करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको हो ।
जग्गा खरिदमा अनियमितता भएको भेटिएपछि खड्कालाई बर्खास्त गर्ने अजेन्डा सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । ‘अनियमितता भएको ठहरपछि पदमुक्त गर्ने निर्णयमा पुगेका छौं,’ मन्त्री मण्डलले आइतबार साँझ नागरिकसँग भने, ‘सोमबारको क्याबिनेटले अन्तिम निर्णय गर्छ ।’