेत फ्याकल्टी पूरा गर्न सकेको छैन। प्रहरीको कल्याणकारी कोषकै पैसाले खोलेको प्रहरीको कलेज अस्पताल र जग्गाको पूर्वाधार पुगेको भए पनि फ्याकल्टी पूरा छैन। प्रहरीले पनि फ्याकल्टी पूरा देखाउन भारतबाट प्लेन नै चार्टर गरी प्राध्यापक ल्याएको थियो। त्यसयता प्रहरीले अझैसम्म फ्याकल्टी पुरा गर्न सकेको छैन।

मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. दामोदर गजुरेलका अनुसार मापदण्ड तथा पूर्वाधार नपुगेका कलेजलाई सम्बन्धन दिनु अयोग्य चिकित्सक उत्पादन गर्नु हो। ‘कुनै कलेजमा मापदण्ड र पूर्वाधार नै छैनन् भने त्यस्तो कलेजमा पढाइ पनि राम्रो हुन्न र सेवा पनि,' उनले भने, ‘त्यसैले काउन्सिल तथा विश्वविद्यालयले तोकेका सबै मापदण्ड पूरा गरेपछि मात्र सम्बन्धन दिइनुपर्छ।'

चलिरहेका कलेजमा झन् समस्या


सम्बन्धन पर्खाइमा रहेका कलेजमा मात्र होइन, सम्बन्धन पाएर सञ्चालन भइरहेका कलेजको अवस्था झन् नाजुक देखिन्छ। पाँच वर्षदेखि सञ्चालनमा रहेको ललितपुर, ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा त हाल सम्बन्धनको लाइनमा रहेका यी चार कलेजको जति पनि भौतिक पूर्वाधार छैन।
पूर्वाधारका हिसाबले कलेज सञ्चालन गर्न दिनै नमिल्ने अवस्थामा स्वीकृति पाएको उक्त कलेजले पाँच वर्ष अवधिमा समेत पूर्वाधार पूरा गर्न सकेको छैन। ५० विद्यार्थी पढाउने अनुमति लिन न्यूनतम ३ सय बेडको चालु अस्पताल हुनुपर्नेमा यस कलेजले २ सय ३४ बेडमै सञ्चालन अनुमति पाएको थियो। अझै पनि कलेजले उक्त अवस्थामा सुधार गर्न सकेको छैन।
आइओएम स्रोतका अनुसार अहिले पनि कसैले किस्टविरुद्ध उजुरी गरे कलेज नै बन्द हुनसक्छ। त्यतिबेला सम्बन्धन दिनेहरु पनि कारबाही दायरामा आउँछन्।
पटक–पटक व्यवस्थापन विवादले गुजि्रएको उक्त कलेजले भर्खरै नयाँ भवन बनाएर बेड थप्ने तयारी गरेको छ। उक्त कलेजमा पनि फ्याकल्टी ६० प्रतिशतभन्दा बढी नरहेको स्रोत बताउँछ। बेड संख्या नै कम रहेको उक्त कलेजमा बिरामीको चाप पनि मापदण्डअनुसार छैन।
गत वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आइओएमको अनुगमन समितिले गरेको अनुगमनमा सञ्चालनमा रहेका अन्य दुई मेडिकल कलेजको अवस्थासमेत अत्यन्त नाजुक रहेको देखाएको थियो। कलेज सञ्चालन अनुमतिदेखि सिट निर्धारण गर्नेसम्म प्रक्रियामा नेपाल मेडिकल काउन्सिलको मापदण्ड पालना नगर्दा चिकित्साशास्त्र अध्ययनको गुणस्तर खस्किएको तथा यो प्रक्रियामा ठूलो आर्थिक चलखेलसमेत हुने गरेको गुनासो आएपछि सरकारले अनुगमन टोली नै बनाएर कलेज अफ मेडिकल साइन्स, चितवन र नोबेल मेडिकल कलेज, विराटनगरको स्थलगत निरीक्षण गरेको थियो।
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. विमलकुमार सिन्हा संयोजक रहेको समितिले दुवै कलेजको अध्ययन गर्दा कलेजहरुको विकराल अवस्था बाहिर आएको थियो। यो अवस्था अहिले पनि सुधारिएको छैन।
अनुगमन क्रममा नोबेल मेडिकल कलेज, विराटनगरमा ९ सय बेड हुनुपर्नेमा जम्मा ४ सय ५० बेड मात्र रहेको, एमआरआई सेवा नै नरहेको, इमर्जेन्सी तथा जेनरल प्राक्टिस विभाग, मेडिकल एजुकेसन विभागजस्ता चिकित्सा विभाग नै नभएको, बेड अनुपातविपरीत दुई गुणा बढी अर्थात् एक सय ५० विद्यार्थी पढाइरहेको, कलेजमा आइसियु र सिसियु एउटै रूपमा सञ्चालन गरेको पाइएको थियो।
एक वर्षअघि उक्त अवस्थामा अझै पनि सुधार आउन सकेको छैन। मापदण्ड नै पूरा नगरेको उक्त कलेजलाई मुस्किलले ७० देखि ७५ जना विद्यार्थी मात्र पढाउन दिन मिल्छ।
यस्तै, भरतपुर मेडिकल कलेजले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमा नपठाउने, ९ सय बेड हुनुपर्नेमा ५ सय ५० बेड मात्र सञ्चालन गरेको, फ्याकल्टी पर्याप्त नरहेको, बिरामीको बेड अकुपेन्सी दर ५० प्रतिशत मात्र देखिएको पाइएको थियो। उक्त अवस्थामा अझै पनि केही सुधार आउन सकेको छैन।
नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजले स्वीकृति लिने समयमा त झन् भारतीय दूतावासबाटै फ्याकल्टी पूरा गरेको पत्र ल्याएको थियो। त्यही पत्रका आधारमा सम्बन्धन पाएको सेनाको कलेजमा समेत ६० प्रतिशतभन्दा बढी फ्याकल्टी पूरा छैन।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भौतिक पूर्वाधार राम्रै भए पनि आधारभूत साइन्सका प्राध्यापक र बिरामी कम छन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको भवन अस्पतालका लागि उपयुक्त छैन। यसले स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गदैन। यहाँ एनाटोमी र फिजियोलिजीका प्राध्यापक कम छन्।
यी मात्र होइनन् आफूलाई अब्बल र राम्रा मेडिकल कलेज भन्दै प्रचार गर्ने अन्य मेडिकल कलेजमा समेत पूर्वाधार पूरा नभएको चिकित्सक बताउँछन्।
पर्याप्त भौतिक पूर्वाधार एवं प्राध्यापक तथा शिक्षक समूह भएका र बिरामीको चाप अत्यधिक भएका सरकारी संस्थानहरु चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा ७६ सिट, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एक सय सिट र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा ५५ सिट मात्र हुनु र निजीस्तरका बिनापूर्वाधारका कलेजमा भने १ सय ५० सिटसम्म अनुमति दिइनुले पनि निजी मेडिकल कलेजले गुणस्तरमा सम्झौता गरिरहेको पुष्टि हुन्छ।
मेडिकल कलेजहरुले वीर, पाटन, प्रसूतिगृह, त्रिवि शिक्षण अस्पतालमा बिरामी रेफर गर्नुका पछाडि पनि यही कारण रहेको चिकित्सकहरुको भनाइ छ।
...
सन् २००३ मा प्रदर्शित सञ्जय दत्त अभिनीत बलिउड चलचित्र ‘मुन्नाभाइ एमबिबिएस' मा पढ्न सहर आएका मुख्य पात्र मुन्नाभाइले आफ्नै बाबुलाई आफू डाक्टर बनिसकेको भनेर ढाँटेका हुन्छन्। एकदिन जब उनका बाबु छोरालाई भेट्न सहर आउँछन्, यथार्थमा गुण्डाका नाइके मुन्नाभाइले बाबुलाई देखाउन क्षणभरमा साथीभाइ जुटाएर नक्कली अस्पतालको दृश्य खडा गर्छन्।
‘नेपालमा मेडिकल कलेज सञ्चालक ठिक यही फिल्मको नक्कली दृश्यझैं आम नेपालीका आँखामा छारो हानिरहेका छन्,' एक वरिष्ठ चिकित्सक भन्छन्, ‘नियामक निकायले पनि राजनीतिक दाउपेच, व्यापारिक लाभ र आर्थिक चलखेलमा फसेर यो सबै देखे नदेख्यै गरिरहेको छ।' यसले नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा दुवैमा गम्भीर आघात पारिरहेको उनी बताउँछन्।
वरिष्ठ चिकित्सक गोविन्द केसी यही दृश्य परिवर्तन गर्न जीवन दाउमा लगाएर सत्याग्रहको संघर्ष छेडिरहेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस