१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मातृ तथा बालस्वास्थ्यमा छलाङ

काठमाडौं- विकासका प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्थाको सुधारमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको छ। सन् २००६ देखि २०११ सम्मको पाँच वर्षसम्म स्थिर भएर बसेको नवजात (जन्मेको २८ दिनभित्रका) शिशु मृत्युदरसहित बाल मृत्युदर उल्लेख्य घटेको छ। अन्य स्वास्थ्य अवस्थामा पनि महत्वपूर्ण सुधार देखिएको छ। राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्भेले यो नतिजा देखाएको हो।

सर्वेक्षणले सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ रहेको नवजात शिशुमृत्युदर पछिल्लो समय २१ मा झरेको देखाएको छ।

प्रत्येक पाँच वर्षमा विश्वका ९२ देशमा राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्भे (एनडिएचएस) हुनेगर्छ। स्वास्थ्य क्षेत्रको अवस्था हेर्न यो सर्भेलाई आधिकारिक मानिन्छ। नेपालमा सन् १९९६ देखि पाँचपाँच वर्षमा यस्तो सर्भे हुँदै आएको छ। अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा रहेर न्यु एरा नामक संस्थाले नेपाल सरकारका लागि यो अनुसन्धान गरेको थियो।  न्यु एराले ७३ जिल्लाका ११ हजार ४ सय ९० घरपरिवारमाझ २०१६ जुन १६ देखि जुलाई ३१ सम्म गरेको   सर्वेक्षणको प्रारम्भिक तथ्यांक पहिलो पटक बुधबार स्वास्थ्यका उच्च अधिकारीमाझ सार्वजनिक गरेको थियो। पूर्ण प्रतिवेदन भने आगामी सेप्टेम्बरमा मात्रै सार्वजनिक हुने एनडिएचएस सर्वेक्षण नेपाल निर्देशक योगेन्द्र प्रसाईंले बताए।

उनका अनुसार सर्वेक्षणले सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ रहेको नवजात शिशुमृत्युदर पछिल्लो समय २१ मा झरेको देखाएको छ। सन् २०११ मा एनडिएचएसले नवजात शिशु मृत्युदर घट्न नसकेको देखाएपछि सरकारले नवजात शिशुको जीवन रक्षाका लागि मातृ र शिशु केन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो।  यसै क्रममा अघिल्ला वर्षमा नेपालले मातृ तथा बालस्वास्थ्यमा उल्लेख्य सुधार गरेबापत थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो।

सहस्राब्दी विकास लक्ष्यमा नेपालले धेरै स्वास्थ्य सूचकको लक्ष्य प्राप्त गर्दा पनि नवजात मृत्युदर घटाउने लक्ष्य अझै पूरा हुन सकेको छैन। सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई१७ मा झार्नुपर्छ। नवजातसँगै पाँच वर्षमुनिको बाल मृत्युदर पनि प्रतिहजार जीवित जन्ममा २२ अंकले घटेको छ। एक वर्ष नपुग्दै हुने मृत्यु पनि उल्लेख्य रुपमा घटेको छ। सन् २०११ मा ४६ रहेको यस्तो मृत्युदर अहिले ३२ मा झरेको छ।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले सरकारले बाल स्वास्थ्यमा गरेको मेहनतको प्रतिफल प्राप्त गरेको बताए। सरकारले नवजात शिशुको जीवन रक्षाका लागि यसै वर्षदेखि नवजात उपचार निःशुल्क गर्नुका साथै कम्तीमा प्रदेश तहका अस्पतालमा नवजात आइसियु पुर्‍याउने उनले बताए। ‘यो स्वास्थ्यको एकीकृत कार्यक्रमको प्रतिफल हो,' डा. लामिछानेले थपे, ‘गर्भवती जाँच, स्वास्थ्य संस्थामा सुत्केरीलगायतका सूचक राम्रो भएकोले पनि यस्तो नतिजा आएको हो,' उनले भने।

सन् २०११ मा तीन प्रतिशत बालबलिकाले कुनै पनि खोप नपाएकोमा अहिले यो दर पनि एक प्रतिशतमा झरेको छ। त्यसैगरी बालबालिकामा हुने झाडापखाला तथा ज्वरोको उपचार एवं परामर्श गराउने प्रचलनसमेत बढेको पाइएको छ। ज्वरो आउँदा ८० प्रतिशत र झाडापखालामा ६३ प्रतिशत अभिभावकले बच्चालाई स्वास्थ्य संस्था लाने गर्छन्। यो दर सन् २०११ मा क्रमशः ४१ र ३८ प्रतिशत थियो।

सर्वेक्षणले गर्भ अवस्थाको जाँचमा पनि उल्लेख्य सुधार भएको देखाएको छ। सन् २०११ मा ५८ प्रतिशत रहेको गर्भवती जाँच हाल ८४ प्रतिशत पुगेको छ। ३५ प्रतिशत महिलाले मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेकोमा अहिले ५७ प्रतिशत पुगेको छ। घरमै पनि दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको प्रतिशत पनि सन् २०११ को तुलनामा ३६ बाट बढेर ५८ प्रतिशत पुगेको छ।

परिवार नियोजनका सूचकमा समेत सुधार देखिएको प्रसाईंले बताए। एउटा महिलाले आफ्नो प्रजनन उमेर (१५ देखि ४९) भित्र बच्चा पाउने दर (प्रजनन दर) पनि २.६ बाट २.३ मा झरेको छ। कुल विवाहित दम्पतीमध्ये पाँच वर्षअघिसम्म ४९ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेकोमा अहिले ५३ प्रतिशत पुगेको छ।

परिवार नियोजनका साधन प्रयोग गर्न चाहेर पनि नपाएकाको संख्या घटेको छ। पाँच वर्षअघि २८ प्रतिशत दम्पतीले चाहेर पनि परिवार नियोजनका साधन नपाएको देखिएकोमा अहिले यस्तो प्रतिशत २४ मा झरेको छ। परिवार नियोजनका साधन नपाउँदा अझै ६ प्रतिशत दम्पतीले परम्परागत विधि (विर्य बाहिर झार्ने) अपनाउँछन्।

पोषण अवस्थामा सुधार सुस्त

जनसंख्याको आधाभन्दा बढी बालबालिका कुपोषित रहेको अवस्थामा सरकारले पोषण लक्षित कार्यक्रम चलाए पनि सुधार सुस्त देखिएको छ। सन् २०११ मा ४१ प्रतिशत बालबालिका पुड्का रहेकोमा यो दर पाँच अंकले घटेको छ। त्यसैगरी २९ प्रतिशत बालबालिका कम तौलका भएकोमा अहिले २७ प्रतिशतमा झरेको छ भने ख्याउटे बालबालिकाको प्रतिशत ११ बाट एक अंकले मात्रै घटेको छ।

घट्दै स्तनपान

बढ्दो सहरीकरणसँगै बालबालिकालाई स्तनपान गराउने आमाको संख्या निराशजनक देखिएको छ। सन् २०११ मा ६९ प्रतिशत महिलाले स्तनपान गराउने गरेकोमा अहिले ६६ प्रतिशतमा झरेको छ। बालरोग विशेषज्ञका अनुसार बालबालिकालाई जन्मिनेबित्तिकैको बेगौती दूध र ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनाले रोग लाग्ने दर घट्नुका साथै शारीरिक तथा मानसिक विकासमा उल्लेख्य सहयोग पुग्छ। पछिल्लो सर्वेक्षणले एक प्रतिशत महिलाले स्तनपानै नगराउने र ३३ प्रतिशतले थोरै स्तनपानसँगै सो अवधिमा अन्य खानेकुरा खुवाउने गरेको देखाएको छ।

यसरी गरियो सर्वेक्षण

देशभरका जनसंख्याको औसत अनुपात निकालेर सम्पूर्ण क्षेत्रलाई ३ सय ८३ क्लस्टरमा बाँडिएको थियो। निर्देशक प्रसाईंका अनुसार प्रत्येक क्लस्टरबाट कम्तीमा ३० घर पर्नेगरी ११ हजार चार सय ९० परिवारका ७३ हजार नमुनाबाट सर्वेक्षण गरिएको थियो। सर्भे थाल्नुभन्दा अगाबै घरको नम्बरिङ गरेर केन्द्रबाट रेन्डम स्याम्पलिङका आधार घर तोकेरै सर्वेक्षणका लागि पठाइएको थियो। तोकिएको घरको मान्छे नभेटेमा अर्को स्याम्पल लिन नपाउने नियम थियो।

प्रकाशित: ८ वैशाख २०७४ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App